शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामायण र महाभारतले दूरदर्शनलाई बनायो भारतको नम्बर १ च्यानल

आइतबार, ३० चैत २०७६, १५ : १३
आइतबार, ३० चैत २०७६

भारतमा लकडाउनबीच ‘रामायण’ र ‘महाभारत’ जस्ता पुराना सिरियल पुनः प्रशारण गरेपछि दूरदर्शन च्यानलमा दर्शकको ठूलो बृद्धि देखिएको छ । ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल (बीएआरसी) को रिपोर्ट अनुसार दूरदर्शन सबै मनोरञ्जन च्यानलहरुलाई पछि पार्दै भारतको नम्बर १ च्यानल बन्न पुगेको छ ।

बीएसआरसीको यो वर्षको १३ औँ सप्ताहको रिपोर्टमा सबै खाले च्यानलमा दूरदर्शन १५,९६,९२३ इम्प्रेसनसहित पहिलो स्थानमा रहेको छ भने हिन्दी मनोरञ्जनात्मक च्यानल पनि यो १५,६४,८६७ इम्प्रेसनसहित शीर्ष स्थानमा नै रहेको छ ।

प्रसार भारतीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमार्फत एक हप्तामा दूरदर्शनको दर्शक ६५० प्रतिशतले बढेको दाबी गरेको छ । १२ औँ सप्ताहमा च्यानलको दर्शक २६.७ करोड रहेकोमा १३ औँ सप्ताहमा यो २ अर्ब १० करोड पुगेको बताइएको छ ।

रोचक कुरा, दूरदर्शनका दर्शक ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा बढी छन् । ग्रामिण क्षेत्रमा दंगल च्यानलपछि दूरदर्शन दोस्रो स्थानमा रहेको छ ।

बीएआरसीको रिपोर्ट अनुसार लकडाउनमा पुराना सिरियल पुनः प्रशारणको फैसला दूरदर्शनका लागि फाइदाजनक साबित भएको छ । बिहान र साँझ यो च्यानलको दर्शकमा ४० हजार प्रतिशतले बृद्धि भएको देखिएको छ । रामायण र महाभारत मात्र नभएर डीडी नेशनल र डीडी भारतीमा ८० र ९० को दशकका कयौँ सिरियलहरु पुनः प्रशासन शुरु गरिएको छ । जसमा अलिफ लैला, शक्तिमान, बुनियाद लगायत रहेका छन् ।

रामानन्द सागरको रामायण पहिलोपटक सन् १९८७ मा प्रशारण भएको थियो । त्यतिबेला पनि यो सिरियल यति चर्चित थियो कि यो टेलिभिजनमा आउँदा सडक नै सुनसान हुन्थ्यो भने ट्रेन एक घण्टाका लागि रोकिन्थ्यो । पुनः प्रशारण हुँदा पनि यसको लोकप्रियता फेरि देखिएको छ । यो पछिल्लो ५ वर्षमा सबैभन्दा धेरै हेरिएको शो बनेको छ । १३ औँ सप्ताहमा ५५.६ करोडले यो सिरियल हेरेका छन् । उता महाभारतलाई पनि १५ करोडले हेरेका छन् भने शक्तिमानलाई २.०८ करोडले हेरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप