सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

२ अर्ब बराबरको आर्थिक सहयोग जुट्दा निजी क्षेत्रको योगदान २ प्रतिशत मात्रै

आइतबार, ३० चैत २०७६, ०९ : ५७
आइतबार, ३० चैत २०७६

काठमाडौँ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड–१९ को रोकथाम तथा उपचारका लागि भन्दै सरकारले ५० करोड रुपैयाँको आर्थिक कोष स्थापना गरेको छ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हाल सम्म झण्डै दुई अर्ब जम्मा भइसकेको छ । चैत्र २८ गते सम्म कोषमा रु. १,९३,८९,६४,५८० (एक अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय ८० रुपैयाँ) जम्मा भएको हो ।

संकटको बेला राज्यलाई सहयोग गर्नुपर्छ भन्ने भावले स्वतःस्फूर्त रुपमा नागरिकहरुले कोषमा आर्थिक सहयोग गरिरहेका छन् । यसमा निजी, सामुहिक, संस्थागत, व्यक्तिगत र राजनैतिक दलगत रुपमा समेत सहयोग उठेको छ । सामाजिक संघ–संस्थादेखि, कम्पनी, फर्म, विविध पेसा व्यवसायकर्मी, समाज सेवी, बुद्धिजिवी लगायत सर्वसाधारण जनताले समेत व्यक्तिगत रुपमा कोषमा सहयोग गरेका छन् ।

राष्ट्रसेवक कर्मचारी देखि निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले समेत आफ्नो पारिश्रमिक काटेर कोषमा आर्थिक सहयोग गरेका छन् । कतिले आफ्नो तलब काटेर कोषमा सहयोग गरेका छन् त कतिले आफ्नो छाक काटेरसमेत कोषमा सहयोग गरेका उदाहरणहरु छन् ।

यसबाहेक सरकारी संयन्त्र तथा निकायहरुले कोषमा ६०–६५ प्रतिशतको योगदान गरेका छन् । संघीय सरकारदेखि प्रदेश र स्थानीय तहहरुले समेत राहत कोषमा पैसा जम्मा गरेका छन् । कोरोनाविरुद्ध लड्न पूर्ण देशनै जुरमुराएको बेला, सबै तिरबाट ठूलो मात्रामा आर्थिक सहयोग जुटिरहेको बेला यतिखेर निजी क्षेत्रको उपस्थिति भने अत्यन्त न्यून देखिएको छ । झण्डै २ अर्ब बराबरको आर्थिक सहयोग जुट्दा निजी क्षेत्रको योगदान जम्मासाढे २ प्रतिशतको हारहारी मात्र देखिएको छ ।

निजी क्षेत्रको योगदान

कोषमा निजी क्षेत्रबाट अहिलेसम्म ४ करोड ८२ लाख ५५ हजार ५ सय १३ रुपैयाँ मात्र संकलन हुन सकेको छ । यो बैङ्क तथा वित्तीय क्षेत्र र एनसेलको सहयोग रकम बाहेकको तथ्याङ्क हो । यदि निजी कम्पनीकै कोटामा एनसेललाई पनि हालेर हेर्ने हो भने पनि निजी क्षेत्रको योगदान करिब ७ प्रतिशत मात्र हुन आउछ । अन्तर्राष्ट्रिय कम्पनी एनसेलको कोषमा एक्लैको १० करोडको योगदान रहेको छ । एनसेललाई छुट्याएर हेर्ने हो भने, अन्य निजी क्षेत्रको योगदान तुलनात्मकरुपमा अत्यन्त न्यून हो । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा स्वतन्त्र निजी कम्पनीहरुबाट जम्मा करिब २० वटा जति कम्पनीहरुले मात्र कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थानहरुको योगदान

बैङ्क तथा वित्तीय संस्थाहरुलाई निजी क्षेत्रमा राख्ने गरेपनि वास्तमा यी क्षेत्र निजी क्षेत्र होइनन् । यी संस्थानहरुमा सर्वसाधरणको पैसा रहने हुँदा यी क्षेत्रलाई पूर्णरुपमा निजी मानिदैन । त्यसैले बैङ्क तथा वित्तीय क्षेत्रको लगानी, प्रतिफल र योगदान समेत सर्वसाधारणसँग जोडिएको हुन्छ । यी क्षेत्रले जति नै योगदान गरेपनि त्यो सर्वसाधारणको योगदान हो । हाल सम्मको तथ्याङ्कलाई हेर्दा बैङ्क तथा वित्तीय क्षेत्रहरुबाट कोरोना कोषमा झण्डै ४० करोडको आर्थिक सहयोग भएको छ ।

बैङ्क, बीमा, लघुवित्त, सहकारी, विविध कोष तथा तिनाका नियामक निकायहरुको आर्थिक सहयोगलाई गणना गर्दा कुल ३९ करोड २८ लाख ५४ हजार ४ सय ९२ (रु.३९,२८,५४,४९२) रुपैयाँ उठेको देखिन्छ । यो कुल रकमको २० प्रतिशतको योगदान हो ।

जसमा सबैभन्दा बढी बीमा तथा वित्तीयय संघ–संस्थाका प्रतिनिधि तथा नियामक निकायहरुबाट उठेको छ । यी संस्थानहरुबाट मात्र कुल २७ करोड ५ लाख ११ हजार एकसय ११ (रु.२७,०५,११,१११) रुपैयाँ उठेको छ । बाँकी बैंकिङ्ग क्षेत्रबाट १२ करोड २३ लाख ४३ हजार ३ सय ८१(रु.१२,२३,४३,३८१) रुपैयाँ उठेको छ ।

व्यक्तिगत योगदान

हालसम्म कोरोना कोषमा खुल्ला हृदयले आर्थिक सहयोग गर्ने व्यक्तित्वहरु ७ जना देखिएका छन् । प्रधानमन्त्री कार्यालय तथा कोषको तथ्याङ्क अनुसार हालसम्म व्यक्तिगत नाममा कोषमा आर्थिक सहयोग गर्नेहरु लक्ष्मी प्रसाद सुवेदी, बद्रि कुमार पंगेनी, उत्याव तेन्जीङ, विश्वम्भर घिमिरे, चित्रकला थापा, मिना÷माधवकुमार बस्नेत, दुर्गा बहादुर क्षेत्री र महेश बस्नेत रहेका छन् । यी व्यक्तिहरुबाट कुल १६ लाख ३२ हजार एक सय रुपैया जम्मा भएको देखिन्छ ।

यसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सांसद, स्थानीय प्रतिनिधि, पिए लगायत अन्य सरकारी कर्मचारीहरु र साना योगदान दिने व्यक्तिगत सहयोग दाताहरुको तथ्याङ्क समावेश गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप