शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ऊहानमा लकडाउन खोलिएपछि अन्ततः आफन्तको अन्तिम संस्कार गर्ने लाइनमा बस्न पाए स्थानीय

आइतबार, ३० चैत २०७६, ०८ : ४५
आइतबार, ३० चैत २०७६

यो हप्ता ऊहानका स्थानीय आफ्नो काम, व्यवसायमा फर्किए, पसलहरु पुनः खोलिएका छन् । कुनैबेला मरुभूमीजस्तो भएको सडकमा पैदलयात्रु हिँड्न थालेका छन्, यातायातका साधन गुड्न थालेका छन् । तर झङ्ग हायलाई झैं ऊहान कुनै पनि हालमा पहिलेको जस्तो हुनसक्दैन ।

कोरोनाभाइरसले ऊहानमा मात्रै २ हजार ५ सयको ज्यान लिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनभरी मृत्यु भएको यो करिब ७७ प्रतिशत मृत्युदर हो ।

स्थानीयको जीवन सामान्य दैनिकीतर्फ फर्किरहेका बेला महिनौंदेखि स्थगीत भएको आफ्नो काम सिद्ध गर्न लागीपरेका छन् । सबैभन्दा पहिलो काम त आफ्ना आफन्त र प्रियजनको अन्तिम संस्कार नै गर्नु छ उनीहरुले ।

‘ऊहानमा मेरो मुटु छियाछिया भएको छ,’ मध्य चीनका स्थानीय झाङले भने । ‘म भित्रभित्रै पीडा र रोषले भरिएको छु ।’

करिब तीन महिनाअघि यी ५० वर्षे झाङ बुवा झाङ लिफाङलाई लिएर  सात सय माइल पर देशको दक्षिणी तटमा पुगे । उनको बुवाको खुट्टा भाँच्चिएको थियो तसर्थ उपचारका लागि त्यहाँ पुगेका थिए । उनको बुवाले ऊहानबाट अवकाश पाएका थिए र उनलाई निःशुल्क उपचारको सेवा उपलब्ध गराइएको थियो  ।

शल्यक्रिया राम्रै भयो । तर अस्पतालमा निको हुँदै गरेका उनलाई कोभिड–१९ ले संक्रमण गर्यो । जनवरी ३० मा यसबारे थाहा भयो । त्यसको दुई दिनपछि उनको ७६ वर्षको उमेर निधन भयो  ।

‘ऊहानमा संक्रमण आगोसरी फैलिएको बारे मलाई थाहै थिएन । त्यसकारण मैले बुवालाई त्यहाँ लगेँ । उहाँलाई त मैले मृत्युको मुखमा लैजान यसो गरेको जस्तो भयो । जतिबेला म यस्तो सोच्छु ममा पश्चाताप र रिस उद्वेलित हुन्छ,’ उनले बुधबार भने । उनी सेनजेनमा आफ्ना बुवासँगै बस्दै आएका थिए ।

तर झाङ ऊहान फर्कनुपर्छ किनभने उनको बुवाको अस्तु त्यहाँको फ्युनर होममा राखिएको छ ।

गत जनवरी २५ तारिखमा ऊहान सरकारले उक्त शहरमा अन्तिम संस्कार गर्न रोक लगाएको थियो ।

चिहानहरु पनि बन्द गर्न भनिएको थियो ।

ऊहानका सबै स्थानीय घरबाट बाहिर निस्कन सकिरहेका थिएनन्, यातायातका साधन थिएनन्, अन्तिम संस्कार गर्न पनि रोक लगाइएको थियो तसर्थ कोरोनाभाइरस र कालगतीले मृत्युवरण गरेकाहरुको शव फ्युनरल होममा स्टोर गरिएका थिए । परिवारका सदस्यलाई सरकारको आदेश नआएसम्म पर्खन आग्रह  गरिएको थियो ।

कतिले त आफ्ना प्रियजनलाई गाडिनुअघि अन्तिम पटक अनुहारसम्म पनि हेर्न पाएनन् । कोरोनाभाइरस संक्रमण रोक्नका लागि संक्रमित र शंका गरिएकाहरुको शवलाई अस्पतालबाट सिधै फ्युनरल होममा लगिने बताइयो ।

शहरमा अन्य कुराजस्तै शोक जताउनका लागि गरिने प्रक्रियामा पनि रोक लगाइएको थियो ।

पछिल्लो महिना जब स्थानीय संक्रमण शून्यमा झ्यो ऊहानका बासिन्दाले  आफ्ना प्रियजनको अस्तु सेलाउने मौका पाए ।

अन्त्येष्टि घर बाहिर मानिसहरुको लामो लाइनका तस्बिर सोसल मिडियामा जताततै देखियो । त्यसपछि त्यस्ता तस्बिरमा तत्काल अंकुश लगाइयो । यसबारे सरकारी मिडियाले पनि खासै समाचार प्रकाशित गरेनन् ।

सिएनएनबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप