शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : देशहरु आपसमा भिड्न थालेकै हुन् ?

मङ्गलबार, ०२ वैशाख २०७७, १६ : ०२
मङ्गलबार, ०२ वैशाख २०७७

 कोरोनाभाइरसको सामना गर्नका लागि यदि कुनै देशले चीनसँग अत्यावश्यक सामान खरिद गर्ने हो र उक्त सामान लिनका लागि हवाईजहाज चीनतर्फ पठाउने हो भने केही सवालमा गम्भीर हुनैपर्ने देखिन्छ ।

जस्तो कि, त्यो हवाईजहाजको रुट कुन हुने छ र कहाँ ट्रान्जिट हुने छ, कहाँ ट्रान्जिट बनाउनु हुँदैन ? ताकि उक्त हवाईजहाज सजिलै आफ्नो गन्तव्यमा पुग्न सकोस् । बाटोमै कुनै अर्को देशको सरकारले त्यसलाई जफत नगरोस् ।

विश्वका केही मुलुकले यस्तो प्रश्नको सामना गरिरहेका छन् । खासगरी पेरु सरकार ।

विश्वमा स्वास्थ्य सेवालाई लिएर जसरी आपतकालीन अवस्था सिर्जना भएको छ, त्यसका कारण मास्क, रेस्पिरेटर्स, मेकानिकल भेन्टिलेटरको माग बढेको छ । यी सामान सजिलैसँग पाउन सकिएको छैन ।
व्यावसायिक लडाई बढ्न थालेको देखिन्छ । कयौं देशका सरकारले यसबारे गुनासो गर्न थालेका छन् । यसमा गैरकानुनी व्यवहार त देखिएको छैन तर जे भइरहेको छ, त्यसलाई राम्रो पनि मान्न सकिने अवस्था छैन । महामारीको सामना गर्नका लागि आमनागरिकलाई आवश्यक पर्ने सामान आपूर्ति हुन सकिरहेको छैन । फ्रान्समा ‘मास्क वार’ का बारेमा चर्चा हुन थालेको छ ।

‘नयाँ युगको डकैती’
हालै फ्रान्सले मास्क खरिद गर्न सकेन, किनकि फ्रान्सले खरिद गर्न लागेको मूल्यको तुलनामा अमेरिकाले महँगो मूल्य तिरेर ती मास्क खरिद गरिदियो ।

फ्रान्सको एक प्रान्तीय सरकारका अध्यक्ष रेनोड मुसेलियरले केही दिन अघि भने, ‘चीनको एक रनवेमा फ्रान्सका लागि मास्क लैजान लागेको विमानको सामान अमेरिकाले नगदमा खरिद गरिदियो, जुन विमान मास्क बोकेर फ्रान्स आउनुपर्ने थियो, त्यो विमान अमेरिका पुग्यो ।’

यस्तै गुनासो जर्मनीले पनि गरेको छ । उसले प्रत्यक्ष रुपमा अमेरिकी सरकारलाई निशाना बनाएको छ । जर्मनीका अधिकारीहरुले बर्लिन पुलिसका लागि खरिद गरिएको दुई लाख मास्क बोकेको पानीजहाजलाई अमेरिकाले थाइल्याण्डमा जफत गरेको आरोप लगाए ।

जर्मनीका आन्तरिक मामिला मन्त्री एन्ड्रियास गिजेलले भने, ‘हामी यसलाई नयाँ युगको डकैतीका रुपमा हेरिरहेका छौँ, एटलान्टिक सागरको अर्कोतर्फका मित्रका साथ यस्तो व्यवहार गरिदैँन, वैश्विक संकटको समय भए पनि हामी जंगलीको जस्तो व्यवहार गर्दैनौँ, अमेरिकाको सरकारसँग हाम्रो अपिल छ कि उसले अन्तर्राष्ट्रिय नियम, कानुनको पालना गरोस् ।’

भारत र टर्कीको अवस्था
ट्रम्प प्रशासनले देश बाहिर कुनै प्रकारले कुनै कुरालाई जफत गरेको वा त्यस्तो कुनै अभियान चलाएको भन्ने आरोपलाई अस्वीकार गरेको छ । त्यसपछि आखिर जर्मनीले आफ्नो स्वरलाई मधुरो तुल्याएको थियो । तर जुन मास्कका लागि उसले पैसा तिरेको थियो, त्यो मास्क बर्लिन भने पुगेन । जर्मनी र फ्रान्सजस्ता देशको यो अवस्था छ भने कमजारे देशको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
स्पेनका बिजनेस स्कूल ‘ईसेड’का प्रोफेसर मेनेल पीयरो युरोपेली मुलुकले झेलेको अनुभव अन्य मुलुकले पनि झेलिरहेको बताउँछन् । बढ्दो माग र सीमित आपूर्तिका कारण समस्या बढेको उनको भनाइ छ । ‘समस्या यो छ कि, अतिरिक्त पैसा माग्न थालिएको छ ।’

यो महामारीले भूमण्डलीकरण र मुक्त बजार अर्थव्यवस्थालाई हल्लाइदिएको छ । फेस मास्क, गाउनजस्ता पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)का उत्पादन गर्ने ठूला राष्ट्रले आफ्नो अस्पतालका लागि आपूर्ति सुनिश्चित गर्न निर्यातमा रोक लगाएका छन् । यसमा भारत, टर्की र अमेरिकाजस्ता देश सामेल छन् ।

मुक्त बजार अर्थव्यवस्था
कोरोनाभाइरसको महामारी नराम्रो मार झेलिरहेको स्पेनले हालै टर्की र युरोपेली साझेदार मुलुक फ्रान्सबाट समेत बाधाको सामना गर्नु परेको छ । फ्रान्सले त आफ्नो क्षेत्र हुँदै लैजाने पीपीई किट्सको ढुवानी नै रोकिदिएको छ । यस्तो अवस्थामा पेरुजस्तो मुलुकलाई चीनबाट कसरी सामान मगाउने भन्नेमा द्विविधा बढेको छ ।

पेरुका स्वास्थ्यमन्त्री भिक्टर जमोराले भने, ‘स्पेनले भरोसा दिलाएको छ कि उसको विमानस्थलमा पीपीई किट्स बोकेका विमान उतार्न र त्यहाँबाट लैजान कुनै समस्या हुने छैन । तर बाटोमा अरु पनि बाधा हुन सक्छ, टर्कीले रोकिदियो भने के गर्ने ? नियम, कानुन निकै तीव्र रुपमा परिवर्तन भइरहेको छ ।’

यस अतिरिक्त मुक्त बजार अर्थव्यवस्थाको अर्को नियम पनि चुनौती बनेर देखा परेको छ । जस्तो कि, सामान त्यसलेमात्र पाउँछ, जसले महँगो मूल्य तिर्न सक्छ, या सबैभन्दा धेरै किन्न सक्छ । यो नियम पहिला पनि थियो, आज पनि छ र भोलि पनि रहने छ ।

अमेरिकालाई प्राथमिकता
भिक्टर जमोरा भन्छन्, ‘टेक्नोलोजी र जुनमात्रामा हामी खरिद गर्दछौँ, त्यस हिसाबले हामी ग्राहकको लाइनमा सबैभन्दा पुछारमा उभिएका छौँ, हामी एक सय भेन्टिलेटर खरिद गर्दैछौँ भने अरु देशले एक लाख युनिट खरिद गर्दैछन् । मात्राको हिसाबले विश्वबजारमा हाम्रो कुनै अस्तित्व छैन । हामी धेरै सानो मुलुक हौँ ।’

यहासम्म कि, ल्याटिन अमेरिकामा शक्तिशाली मानिने ब्राजिललाई पनि समस्या देखिएको छ । केही दिन अघि चीनमा मेडिकल प्रोडक्टको एक अर्डर ब्राजिलले गुमाएको थियो । ब्राजिलियन अखबार ‘ओ ग्लोबो’का अनुसार चिनियाँ विक्रेताले ब्राजिल, फ्रान्स र क्यानाडाको साटो अमेरिकालाई प्राथमिकता दिए ।

बजार अनुसन्धान गर्ने भारतीय कम्पनी ‘मेटिक्यूलस रिसर्च’ ले जनाएअनुसार कोरोनाभाइरसको महामारीबाट विश्वमा स्वास्थ्य सामग्रीको माग बढेको छ, विश्वका ८५ प्रतिशत अस्पतालले आपूर्तिको समस्या सामना गरिरहेका छन् ।

कोरोनाभाइरसबाट संक्रमण
‘मेटिक्यूलस रिसर्च’ भन्छ, ‘अमेरिकाजस्तो विकसित देशसँग केवल चारदेखि साढे चार करोड मास्कमात्र अतिरिक्त छ, यो कुल मागको एकदेखि डेढ प्रतिशतमात्र हो, युरोप र विकासशील देशको अवस्था झनै खराब छ ।’
मेडिकल सामानको मामिलामा अमेरिकालाई सबैभन्दा धेरै भण्डार गर्ने मुलुक मानिन्छ । कोरोनाभाइरसबाट ठूलो जनसंख्यामा संक्रमण र ठूलो मानवीय क्षति झेलेको अमेरिका अझ नराम्रो परिणाम झेल्न तयार भएर बसेको छ । ‘मेटिक्यूलस रिसर्च’का अनुसार अमेरिकी कम्पनीले युद्धस्तरमा काम गर्दै आफ्नो उत्पादनलाई दोब्बर बनाउन थालिसकेका छन् ।

अमेरिकी सरकारी स्रोत भन्छ, ‘हामीलाई आशा छ, अप्रिलसम्म माग दोब्बर हुनेछ, आगामी सय दिनमा अमेरिकालाई एक लाख भेन्टिलेटर आवश्यक पर्ने छ, धर्तीमा जति पनि कम्पनी यसको उत्पादनमा लागेका छन्, उनीहरुले पनि यो माग पूरा गर्न सक्दैनन् ।’

भूमण्डलीकरणको अवधारणा
उत्पादकहरुले मूल्य बढाए पनि माग पूरा गर्नु उनीहरुको क्षमताभन्दा बाहिरको विषय देखिएको छ । ‘मेटिक्यूलस रिसर्च’ भन्छ, ‘उदाहरणका लागि आयरल्याण्डको कम्पनी मेडट्रोनिकले भेन्टिलेटर उत्पादन क्षमता ४० प्रतिशतसम्म बढाएको छ, प्रत्येक महिना एक सय ६० भेन्टिलेटर उत्पादन गर्ने इटालियन कम्पनी सियाराले चार महिनामा दुई हजार भेन्टिलेटर बनाउन चाहिरहेको छ ।’

अटोमोबाइल कम्पनी सिएटले स्पेनमा गाडी उत्पादन बन्द गरेको छ । सो कम्पनीले अस्पतालका लागि चाहिने भेन्टिलेटर बनाउन थालेको छ । कुनै मुलुकमा टेक्सटाइल कम्पनीले मास्क बनाउन थालेका छन् । भिक्टर जमोरा भन्छन्, ‘व्यवसायको परिमाण हेर्ने हो भने मलाई त यो महामारीले आर्थिक भूमण्डलीकरणको अवधारणालाई नै अन्त्य गरिदिएकोजस्तो लाग्छ, हामी संरक्षणवादमा फर्किएका छौँ ।’

पेरुका केही विश्वविद्यालयका छात्रले एउटा भेन्टिलेटरको प्रोटोटाइप तयार पारेका छन् । यो दक्षिण अमेरिकी देशसँग हाल निकै कम भेन्टिलेटर छ, उसले हाल विदेशी बजारमा खरिद गरेको भेन्टिलेटर अप्रिलको अन्तिमसम्म पनि प्राप्त गरिसक्दैन । भिक्टर डमोरा ती भेन्टिलेटर पेरुसम्म आइपुग्ने हो कि होइन भन्नेमा त्रसित छन् ।

अरुले नपाउन्

रेसपिरेटर्सजस्ता उपकरण प्रायः कन्स्ट्रक्सन कम्पनीका मानिसले प्रयोग गर्दथे । तर अब अस्पतालमा पनि त्यो प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा यसको उत्पादन गर्ने अमेरिकी कम्पनी ‘थ्री एम’ले रेसपिरेटर्सको निर्यात क्यानाडा र ल्याटिन अमेरिकामा गर्न सकेन । यसका लागि ट्रम्प प्रशासनले कोरिया युद्धको समयमा बनाएको कानुनको सहारा लियो ।

एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीलाई मास्क आवश्यक छ, हामी अरु देशले यो हासिल गरोस् भन्ने चाहँदैनौँ । हाम्रा नागरिकलाई आवश्यक कुरा अरुले हासिल गर्न हामीलाई दिदैँनन् भने कडा रुपमा प्रस्तुत हुनेछौँ ।’

कयौँ दिनसम्म तनावपूर्ण स्थिति कायम रहेपछि निर्माण कम्पनी र ह्वाइट हाउसबीच सम्झौता भयो । यस अन्तर्गत ‘थ्री एम’ले विदेशमा रहेका आफ्ना कारखानाबाट रेसपिरेटर्सको निर्यात अमेरिकामा गर्ने र अरु देशलाई पनि आपूर्ति जारी राख्ने सहमति बन्यो ।

कोरोनाभाइरसको महामारीको चपेटामा लाखौँ मानिस आइसकेका छन् । विश्वका देशहरुबीच भरोसा कमजोर हुँदै गएको छ । प्रोफेसर मेनेल पीयरोका शब्दमा भन्ने हो भने सरकारहरु र बजार अर्थव्यवस्थाको सबैभन्दा घृणित अनुहार सामुन्ने आएर देखा पर्न थालेको छ ।
बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप