बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्ण विष्टको लकडाउन डायरी : शरीर घरभित्रै मन श्रमिकतिर

सोमबार, ०१ वैशाख २०७७, ०८ : १६
सोमबार, ०१ वैशाख २०७७

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि मुलुक तीन सातादेखि लकडाउनमा छ । लकडाउनको मार सबैभन्दा बढी ज्यलादारी श्रमिक वर्गमा परेको छ । नेकपा नेता एवम् पूर्वश्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले त्यसमा गरिरहेको समन्वय र लकडाउन डायरी प्रस्तुत छ उनकै शब्दमा :

यतिबेला विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट मानव जातिले शताब्दीकै ठूलो सङ्कटको सामना गर्नुपरिरहेको छ ।

विश्वव्यापी रूपमा लाखौँ मानिसमा कोरोना सङ्क्रमण देखिएको छ भने एक लाख १४ हजार बढीले ज्यान गुमाएका छन् ।

संसारका शक्तिशाली देशहरु पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल देखिएका छैनन् । धेरै शक्तिशाली भन्ने देशलाई पनि कोरोना भाइरसले आक्रान्त बनाएको छ । जुन गतिमा कोरोना भाइरसले सङ्क्रमण गरिरहेको छ, सङ्गो मानव जातिमाथि नै गम्भीर चुनौती थपिएको छ । यो सङ्कटविरुद्ध जुध्नका लागि विश्व मानव जाति नै एक जुट भएर लाग्नुपर्ने अवस्था छ ।

जसरी विश्वव्यापी रूपमा यसको प्रभाव देखापरेको छ, नेपाल पनि स्वाभाविक रूपमा प्रभावित छ । कोरोना भाइरसको सङ्क्रमणबाट जनतालाई जोगाउन नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले विभिन्न निर्णय र सन्देश जारी गरेको छ ।

यतिबेला हामी लकडाउनमा छौँ । सरकारले लकडाउनको निर्णय गरेको छ । सङ्क्रमणबाट जोगिन र जोगाउनका लागि सरकारको यो निर्णयलाई हामी सबैले पालना पनि गरिरहेका छौँ । 

लकडाउनका कारण म पनि घरभित्रै सीमित भएर बसेको छु । यस्तो अवस्थामा हरेक व्यक्तिलाई तनाव पैदा हुनु र असहज अवस्था उत्पन्न हुन स्वाभाविक रहेछ । 

हामीले जुन प्रकारले नियमित जीवन विताइरहेका थियौँ, त्यसमा एउटा असाधारण, असामान्य अत्यन्त जोखिम र चुनैतीपूर्ण सङ्कट पैदा भएको छ । यो सङ्कटबाट उत्पन्न लकडाउनमा मैले आफूलाई नियमित जीवनभन्दा फरक गतिविधि गरिरहेको छु । लकडाउन नहुँदा एक प्रकारले राजनीति, सामाजिक कार्यकर्ताको हैसियतले विभिन्न कार्यक्रममा जाने, साथीभाइसँग भेटघाट हुने, आफ्नो आवश्यकता र चाहना अनुकुल बाहिर निस्कने अवस्था थियो । हामी यतिबेला आफ्नै सुरक्षाका लागि लकडाउनमा छौँ । 

कोरोनाबाट आफू जोगिन र अरूलाई जोगाउनका लागि हामीले आत्मा आनुशासन गर्नुपर्ने अवस्था पनि छ । यो कारणले पनि नियमित जीवनमा भिन्नता देखापरेको छ । म लकडाउनमा छु तर मेरो मन दाजुभाइ दिदीबहिनीको बस्तीमा पुगिरहेको छ । शरीर लकडाउन सीमिति छ तर मन दाजुभाइ दिदीबहिनीको समस्यामै केन्द्रित छ ।

बिहान सबेरै उठ्ने गर्छु । पहिले म नियमित एक्सरसाइज गर्थें । बीचमा ग्याप भएको थियो । अहिले एक्सरसाइज सुरु गरेको छु । त्यसपछि विभिन्न अनलाइनमा आएका समाचार हेर्न, विश्वव्यापी रूपमा कोरोनाको सङ्क्रमणले कस्तो असर गरिरहेको छ, देशभित्र नयाँ समाचार के छन्, त्यसमा आफूलाई अपडेट गर्दछु । विभिन्न किताब बढ्छु ।

त्यसका साथसाथै देशभित्रबाट र देशबाहिरबाट साथीहरुका फोन आउने गर्छन् । सूचना प्राप्त गर्ने र विचार आदान प्रदान गर्ने काम पनि भइरहेको छ । साथीहरुले लकडाउनमा आफ्नो अनुभूतिका साथै त्यहाँ समस्या सुनाउने गर्नुहुन्छ ।

उनीहरुका कुरा सुन्ने र आफूलाई लागेका कुरा सुनाउने गरिरहेको छु । म एउटा निर्वाचित जनप्रतिनिधिको हैसियतले निर्वाचन क्षेत्र र जिल्लाका दाजुभाइ दिदीबहिनीका समस्याहरु बुझ्ने, उहाँहरुका मनोभावनालाई आत्मसात गर्ने र उहाँहरूका समस्यालाई समाधानका लागि सहयोग जुटाउने, समन्वय गर्ने काममा पनि समय व्यतित गरिरहेका छु ।

जिल्ला प्रशासन, निर्वाचति प्रतिनिधि साथीहरु, राजनीतिक पार्टीका कार्यकर्ता साथीहरुसँग निरन्तर फोन सम्पर्कमा छु । टेलिफोनमा वार्ता गर्ने र एकआपसमा विचारको आदान प्रदान गर्ने, समस्या समाधानका लागि समन्वय गर्ने, सुझाव दिनेजस्ता काममा बेसी समय वितेको छ । 

श्रमिकका समस्यासँगको साक्षात्कार
कतिपय ठाउँमा श्रमिकहरुले एक ठाउँबाट अर्को ठाउँ जान नपाएका समस्या, कतिपय ठाउँमा खान र बस्न परेको कठिनाइ, कतिपय ठाउँमा स्वास्थ्य सामग्री अभावजस्ता समस्या अति बेसी आउने गर्दछन् ।

विपन्न परिवार र श्रमिकका समस्याहरुको सम्बोधन गर्ने सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधि साथीहरुले केही समस्या राख्ने, केही सुझाव राख्ने र परस्पर साल्लाह गरेर समाधानका लागि अगाडि संवाद हुन्छ ।
मूलतः देशभित्र र बाहिर श्रमिकका जीवनमा देखापरेका कठिनाइहरु फोनमार्फत प्राप्त हुने गर्दछन् ।

साथीहरुले देशभित्र श्रमिकहरुलाई खाने बस्ने समस्या भएको कुरा पनि राख्नुहुन्छ भने देशबाहिर ‘कम्पनीले कामबाट निकाल्दा खाने बस्ने ठाउँ छैन, कहाँ भनिदिएर हुन्छ तपाईंले भनिदिनुपर्यो, सहयोग जोटाइ दिनुपर्यो’ भनेर फोन आउने गर्दछन् ।

शनिबार वीरगञ्जबाट केही साथीहरुले ‘हाम्रो दाजुभाइ र छोराछोरी साउदी अरबमा कामबाट निकालिँदा खाने र बस्ने समस्या छ । उनीहरुलाई उद्धार गरिदिनुपर्यो । सरकारका नियकालाई भनिदिनुपर्यो, कुनै सङ्घ संस्थालाई हारगुहार गरिदिनुपर्यो’ जस्ता कुरा गरिरहनुभएको थियो । श्रमिकहरुले काम गरिरहेका देशमा लकडाउनबाट उत्पन्न समस्या पनि प्रतिविम्बित गरिरहनुभएको छ ।

देशभित्र उपत्यका र बाहिरबाट पनि समस्या भएको बारे फोन आउने गर्दछन् । 

बाहिर रहेका साथीहरुको सन्दर्भमा कतिपय नियोगका साथीहरुलाई फोन गरेर यस्तो समस्या रहेछ, तपाईंहरुले के सक्नुहुन्छ, सहयोग गर्नुहोस् भनेर सुझाव दिने गर्दछु । त्यहाँ रहेका सङ्घ संस्थाहरुलाई पनि अनुरोध सहयोग गर्न भनेको छु । 

अन्य साथीहरुलाई पनि भाइबरबाट फोन गरेर मानवीय रूपमा भए पनि सहयोग गर्नुहोस् भनेर अनुनय, विनय गर्ने गरेको छु । देशभित्र समस्यामा परेका श्रमिकका लागि सम्बन्धित स्थानीय प्रतिनिधि साथीहरु फोन गरेर सक्दो सहयोग गर्नका लागि समन्वय गर्ने प्रायस गरिरहेको छु ।

यो हिसाबले कतिपय कुरामा पार्टीका कार्यकर्ता साथीहरुसँग पनि समन्वय हुने गरेको छ । खानबस्न समस्या भएपछि श्रमिकहरु काठमाडौँ उपत्यकाबाट पैदल यात्रामै बाँके, बर्दिया, कैलाली, उदयपुरसम्म गएको समाचार आएका छन् । यसबारे सरकार गम्भीर बन्नुपर्छ । हामीले जनस्तरबाट पनि जहाँ समस्या देखापर्छ, त्यहाँबाट समाधान गरेर मानवीय कर्तव्य पूरा गर्नुपर्छ ।

नेपालमा लाखौँको सङ्ख्यामा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने श्रमिक छन् । लाखौँको सङ्ख्यामा अत्यन्त विपन्न परिवार छन् । चाहे त्यो सहरमा काम गर्ने श्रमिक हुन्, चाहे ग्रामीण बस्तीमा काम गर्ने श्रमिकहरु ।

हरेक दिन काम गरेर ज्याला थापेर बाँच्ने श्रमिकको सङ्ख्या लाखौँ । लकडाउनले उनीहरुमा ठूलो प्रभाव परेको छ । लकडाउनले उद्योग बन्द भएका छन् । विभन्न कार्यालयका काम बन्द भएका छन् । उपत्पादन प्रक्रिया ठप्प भएको जस्तो छ । यसले देशको अर्थतन्त्रलाई गम्भीर नकारात्मक प्रभाव पारेको छ । कोरोनाका कारण देश तथा विदेशमा रहेका श्रमिकको रोजगारी खोसिने भएकाले आगामी व्यवस्थापनबारे सरकारले समयमै ध्यान जरुरी छ ।

कोरोनाको मनोेवैज्ञानिक त्रास
लकडाउनमा मानिसमा कोरोना भाइरसको मनोेवैज्ञानिक त्रास छ । घरमा बस्दा बस्दै निराशा आउने, उदासीनता आउने, आत्माबल कमजोर हुने जस्ता समस्या पनि देखापर्न सक्छन् । 

यतिबेला घरभित्र बसेका दाजुभाइ दिदीबहिनीले देशभित्र र देशबाहिरको जानकारी प्राप्त गर्नका लागि प्रत्येक मिनेटमा समाचारको खोजी गर्ने गर्दछन् ।

कोरोना भाइरसका नकारात्मक समाचारले मनोवैज्ञनिक रूपमा नकरात्मक प्रभाव पर्ने अवस्था छ । यो अवस्थाबाट हामी आम नागरिकलाई मनोवैज्ञानिक रूपले माथि उठाउन जरुरी छ ।

यसका लागि व्यायाम गर्ने, सकारात्मक सन्देश दिने, फुर्सदको समयमा किताबहरु बढ्ने, मनोरञ्जनका सामग्री हेर्ने, साथीहरुसँग फोनमा सकारात्मक संवाद गर्ने, कोरोना भाइरसमाथि मानव जातिले विजय प्राप्त गर्छ भन्ने आत्मा विश्वास जगाउने र एकले अर्कोलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्न अग्रसरता प्रकट गर्ने कुरामा व्यस्त राख्नुपर्छ ।

हामीले यसरी आफूमा आत्माविश्वास पैदा गर्न सक्दछौँ । कुनै पनि हिसाले आफ्नो मनभित्र नकारात्मक कुराले बेसी भूमिका खेल्न नपाओस भनेर सचेत हुने र सचेत बनाउने काम भूमिका निर्वाह गर्न जरुरी छ । म बेलाबखत प्रहरी हिरासतमा बसेको हुँ । मलाई प्रहरी हिरासतको अनुभव छ । 

त्यो अवस्थाभन्दा अहिलेको अलि फकर अवस्था हो । त्यो अवस्थामा केही व्यक्तिहरु जेल बस्नुपर्दथ्यो । अहिले आम नागरिकले आफूलाई घरभित्र सीमित गर्नुपरेको छ । दैनिक आवश्यकताका सामग्री खरिदका लागि परिवारको सदस्य घरको गेटभित्र र बाहिर गर्दासमेत कतै कोरोना सङ्क्रमणको जोखिम बढ्छ कि भनेर मनोवैज्ञानिक त्रास पैदा हुन्छ ।

यो मानवको मस्तिष्कमा असाधारण त्रास हो । सङ्क्रमणको जोखिमभन्दा ठूलो जोखिम भनेको मनोवैज्ञानिक जोखिम हो । यो असाधारण, अकल्पनीय सङ्कट र चुनौती हो । 

सरकारका काम
संसारका शक्तिशाली राष्ट्र पनि कोरोनाले त्रस्त बनिरहेका छन् । यसलाई नियन्त्रणका लागि उनीहरु पनि एक प्रकारले असफल भइरहेका छन् । विभिन्न अनुसन्धान र आविष्कारक पनि यो कुरामा सफल हुन सकिरहेका छैन । स्र्रोत साधनको अभाव भएको हाम्रो देशले भोग्ने चुनौती आफैँमा गम्भीर छँदैछ । सरकार र विश्व स्वास्थ्य सङ्गठनले यसबीचमा लिएका निर्णयलाई जनताले पालना गर्नुभएको छ । जनस्तरबाट सरकारलाई प्राप्त सहयोग पनि मिलिरहेको छ । हाम्रो देशका लागि लकडाउन नै कोरोना रोकथामको उत्तम उपायका रूपमा देखिएको छ ।

यस्तो अवस्थामा सरकारले आफ्ना कामलाई अझ परदर्शी बनाउने, पुष्ट बनाउने, जनताको बीचमा इमानदारिता प्रकट गर्ने र कोरोनाबाट उत्पन्न असाधारण अवस्थामा सरकारको नियमित कामहरुको जस्तो प्रयत्नले प्राप्त हुन सक्दैन ।

यो असाधारण परिस्थितिमा असाधारण भूमिका नै आवश्यक पर्दछ । सरकारको प्रयत्नप्रति जनतामा विश्वास जगाउने र आत्मा विश्वास पैदा हुने काममा जोड दिनुपर्छ ।

जुन ढङ्गले सरकार काममा सूचना बाहिर आएका छन्, के कारणले यस्ता सूचना आइरहेका छन्, जनताका के कारणले भ्रम पैदा भएको छ भन्ने सन्दर्भमा जनतालाई प्रष्ट पार्ने, जनतामा विश्वास जगाएर एकताबद्ध बनाउने काम सरकारले भूमिका खेल्नुपर्छ ।

विभिन्न पार्टी सामाजिक कार्यकर्ताको तागतलाई सामूहिक रूपमा परिचालान गरेर नै यो सङ्कटमाथि हामीले विजय प्राप्त गर्न सक्छौँ । सरकारले यी सबै कुरामा गम्भीरताका साथ ध्यान दिन जरुरी छ ।
म के खुसी व्यक्त गर्न चाहन्छु भने केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तहका सरकारले विभिन्न प्रयत्न गरिरहेका छन् । त्यसमा पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि साथीहरुले जुन प्रकारले भूमिका निर्वाह गरिरहेका छन्, यो अत्यन्त प्रशंसनीय छ ।

स्वास्थ्य सामग्रीको अभाव, स्रोत साधानको अभाव, जनशक्तिको अभावका बीचमा पनि आफ्नो क्षमताले भ्याएसम्म स्थानीय तहका प्रतिनिधि साथीहरुले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने, क्वारेन्टाइन व्यवस्था मिलाउने काम गर्नुभएको छ । साथै जनतालाई सचेत रहनका लागि सामाजिक दूरी कायम गर्न विभिन्न पर्चा वितरण गने, माइकिङ गर्ने, जनताहरुको लगत तयार गर्ने, राहत वितरण गर्नेजस्ता काममा अहोरात्र खटिनुभएको छ । राजनीति, कार्यकर्ता र सामाजिक अभियान्ताले खेलेको भूमिका पनि ज्यादै महत्त्वपूर्ण छ ।

हामी एक पटक कल्पना गरौँ, यतिबेला स्थानीय तहका प्रतिनिधि नभएको भए यो सङ्कटसँग सामना गर्न हामीलाई कस्तो कठिनाइ पथ्र्यो होला । त्यसकारण अहिले स्थानीय तहको भूमिका ज्यादै प्रभावकारी छ ।

जुन ढङ्गले स्थानीय तहले भूमिका निर्वाह गरेका छन् त्यही गतिमा माथिल्लो तहका सरकारको भूमिका अलि चुस्त, व्यवस्थित हुन जरुरी छ । यो सङ्कट कति जाने हो यकिन गर्न सकिँदैन । त्यो सम्भावित सङ्कटलाई समाना गर्ने खालको व्यवस्थापन र जनतामा विश्वास पैदा गर्ने कुरामा सरकारले ध्यान दिन जरुरी छ । अहिले जे भइरहेको छ यतिले मात्र हुँदैन । यो कति जान्छ कुनै टुङ्गो छैन । कोरोना भाइरसको प्रभावबाट मुक्त भएपछिका दिनहरुमा देशलाई पर्ने प्रभावबाट जोगाउन नयाँ शिराबाट अघि बढ्न हामीले कस्तो तयारी गर्ने भन्ने विषयमा आजैदेखि गृहकार्य हुन जरुरी छ ।

यतिबेला कोरोना भाइरससँग जुध्नका लागि फरक विचार, मान्यता, आफ्ना स्वार्थभन्दा माथि उठेर पारस्पारिक सद्भावका माध्यमबाट नै हामीले प्रयत्न गर्न जरुरी छ । 

कोरोना भाइरस सङ्क्रमणअघि एकले अर्कोलाई पराजित गर्न, दमन गर्न जुन प्रकारको तँछाड मछाड देखापरेका थिए । विभिन्न देश आआफ्नो स्वार्थमा केन्द्रित थिए ।

यसले त्यस प्रकारका अस्वस्थ प्रतिस्पर्धा, द्वन्द्व र हिंसाबाट माथि उठेर मानवताका लागि संसारका सबै देश एकताबद्ध भएर नयाँ उचाइबाट बढ्न जरुरी छ, मानवता सबैभन्दा माथि हुन्छ भन्ने कुराको यो सङ्कटले हामीलाई पाठक सिकाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप