शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विकिलिक्सका संस्थापक असान्ज दूतावासमा शरण लिइरहेका बेला गोप्य रुपमा दुई सन्तानका पिता बनेको खुलासा

सोमबार, ०१ वैशाख २०७७, ०८ : ४८
सोमबार, ०१ वैशाख २०७७

विकिलिक्सका संस्थापक जुलियन असान्ज लण्डनको इक्वाडोरको दूतावासमा रहँदा गोप्य रुपमा दुई बच्चाका पिता बनेको खुलासा भएको छ ।

उनकी पार्टनर स्टेला मोरिसले यसबारे पर्दाफास गर्दै असान्जसँग सन् २०१५ देखि सम्बन्ध रहेको बताउँदै आफ्नै बलबूँतामा दुई सन्तान पालिरहेको जानकारी दिइन् ।

उनले लण्डनको बेलमार्श जेलमा कोरोनाभाइरसको संक्रमण फैलने विषयमा चिन्ता व्यक्त गर्दै असान्जसँग आफ्नो सम्बन्धबारे जानकारी दिएकी हुन् ।

गत वर्ष इक्वाडोरको दूतावासबाट जबर्जस्ती निकालिएपछि असान्जलाई बेलमार्श जेलमा राखिएको छ ।

४८ वर्षका अष्ट्रेलियाली नागरिक असान्ज आफ्नो स्वास्थ्यस्थिती खराब भएको भन्दै जमानत चाहन्छन् ।

दक्षिण अफ्रिकामा जन्मिएकी वकिल स्टेला मोरिसले बेलायती पत्रिका द मेल अन सन्डेलाई यतिबेला असान्जको जीवन नाजुक भएको र यदि उनलाई कोरोनाभाइरसको संक्रमण भइहाल्यो भने पनि उनी यसबाट उम्कन नसक्ने बताएकी छिन् । उनको स्वास्थ्यको खातिर पनि आफ्नो सम्बन्धबारे यतिबेला खुलासा गर्नुपरेको उनले बताएकी छिन् ।

विकिलिक्सको युट्युब अकाउन्टमा एउटा भिडियोमा उनले असान्जलाई सन् २०११ मा भेटेको र उनी उनको कानूनी समूहसँग सम्बन्धित भएको पनि बताइन् ।

२०१५ मा प्रेम, दुई वर्षपछि इन्गेजमेन्टः

असान्जले सन् २०१२ मा स्वीडेनमा एक यौन अपराध मामलामा प्रत्यर्पणबाट बच्नका लागि इक्वाडोरको लण्डन दूतावासमा शरण लिएकी थिइन् । त्यो मुद्दा अब समाप्त भइसकेको छ ।

असान्जले जासूसीको मामलामा अमेरिका प्रत्यर्पण गरिने अर्को मुद्दा पनि खेपिरहेका छन् ।

स्टेला मोरिसका अनुसार उनी दूतावासमा लगभग हरेक दिन असान्जलाई भेट्थिन् ।

उनका अनुसार सन् २०१५ मा यी दुई बीच प्रेम बस्यो र दुई वर्षपछि दुईले इन्गेजमेन्ट गरे ।

उनले मेल अन सन्डेसँगको कुराकानीमा असान्जले भिडियो लिंकमार्फत् दुई बच्चा जन्मिएको हेरेको र दूतावासमा बच्चाहरु आफ्ना पितालाई भेट्नसमेत गएको बताए ।

स्टेलाका अनुसार तीन वर्षका गेब्रिएल र एक वर्षका मार्क्स आफ्नो पितासँग भिडियो कलमार्फत् कुराकानी गर्छन् ।

विकिलिक्सको युट्युब भिडियोमा उनी भन्छिन्, ‘आफ्नो वरिपरि घेरिएको पर्खाल भत्काउनका लागि एउटा परिवार बनाउनु निकै सोचविचार गरेर लिइएको निर्णय हो । यसमार्फत् जेलबाहिरको जीवन कल्पना गरिएको थियो ।’

‘कतिलाई यो अचम्मको लाग्ला तर हाम्रो लागि समझदारीयुक्त निर्णय थियो ।’

‘जुलियन जब आफ्ना बच्चाहरु हेर्छन् तब उनी निकै आनन्दित र सहारा भेटेको महसुस गर्छन् । मेरा बच्चाहरु निकै खुसी छन् ।’

असान्जलाई सन् २०१९ को अप्रिल ११ मा समर्पण नगरेका कारण इक्वाडोरको दूतावासबाट पक्राउ गरिएको थियो र जमानतको शर्त तोडेका कारण उनलाई ५० हप्ताको जेल सजाय तोकिएको थियो ।

असान्जका अन्य सन्तान पनि भएको अनुमान गरिन्छ तर यसबारे निकै कम जानकारी छ ।

केही जानकारीका अनुसार उनका एक छोरा डेनियल असान्ज वयस्क भइसकेका छन् र उनी अष्ट्रेलियामा सफ्टवेयर डिजाइनरको रुपमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप