शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

वैशाख ३ पछि ‘लकडाउन’को स्थिति : लम्बिएला कि हट्ला ?

नेपाल जस्तो कमजोर अर्थतन्त्र रहेको देशले ‘लकडाउन’ लाई कतिन्जेल धान्न सक्ला ?
शनिबार, २९ चैत २०७६, १८ : ३१
शनिबार, २९ चैत २०७६

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिले देश ‘लकडाउन’को अवस्थामा छ । चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको उक्त ‘लकडाउन’ सुरुमा ७ दिनका लागि घोषणा गरिएको थियो । अहिले त्यसलाई २ पटक बढाएर बैशाख ३ गतेसम्म पुर्याइिएको छ । पछिल्लो सरकारी निर्णयअनुसार सो दिन मध्यान्ह १२ बजेसम्म ‘लकडाउन’ कायम रहनेछ । पछिल्लोपटक घोषणा गरिएको अवधिका कारण देश २३ दिन बन्द भएको छ ।

बैशाख ३ गतेसम्म ‘लकडाउन’ हुने भएपछि यो नयाँ वर्ष सबै नेपालीहरुको घरभित्रै बित्ने निश्चित भएको छ । तर ३ गतेदेखि देशमा के हुन्छ भन्नेबारे अहिलेसम्म केही उल्लेख गरिएको छैन । त्यसो त, गत बिहीबार मात्रै ‘काठमाडौंबाट बाहिर जान दिने गरी २ दिनका लागि शुक्रबार र शनिवार ‘लकडाउन’ खुला गर्ने’ भनी सरकारले गरेको भनिएको निर्णयबाट अहिले सरकार पछि हटेको छ ।

सरकारले उपत्यकाबाट बाहिर जान दिने निर्णय गर्नुको सीधा अर्थ हुन्थ्यो, सरकार ‘लकडाउन’को अवधि बढाउने तयारी छ । तर त्यो निर्णयबाट सरकार पछि हटेको अवस्थामा अब सरकारले ‘लकडाउन’का बारेमा चाल्ने कदमहरुका सन्दर्भमा तीनवटा विकल्प बाँकी रहन्छ । पहिलो, ‘लकडाउन’लाई निरन्तरता दिने । दोस्रो, केही दिनका लागि ‘लकडाउन’ खुलाउने । र, तेस्रो सधैंका लागि ‘लकडाउन’ खुलाउने ।

कोरोनाभाइरस संक्रमणका सन्दर्भमा विश्वभरि नै विभिन्न अध्ययन अनुसन्धानहरु चल्दै आएका छन् । त्यसै सिलसिलामा पछिल्लो पटक प्रकाशित एक अमेरिकी अनुसन्धानअनुसार  कोरोनाभाइरसको संक्रमणको सम्बन्धमा गरेको अनुसन्धानले जतिसुकै सावधानी अपनाए पनि एकजना संक्रमित व्यक्तिले कम्तीमा २ जनालाई स्वस्थ व्यक्तिलाई संक्रमित गर्छ । तर सावधानी नअपनाए यस्तो संक्रमण असीमित संख्यामा पुग्छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको अर्को अध्ययनले भारतमा यदि कुनै नियन्त्रणको उपाय नअपनाउने हो भने एकजना कोरोना संक्रमितले ४ सय ६ जनामा त्यस्तो रोग सार्ने सम्भावना हुन्छ । यदि ‘लकडाउन’लाई पालना गर्ने हो भने यो संक्रमण दर २.५ जनामा झर्छ । उक्त अनुसन्धानले पनि सरकारलाई ‘लकडाउन’को अवधि बढाउन र जनतालाई सामाजिक दूरी कायमै राख्न सिफारिस गर्छ ।

तर यस्तो सिफारिसले मात्रै त हुँदैन ! रोगले मर्ने अवस्थाबाट जोगिन भोकले मर्ने अवस्था निम्त्याउन कदापि हुँदैन, त्यसैले कुनै पनि सरकारले यी दुईबीचको क्षतिलाई विचार गरेर ‘लकडाउन’ खोल्ने वा जारी राख्ने निर्णय गर्नुपर्छ ।

छोटो नोटिसकै आधारमा सरकारले ‘लकडाउन’ गरेपछि अहिले पनि हजारौं नागरिकहरु आफ्नो अनुकूल ठाउँमा पुग्न नपाएर अड्किएका छन् । रोजगारीको अवसर समेत गुम्दा उनीहरुलाई कमसे कम आफ्नो घरसम्म जाने अवस्था मिलाउने व्यवस्था गर्नु आफैंमा अस्वाभाविक कदम पनि होइन । अझ सरकारका तर्फबाट आवश्यक न्यूनतम राहत पनि दिन नसकिरहेको अवस्थामा यो झनै अनिवार्य हो । तर यसले निम्त्याउनसक्ने अर्को संकटलाई नजरअन्दाज गर्न पनि सकिन्न ।

बेलायतका क्याम्ब्रिज विश्वविद्यालयका सेन्टर फर म्याथमेटिकल साइन्स र भारतको चेन्नइस्थित इन्स्टिच्यूट अफ म्याथमेटिकल साइन्सका अनुसन्धानकर्ताहरु राजेश सिंह र आर अधिकारीले गरेको संयुक्त अध्ययनले भारतका लागि ‘लकडाउन’को ३ वटा विकल्प प्रस्ताव गरेको थियो । त्यो अनुसन्धानले भारतमा देखिएको कोरोना संक्रमण र फैलावटलाई आधार मानेर त्यस्तो प्रस्ताव अघि सारेको हो ।

उक्त अनुसन्धानले पहिलो विकल्पमा २१ दिनको ‘लकडाउन’ सकिएपछि ५ दिन ‘लकडाउन’ खुला गर्ने कुरा प्रस्तावित गरेको छ । त्यसअनुसार, ५ दिन खुला गरेपछि फेरि २८ दिनसम्म निरन्तर ‘लकडाउन’ गरिनेछ । तर, उक्त अनुसन्धान भन्छ, ‘बीचमा ५ दिन छुट्टि दिने हो भने ‘लकडाउन’ गरिएको २८ दिनसम्म त भाइरस संक्रमणमा कमी आउँछ तर फेरि उच्च गतिमा बढ्छ ।’

दोस्रो विकल्पको रुपमा २८ दिनपछि फेरि ५ दिन छुट्टि दिएर अर्को १८ दिनसम्म ‘लकडाउन’ लम्ब्याउने विकल्प सुझाइएको छ । यसरी तीनपटक ‘लकडाउन’ गर्दा ६७ दिन ‘लकडाउन’ हुनेछ । त्यसो गर्दा बीचमा ५–५ दिन छुट्टी गरेर ‘लकडाउन’ अवधि १० जुनसम्म पुग्नेछ ।

उक्त अनुसन्धानले पहिलो विकल्पमा २१ दिनको ‘लकडाउन’ सकिएपछि ५ दिन ‘लकडाउन’ खुला गर्ने कुरा प्रस्तावित गरेको छ । त्यसअनुसार, ५ दिन खुला गरेपछि फेरि २८ दिनसम्म निरन्तर ‘लकडाउन’ गरिनेछ । तर, उक्त अनुसन्धान भन्छ, ‘बीचमा ५ दिन छुट्टि दिने हो भने ‘लकडाउन’ गरिएको २८ दिनसम्म त भाइरस संक्रमणमा कमी आउँछ तर फेरि उच्च गतिमा बढ्छ ।’


तेस्रो विकल्प भनेको बीचमा खुला नै नगरी २८ दिनसम्म लगातार ‘लकडाउन’लाई निरन्तरता दिने भन्ने हो । यसो हुँदा ‘लकडाउन’को अवधि लगातार लगातार ४९ दिन हुन्छ । यो ‘लकडाउन’पछि कोरोनाको यो महामारीको गति  नियन्त्रणमा आउन सक्छ भन्ने सो अनुसन्धानको निष्कर्ष छ । यसका लागि मे १३ सम्म निरन्तर ‘लकडाउन’ गर्नुपर्नेछ । तर बीचमा छुट्टि दिने हो भने भारतले थप १८ दिन ‘लकडाउन’ थप्नुपर्ने उक्त अनुसन्धानको निष्कर्ष छ । यद्यपि यो अनुसन्धान गणितीय मोडलिङमा आधारित भएकोले यसको प्रभावकारिताको बारेमा भने अहिले नै ठोकुवा गरेर भन्न सकिन्न ।

भारतको निर्णयमा निर्भर नेपाल

नेपाल आफैंले कोरोना भाइरस संक्रमणको महामारी नदेखिएको, हालसम्म त्यो नियन्त्रणमै रहेका देखिए पनि तत्कालै नेपालमा ‘लकडाउन’ खोल्ने सम्भावना भने हुँदैन । त्यसको विविध कारणहरु छन् र तीमध्ये पनि सबैभन्दा प्रमुख कारण हो भारत । नेपालसँग खुला सिमाना रहेको र रोटीबेटीको सम्बन्धसहित बाक्लो आवातजावत रहेको भारतमा कोरोनाभाइरस नियन्त्रणमा नआएसम्म नेपालमा ‘लकडाउन’ खुला गरेमा ठूलो संख्यामा सीमावर्ती क्षेत्रका वासिन्दाहरु ह्वारह्वार्ती नेपाल आउने सम्भावना हुन्छ । उनीहरुलाई रोक्नसक्ने क्षमता सरकारसँग छैन । अरुबेला नेपाल र भारतबीच थुप्रै व्यवहारमा सहज देखिएपछि अहिलेको अवस्थामा सबैभन्दा ठूलो चुनौति नै खुला सीमाना हुनेछ ।

अर्कोतिर, नेपाल भारतले आफूलाई रोग संक्रमणका सहयोग गरेको आरोप लगाउने अवस्था नआओस् भन्ने चाहन्छ । त्यस्तो अवस्था आयो भने नेपालको सप्लाई चेन खल्बलिनसक्ने डर नेपाली पक्षलाई छ । पछिल्लो ८ दिन ‘लकडाउन’ थप्ने निर्णय गर्नुअघि कोरोना रोकथाम उच्चस्तरीय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले छिमेकी राष्ट्र भारतमा ‘लकडाउन’ कायमै रहेको अवस्थामा नेपालमा पनि ‘लकडाउन’ बढाउनु उपयुक्त हुने सुझाव समितिले मन्त्रिपरिषदलाई दिएको बताएका थिए । सोही अनुसार भारतमा ‘लकडाउन’ खुलेको भोलिपल्टसम्मका लागि यहाँ ‘लकडाउन’ घोषणा गरिएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीमा नाममा गरेको सम्बोधनमा पनि भारतको ‘लकडाउन’बारे बोलेका थिए । त्यसो हुनाले भारत सरकारले ‘लकडाउन’का सम्बन्धमा जस्तो नीति अख्तियार गर्छ, त्यसैलाई ‘पछ्याउने’ सम्भावना देखिएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीमा नाममा गरेको सम्बोधनमा पनि भारतको ‘लकडाउन’बारे बोलेका थिए । त्यसो हुनाले भारत सरकारले ‘लकडाउन’का सम्बन्धमा जस्तो नीति अख्तियार गर्छ, त्यसैलाई ‘पछ्याउने’ सम्भावना देखिएको छ । भारतमा बहसमा आएका विकल्पमध्ये भारत केही दिनका लागि ‘लकडाउन’ खुला गर्ने निश्कर्षमा पुग्यो भने नेपालले पनि केही दिन त्यस्तो ‘लकडाउन’ खुला गर्ने सम्भावना रहन्छ । तर भारतले ‘लकडाउन’लाई निरन्तरता दियो भने नेपालले आंशिक रुपमा ‘लकडाउन’ खोल्ने ‘आँट’ नगर्न पनि सक्छ । यतिखेर भारत लकडाउनको अवधिलाई लम्बाउनेतिर नै अग्रसर देखिन्छ ।

शुक्रबारमात्रै भारतीय सीमा सुरक्षा बलको दाबीको हवाला दिँदै नेपालबाट भारतमा कोरोना भाइरस संक्रमित ४० जना भारत गरेको आरोप एक मिडियाले लगाएको थियो । त्यसलाई नेपालले खण्डन गरिसकेको छ । तर भारतको तर्फबाट लाग्नसक्ने त्यस्तो आरोपबाट नेपाल मुक्त हुन चाहेको जस्तो देखिन्छ ।

आधिकारिक रुपमा केही नबताए पनि काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइसकेको छ भन्ने सरकारी विश्वास छ । सोही कारण काठमाडौंबाट बाहिर जानेको हकमा २ दिनका लागि यात्रा खुला गर्ने निष्कर्षमा सरकार पुगेको बताइन्छ । हुन पनि पछिल्ला केही दिनमा काठमाडौंमा सयौं संख्यामा परीक्षण गर्दा पनि एउटामा पनि कोरोना भाइरस पोजेटिभ नदेखिनु आफैंमा सुखद पक्ष भने हो ।

भारतमा ‘लकडाउन’ : फसेका मानिसहरु पैदल आफ्नो गन्तव्यतिर जाँदै

तर त्यसको अर्थ ढुक्क भएर बसिहाल्न सकिने स्थिति पनि छैन । तीन करोड जनसंख्या भएको नेपालमा कोरोनाभाइरसको संक्रमण वास्तवमै न्यून भएको हो, पहिचान गर्ने कार्य प्रभावकारी हुन नसकेको हो वा संक्रमणको वास्तविकताबाट ‘गुमराह’मा रहेको स्थिति हो ? अहिले नै भन्न सकिने अवस्था छैन । कोरोनाभाइरसको संक्रमण रहेनरहेको कुराको पहिचान गर्नको लागि वृहद स्तरमा गरिनैपर्ने कार्य ‘ट्रेसिङ र टेस्टिङ’का स्थितिबाट नेपाल निक्कै पछौटे अवस्थामा रहेको छ । यो स्थितिमा कोरोनाको संक्रमण हुन सक्ने सम्भाव्य रेडजोनहरुको पहिचान तथा जोखिम क्षेत्रका व्यापक जनसंख्यामा कोरोनाको वृहद् परीक्षण बिना अहिले नै ढुक्क भएर नेपाल कोरोनाको संक्रमणबाट बचेको छ भनेर ढुक्क भइहाल्न सकिने अवस्था पटक्कै छैन । खासगरी, कोरोनाभाइरसका विरुद्ध औषधी वा खोप पत्ता लागिनसकेको अहिलेको अवस्थामा कोरोनाको संक्रमणलाई सुस्त गर्ने सबैभन्दा प्रभावकारी उपाय लकडाउन नै हो, यसको प्रभावकारी विकल्प हालसम्म छैन । संक्रमणको विस्तारलाई रोक्ने परम्परागत उपाय लकडाउनको सफल प्रयोग चीनमा भइसकेको छ र यो नै अहिलेसम्म विश्व स्वास्थ्य संगठनले पनि जोड दिएर सिफारिश गरेका उपायहरुमध्येका एक पनि हो ।

तर दैनिक रोजीरोटीमा निर्भर हुनेहरुको ठूलो संख्या रहेको तथा नेपाल जस्तो कमजोर अर्थतन्त्र रहेको देशमा  ‘लकडाउन’ कहिलेसम्म कायम गर्ने ? त्यसलाई मुलुकले कतिन्जेल धान्न सक्ला ? कुन अवस्थामा पुगेपछि खुला गर्ने ? सबैभन्दा जण्ड प्रश्न नै यही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप