भ्याक्सिन उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल
काठमाडौँ । पशुमा बढी मात्रमा लाग्ने खोरेत रोगको भ्याक्सिन अब नेपालमै उत्पादन गरिने भएको छ । नेपालको सबै जसो ठाउँको पशुमा खारेत रोग लाग्ने गरेको पाइन्छ ।
२ करोडभन्दा धेरै पशुलाई खोरेतको भ्याक्सिन लगाउनु पर्ने हुन्छ । तर, पशु स्वास्थ्य निर्देशनालयले १५ लाख डोज भ्याक्सिन किन्दै आइरहेको छ । खोरेतको भ्याक्सिन रोग परिक्षण गरेको संख्यामा पनि केही पशुलाई मात्रै भ्याक्सिन लगाइदै आइरहेको छ । खोरेत देखिएको इलाम, झापा, सुनसरी र मोरङ, सदूरपश्चिमका केही जिल्लाहरुको पशुलाई छानेर भ्याक्सिन लगाइदै आइरहेको छ ।
यो अवस्थामा नेपाल पशुको स्वास्थ्यमा विश्वको म्यान्डेट अनुसार चल्न नसक्ने हुँदा अब नेपालै खोरेतको भ्याक्सिन उत्पादन गरिने लक्ष्य सरकारले लिएको हो । नेपालमा उत्पादन गरिएको खोरेतको भ्याक्सिन बाहिरी देशबाट आयात गर्नेभन्दा धेरै कम मूल्य पर्छ । अहिले खोरेत लगायत अन्य भ्याक्सिन उत्पादन गर्नको लागि ३२ वटा मेसिन निर्देशनालयमा ल्याइसको छ । अन्य मेसिन खरिद गर्ने काम भइरहेको केन्द्रीय जैविक प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक मोहन देव लेखकले जानकारी दिए । मेसिन खरिदको लागि १ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
भ्याक्सिन उत्पादनको लागि झण्डै ३० वर्ष पूरानो मेसिन प्रयोग भइरहेको छ । पूरानो मेसिनबाट पशुमा लाग्ने खोरेत रोगको भ्याक्सिन उत्पादन गर्न नसकिने भएको कारण नयाँ मेसिन खरिदमा सरकार लागेको हो । नयाँ मेसिन जडान गरेसँगै अर्काे वर्षदेखि वि.एस.एल.टू प्लस लेवलमा जैविक प्रयोगशालको स्तरबृद्धि पनि हुने छ ।
सवै मेसिनहरु आएको खण्डमा पशुमा लाग्ने जुनसुकै रोगको भ्याक्सिन उत्पादन गर्न सकिने छ । तत्काल देखिएको नयाँ रोग भन्दा अहिले नेपालमा पशुमा लागेको जति पनि रोग छ ती सबै रोगको भ्याक्सिन उत्पादन गर्न सक्ने क्षमतामा प्रयोगशाला हुनेछ ।
तत्कालको लागि प्रयोगशालामा २८ जना कर्मचारीहरुले भ्याक्सिन उत्पादन गरिरहेका छन् । नयाँ मेसिन जडान भएको खण्डमा भ्याक्सिन भर्न, विर्काे लगाउने सबै काम गर्ने भएको कारण थोरै कर्मचारीमा पनि सरकारी लक्ष्य अनुसार भ्याक्सिन उत्पादन गर्न सकिने छ । तर दक्ष भएको कर्मचारीको जरुरी रहेको छ । भएका कर्मचारीलाई पनि नयाँ भ्याक्सिन उत्पादनको लागि पत्येक वर्ष तालिमको जरुरी हुन्छ । तर त्यो व्यवस्था प्रयोगशालाका कर्मचारीहरुमा छैन ।
भ्याक्सिन उत्पादनको इतिहास
नेपालमा पशुलाई प्रयोग गरिने भ्याक्सिन उत्पादनको इतिहास हेर्ने हो भने वि.स २०१८ बाट सुरु भएको पाइन्छ । नेपालमा त्यो समयमा पशुमा लाग्ने गगोटी महामारी फैलिएको कारण नेपालमानै यो रोगको भ्याक्सिन उत्पादनको थालनी गरिएको हो । त्यो समयमा नेपालमा गगोटी रोग बाट पशु क्षेत्रमा ठूलो क्षति भएको थियो । गगोटी रोग सन् २००२ देखिनै विश्वबाटनै उन्मुलन गराइसकेको छ ।
अहिले प्रयोगशालाबाट कुखुराको खोपहरुमा रानीखेत एफ स्ट्रेन, रानीखेत आर.टु, रानीखेत लासोटा स्ट्रेन, फावल पक्स, गम्वोरो जिवित भ्याक्सिन, एन.डि.आई टू भ्याक्सिनहरु उत्पादन गर्दै आइरहेको छ । गाई, भँैसी, बंंगुर तथा भेडा बाख्राको लागि एच.एस एरोसोल, एच.एस.र वि क्यू सयुक्त भ्याक्सिन, एन्थ्राक्स स्पोर, स्वाईन फिभर, पि.पि आर.होमोलोगस टिष्युकल्चर लगायत गरी १२ प्रकारका भ्याक्सिनहरु उत्पादन गरिँदै आइरहेको छ । रोग नियन्त्रण अन्र्तगतको कार्यक्रमले पशुलाई निःशुल्क रुपमा भ्याक्सिन लगाउँदै आइरहेको छ ।
भ्याक्सिन उत्पादनको संख्या हेर्ने हो भने गत वर्ष मात्रै पि.पि.आर ५५ लाख डोज, भ्यागुते, चर्चरे, ७ लाख १४ हजार १ सय ५० डोज, बंगूरको स्वाइन फिभर ५ लाख डोज, रानी खेत एफ १ करोड २० लाख डोज,रानीखेत आर.टू .वि ३० लाख डोज,रानीखेत आई.टू, ७ लाख, गम्वोरो ५० लाख डोज,एरोसोल ५० हजार गरी २ करोड ७४ लाख डोज भ्याक्सिन उत्पादन गरिएको थियो ।
३ महिनासम्म बन्दैन मेसिन
वरिष्ठ पशु चिकित्सक मोहन देव लेखकको भन्छन्, ‘आवश्यक्ता अनुसार सरकारले उपलब्ध गराउने हो भने हामीसँग नेपालमा पशुको लागि आवश्यक पर्ने सबै भ्याक्सिन उत्पादन गर्न सक्छौ । यो प्रयोगशालामा सिंहदरबार पाल्न सक्ने क्षमता छ ।’ नेपालमै भ्याक्सिन उत्पादन गरेर खरिद विक्री गर्ने हो भने आम्दानीको निकै राम्रो सम्भावना रहेको छ । तर सरकारले चासो दिन सकिरहेको छैन । बल्ल दुई वर्ष भयो जैविक प्रयोगशालाको विषयमा चासो दिन थालेको अहिले हामी भ्याक्सिन उत्पादनको लागि नयाँ मेसिन खरिद प्रक्रियामा छौँ ।
सुरुवातको समयदेखिनै प्रयोगशाला निकै पुरानो अनि साँघुरो भवनमा थियो । अहिले नयाँ भवनमा सारिएको छ । मेसिन पनि ३० वर्ष भन्दा धेरै पुरानो भइरहेको छ । भ्याक्सिन उत्पादनको मेसिन बिग्रीदा वायोमेडिकल इन्जिनियरले पनि ३ महिनासम्म बनाउन सक्दैनन् । यो अवस्थामा भने लक्ष्य अनुसार काम गर्न नसक्ने बताउछन् ।
नेपालको मासु मेडिन भियतनाम
नेपालको पशुमा खोरेत रोग धेरै देखिने भएका कारण बाहिरका देशहरुले मासु खरिदमा चासो दिएको पाइदैन । नेपालबाट भैँसीको मासु चीन लाने गरिन्थ्यो । तर चीनले नेपालको पशुमा खोरेत रोग भएको कारण मासु किन्न मानेन । नेपालबाट भैसीको मासु भियतनाम पठाइन्छ । भियतनाममा नेपालको भैँसीको मासुको प्याकेडमा मेडिन भियतनामको छाप प्रयोग गरेर चीन पठाउँदै आइरहेको छ । खोरेत रोग मासुबाट सर्ने भएको कारण अन्य देशले नेपालमा मासु खरिद गर्न चासो देखाउँदैनन् । व्यापारको लागि पनि खोरेत रोगको भ्याक्सिन नेपालमै उत्पादन गर्नुपर्ने जरुरी रहेको छ ।
भ्याक्सिन उत्पादनमा बृद्धि
आर्थिक वर्ष २०७४/०७५ मा पि.पि आर ७० लाख डोज, स्वाईन फिभर,६ लाख डोज, रानीखेत एफ.वान १ करोड ५० लाख,रानीखेत आर.टू.वि ४० लाख, रानीखेत आई.टू ९ लाख, गम्बोरो ७० लाख, भ्यागूते, चर्चरे र एन्थ्राक्स रोग को ८ लाख ५० हजार डोज उत्पादन गर्ने लक्ष्य रहेको छ । यो आर्थिक वर्षमा ३ करोड ७३ लाखभन्दा धेरै डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य रहेको छ ।
जिम्मेवारी अनुसार सामान हुनुपर्र्याे
प्रयोगशालाबाट उत्पादन भएका सबै भ्याक्सिनहरु बिक्री भइरहेका छन् । ८० प्रतिशतभन्दा बढी राष्ट्रिय रोग निवारण कार्यक्रमलाई दिनुपर्छ भने अरु विक्री गर्दे आइरहेको छ । सरकारले लक्ष्य अनुसार काम गर्ने हो भने भ्याक्सिन उत्पादनको मेसिन पनि समय अनुसारको हुनुपर्छ । पुरानै मेसिन, पहिलाकै अवस्थामा रहने हो भने लक्ष्य अनुसार काम गर्न निकै गाह्रो हुने देखिन्छ । सबैभन्दा कम २० र बढी १ हजार मात्राको भ्याक्सिन उत्पादन गरिन्छ । उत्पादन गरेको भ्याक्सिनमध्ये बंगुरमा लाग्ने स्वाईन फिभर अरुको तुलनामा महङ्गो पर्दछ । २० डोजलाई २ सय १० रुपैया तिर्नुपर्ने हुन्छ । अहिलेसम्म भ्याक्सिन उत्पादनको लागि ३२ वटा मेसिन प्रयोगशालामा ल्याइसकेको छ ।
भ्याक्सिनमा फाईदा छ
नेपाल सरकारको लागत मूल्य अनुसारनै कृषकलाई भ्याक्सिन विक्री गर्दे आइरहेको छ । गैरसरकारी संघसंस्थाहरुले बिक्री गर्ने भ्याक्सिन र नेपाल सरकारको भ्याक्सिनको मूल्यमा निकै कम रहेको छ । व्यवसायीहरु पनि जैविक प्रयोगशालाको भ्याक्सिननै बढी खोज्ने गर्छन् । प्रयोगशालाबाट निर्देशीकामा उल्लेख गरिएको संस्थालाईमात्रै भ्याक्सिन खरिद गरिन्छ । वार्षिक रुपमा नेपालमा पशुको भ्याक्सिन ५० करोडभन्दा धेरै माग हुन्छ । नेपालमा भने अहिले ३ करोड मात्रै भ्याक्सिन उत्पादन गर्दै आइरहेको छ । नेपालमा उत्पादन गरेको भ्याक्सिनले बजारको मागलाई धान्न सकिरहेको छैन । समान अभावकै कारण बनाउन नसकेको वरिष्ठ चिकित्सक लेखकको भनाइरहेको छ । कुखुरा व्यवसायीहरुको संख्या बढ्दै गर्दा कुखुराको भ्याक्सिनको माग पनि बढ्दो छ ।
विश्व बैँकको सहयोग
भ्याक्सिन उत्पादनको लागि गत वर्ष हिमाली आयोजनाले सहयोग गरेको थियो । पशु स्वास्थ्यको विश्व बैकले सहयोग गर्ने तयारी भईरहेको छ । कृषि क्षेत्रमा विश्व बैकले सहयोग गर्दै आइरहे पनि छुटटै पशुको क्षेत्रमा सहयोग गरेको थिएन । विश्व बैकले पशु क्षेत्रमा यो धेरै ठूलो प्रोजेक्ट रहने छ । यो महिनामा प्रोजेक्टमा हस्ताक्षर हुने वरिष्ठ पशुचिकित्सक लेखकले बताए । ५ करोडभन्दा धेरै सहयोगको अनुमान गरिएको छ । विश्व बैकको यो प्रोजेक्टले भ्याक्सिन उत्पादनमा पनि सहयोग गर्ने छ ।