शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका जालिम मुखिया पक्राउ परेको समाचारले भारतमा सनसनी

पक्राउ परेको भनिएका व्यक्ति घरमै भेटिए
सोमबार, ०१ वैशाख २०७७, १६ : ०१
सोमबार, ०१ वैशाख २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध ‘लकडाउन’सहित सामाजिक दूरी तथा आवश्यक सतर्कताका विभिन्न अभियान सञ्चालन भइरहेको समयमा भारतीय मिडियामा नेपाल सम्बन्धी एउटा समाचारले निकै प्राथमिकता पाएको छ ।

नाम चलेकै केही भारतीय सञ्चारमाध्यमले अनलाइन संस्करणमा नेपालको नाम जोडेर प्रकाशित गरेको समाचारले दुवै देशमा त्रासको वातावरण सिर्जना गरिदियो । किनकि समाचारको विषयवस्तु नै अहिले विश्वले ठूलो चुनौतीका रुपमा सामना गरिरहेको ‘कोरोनाभाइरस’सँग जोडिएको थियो ।

‘भारतमा कोरोना संक्रमित पु-याउने आरोपित जालिम मुखियालाई नेपाल प्रहरीले गिरफ्तार गरेको’ विवरणसहित भारतीय सञ्चारमाध्यममा समाचार प्रकाशित भए ।

समाचारमा आरोपितका रुपमा उल्लेख गरिएका व्यक्ति प्रदेश २ को पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिकाका अध्यक्ष हुन् । त्यसैले समाचारको विषयवस्तुमात्र नभई जनप्रतिनिधिको भूमिकाको कारणले पनि उक्त समाचारले क्षणभरमै दुवै देशको समाजलाई तत्काल प्रभावित गरिदियो ।

यसै सम्बन्धमा रातोपाटीले गरेको खोजविनमा भारतीय मिडियाले पक्राउ परेको भनेका अध्यक्ष जालिम मुखिया भनिने जालिम मियाँ टेलिफोन सम्पर्कमा आए ।

सोमबार मध्यान्ह रातोपाटीले उनीसँग टेलिफोन सम्पर्क हुँदा उनी जगरनाथपुर–४ स्थित आफ्नै निवासमा परिवारसँग खाना खाइरहेका थिए ।

प्रस्तुत छ, उनीसँगको टेलिफोन संवादको अंश :

रातोपाटी- तपाई त पक्राउ पर्नुभयो भनेर भारतीय सञ्चारमाध्यमले व्यापक प्रचार गरेका छन्, कता हुनुहुन्छ ?

जालिम मियाँ- म त आफ्नै घरमा खाना खाइरहेको छु ।

रातोपाटी- कोरोना संक्रमितलाई भारतमा लगेको र भारतबाट आउनेलाई पनि संरक्षण गर्ने काम तपाईंबाट भइरहेको छ रे त ?

जालिम मियाँ- (हाँस्दै) तपाईंलाई लाग्छ ? मैले त्यस्तो काम गरेको र उनीहरु (भारतीय मिडिया) ले भनेको कुरा सही हुन्थ्यो भने म आफ्नै घरमा खाना खाइरहेको हुन्थेँ होला ? उनीहरुले मलाई पुलिसले नियन्त्रणमा लिएको कुरा लेखेका होइनन् र ?

रातोपाटी- त्यसो भए कुरा के हो त ? किन यसरी लेखे उनीहरुले ?

जालिम मियाँ- यस्तो संकटको बेलामा अस्थिरता सिर्जना गर्ने र विभिन्न भ्रम छरेर आफ्नो फाइदा लिने संगठित गिरोह हुन्छ, त्यसले नै मलाई प्रयोग गर्न खोजेको हो ।

रातोपाटी- कुरा अलि बुझिएन, प्रष्ट भन्नुस् न ?

जालिम मियाँ- धमिलो पानीमा माछा मार्न खोज्नेहरुको काम हो त्यो । धार्मिक सद्भाव खल्बल्याउने र दुई देशबीचको सम्बन्धमा फाटो ल्याएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरुले धेरै पहिलादेखि यस्तो काम गर्दै आएका छन्, पछिल्लो पटक उनीहरुले मलाई निशाना बनाएका मात्र हुन् ।

भारतीय मिडिया के भन्छन् ?
भारतीय अखबार ‘नवभारत टाइम्स’ का अनुसार जालिम मियाँले नेपाल–भारत सीमास्थित रक्सौलमा भारतीय सुरक्षाकर्मीद्वारा रोकिएका पाकिस्तान, इन्डोनेसिया र भारतका केही ‘जमाती’लाई नेपाल भित्र्याएका थिए ।
भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्दीनमा आयोजित ‘जमात’ मा सहभागी भएर आएका करिब दुई दर्जन संख्यामा रहेका जमातीलाई उनले नेपालमा भित्र्याएको भारतीय मिडियाको आरोप थियो ।

अध्यक्ष जालिमले रातोपाटीसँग कुरा गर्दै उक्त आरोप निराधार रहेको बताए । ‘म मुस्लिम हुँ, तर अहिले विश्वव्यापी रुपमा देखिएको कोरोनाको सन्त्रासप्रति बेखबर छैन, यस्तो बेलामा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने मलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘मेराविरुद्ध कुप्रचार गरेर बद्नाम गर्न र धार्मिक सद्भाव बिथोल्नका लागि संगठित रुपमा लाग्नेहरुले यस्तो भ्रम फैलाइरहेका छन् ।’

उनले आफू विगत ६ महिनादेखि भारत नगएको दावी समेत गरे ।

नवभारत टाइम्सकै अनलाईन संस्करणमा प्रकाशित समाचारलाई गहिरिएर अध्ययन गर्ने हो भने पनि उनलाई यतिबेला किन निशाना बनाइएको हो भन्ने बुझ्न सहज हुन्छ । उक्त समाचारमा उनी नक्कली नोटको कारोबारी तथा हतियार तस्करीमा समेत संलग्न रहेको आरोप लगाइएको छ । 

जबकि, उनले कोरोना संक्रमितलाई संरक्षण दिएको सूचना सार्वजनिक गर्नका लागि उनको पृष्ठभूमिमा विभिन्न आरोप जोडेर प्रकाश पार्न आवश्यक परिरहने थिएन ।

कसरी फैलाइयो  भ्रम ?
सीमावर्ती क्षेत्र रक्सौल नजिकै तैनाथ भारतीय सुरक्षा बल ‘एसएसबी’ का ४७ औं बटालियनका कमाण्डर प्रियवरत शर्माले भारतकै बेतियाको डिएम र एसपीलाई एउटा गोप्य पत्र लेखेको तथ्य प्रकाशमा आएको छ ।
‘नोकरशाही’ नाम गरेको एउटा भारतीय अनलाइन च्यानलले आफ्नो युट्युव र फेसबुक पेजमा उक्त रहस्य उजागर गरेको छ ।

सो पत्रमा एसएसबी कमाण्डरले जालिम मुखियाको नेतृत्वमा २० देखि ३० जना मुसलमान भारत प्रवेश गर्ने प्रयासमा रहेको र उनीहरु कोरोनाभाइरसको संक्रमित भएको हुन सक्ने आशंका जनाएका थिए ।
सो पत्रमा उनीहरु भारतमा कोरोना फैलाउनकै लागि भारत प्रवेश गर्न चाहेको विवरणसमेत उल्लेख गरिएको उक्त च्यानलले दावी गरेको छ ।

एसएसबीकै पत्रको आधारमा भारतको सीमावर्ती क्षेत्रमा स्थानीय प्रशासनले समेत निकै सतर्कता अपनाएको बताइन्छ । तर पछि समाचार प्रकाशमा ल्याउने क्रममा भने गाविस अध्यक्ष जालिममाथि भारतबाट आएका मुस्लिमलाई रक्सौल नाकाबाट नेपाल भित्र्याएको र संरक्षण दिएको आरोप लगाइएको छ । यसबाट विषय वस्तु तथा तथ्य एकातिर भौँतारिएको देखिन्छ भने अर्कोतिर कुनै न कुनै रुपमा उनलाई आरोपित बनाउने उद्देश्य देखिन्छ ।

भारतीय मिडिया नवभारतटाइम्सकाे समाचार अंश:

यसैबीच पर्सा प्रहरीले पनि जालिम मुखिया पक्राउ नपरेको स्पष्ट पारेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वीरेन्द्र बहादुर शाहीले जालिम मुखिमा पक्राउ परेको कुरा हल्ला मात्रै भएको रातोपाटीलाई बताए ।
 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप