नयाँ वर्ष ‘कोर्स करेक्सन’को वर्ष बनोस् !
नयाँ वर्षको दिन भूपि शेरचनको यो कविताका पङ्क्तिहरु पुनर्ताजगी भएर आउँछन् । एकचोटि हेरौँ भूपिका यी पङ्क्तिहरु !
‘...नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि
सङ्गीसाथीहरुको सूची
बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर,
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको
शुभकामना–पत्र’
यस पटकको नयाँ वर्ष कोरोना भाइरसको सन्त्रास र सङ्कटबीच आएको छ । सरकारी निर्देशनअनुसार हामी विगत २० दिनदेखि घरमै छौँ, भाइरसको सङ्क्रमणबाट बच्नका लागि ! देखिँदैछ, यो कोरोनाको महामारीले विश्वव्यापी सन्त्रास फैलाएको छ । विश्वका करिब ५ अर्ब मान्छेहरु आज पनि लकडाउन जीवन बिताउन बाध्य छन् । ती सबै सरकारहरुले ती नागरिकको सुरक्षाका लागि नै भनेर लकडाउन गरिदिएका छन् । अनि सबैले निर्विकल्प भएर घरमै बन्दी हुनुपरेको छ । भनिँदै छ– आम मान्छेको सुरक्षाका लागि हो, लकडाउन ! तर, एउटा अनुत्तरित जिज्ञासा भन्छ– ‘के अरू महामारी जस्तै यो कोरोना भाइरस पनि कुलीन र धनाड्यहरुलाई चाहिँ लाग्दैनथ्यो भने यसैगरी लकडाउन हुन्थ्यो ?’
विज्ञान र सूचना प्रविधिले दु्रत्ततर बनाएको आजको भूमण्डलीकृत विश्वमा यस्तो दिन पनि आउनेछ, सायद कसैले कल्पना गरेको थियो । तर यो आयो मात्र हैन हाम्रा लागि निर्विकल्प यथार्थ बनेर राज गरिरहेको छ । यो भाइरसले सयौँ देशलाई हायलकायल पारिरहेको छ । विकसित र सुविधा सम्पन्न देशहरु झन् बढी यसको चपेटोमा परेका छन् । उनीहरुको आर्थिक प्रणाली ध्वस्त भएको छ । पुँजीवादको चरम नाफामुखी चरित्र उदाङ्गिएको छ । कोरोना सङ्कटले कथित ‘खुला बजार अर्थतन्त्र’ असली अनुहार छर्लङ्ग पारिदिएको छ ।
कोरोना भाइरसले अहिले विश्वको महाशक्तिलाई माथ खुवाएको छ । हामी पनि यसको चपेटोमै छौँ । संसारको एउटा कुनामा हामी पनि कोरोनाको असर नियालिरहेका छौँ, चुपचाप ! अर्बौं मान्छेहरुको मस्तिष्कलाई एकैपटक शासन गर्ने कोरोनाको शक्तिदेखि डराएर, थाकेर अनि लुकेर ! किनकि हामीसँग त्योसँग जुध्ने सामथ्र्य त छैन, छैन राज्य पनि त्यसका अगाडि विकल्पविहीन भइदिएको छ । तर पनि आशावादिताले भन्छ– यसपछि पनि संसार बौरिनेछ, फेरि बचेखुचेको आशालाई स्याहार्दै हामी धुलो टक्टक्याएर उठ्नेछौँ र उठ्नैपर्छ !
भौतिक रूपमा सुनसान बनेको विश्व अर्थराजनीतिको रङ्गमञ्चमा भर्चुअल संवादहरु सुरु भएका छन् । अनेकन विश्लेषण र दाबीहरुको प्रस्तुतीकरण सुनिन थालेको छ । अबको विश्व कता जाला ? अहिलेको विद्यमान अर्थराजनीतिक व्यवस्थामा बदलाव आउला कि नआउला ? आए कस्तो आउला ? अब विश्वको महाशक्ति को होला ? के अमेरिका र युरोपतिर केन्द्रित अर्थराजनीतिको चुम्बकीय शक्ति पूर्वतिर सर्ला ?
त्यस्तै नेपालको भविष्य के होला ? कोरोना सङ्कटपछि हुनसक्ने सम्भावित आर्थिक मन्दीको मार कसरी थामिएला ? देश बाहिर रहेका झण्डै ७० लाख श्रमशक्तिमध्ये ५० प्रतिशतले मात्रै रोजगारी गुमाउँदा नेपालको श्रम बजारमा पर्ने चाप कस्तो होला ? अहिले अर्थतन्त्रको आधार बनेको रेमिट्यान्स पठाउने ती युवाहरु आफैँ बेरोजगार भएर फर्किए नेपालको अर्थतन्त्र कहाँ पुग्ला ?
ती लाखौँ युवाहरुको घरपरिवार कसरी चल्ला ? त्यो सम्भावित महाबेरोजगारीको अवस्थाबाट सिर्जना हुने अर्थराजनीतिक सङ्कट कस्तो होला ? के अहिलेको राज्यले त्यो सङ्कट झेल्न सक्ला ? अहिलेका शासकहरुले त्यसको सामना गर्न सक्लान् ? कोरोनाको कहर लम्बिँदै जाँदा यी र यस्तै प्रश्नहरुले मथिङ्गल रिङ्ग्याउन थालेको छ ।
तर एउटा अचम्मको कुरा चाहिँ के छ भने यी यावत प्रश्नहरुले शासनसत्तामा बसेकाहरुलाई पटक्कै छोएको छैन । उनीहरु भाइरसविरुद्धको एउटै मात्र उपचार ‘लकडाउन’लाई मात्रै मानिरहेका छन् । लकडाउनले समयको लाभांश दिने हो, उपचार हैन । सम्भावित विपत्तिको सामना गर्न र जीवन चलाउने तयारीको समय दिने हो । तर यसलाई नै उपलब्धिका रूपमा व्याख्या गर्दै शासकहरु घरमा थुनिएका नागरिकलाई कहिले धुपबत्ति बाल्न लगाउँछन् त कहिले राष्ट्रिय धुन बजाएर थप्पडी मार्न !
अँ साँच्ची, प्रसङ्ग चाहिँ नयाँ वर्षको थियो क्यारे । यसै त भर्चुअल हुँदै गएको हाम्रो समाज, झन् अहिले भौतिक दूरी कायम गर्नुपर्ने अवस्थाको कारण भर्चुअल संसारले नै वैधानिकता पाएको छ । त्यसैले बिहानैदेखि फेसबुक, ट्विटर, इन्स्टाग्राम इत्यादिमा बग्रेल्ती शुभकामनाका रङ्गीविरङ्गी तस्बिर तथा भिडियो सन्देशहरु आउन थालिसकेको छ ।
सबैमा रङ छ, शब्द छ तर भाव छैन । मान्छेलाई प्रविधिले यति सजिलो बनाइदियो कि एकै दबाब (ट्याप)मा सयौँलाई एकैचोटि सन्देश पठाइदिनसक्ने भइयो । अनि सन्देश सिर्जना गर्नुपर्ने लेठो पनि गर्नु परेन । मस्तिष्क खियाउनै परेन । सोच्नै परेन । दुःख गर्नै परेन । बस् कहीँ कसैले एउटा भिडियो वा ग्राफिक्स डिजाइन गरिदिन्छ । अनि त त्यही तयारी डिजिटल सन्देश प्रवाहित हुन्छ दसौँ, सयौँ, हजारौँ अझ लाखौँ डिभाइसहरुमा । शुभकामना आदान प्रदानका हिसाबले हाम्रा सबै मेला पर्व एवं चाडहरु डिजिटल बनेका छन् ।
हो, प्रविधिकै कारण अब संवादको लय फेरियो । संवादको तरिका फेरियो । संवादको शैली फेरियो । झन् आजको कोरोना महामारीले त यसलाई संस्थागत बनाइदियो । यसलाई नै वैधानिक बनाइदियो । अब ओल्लो घर र पल्लोघरबीच भिडियो सन्देश प्रवाह हुने भयो । मन्त्रालयहरुबीच भिडियो बैठक हुने भयो । मन्त्रिपरिषद्को बैठक पनि आआफ्नो मन्त्री क्वार्टरबाट हुने भयो । सबैभन्दा महत्त्वपूर्ण कुरा संवादको संवेदना पनि फेरियो ।
अब कसैले कुनै अवसर पारेर दिने शुभकामना सन्देशहरु यति हल्का र विरक्तिलो लाग्न थालेको छ कि त्यो आउनुले भावना होइन हैरानी ल्याइदिन्छ । मोबाइल तथा ल्यापटपमा शुभकामनाका सङ्केत ध्वनिहरु एकाएक पड्किनुमा कुनै मज्जा छैन । बरु त्यसले क्षणभङ्गुरका लागि ध्यान विकेन्द्रित गरिदिन्छ । तपाईं कसैसँग डिजिटल डिभाइसमै गफिँदै हुनुहुन्छ भने तपाईंलाई त्यस्ता सन्देशले डिस्टर्ब गरिरहेको छ । तर पनि आउने सन्देशहरुलाई रोक्न सक्ने कुरै भएन । ती आउँछन्, अनवरत आउँछन् ।
फेरि पनि नयाँ वर्षकै कुरा जो छ । अब भूपिले जस्तो शुभकामनाका सन्देशहरु लेख्नुपरेन । अक्सर हामी भावनात्मक रूपमा होइन परम्पराकै निरन्तरताका लागि धेरै कुरा गरिरहेका हुन्छौँ । जस्तो कि नयाँ वर्षको शुभकामना ! किनकि हामी संस्कार, संस्कृति र परम्परामा बाँधिएका छौँ ।
त्यसैले भूपिका माथि उद्धृत गरिएका पङ्क्तिहरु बारबार सम्झनाको तरेलीमा आइ नै रहन्छन् । ती पङ्क्तिहरुले निरन्तर गिज्याइरहेको भान हुन्छ । अनि बाध्य भएर फेरि एकपटक ‘नयाँ’ भएर आएको त्यही पुरानो ‘नयाँ वर्ष’लाई स्वागत गर्न पुग्छौँ । अनि जीवनको ‘भिसा’ थप एक वर्ष छोट्याउँदै निरन्तर आइरहने त्यही पुरानो ‘वर्ष’लाई नयाँ भनाउँदै फोन, एसएमएस, इमेल, सामाजिक सञ्जालमार्फत शुभकामनाका शब्दहरुले सजाइरहेका हुन्छौँ, नयाँ वर्षको शुभकामना !
त्यसो त नयाँ दिनले नयाँ आगमनकै सम्भावनालाई उजागर गर्ने हो । त्यसैले नयाँ वर्षले पनि केही नयाँ ल्याउने सम्भावनालाई भने नकार्न सकिँदैन र हुँदैन पनि । किनकि भविष्य भनेको अनेकन सम्भावनाहरुको खानी हो । भोलिको त्यो हरेक पल र क्षण भविष्यसँग जोडिएको हुन्छ । अनि भविष्यका हरेक पल र घटना स्वभावैले नयाँ हुन्छन् किनकि त्यसको हामी शत प्रतिशत अनुमान गर्नसक्दैनौँ ।
अनि त्यही नयाँको आशा नै जीवन जिउने आधार बन्छ सायद । यदि आशा नहुने हो भने जीवन जिउनुको आधार पनि त नहुँदो हो । यसर्थ नयाँ वर्षले ल्याउने नयाँ भविष्यको आशा नै जीवन जिउने सहारा हो ।
गएको वर्षलाई फ्ल्यासब्याकमा हेर्दा उति उत्साहित देखिएन । झन् पछिल्ला केही महिनादेखि देखापरेको कोरोना भाइरसको सङ्कटले त सन्त्रस्त नै बनाइदिएको छ । भाइरसकै कारण सरकारका काम कारबाही, शासन प्रशासनका कुरा, विकास निर्माण इत्यादिमा भएगरेका कमी कमजोरी सबै गौण भइदियो । ती बारे उधिन्नु नै परेन अब । किनकि अब सबैको अपजस लिने एउटै ‘कोरोना’ काफी छ ।
आशा गरौँ । ‘कोरोना’पछि पनि दिनहरु आउनेछन् । कोरोनाका कारण सङ्कटमा परेको अर्थराजनीतिले त्राण पाउने छ । तर त्यसले आफैँ त्राण पाउनेछैन । त्यसमा व्यापक पुनर्संरचनाको खाँचो पर्नेछ । त्यो बेला शासकहरुसँग सबै कुराको हिसाब नागरिकले सडकबाट खोज्नेछन् । अनि साच्चिीकै जनताले डाइरेक्ट डेमोक्रेसीको परिभाषा खोज्नेछन् । अनि त्यो लोकतन्त्रले ल्याउने आर्थिक समृद्धिको पनि चर्चा गर्नेछन् । अनि यसका लागि अहिले अवलम्बन गरिएको अर्थराजनीतिको परिभाषालाई नै बदलेर नयाँ आर्थिक र राजनीतिक एजेन्डा सेट गर्नुपर्नेछ ।
कोरोनाको सन्त्राससँगै शासनसत्ता र व्यवस्थाको सन्त्रासले त्रस्त भएका नेपालीलाई मुक्ति दिनका लागि यस वर्ष केही नयाँ पहलु हुनैपर्छ । यदि त्यो ‘नयाँ कोर्स’को उदय हुन सकेन र कोरोनापूर्वको पुरानै कोर्सले निरन्तरता पायो भने फगत भूपिले भनेझैँ यो नयाँ साल पनि भित्तामा टाँसिने नयाँ क्यालेन्डरमै सीमित हुनेछ । त्यसैले यो नयाँ वर्षलाई साँच्चिकै ‘नयाँ’ बनाउने प्रयत्न गरौँ । नयाँ वर्ष ‘कोर्स करेक्सन’को वर्ष बनोस् ! नयाँ वर्षको शुभकामना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता