केन्द्रीय संस्करण

विकल्प खराब शासकको होइन, खराब अवधारणाको खोजौँ

person explore access_timeबैशाख २, २०७७ chat_bubble_outline0

नवउदारवादी अर्थराजनीतिको चरम असफलताबाट उदय भएको खराब शासकहरुको दबदबा रहेको युगमा मानव जाति  बाँच्नु परेको छ । (खराब शासक म्याक्स बुटको) हामी बाँचेको युग ट्रम्प, मोदी जोन्सन र ओलीजस्ता अनुदार दक्षिणपन्थी खराब शासकहरुले दिग्विजय हासिल गरेको युग हो । यस्तो बेला मानव जाति  एक भयानक महामारीको सिकार हुनुपरेको छ  । कोभिड–१९ कोरोना भाइरस नाम गरेको यो भाइरसको उत्पत्ति सम्राट सीको देशमा  डिसेम्बर २९ मा पहिलो पटक पुष्टि भएको थियो ।  यो भाइरसले हुबेई प्रान्तको उहान सहरमा आतङ्क मच्चाएर करिब साढे दुई महिनापछि यो विश्वव्यापी बनेको छ । 

संसारको समृद्ध र शक्तिशाली मुलुक अमेरिका र पश्चिम युरोप लगायत संसारभर आतङ्क मच्चाउँदै दौडिरहेको छ । यसले असाधरण आर्थिक, सामाजिक र मानवीय सङ्कट उत्पन्न गरिदिएको छ । आजको मितिसम्म आइपुग्दा १८ भन्दा बढी मानिसमा यो भाइरस सङ्क्रमण भएको छ भने करिब १ लाख १५ हजार  मानिसले ज्यान गुमाइसकेका छन्  । झन्डै चार अर्ब मानिस घरभित्र थुनिएका छन् । आर्थिक क्रियाकलाप ठप्प छ भने अर्बौं श्रमजीवी जनता गम्भीर अनिश्चित भविष्यको चिन्तामा डुब्नु परेको छ । अरुधन्ती रायको शब्दमा पुँजीवादको इन्जिन भाँचिएको छ । 

त्यसमध्ये करोडौँ मानिस भाइरसभन्दा डरलाग्दो भोकको कारण मर्ने दिन कुरेर बसेका छन्  । दक्षिण एसियाको  भारतमा पाकिस्तान विभाजनको समयपछिको सबैभन्दा बढी मानिस आफ्नो कर्मथलो छोडेर गाउँ निस्केका छन् भने भोकले कैयौ मान्छे सडकमै मरेका छन्  । नेपालमा लाखौँ दैनिक ज्याला मजदुरी गरेर खान विवश श्रमिकहरु भाइरसभन्दा डरलाग्दो भोकका कारण सयौँ किलोमिटर दूरीमा रहेका आफ्नो गाउँ जान राजमार्गमा पैदल हिँडिरहेका छन् । सोलुदेखि कैलाली, काठमाडौँबाट सिन्धुलीसम्म खाली खुट्टा घर हिँडेका छन्  ।  सहरका लाखौँ असङ्गठित क्षेत्रका श्रमिकहरु बेहाल भएका छन्  । भारतमा मजदुरी गर्न गएका हाम्रा सुदूरपश्चिमका दाजुभाइ देशविहीन शरणार्थी भएका छन् । बोडरमा बालबच्चासहित देश छिर्न आकुलव्याकुल भएर भोकै चित्कार गरिरहेका छन्  । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले  रोजगारी गुमाउनेको डरलाग्दो अनुमानित तथ्याङ्क  प्रक्षेपण गरेको छ । श्रमसङ्गठनले खाडीक्षेत्रका लाखौँ मानिसले पूर्ण रूपमा रोजागारी गुमाउने प्रक्षेपण गरेको छ  । युरोपमा ७.८५९१ करोड २० लाख, एसिया प्यासिफिक क्षेत्रमा ७.२ प्रतिशत ९१ अर्ब २५ करोडले पूर्णकालीन रोजगारी गुमाउने प्रक्षेपण गरेको छ । भारतमा  ४० करोड मानिसले रोजागरी गुमाउने छ भने नेपाल जस्तो देशले गम्भीर खालको आर्थिक सङ्कटको सामना गर्नुपर्ने कुरा सामन्य नै हुने भयो । खाडी र मलेसियामा रोजगारदाता कम्पनीले रोजगार कटौती गर्न थालेको सञ्चारमाध्यमले रिपोर्टिङ गर्न थालेको  छ । यूएईले आफ्ना नागरिक फिर्ता नलाने देशसँग बिगतमा गरिएका श्रम सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । 

बितेको चालीस वर्षको अवधिमा लागू गरिएको नवउदारवादको विकल्पको बारेमा गम्भीर विमर्श प्रारम्भ भएको छ । यसको दायरा फराकिलो भएको छ । नव उदारवादको असली अनुहार अहिले उदाङ्गिएको छ । अमेरिकामा भेन्टिलेटरको अभावका कारण जिउँदै मानिसहरूलाई मृतकझैँ बेवास्ता गर्नुपरेको छ  । नोम चम्स्कीले यसलाई उदारवाद असली चरित्र उदाङ्गो भएको भनेका छन्  । विश्वव्यापी रूपमा पुँजीवादी सभ्यताको असफलता र यसको विकल्पको बेजोड बहस अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा देख्न सकिन्छ । 

कोभिड–१९ का कारण पैदा हुने आर्थिक सङ्कट १९२९ मा सुरु भएको विश्वव्यापी आर्थिक सङ्कट जतिकै भयावह हुने अन्तर्राष्ट्रिय बहुपक्षीय संस्था र तिनका थिङ्क ट्याङ्कहरुले गरेका छन् । गत शताब्दी यताको सबभन्दा ठूलो आर्थिक सङ्कट थियो त्यो पुँजीवादी विश्वमा । त्यसपछि उसले १९७० को दशक र यो शताब्दीको सन् २००८ र ९ मा आर्थिक सङ्कटको सामना गर्नेपरेको थियो । यद्यपि त्यो सङ्कट हल भइसकेको थिएन । बरु माथि नै उल्लेख गरिएझैँ यसले खराब शासकहरुको उदय गराइरहेको थियो । 

बितेको केही दिनयता अन्तर्राष्ट्रिय र राष्ट्रिय सञ्चार माध्यममा पनि देखिएको बहसले निश्चय पनि यथास्थितिमा अबको अन्तर्राष्ट्रिय राजनीति, समाज र अर्थतन्त्र चल्न सक्दैन भन्ने कुरामा एकमत हुन गाह्रो भएन । बजारको सर्वोच्चतावादी अवधारणा अन्त होइन रोनाल्ड रेगनको देशमा नराम्रोसँग थला परेको छ । फ्रान्सिस फुकुयामाहरु चित खाएका होलान्  । बरु ट्रम्प हामी फेरि बनाउँछौँ अमेरिका फस्ट भन्दै फेसबुक र ट्विटरमा झुल्किरहेका छन्  । तर प्रश्न कहाँनेर हो भने यसको वैकल्पिक अवधारणाको अगुवाइ कसले गर्ने र के हुने भन्ने बहस आजको सर्वाधिक महत्त्वको प्रश्न हो । हुन त सङ्कटमा नै विचार  र नेतृत्वको जन्म हुने हो । तर  विश्वमा त्यसको सम्भावना अहिले देखिएको छैन । जुन दुर्भाग्यको कुरा हो । 

१९३० को दशकमा आएको पुँजीवादको सङ्कट हल गर्न अमेरिकामा रुजबल्टको उदय भएको थियो । अर्थशास्त्री जोन मिन्यार्ड किन्सको अवधारणाले काम गरेको थियो । पुँजीवादले लोककल्याणकारी राज्यको बर्को ओढेर १९७० को दशकसम्म आफूलाई पुनर्जीवन दिएको थियो । त्यसमा मुख्यतः अर्थशास्त्री किन्सको लोककल्याणकारी राजनीतिक अर्थशास्त्रले काम गरेको थियो । 

तर त्यो लोककल्याणकारी अवधारणाले पुँजीवादको केन्द्रमा अर्काे सकट देखापर्न थाल्यो । त्यसपछि बिस्तारै सन् ७० को दशकमा फेरि अर्थतन्त्रको सबै अवयवहरुको जिम्मा बजारलाई छोड्दिनुपर्ने नवउदारवादी अवधारणाले टाउको उठायो । अन्ततः रोनाल्ड रेगन अमेरिका र मार्गरेट थ्याचारको बेलायतले यो अवधारणा लागू गर्यो । बितेको चालीस वर्षमा यसले संसारका २०० धनाढ्यका फाइदाका लागि प्रकृतिको विनास मानव जातिलाई पृथ्वीमा बस्न समेत अयोग्य बनाउने दिशामा लग्यो । पछिल्लो समयका भौतिक विज्ञानका सबैभन्दा सर्वश्रेष्ठ वैज्ञानिक स्व. स्टेफन हकिङ्सले यही गतिमा जाने हो भने ६ सय वर्षपछि पृथ्वी मानिस बस्न अयोग्य हुने चेतावनीसमेत दिएका थिए । अरू त हामीले माथि नै चर्चा गरिकेका छौँ  । 

स्मरणीय चाहिँ के छ भने १९३० को दशकमा देखापरेको आर्थिक मन्दी पुँजीवादको सङ्कट मात्रै हो । त्यसबेला महान सोभियत समाजवादलाई त्यो आर्थिक मन्दीले छोएको थिएन । २००८ कै आर्थिक सङ्कटको कुरा गर्ने हो भने पनि समाजवादको केही अवशेष मात्रै भएको चीनलाई खास असर पारेको थिएन । इतिहासको यो खास शिक्षा हो मानव जातिका लागि । 

अबको बाटो
मानव जातिले बितेको ५०० वर्ष पुँजीवादको जुन कहर भोगेर आजको सङ्कटको सामना गर्ने बिन्दुमा आइपुगेको छ । उसले अबका विकल्पहरु बारे सोच्न ढिला हुँदै छ भन्ने कुरा प्रष्ट भइ नै सक्यो । पुँजीवादको पर्यवरणको विनासक बहुसङ्ख्यक मानव जातिको हितविरोधी अवधारणाको विकल्पमा बितेको शताब्दीमा रुस, चीन, क्युबा, भियतनाम र उत्तरकोरियाले अभ्यास गरेको समाजवाद पनि एक हदसम्म असफल देखियो । पुँजीवादभन्दा उत्तम र सर्वश्रेष्ठ अवधारणा हुँदाहुँदै यसका कैयौँ कमजोरीका कारण यसले धक्का खानु पर्याे  । 

१९९० को दशकमा सोभियत सङ्घको पतनसँगै जुन धक्का खाएर समाजवादी आन्दोलन आज कोमामा पुगेको थियो इतिहासले फेरि एकपटक समाजवादको अपरिहार्यतालाई  विश्व राजनीतिको रगमञ्चमा बिस्तारै उभ्याउने ठाउँमा पुर्याएको छ । बौरिँदै फेरि नयाँ ढङ्गले समाजवादी आन्दोलनले श्रेष्ठता हासिल नगर्ने हो भने मानव जातिका सामु सर्वनास भन्दा अरू केही रहने छैन भन्ने कुरा पुनरपुष्टि भइसकेको छ ।
समाजवादका आफ्ना गएको शताब्दीका राजनीतिक स्वतन्त्रताको अभाव भन्ने कुरा सर्वव्यापी बहस छ । त्यसका विकल्पहरुबारे बिहङ्गम बहसको आवश्यत्तकता छ । 

यहाँनेर हामीले खराब शासकहरुको विकल्प होइन खराब शासकहरु जन्माउने कारखाना (नबउदारवाद)कै विकल्प खोज्नुपर्ने छ । नेपाल जस्तो तेस्रो विश्वका अल्पविकसित देशले पनि १९९० को दशकपछि अख्तियार गरेका नवउदारवादी अर्थराजनीतिले पैदा गरेको खराबीहरु भोगिरहेका छौँ  । राज्यबाट अर्बौं रुपैयाँ भन्सार सहुलियत लिएर इक्विपमेन्ट खरिद गरेका नीजि अस्पतालहरु सङ्कटको घडीमा ढोकामा ताला लगाएर बसेको खबर आइरहेको छ ।

शिक्षा र स्वास्थ्य जस्तो आधारभूत विषय निजी क्षेत्रलाई जिम्मा दिएको नतिजा हामीले मात्रै होइन स्वयं अमेरिकाले बेहोर्नु परेको छ ।  गएको तीन दशकमा नेपालले जुन अर्थराजनीतिक बाटो अबलम्बन गर्यो त्यो मूलतः संसारभर झैँ नेपालमा असफल भएको परिप्रेक्ष्यमा यसको विकल्प खोज्नै पर्छ । तर दुर्भाग्य, देशमा ओलीको विकल्प प्रचण्ड वा नेपाल भन्ने बहस चल्दै छ  । ओलिको विकल्पमा आउने त झन् खराब शासक हो । चाहे त्यो प्रचण्ड देउवा वा नेपाल खनाल गौतम  जोसुकै होऊन्  ।

तिनलाई आजको अवधारणाले झन् खराब शासक नै बनाउने हो । यहाँनेर प्राध्यापक डायने कोयलले भनेझैँ  चालीस वर्षको दौरानमा आर्थिक समस्याहरु समाधानका लागि बजारलाई छाडिदिनुपर्छ भन्ने अवधारणाले समाज र वातावरण दुवैमा अकथनीय क्षति पुर्याको छ । त्यसैले सन् २०२० यो अवधारणालाई विश्राम दिने दशक बन्नुपर्छ । त्यसैले २१औं शताब्दीको समाजवादका नयाँ अवधारणाको खोजी गरौँ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.