बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२०७६ को क्राइम सिन  : 'सिरिञ्ज' आतंकदेखि चिनियाँ ह्याकरहरुसम्म !

आइतबार, ३० चैत २०७६, १५ : ४४
आइतबार, ३० चैत २०७६

शान्ति सुरक्षाको क्षेत्रमा २०७६ साल मिश्रित वर्ष रह्यो । वर्षौँ पुरानो आपराधिक घटनामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पक्राउ गर्दै प्रहरीले राजनीतिक आडमा भएका घटनाहरुको अनुसन्धान एवं कारवाहीमा उत्तिकै सशक्त भूमिका निर्वाह गर्ने सन्देश दियो ।

अर्कोतिर पाँचथरमा भएको सामूहिक हत्या प्रकरणले भने समाजमा सुरक्षाको कमजोर अवस्थालाई उजागर गरिदियो । आलम पक्राउ प्रकरण र पाँचथर सामूहिक हत्या प्रकरणले यो वर्ष धेरैको ध्यान खिच्यो ।

यस्तै सर्लाहीमा कुमार पौडेलको इन्काउन्टर प्रकरणले प्रहरीको छविलाई नै केही धमिलो तुल्याइदियो । कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोपमा सभामुखबाट राजीनामा नै दिनपर्यो ।

२०७६ मा हाम्रो नजरमा परेका अपराधका १० चर्चित घटनाका विषयवस्तुलाई समेटेर पुनः स्मरण गराउने प्रयास गरेका छौँ ।

९ जनाको सामूहिक विभत्स हत्या

गत जेठ ७ गते मध्यराति सुतिरहेको अवस्थामा पाँचथरको  मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटेमा ९ जनाको विभत्स हत्या भयो । दुई परिवारका गरी ९ जनाको हत्या हुँदा गाउँगाउँमा एक खालको त्रास फैलियो ।

एक परिवारको ५ र अर्को परिवारका ४ गरी ९ जनाको हत्या भएपनि तत्कालै के कारणले हत्या भयो भन्नेबारे भने खुल्न सकेको थिएन ।

आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो । हत्या प्रकरण रहस्यमय भएपछि प्रहरीले तत्कालिन सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान थालेको थियो ।

प्रहरी अनुसन्धानको क्रममा श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको खुलेको थियो ।

नौ जनाको हत्यापछि आफ्नो घरभन्दा करीब डेढ किलोमिटर तल मलेदोको रुखमा झुण्डिएर मानबहादुरले आत्महत्या गरे । उनको साथबाट रगत पोतिएको खुकुरी, केही कपडा र झोला फेला परेको थियो ।

ज्यान गुमाउनेमा  योवना शेर्मा, मुना शेर्मा, बमबहादुर फियाक, बमबहादुरकी श्रीमती, आशिका खजुम लिम्बू, जस्मिता फियाक, धनराज शेर्मा, मनकुमारी फियाक र ६ वर्षीया इक्सा शेर्मा थिए ।

कुमार पौडेलको इन्काउन्टरले निम्त्याएको प्रश्न !

असार ५ गते सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भयो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षले गर्यो ।

मुठभेडमा पौडेलको मृत्यु भएको मानिए पनि दोहोरो भिडन्त भएको कुनै संकेत फेला परेको थिएन । नियन्त्रणमा लिएर पौडेललाई गोली हानिएको आशंका गरियो । मुठभेड भनिएपनि त्यसमा प्रहरीतर्फ कसैलाई केही भएको थिएन । त्यसैले शंका गर्ने ठाउँ थियो । 

पौडेलका आफन्तले पक्राउ गरेर उनलाई गोली हानिएको आरोप लगाए । कुमारलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेकाले निष्पक्ष छानबिन गर्नुपर्ने परिवारले माग गर्यो । राष्ट्रिय मानवअधिकार आयोगले पनि घटना शंकास्पद भएको भन्दै छानबिन थाल्यो । संसदमा समेत घटनाको छानबिनको माग उठ्यो ।

आयोगले कात्तिक ४ मा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्न प्रहरीलाई कारबाही सिफारिस गर्यो । आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रहरीबाट दाबी भएजस्तो दोहोरो भिडन्त वा आत्मरक्षाको स्थिति कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ । प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउन्ड गोली हानेको आयोगले उल्लेख गरेको छ ।

तर, आयोगको निर्देशन सरकारबाट कार्यान्वयन भएको छैन । घटनामा संलग्न प्रहरी अधिकारी झनै खुलेआम हिँडिरहेको पाइएको छ ।

घटनामा प्रत्यक्ष रूपमा संलग्न तथा कमान्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।

विप्लव समूहका चार कार्यकर्ता मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको सूचनाका आधारमा पछ्याउने क्रममा प्रहरीमाथि नै गोली चलाउन लागेपछि जवाफी फायरिङ गरिएको प्रहरीको दावी थियो ।

निदान अस्पतालमा मिर्गौला तस्करी 

प्रहरीले साउन २३ गते नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सीइओसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गर्यो ।

प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सीइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको थियो ।

मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत रामचन्द्र आले, निदान अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त र मिर्गौला लिने शंकरलाल लामा छन् । मिर्गौला तस्करीका मुख्य नाइके डाक्टर पुकार श्रेष्ठ हुन् । तर, पनि श्रेष्ठ खुलेआम हिँडिरहेका छन् । 

नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराउने कुरा डाक्टर पुकारलाई पहिला नै थाहा थियो । एउटा मिर्गौला प्रत्यारोपण गराउँदा ११ लाख रुपैयाँ आउने भएपछि पुकार नक्कली व्यक्ति खडा गराएर आफै मिर्गौला प्रत्यारोपणमा लागेको पाइएको छ ।

यस्तो अवस्थामा पनि डा. पुकार भने पक्राउ परेका छैनन् । जबकी घटनाको अनुसन्धान गर्ने हो भने पहिले पुकारलाई पक्रेर अनुसन्धान गर्नुपर्ने अस्पतालका डाक्टरहरु बताउँछन् ।

पुकारले पैसाको लागि जे पनि गर्छन् भन्ने कुराको इतिहास नै खोतल्ने हो भने निदान अस्पतालका निर्देशक थिए आफ्नै भतिज अभिषेक श्रेष्ठ ।

अभिषेकको निदान अस्पतालमा सबैभन्दा धेरै लगानीसमेत थियो । आपसी विवादका कारण पुकारले भतिज अभिषेकलाई निर्देशकबाट बर्खास्त गरेका हुन् । त्यतिबेला पनि बिपेन्द्र सीइओ नै थिए ।

भतिज अभिषेकको सम्पत्तिमा पनि पुकारले कसो–कसो गरेर कब्जा जमाइरहेको चर्चा छ ।

चिनियाँ  ह्याकरको बैङ्क लुट्ने योजना विफल !

एकै रातमा काठमाडौँका विभिन्न बैंकका एटिएम बुथबाट अर्बौं रकम झिक्ने योजनासहित नेपाल प्रवेश गरेका चिनियाँ नागरिकको योजना नेपाल प्रहरीले भदौ १४ गते असफल पार्यो ।

भदौ १३ गते शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेको ५ सदस्यीय चिनियाँ टोलीले ४ दिनको अवधिमा काठमाडौँका विभिन्न बैंकका एटिएम बुथबाट अर्बौं रकम झिक्ने योजना बनाएको थियो ।

तर, नेपाल प्रहरीले उनीहरुलाई १४ गते रंगेहात पक्राउ गर्यो । यद्यपि उनीहरुले नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट झण्डै डेढ करोड रुपैयाँ भने झिकिसकेका थिए ।

पक्राउ पर्नेमा लीङ ज्यामिङ, लुओ ज्यालिप, झु लियाङग्याङ्, क्यू योङसिङ् र सेन बिनबिन थिए । प्रहरी अनुसन्धानको क्रममा भदौ १३ गते शुक्रबार नेपाल आएका उनीहरुले भदौ १६ गते सोमबार फर्किने योजना बनाएका थिए ।

उनीहरुले बैंकको खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको थियो ।

प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा फरार रहेका ३ जना चिनियाँ नागरिकमध्ये एक जनालाई १५ गते पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनिया मूलका फ्रान्सेली नागरिक जु लुक ली हुन् ।

यस्तै नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक सोत पक्राउ परे । पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी हुन् ।

उनीहरु असोज १६ गते पक्राउ परेका हुन् ।

एटीएम ह्याक गरी रकम लुट्ने गिरोहका सदस्यमध्ये फरार रहेकाहरुले ठमेलमा रहेको मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए । उनीहरु गैरकानुनी रुपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

एटीएम ह्याकिङ प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिकलाई कात्तिक २१ गते उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।

उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आदेशपछि काठमाडौं प्रहरीले पक्राउ गरेका चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान गरिएको छ ।

प्रकरणमा मुछिएका नेपाली नागरिक प्रधान र दुवाडीलाई २६ लाख रुपैयाँ र लामिछानेलाई ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पनि थुनामा पठाइएको छ ।

बलात्कारको आरोपमा सभामुख पद गुमाएका महरा

असोज १९ गते संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गर्यो ।

प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा संसद सचिवालयकी पीडित कर्मचारीले महराविरुद्ध प्रहरीमा जाहेरी दिएपछि तत्कालै काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बालुवाटबाटै महरालाई नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर महानगरीय प्रहरी वृत सिंहदरबार लगिएको थियो । प्रहरीले उनलाई उनकै बा १८ च ४०० नम्बरको  निजी गाडीमा हालेर लगेको हो ।

महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयासको आरोप लागेको थियो । आरोप लागेका महराले असोज १४ गते सभामुखबाट राजीनमा दिएका हुन् ।

सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडित महिलाले बयान फेर्दै आएपनि महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

बलात्कार उद्योग मुद्दामा डिल्लीबजार कारगारमा करिब १०३ दिन बसेका महरालाई फागुन ५ गते जिल्ला अदालत काठमाडौँले सफाइ दियो । महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

महरालाई कारागारमा सँगै बसेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए ।

आलम पक्राउ प्रकरण

असोज २६ गते (घटनाको १२ वर्षपछि) रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परे । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई रौतहटको इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो ।

एक कार्यक्रममा सहभागी भएर फर्किँदै गरेका सासंद आलमलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको तत्कालिन रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री बताउँछन् ।

सांसद आलम पक्राउ परेपछि नेपाली काँग्रेसका सांसददेखि नेताहरु प्रहरी र सरकारको विरोधमा उत्रिए । काँग्रेसका सांसदहरुले संसद नै अवरुद्ध पारे । सांसद जस्तो व्यक्तिलाई प्रहरीले बिना कुनै सूचना बाटोबाटै जबरजस्ती पक्राउ गरेको भन्दै विरोध जनाएका थिए ।

सामाजिक सञ्जालदेखि नेपाली काँग्रेसद्धारा आयोजित प्रत्येक कार्यक्रममा बोल्दा काँग्रेसका शीर्ष नेतादेखि कार्यकर्ताहरुले आलमको बचाउबारे बोल्थे ।

विरोधका बाबजुद आलमलाई जिल्ला अदालत रौतहटले कात्तिक २९ गते पुर्पक्षका लागि जेल चलानको आदेश दियो । न्यायाधीश दीपक ढकालको एकल इजलासमा ८ दिन चलेको थुनछेक बहसपछि अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशलगत्तै उनलाई रौतहट जिल्ला कारागार चलान गरिएको थियो । तर, सुरक्षाको कारण देखाउँदै सोही दिन राती आलमलाई नख्खुस्थित नख्खु कारागार ल्याइएको थियो ।

हाल आलम नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् ।

राजपुर फरदवाका ५७ वर्षीय मोहम्मद अफताव आलम काका सेख इद्रिसको प्रभावबाट राजनीतिमा लागेका हुन् । बीएस्सीसम्म अध्ययन गरेका आलम रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट चारपटक सांसद पदमा विजयी भएका थिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनी २०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधार र २०६५ मा श्रम तथा यातायातमन्त्री भएका थिए ।

आमासँग नाम जोड्दा...

माघ २४ मा झापाको बिर्तामोड नगरपालिकामा फरकपनको घटना भयो । रक्सीको नसामा ढुङ्गाले हानेर साथीको हत्यापछि संवेदनशील अङ्ग नै काटी पोलेको भेटियो ।

घटना फरकपन भएकाले स्थनीय त्रसित थिए । घटनामा संलग्न अपराधी पक्रन प्रहरीलाई त्यति सजिलो थिएन । घटना जंगलको बीचमा रहेको खाली पाखामा भएको थियो ।

सोही ठाउँमा ४० वर्षीय सुवान शेखको ढुङ्गाले हानेर हत्या गरिएको थियो । सेखको हत्यापछि संवेदनशील अंग नै काटिएको भएर प्रहरीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान थाल्यो ।

अनुसन्धानको क्रममा घटनाको अघिल्लो दिन शेखसँग स्थानीय करण चौधरी र लक्ष्मण यादवले सँगै रक्सी पिएको पाइयो । प्रहरीले उनीहरुको खोजी सुरु गर्यो ।

तर, हत्यापछि उनीहरु दुवैजना गाउँ छाडेर फरार भइसकेका थिए । प्रहरीलाई झनै उनीहरुमाथि शंका बढ्यो । इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरुको खोजी तीव्र पार्यो ।

अन्ततः उनीहरुलाई झापाको बिर्तामोड नजिकै एक घरबाट लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइराला बताउँछन् ।

विवादको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आमासँग नाम जोडेपछि मदिराको नसा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेका हुन् ।

हत्यापछि शेखको शवलाई उनीहरुले जंगलको बीचमा खाली जमिनमा लगी संवेदनशील अंग काटी नजिकै खेतमा रहेको परालमा आगो लगाएर जलाएका थिए ।

एसपी कोइरालाले भन्छन्, ‘आमाको नाम जोडेर गालीगलौज गरेकाले त्यसपछि उनीहरूले शेखको संवेदनशील अङ्ग काटेर फालेका रहेछन् ।’

उनीहरुको साथबाट संवेदनशील अंग काट्ने चक्कु, मृतकलाई आगो लगाउँदा प्रयोग भएको लाइटर, मृतकको लेनोभो कालो रङको मोबाइल, रगत लागेको लक्ष्मणको भेस्ट र चुरोटका ठुटाहरु बरामद भएको थियो ।

बंगलादेशीको हत्या प्रकरणः रक्सीको बोतल हानेर साथीले नै गरे हत्या

माघ ७ गते राजधानीको सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या गरेको अवस्थामा बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको शव फेला पर्यो । होटलमा मोहिद्दिन सँगै आएको साथीसँग बस्थे ।

तर, हत्यापछि सँगै आएको साथी त्यो होटलमा थिएनन् । मोहिद्दिनको हत्या सँगै आएको व्यक्तिले नै गरेको भन्नेमा ढुक्क भयो । मोहिद्दिनसँग आएका व्यक्ति थिए, दुल्लाह मिया ।

घटना भएको एक हप्तापछि मात्र मिडियामा बाहिर आएको थियो । अर्थात १४ गते घटना बाहिर आएको थियो । मिडियामा आएपछि मात्रै प्रहरीले दुल्लाह मियाको खोजी तीव्र बनायो । त्यतिबेलासम्म दुल्लाह मिया भारत पुगेर पनि नेपाल फर्किसकेका थिए ।

घटना मिडियामार्फत बाहिर आएपछि प्रहरीलाई थप चुनौती थपियो । अन्ततः भारतबाट नेपाल फर्केका दुल्लाह मियालाई प्रहरीले माघ १६ गते विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्यायो ।

प्रहरीका अनुसार क्यासिनोको लत लागेका मोहिद्दिन गत माघ ६ गते साथी दुल्लाहमियाँलाई लिएर हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए भने सोही रात होटलमा दुई जना मिलेर मदिरा सेवन गरेका थिए ।

मदिरा सेवनका क्रममा उनीहरुबीच आपसी विवाद हुन पुगेको थियो ।  यहीबीचमा मोहिद्दिनलाई मियाँले सुतेको मौका छोपी दाहिने आँखामा नखोलिएकै मदिराको बोतल प्रहार गरेका थिए ।

त्यसपछि बेहोस बनेका मोहिद्दिनलाई दुल्लाहमियाँले फुटेको बोतलका सिसाहरु मुखमा कोचेर विभत्स हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

लेवनान पठाउन भनी ३ लाख टाँका दिएको र पठाउन नसकेको कुरामा विवाद भएपछि मियाँले मोहिद्दिनको हत्या गरेका हुन् । आर्थिक लेनदेनको कारण समाजक अपराधिक क्रियाकलाप बढ्दो रहेको नेपाल प्रहरीको तथ्याङ्कले समेत देखाएको छ ।

पूर्वसचिव श्रीमतीको हत्या अझै रहस्यमय !

माघ २७ गते पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित निवासमा रगतले लतपतिएर अत्या गरेको अवस्थामा फेला परिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परे ।

पूर्वसचिव भण्डारी पशुपति मन्दीर दर्शन गर्न गएको बेला श्रीमती मुनाको हत्या भएको थियो । श्रीमतीको हत्या भएकै नजिकै कामदार विजय चौधरी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाको प्रकृति हेर्दा मुनाको हत्यापछि कामदार चौधरीले आत्महत्या गरेको देखिन्थ्यो । तर, श्रीमतीको मृत्यु वियोगमा रहेका भण्डारीले कामदार चौधरीले यस्तो काम गर्न नसक्ने बताइरहे ।

घटना रहस्यमय भएकाले महनगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा प्रहरीले कार्कीको घरमा रहेको सीसीटिभी फुटेज हेर्यो ।

फुटेजमा कामदार चौधरीले नै कार्कीकी श्रीमती मुनाको हत्या गरेको देखिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापा बताउँछन् ।

कामदार चौधरीले मुनाको हत्या गर्नुको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ । कामदार चौधरी र मुनाको मोबाइल समेत परीक्षणको लागि पठाइए पनि केही ‘क्लू’ नभेटिएको ललितपुर परिसरका प्रमुख टेकप्रसाद राई बताउँछन् ।

हाल पनि मुनाको हत्या र कामदार चौधरीको आत्महत्या रहस्यमय नै छ ।

युवतीलाई आतंकित बनाउने युवक पक्राउ

काठमाडौँ उपत्यकामा युवतीहरुमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमणले युवतीहरु आतंकित भएका थिए । असार १३ गते युवतीहरुमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको सिरिञ्ज आक्रमणमा संलग्न युवक पक्राउ परे ।

प्रहरीले रामेछापमा सन्तोष कार्कीलाई पक्राउ गरेको हो । पेशाले उनी रेष्टुरेण्ट व्यवसायी भएका कार्कीलाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो ।

शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका कार्कीले समेत आफ्नो अपराध स्वीकार गरेका छन् । बयानका क्रममा कार्कीले रमाइलोका लागि त्यस्तो काम गरेको बताएका थिए ।

यसैगरी सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले जेठ १२ गते राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट गरायो । काठमाडौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भयो । सात जना घाइते भए ।

सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्कि अनुसन्धानले देखाएको छ । बम बनाउने क्रममा विस्फोट भएको थियो ।

यस्तै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले पनि चर्चा पायो । टेलिभिजिन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिरासतमा पुर्यायो ।

त्यस्तै डकुमेन्ट्री बनाउने भन्दै मोडललाई बली चढाउने तयारी गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जना यतिबेला हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप