बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्यविद् भन्छन् : ‘संक्रमण हामीमाझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो’

‘र्‍यापिड टेस्टले आजको दिनमा कोही व्यक्तिलाई संक्रमण छ कि छैन भन्ने प्रश्नको उत्तर दिन सक्दैन’
मङ्गलबार, ०२ वैशाख २०७७, ०० : ३५
मङ्गलबार, ०२ वैशाख २०७७

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले कोरोनाभाइरसको ‘संक्रमण हामीमाझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो’ भनी बताएका छन् ।

र्‍यापिड टेस्ट (आरडिटि)ले नेपालमा संक्रमण फेला पार्न थालेपछि उनले ट्वीटरमा एक भिडियो जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

उनले भिडियोमा भनेका कुराहरु यस प्रकार छन् :

धेरैले सोध्नुभयो, कन्फ्युजन भएजस्तो बुझें मैले । त्यसले गर्दा मैले लेख्नुभन्दा भिडियो बनाउनु महत्वपूर्ण ठानें । लेख्दा झनैं कन्फ्युजन गराउँदो रहेछ ।

र्‍यापिड टेस्टले हाम्रो रगतमा हाम्रो प्रतिरोधात्मक शक्ति अर्थात् इम्युनिटीले बनाएको प्रोटिन अर्थात् एन्टिबडी पहिचान गर्ने हो । आइजीजी र आइजीएम भनिने त्यो एन्टिबडी कम्तिमा तीनदेखि चार दिन र बढीमा पाँच, छ महिना देखिन्छ जीउमा यदि संक्रमण कसैलाई भएको छ भने । संक्रमण शुरु भएपछि तीनदेखि चार दिनदेखि शुरु भएको एन्टीबडीको उत्पादन छ महिनासम्म देखिन सक्छ । यो आइजीएम, आइजीजीमा भरपर्छ ।

अहिले देशमा चलाइएको त्यो आइजीएम, आइजीजी दुवै मिसिएको हो । त्यसैले गर्दा संक्रमण शुरुभएपछि कम्तिमा तीन दिनदेखि चारदिन लाग्छ । तर कसैलाई पहिले कुनै समयमा संक्रमण भएको छ भने पछि ६, ७ महिनासम्म पनि त्यो देखाउँछ ।

अहिले काठमाडौंको पेप्सीकोला रिपोर्ट पोजेटिभ देखिएको मानिस बिरामी भएर अस्पतालमा गएर परीक्षण गर्दा देखिएको होइन । कन्ट्याक ट्रेसिङ गर्ने क्रममा उहाँलाई पत्ता लगाइएको हो भन्ने मैले बुझेको छु ।

त्यसले गर्दा र्‍यापिडबाट कुनै मानिसमा संक्रमण पत्ता लाग्नु भनेको सबैजना आत्तिनु पर्दैन । त्यो भनेको स्वभाविक पनि हो । त्यो टेस्टले तीन महिना अघिको संक्रमण पनि समात्छ, एक हप्ता वा एक महिना अगाडि भएको संक्रमण पनि समात्छ । र्‍यापिडका एउटा रमाइलो त्यो पनि हो ।

तर त्यसले के गर्दैन भने आजको दिनमा कोही व्यक्तिलाई संक्रमण छ कि छैन भनेर त्यो प्रश्नको उत्तर उसले दिन सक्दैन । त्यसको लागि पिसिआर (टेस्ट) नै चाहिन्छ । त्यसले गर्दा म बारम्बार भन्छु: पिसिआर भनेको (संक्रमितको) पहिचानको लागि हो, आरडिटि भनेको निगरानीको लागि हो । अथवा क्वारेन्टाइनमा बसेका मानिसहरुको लागि उहाँहरुलाई संक्रमण बढेको छ कि छैन, अझ घट्ने क्रममा छ कि छैन भनेर हेर्नको लागि राखिएको प्रविधि हो ।

Source: https://twitter.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप