नयाँ वर्ष २०७७ को शुभकामना : कोरोना कहरबाट मुक्ति
नयाँ वर्ष, सरकारले दिने सार्वजनिक बिदा । आफन्त, साथीभाइले एकआपसमा भेटेर शुभकामना आदान–प्रदान गर्ने दिन । नयाँ ठाउँ घुम्ने, मीठो खाना खाने, राम्रो लुगा लगाउने चलन । यस पटकको नयाँ वर्षको स्थिति निकै असहज छ । आउँदा दिनका बारेमा के होला, कसो होला भन्ने बारेमा हामी सबै चिन्तित छौँ । जे होस् नयाँ वर्ष २०७७ को सबैलाई एकमुष्ठ शुभकामना । लकडाउनमा सुरक्षित रूपमा बसौँ, अनुशासन पालना गरौँ, कोरोनाको कहरबाट मुक्ति खोजौँ ।
आज सारा विश्व यो कोरोना कहरबाट आक्रान्त बनेको छ । मानव सभ्यता यसको सामना गर्दै छ । थाहा छैन, यो सङ्घर्षमा कति मान्छेले मृत्युवरण गर्ने हुन् । मान्छे सन्त्रासले नजरबन्द छ । आजको दिनसम्म विश्वभरि एक लाख आठ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब १८ लाख मानिस सङ्क्रमित भइसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोना भाइरसका कारण विभिन्न देशहरूमा लागू गरिएका ‘लकडाउन’ खोल्न हतार गरिए त्यसले भाइरसको ‘घातक पुनरोदय’ हुनसक्ने चेतावनी दिएका छन् । देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन् । हामीले पनि सावधानी त अपनाउनै पर्ने छ ।
आशा गरौँ यो सङ्कटबाट केही महिनाभित्रै विश्वले पार लगाउने छ । तर कोरोना सङ्कटले विश्वव्यापी रूपमा अर्थराजनीतिमा फेरबदल ल्याउने सङ्केत देखिएका छन् । यसले नेपालको अर्थराजनीतिमा पनि सकारात्मक र नकारात्मक प्रभाव पार्ने छ । हामी सचेत ढङ्गले लागेमा आगामी दिनका समस्या हल गर्न सकिन्छ । आगामी दिनमा नेपालले चाल्नुपर्ने कदमहरुलाई सत्तामा बसेकाहरुले चिन्तन र मनन् गरून् । आआफ्नो ठाउँबाट सबैले पहल गरून् र सकारात्मक प्रतिफलको आशासहित नयाँ वर्षको शुभकामना ।
फेरियो शुभकामना दिने तरिका
समय गतिशील छ । हाम्रा काम गर्ने तौरतरिका पनि गतिशील छन् । केही वर्षअगाडिसम्म पोस्टकार्डको माध्यमबाट सम्भव हुनेले व्यक्तिगत रूपमा र टाढाको हुनेलाई हुलाकमार्फत नयाँ वर्षको शुभकामना आदानप्रदान गरिन्थ्यो । ती दिनहरु आफैमा रमाइला थिए तर साथीहरुमा धन हुने र नहुनेमा फरक थियो । क्रयशक्ति नहुनेलाई पोस्टकार्ड किन्न सजिलो थिएन । राम्रो सीप हुनेले हातले लेखेर पोस्टकार्डबाट सन्देश पठाउने चलन पनि थियो । सूचना प्रविधिको विकाससँगै परम्परागत चलनलाई मोबाइल एसएमएस, इमेल, ट्विटर, भाइबर र फेसबुकले विस्थापन गरिदियो । पोस्टकार्ड पनि किन्नुपर्ने नभएर गुगलबाट खोज्न सकिने भयो । टाढाटाढा बस्नेहरू पनि सञ्चारको विकासले नजिक बनायो । त्यसो त मोबाइलले घडी र फोटोस्टुडियोलाई पनि धेरै हदमा विस्थापन गरिदियो ।
शुभकामना दिने तरिका प्रविधिको विकास र यसको भूमण्डलीकरणपछि मानव जातिले अहिलेसम्मकै सबैभन्दा कठिन महाव्याधिसँग जुधिरहेको छ । जुन प्रविधिले हामीलाई संसार घुम्न सिकायो । त्यसैलाई प्रयोग गरेर अहिले भाइरस घुमिरहेको छ ।
यस पटकको नयाँ वर्ष मनाउने तरिका फेरियो । साथीहरु, इस्टमित्रसँग भेट्ने, सँगै खाना खाने, सुखदुःख साट्ने कुरा फोनमै सीमित भए । कतिपयको परिवार छिन्नभिन्न भएको छ । विदेशबाट नेपाल आउन खोज्ने आउन पाएका छैनन् । कतिपय घर परिवारहरु आफ्ना परिवारका सदस्यहरुलाई विदेशमा कोरोनको कारण गुमाएर पीडामा हुनु हुन्छ । यो दुखद् घडीको सबै मिलेर सामना गर्नु छ । यो नयाँ वर्षमा सक्नेले नसक्नेलाई सहयोग गरौँ, दुःख र अभावमा परेकालाई माया र स्नेह बाडौँ ।
फरक–फरक दैनिकी
यतिबेला संसारका धेरैजसो भागमा लकडाउन छ । सरकारले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझ कडाइ हुने भनिसकेको छ । हामीले चाहेर पनि लकडाउनमा सुरक्षित रूपमा सबै आआफ्नो घर बस्न पाउदैनन् । दैनिक ज्यालादारी गरी खानुपर्ने गरिब तथा विपन्न मजदुरका परिवार छिन्नभिन्न छन् । कोही गाउँमा छन्, कोही सहरमा थुनिएर बसेका छन् । कसैलाई परिवार पाल्ने पिरलो छ, कोही बेसहारा मजदुरहरु काठमाडौँदेखि कैलालीसम्म हिँड्न बाध्य छन् । उनीहरुको नयाँ वर्षको दैनिकी बुटवल–भालुबाङ जङ्गलको बीच राजमार्गमा तातो हावासँग लड्दै छ । कोही विदेशमा सङ्क्रमित भएर जीवन–मरणको दोसाँधमा छन् भने कतिले आफ्नो परिवारको मृत शरीर छुन पनि नपाएर पीडामा बाँचिरहेका छन् ।
हुने खानेहरुको दैनिकी अलि फरक छ । कोही किताब पढेर समय बिताइरहेका छन् । कोही भान्सामा समेत सक्रिय छन् । कोही पुराना फोटोहरु फेसबुकमा पोस्ट गर्दै कति लाइक आउँछ भन्दै घरिघरि आफ्नो मोबाइल हेर्दै दिन बिताउँदै छन् । कसैलाई लामो समयपछि परिवारसँग समय बिताउन पाउँदा निकै खुसी लागेको छ भने कोही सिनेमा हेर्ने र परिवारसँग खेलेर समय बिताइरहेका छन् । कसैकसैले पुराना सदाबहार हिन्दी फिल्म र गीत सिफारिस गर्नुस त भन्दै सोसल मिडियामार्फत सिफारिस खोज्दै छन् । कोहि कमाउने बेला यही हो भन्दै वस्तु तथा सेवाको मूल्य बढाउने ध्यानमा छन् । समाज वर्गीय छ र हाम्रा इच्छा र चाहना र भोगाइ पनि सोहीअनुसार नै हुने गर्छन् ।
सामाजिक बिखण्डनलाई सबै मिलेर रोकौँ
कोरोना सङ्क्रमित व्यक्ति, उसको परिवार, विदेशबाट आएकाहरू वा सङ्क्रमणको लक्षण देखिएका नागरिकले आफ्नो गाउँ, समाज, परिवार, छिमेकी, आफन्त, साथीभाइ, नेता तथा कार्यकर्ता, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी र स्थानीय प्रशासनसँग माया, आत्मीयता सहयोग र सद्भावको अपेक्षा राखेका हुन्छन् । यो सङ्क्रमण उनीहरुको व्यक्तिगत कमजोरीभन्दा जिन्दगी जिउनका लागि गएको क्रममा भएको हो । भोलि नेपालमा तपाईं–हामी कोही पनि सङ्क्रमित हुन सक्छौँ । उनीहरुलाई यतिबेला सहयोगी हातको जरुरी छ । तर मानिसहरु जानी वा नजानेर उनीहरुलाई हेय र घृणा भावनाले हेर्ने गरेको पाइन्छ । मानिसलाई दुःख परेको बेला सके सहयोग गरौँ नसके घृणा नगरौँ । कल्पना गरौँ आफू सङ्क्रमित व्यक्ति वा उसको परिवार भएको र अरुले आफूलाई हेय र घृणा गर्दा कस्तो हुन्थ्यो होला ? कति पीडा हुन्थ्यो होला । यस विषयलाई गहिरोसँग मनन् गरौँ, व्यवहारमा परिवर्तन गरौँ ।
अस्पतालहरु बिरामी लिन मानिरहेका छैनन् । बरु बिरामीलाई फोनबाटै सल्लाह दिइरहेका छन् । सबै किसिमका समस्याको फोन सल्लाहबाट हुने भए अस्पताल किन चाहियो ? अर्कोतिर अस्पतालका बेडहरु रित्ता छन् । उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा मुटुका रोगीले नियमित रूपमा खानुपर्ने औषधि किन्न पाइरहेका छैनन् । यस्तो स्थिति लामो समयसम्म रहन दिनु हुँदैन । राज्यले विशेष पहल गरेर बिरामी अस्पताल जाने र उपचार गर्न पाउने वातावरण बनाउनमा ढिलाइ गर्नु हुँदैन ।
जब मान्छेले न्यूनतम रूपमा पाउनु पर्ने सेवा, सहयोग र स्नेह पाउँदैन, तब व्यक्तिमा निराशा र कुण्ठा पैदा हुन्छ । मानसिक समस्याले ग्रस्त हुन्छ र आत्महत्या गर्ने सम्भावनासमेत हुन्छ । परिवार छिन्नभिन्न हुन सक्छ, वैवाहिक सम्बध विच्छेद हुन सक्छ । समाजमा झैझगडा हुन्छ, हिंसात्मक घटना हुन्छन् । हामीले यस्तो अवस्था आउन नदिन सचेत ढङ्गले लाग्नै पर्छ ।
सङ्क्रमितसँग भौतिक दूरी (शारीरिक दूरी) कायम राख्नुपर्नेमा सामाजिक दूरी राखिएको छ । यो निकै दुखद् पक्ष हो । यतिबेला सामाजिक दूरी कम गर्ने हो, सामीप्यता बढाउने हो, अफ्ठेरोमा परेकालाई सहयोग गर्ने हो । कसैकसैले विगतमा जातीय आधारमा भौतिक दूरी राखेको ठीक थियो भन्ने गलत धारणा अघि सारेको पनि पाइयो । छुवाछूत गर्ने कुसंस्कारलाई सांस्कृतिक पवित्रता भन्न कदापी मान्न सकिँदैन र मानवले मानवलाई गर्ने यस्तो आपराधिक व्यवहार गर्नेप्रति निर्ममतापूर्वक कदम चाल्न पछिपर्नु हुँदैन । यस्तो व्यवहारले सामाजिक विखण्डन ल्याउँछ, विग्रह निम्त्याउँछ ।
भोकको भाइरसले मर्नु नपरोस्
अहिले हामी कोरोना भाइरसको महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ । यस महामारीले मानव समाजलाई कस्तो मोड दिन्छ भन्ने आकलन गर्नु अलिक छिटो हुन्छ तर पनि यसको प्रभाव खासगरी सामाजिक र आर्थिक क्षेत्रमा सम्पूर्ण विश्व र नेपालले अनिवार्य रूपमा भोग्नुपर्ने छ । विश्वव्यापी रूपमा खाद्यवस्तुको उत्पादन, आपूर्ति तथा मूल्य र पहुँचमा ठूलो समस्या देखिने छ । अन्तर्राष्ट्रिय श्रम बजार, औद्योगिक उत्पादन र समग्र विश्व अर्थतन्त्रमा समस्या आउनेछ । एउटा देशको सरकारका नीतिले अर्को देशको सरकारका नीतिलाई प्रभावित पार्नेछन् र तिनको अन्तरविरोधले अन्तर्राष्ट्रिय राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावना छ ।
नेपालले आर्थिक चुनौतीको सामना गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने हुन्छ र त्यसबारे तयारी गर्न ढिला गर्नु हुँदैन । खासगरी कृषि र औद्योगिक क्षेत्रमा ।
राहत सामग्रीमा अनियमितता भएका खबर बाहिर आइरहेका छन् । बन्दाबन्दी लम्बियो भने सहर तथा गाउँमा राहत लाई व्यवस्थित गर्नु जरुरी छ । खाद्य र दैनिक उपभोग्य वस्तुमा पहुँच कसरी सहज पहुँच पुर्याउन सकिन्छ भनेर स्थानीय तहले काम गर्नुपर्ने हुन्छ । नत्र भुइँ तहका जनता बढी मारमा पर्ने छन्, कोरोनाको सङ्क्रमणभन्दा पहिले भोकले मर्ने सम्भावना बढी हुन्छ ।
वितरण प्रणालीको चुस्त, भरपर्दाे र न्यायमुखी हुनुपर्छ । यसलाई सम्बोधन गर्न ठोस नीतिहरू लिनु पर्ने छ । स्थानीय सरकारले मिहिनेत गर्नु पर्ने छ र सङ्घीयताको महत्त्व देखाउन सक्नु पर्ने छ । स्थानीय सरकारका लागि यो एउटा अवसर बन्ने छ ।
बेरोजगारलाई काम र माम
नेपालमा परम्परागत कृषिमा लागत धेरै र त्यसको प्रतिफल कम हुँदा युवाहरुमा यस पेसाप्रति विकर्षण आउनु स्वाभाविक हो र त्यसको विकल्प वैदेशिक रोजगार भयो । मलेसिया र खाडी मुलुकले सस्तोमा नेपाली जनशक्ति प्रयोग गरिरहेका थिए । वैदेशिक रोजगारले देशको अर्थतन्त्रको ठूलो हिस्सा धानेको नेपालको स्थितिमा फेरबदल आउने प्रबल सम्भावना छ । कोरोनाको महामारीलगत्तै पहिलाको तुलनामा यी मुलुकमा जनशक्तिको माग कम हुन सक्छ र वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्यामा कमी आउन सक्छ । अन्य देशमा काम पाइरहेका नेपाली त्यहाँ बेरोजगार भएर नेपाल फर्किन पर्ने हुन सक्छ । लाखौँ युवा देश फर्किएपछि सबैभन्दा पहिलो असर गरिब परिवारमा पर्छ ।
यी युवालाई स्वदेशमै कामको व्यवस्था गर्न सक्ने किसिमको आर्थिक नीति बनाएर रोजगारीको वातावरण बनाउनुपर्छ । युवा बेरोजगार भएमा उनीहरु मानसिकताले अशान्ति पैदा गर्छ । विद्रोहको भावनाले आकर्षण गर्छ । त्यो विद्रोहको भावनालाई कुनै पनि राजनीतिक समूहले उपयोग गर्न सक्छ । जसको परिणाम समाजमा फेरि अस्थिरता पैदा हुन सक्छ । यस बारेमा राजनीतिक नेतृत्व र सरकार सचेत र परिपक्व ढङ्गले लागिपर्नु आवश्यक छ ।
सक्षम नेतृत्व
परिवर्तनका बाहक भनेका राजनीतिक शक्तिहरू हुन् । उनीहरुलाई नयाँ वर्षको धेरै–धेरै शुभकामना ! नेपालमा लामो समयसम्म राजनीतिक अन्योलता, आग्रहपूर्ण सोच र सङ्कीर्ण दृष्टिकोणका कारण विकासले ठोस किसिमको गति लिन सकेन । अधिकांश समय अन्योलता, डर र त्रासमै बित्यो । राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक रूपान्तरणको समष्टिगत ढाँचाको तर्जुमा गर्ने कुरामा बहस भएन । आफू सत्तामा रहुन्जेल लोकतन्त्र रहेको ठान्ने, सत्ता स्वाद पाउन्जेल लोकतन्त्रको व्याख्या गर्ने र सत्ताबाट बाहिरिनु पर्नासाथ लोकतन्त्र गुमेको अनुभूति गर्ने रोगले साँचो अर्थमा लोकतन्त्रको विकास हुन सकेन ।
स्थानीय चुनाव नहुँदा सर्वदलीय संयन्त्र बने र नेपाली जनताले अनेक विकृति भोगे । दल, गुट, उपगुट हरुको मिलिजुली खाने मेलो भयो । स्थानीय संस्थाहरुलाई सुदृढीकरण गर्ने र संस्थाहरुको क्षमता अभिवृद्धि गर्दै लैजाने विषयमा छलफलनै भएन । विपत र सङ्कटमा अवसर खोज्ने नाममा सहमतीय सरकार, उच्च स्तरीय राजनीतिक संयन्त्र, मध्यावधि निर्वाचनका नाराले यी यस्तै राजनीतिक अवसरलाई बढावा दिने मात्र हो । अहिलेको मूलमन्त्र भनेको कोभिड–१९ विरुद्ध एकजुट भई लड्ने हो । कसैको व्यक्तिगत इच्छा वा चाहना पुरा गर्नेभन्दा राज्य जिम्मेवारीका साथ लाग्ने हो ।
सही नेतृत्वले जनताको भावना बुझ्छ, नागरिकको दुःख आफ्नै हो भन्छ र जनतालाई दुःख पर्दा त्यो दुःखमा निरन्तर साथ दिन्छ । सही नेतृत्वले फरक मत, आलोचना र विरोधको भिन्नता सजिलै छुट्याउन सक्छ । गम्भीर परिस्थितिमा जिम्मेवार तहले बढी नै परिपक्वता राख्छ, मानवीय विपत्तिको बेला राज्यबाट अतिरिक्त सुविधा नलिएर जनताको मन जित्छ । नेतृत्वले आफ्नो क्षमता देखाउने समय पनि यही हो । राजनीतिक नेतृत्वलाई प्राविधिक विषयमा जानकारी नहुन सक्छ । यस्तो बेला प्राविधिक मान्छेलाई अगाडि लगाउनुपर्छ । फरक धार र विचारको सम्मान गर्दै, जनस्तरबाट सोधिएको स्पष्टीकरण लाई नेतृत्वले बुझ्ने भाषामा उत्तर दिन सक्ने हुनुपर्छ । जनतामा नेतृत्वको कामको निगरानी राख्ने, खबरदारी दिने र नसुध्रिए विरोध गर्ने हक सधैँ सुरक्षित हुन्छ ।
सरकारले निजीक्षेत्रसँग सहकार्य गरेर रोजगारीको सम्भावना खोज्नुपर्छ । यो विषम परिस्थितिमा निजीक्षेत्र पनि जिम्मेवार हुनै पर्छ । कामदार वर्गका मानिस सबैभन्दा ठूलो सङ्कटमा छन् । व्यावसायिक धर्म विपरीत कार्य गरेर सम्पूर्ण व्यावसायिक जगतलाई नै बदनाम हुनबाट सम्बन्धित सबैको ध्यान जानु पर्छ र देशका ससानो उद्योग व्यवसाय गरेर इमानदारीकासाथ देश विकासमा योगदान गर्ने नै असली निजीक्षेत्र हुन भन्ने बिर्सनु हुँदैन । स्वरोजगार, मौसमी र अनौपचारिक क्षेत्रका श्रमिक पीडित हुन नदिन राज्यले अधिकतम पहल गर्नुपर्ने हुन्छ ।
अन्त्यमा,
अहिलेको समय हामीले जेजसरी गुजारेका छौँ, आगामी दिनहरु सकारात्मक होऊन् । इच्छाशक्ति भएपछि सीमित स्रोत र साधनले पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बनौं । हामीभित्रको ऊर्जा हाम्रै लागि काल नबनोन् र जनताका गीत गाउने जीवन शर्माले भनेझैँ गरिबका लागि कोरोनाको कहर यो गीत जस्तो नहोस् ।
निकाल्यौँ हीरा मोती
बनायौँ सुनका दरबार
न हामीलाई एक छाक रोटी
न पायौँ ओत लाग्ने घर ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जीवन र व्यक्तिगत स्वतन्त्रता दुवै हाम्रो लागि महत्त्वपूर्ण र अविभाज्य विषय हुन्, पृथक् ढङ्गले हेर्ने कोसिस नगरौँ । आजका दिनमा यो वा त्यो भन्ने रोजाइ हुन सक्दैन । लकडाउन समस्याको अल्पविराम मात्र हो, पूर्णविराम होइन । राज्य छ र यसले जनताको हितमा काम गर्छ भन्ने विश्वास बोलेर मात्र हैन गरेर पनि देखाउने मौका यही हो । समय बलवान छ, कसैलाई पर्खंदैन । कोरोनाको कहरबाट आफू पनि बाचौँ र अरूलाई पनि बच्न दिऊँ । फेरि पनि नयाँ वर्ष २०७७ को सबैलाई एकमुष्ठ शुभकामना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु