शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन अवधिमा दुई अर्ब बराबरको दूध नोक्सान

मङ्गलबार, ०२ वैशाख २०७७, २२ : ५२
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु दुई अर्ब दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा रु पाँच अर्बको सामान मौज्दात रहेको  जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक  गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको छ ।

दूध र दुग्धजन्य पदार्थको खपत कम भएपछि आज सातै प्रदेशका अध्यक्षसँग भिडियो कन्फ्ररेन्स गरेर एशोसिएशनले विभिन्न निर्णयसमेत गरेको छ । सरकारले अन्य क्षेत्रका व्यवसायमा जस्तै शून्य ब्याजमा ऋण, भ्याट तथा कर छुट, किसानलाई तत्काल पशुलाई खुवाउने दानाको व्यवस्थापन र दूध खेर जाँदा त्यसको उचित व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।

दूध बिक्री नहुँदा किसानलाई दिनुपर्ने भुक्तानी र  कर्मचारीको तलबमा समस्या भएको बताउँदै दाहालले सरकारले घरभाडा छुटको घोषणा गरे तापनि कार्यान्वयन नभएको  गुनासो गरे । एशोसिएशनले वाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा किलोको दरमा घिउ समावेश गराउने निर्णय गरे जस्तै अन्य प्रदेशलाई समेत राहत प्याकेजमा समावेश गर्न आग्रह गरेको छ । दूधको खपत कम भएपछि दुग्ध उद्योगलाई सामान राख्न भण्डार क्षमतासमेत नभएको उनले बताए । उनका अनुसार पर्याप्त मात्रामा दूध संकलन गर्ने काम भए तापनि बजारमा खपत कम हुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

डेरी एशोसिएसनको तथ्याँकअनुुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको तथा कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप