शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भारत बीचको खुला सिमाना र कोरोना भाइरसविरुद्वको अभियान

शनिबार, २९ चैत २०७६, १९ : २५
शनिबार, २९ चैत २०७६

भारतका केही प्रमुख मिडियाहरुले हिजो एकै साथ नेपाल को एक जन प्रतिनीधिले भारतमा केही मुस्लिमहरु मार्फत् कोरोना भाइरस फैलाउने षड्यन्त्र गरेको भनेर निकै जोड़तोडका साथ प्रचार गरे । त्यसबारे बुझ्न खोज्दा अहिलेसम्म प्रचार गरिए अनुसारको यथार्थता केही भएको देखिँदैन र यो कपोलकल्पित आरोप जस्तो देखिन्छ । तर व्यक्तिको हकमा कुटनीतिक मर्यादा विपरीत कसैले जान वा अन्जानमा गल्ती गर्न सक्छ । त्यस्तो भएको रहेछ नै भने पनि कुनै पनि नागरिकको सन्दर्भमा सम्बन्धित मुलुकको कुटनीतिक माध्यामबाट समाधान खोजिनु पर्दछ । तर त्यसो नगरी मिडियाहरु मार्फत जसरी प्रचार गरियो, त्यसले नेपालको आन्तरिक मामिलामा नै हस्तक्षेप गर्न खोजेको त होइन भन्ने गम्भिर प्रश्न खड़ा गरेको छ ।

भारतीय मिडियाहरुको प्रचार शैली हेर्दा मुस्लिमहरुको विरुद्वमा अति हिन्दुवादी धार्मिक चिन्तनबाट प्रभावित भएर प्रचार गर्न खोजिएको देखिन्छ। भारतमा हिन्दु-मुस्लिमको समस्या हुन सक्छ । त्यस प्रकारको समस्या रहेछ भने पनि त्यो भारतको आफ्नै आन्तरिक मामिला हो । तर त्यहाँको अन्तरविरोधलाई लिएर स्वतन्त्र सार्वभौम तथा धर्मनिरपेक्ष मुलुक नेपाललाई मुछ्न खोज्नु बेठीक हो । विगत कालमा थुप्रै मुस्लिमहरुको नेपालमा रहस्यमय ढंगले हत्या भएको छ । अपराधीहरु पत्ता लगाउन नेपाल सरकारले सकिरहेको छैन । त्यस सन्दर्भमा पनि नेपाली जनताले शंकाको सुई भारतीय अति हिन्दुवादीहरु तर्फ नै सोझ्याउने गरिरहेका छन् । ख़ैर जे होस्, दुई दिन अगाडि मात्र दुवै मुलुकका प्रधानमन्त्री बीच भिडिओ संवाद भएर कोरोना भाइरसको महामारीका विरुद्ध एकताबद्व भएर अगाडि बढ़्ने प्रतिवद्वता जनाएको अवस्था हो । त्यो स्वागत योग्य कदम हो । तर सहमतिको २ दिन वित्न नपाउँदै भारतिय मिडियाहरुले जसरी प्रचार गरे, त्यो नेपालको निम्ति दुखद पक्ष हो । अत: फेरि पनि दुई मुलुकको बीचमा जे जस्ता समस्याहरु पैदा भए तापनि दुवै मुलुकको कुटनीतिक माध्यमबाट सम्पर्क र संवाद गरी समाधान खोजिनु पर्दछ ।

आज कोरोना भाइरस विश्व ब्यापी फैलिरहेको छ । त्यसबाट भारत र नेपाल दुवै मुलुक प्रभावित भएको छ । भाइरसबाट भारतमा आजको मिति सम्म २३९ जनाको निधन भएको र ६५६५ जनालाई संक्रमित भएको भनिएको छ । नेपालमा अहिले सम्म ९ जना संक्रमित देखिएको छ । जे जस्तो अवस्थामा प्रभावित देखिए तापनि कोरोना भाइरस विरुद्वको अभियानमा एकताबद्व भएर लाग्नुको विकल्प छैन । यस क्रममा दुई मुलुक बीचमा देखिएका समस्याहरुबारे आपसी संवादबाट समाधान गर्दै लानु पर्नेछ । दुवै मुलुकमा लकडाउन गरिरहेको स्थितिमा दुवै तर्फका नागरिकहरु सिमानामा अलपत्र परेको पनि हो । दुवैले आआफ्नो सिमाभित्र क्वारेन्टाइन बनाएर राख्ने भनिए तापनि त्यो प्रभावकारी हुन सकिरहेको छैन । खासगरी भारततर्फको क्वरेनटाइनको व्यवस्था राम्रो भएन भन्ने त्यहाँ रहेका नेपालीहरुको चर्को गुनासो सुनिएको छ । त्यसको उचित व्यवस्थापनमा जोड दिन जरूरी देखिन्छ । क्वरेनटाइन पश्चात संक्रमित देखिएमा उपचारको व्यवस्था गर्ने र सो नदेखिएमा आ–आफ्नो मुलुकमा फर्कन पाउने व्यवस्था गराउनु पर्ने हुन्छ ।

यसरी लकडाउनको समयमा सिमानामा देखिएको समस्या, हालै भारतीय मिडियाहरुले नेपालीमाथि लगाएको आरोप, विगतकालमा समय समयमा सिमावर्ती क्षेत्रमा देखिएको क्रस बोर्डर अपराधलगायतका दुई मुलुक बीच जे जस्ता समस्याहरु पैदा हुने गरिरहेका छन्, त्यसको पछाडिको मुल कारण भनेको दुई मुलुकबीचको खुला सिमानाको समस्या नै हो । अत: दुई मुलुकबीच कोरोना भाइरसविरुद्वको अभियानलगायत अधिकाश समस्याहरु समाधानका लागि खुला सिमालाई बन्द गरी पासपोर्टको व्यवस्था लागु गरिनुको विकल्प देखिँदैन । दुवै मुलुकको निम्ति सिमाना बन्द गर्नुपर्ने आवश्यकता टड्कारो भइसकेको छ । अत: दुवै मुलुक बीच कुटनीतिक तहबाट अविलम्ब वार्ता गरी सिमा बन्द गरी मुख्य-मुख्य नाकाहरु मात्र खुला गर्ने र त्यहॉ पासपोर्ट-भिसा को व्यवस्था लागु गरिनु पर्ने देखिन्छ ।

 (मिति: २०७६ चैत्र २९ गते)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देव गुरुङ
देव गुरुङ

गुरुङ नेकपाका नेता हुन् ।

लेखकबाट थप