शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संकटको बेला खाद्यले बेच्यो ३० हजार क्वीन्टल चामल

शनिबार, २९ चैत २०७६, १८ : १७
शनिबार, २९ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनको अवधिमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्वीन्टल चामल बिक्री गरेको छ ।

श्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा संयमितका लागि भन्दै सरकारले घोषणा गरेको लकडाउनको तेस्रो हप्ता चैत्र ११ गते देखि २८ गतेभित्र खाद्यले उक्त परिमाणको खाद्यान्न(चामल) बिक्रीवितरण गरेको हो । 

सो अवधिमा ३० हजार एक सय ३२ अर्थात् ३ हजार १३ दशमलव २ मेट्रिक टन चामल खपत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । लकडाउनलगत्तै चैत्र १४ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा खाद्य कम्पनीसँग २५ हजार ७ सय ३३ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको थियो । 

मन्त्रालयको पछिल्लो तथ्याङ्क(२८ गते सम्म)लाई हेर्दा कम्पनीसँग अझै २२ हजार ७ सय १९ मेट्रिक टन चामल रहेको देखिन आएको छ । यसले अझै ५–६ महिना अर्थात साउन भदौ महिनासम्म धान्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

सरकारसँग पर्याप्त खाद्यान्न रहेको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले खाद्यान्नलाई लिएर कोही पनि आत्तिनु नपर्ने बताए ।

‘हामीसँग अझै २३ हजार मेट्रिक टन चामल छ । उत्पादन नहुने र बाहिरबाट समेत आयात नहुने हो भने पनि यसले अझै ४–५ महिना धान्न पुग्छ । तर हामीले अरु पनि खाद्यान्न आयात गर्दैछौं । करिब ५ सय क्वीन्टल चामल आयात हुँदैछ,’ उनले भने । 

सरकारसँग ९१ हजार एक सय २५ क्वीन्टल अर्थात् ९ हजार मेट्रिकटन तयारी चामल र १४ हजार ४ सय ६७ मेट्रिक टन धान रहेको छ । यसबाट ९ हजार ३ सय ३१ मेट्रिक टन चामल निकाल्न सकिने मन्त्रालयको भनाइ छ । यसको अलवा ५ सय मेट्रिक टन चामल मार्गस्थल अर्थात् आपूर्ति हुने क्रममै रहेको मन्त्रालयले जनाएको छ । जसले बजारमा अहिले नै खाद्यान्नलाई लिएर चिन्ता लिनुपर्ने र आत्तिहाल्नु पर्ने देखिदैन ।
दैनिक ३ हजार क्वीन्टल चामल खपत हुँदै
उद्योग मन्त्रालयको तथ्याङ्कलाई हेर्दा बजारमा सरदर दैनिक ३ हजार क्वीन्टलको दरमा चामल खपत भइरहेको देखिन्छ । मन्त्रालयको चैत्र १४ गते देखि २४ गतेसम्मको तथ्याङ्कलाई हेर्दा दैनिक २ हजार ५ सय क्वीन्टलको हारहारीमा चामल खपत भएपनि पछिल्ला केहि दिनयता दैनिक ३ हजारको हारहारीमा चामल खपत भइरहेको छ । 

प्रत्येक दिन आउने तथ्याङ्मा दैनिक करिब ३ हजार क्वीन्टलका दरले चामल खपत भइरहेको मन्त्रालयले जनाएको छ । चैत्र २६ गते २ हजार ९ सय क्वीन्टल चामल खपत भएकोमा २८ गते ३ हजार क्वीन्टल चानचुन चामल विक्रि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै २५,२६ र २७ गते पनि सोही दरमा चामल बजारमा खपत भएको देखिन्छ । तर २०–२४ सम्म भने, करिब २४ सय क्वीन्टल मात्र दैनिक चामल खपत हुँदै आएको थियो । यो दर केहि दिनयता क्रमिक रुपमा बढ्दै गएको हो ।

मुलुक पूर्णतः लकडाउनमा गएलगत्तै बजारमा आपूर्ति व्यवस्थामा समस्या आउने त्रासका बीच उपभोक्ताहरुले खाद्यान्न खरिद बढाउँदा चामलको मागमा वृद्धि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव महानिर्देशक श्रीमणी खनाले बताए । यो दर अझ बढ्न सक्ने उनको अनुमान छ ।

हुम्ला–जुम्लामा पनि सहज आपूर्ति
विषम परिस्थितिमा पनि भण्डारण तथा आपूर्तिका कारण विकट क्षेत्र हुम्ला–जुम्लामा पनि खाद्यान्नको समस्या नभएको मन्त्रालयले बताएको छ । मुलुक लकडाउनको अवस्थामा समेत उक्त क्षेत्रमा खाद्यान्नको सहज आपूर्ति व्यवस्था मिलाइएका कारण कुनै समस्या नभएको मन्त्रालयका सचिव अर्यालले बताए । 

यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्ला जुम्लामा खाद्यान्नको अभाव हुन नदिएको बताएको छ । आवश्यकता अनुसार मुलुकको कुनै पनि कुनामा खाद्यान्न आपूर्ति व्यवस्था सहज बनाइएको खाद्य कम्पनीका नायव महाप्रवन्धक श्रीमणि खनालले बताए । 

‘यस्तो विषम परिस्थितिमा पनि हामीले हुम्ला–जुम्लाको आपूर्ति रोकेका छैनौं । प्लेन चार्टर गरेर भने पनि उक्त क्षेत्रमा चामल पठाएका छौं ।’ महापूवन्धक खनालले भने, ‘पहिले नै उक्त विकट क्षेत्रमा ३२ सय देखि ३३ सय क्वीन्टल खाद्यान्न मौज्दात रहेकोमा हालसालै हामीले थप ४०० क्वीन्टल चामल उक्त क्षेत्रमा पठाइसकिएको छौं । यसले साउन भदौसम्म धान्न पुग्छ ।’

मन्त्रालयकै पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने पनि ताप्लेजुङ्ग, दार्चुला, संखुवासभा लगायतका विकट क्षेत्रमा समेत करिब एक हजार क्वीन्टल बराबरको खाद्यान्न मौज्दात रहेको छ । सो क्षेत्रमा थप खाद्यान्न समेत पठाइने महाप्रवन्ध खनालले जानकारी दिए ।

उपत्यकामा घुम्ति सेवा सहित अनलाइन व्यापार
मन्त्रालयले कुनै पनि स्थान, क्षेत्र र समुदायमा खाद्यान्नको अभाव हुन नदिन उपत्यका र उपत्यका बाहिरका लागि सहज आपुर्ति व्यवस्था मिलाएको छ । उपत्यका भित्र खाद्य व्यवस्थाको बिक्री केन्द्रहरुको अतिरिक्त मोबाइल भ्यानहरुबाट घुम्ति सेवा दिइरहेको छ भने पछिल्लो समय मन्त्रालयले अनलाइन सेवा समेत सञ्चालन शुरु गरेको छ । उपत्यकाभित्रका उपभोक्ताहरुको सेवा सुविधालाई ध्यानमा राख्दै मन्त्रालयले गत बुधबार देखि ‘नेपाल फुड’ नामक मोबाइ एप्स ल्याएको छ ।

यो एप्स मार्फत उपभोक्ताहरुले घरमै बसेर खाद्यान्न अडर गर्न सक्ने छन् भने, खाद्यका कर्मचारीहरुले मोबाइल भ्यानमार्फत खाद्य सामग्री उपभोक्ताको घरसम्म पु¥याइदिने छन् । यसका लागि उपभोक्ताले वाणिज्य विभागको हटलाइन ११३७ मा फोन गरेर खाद्यान्न अडर गर्न सक्नेछन् । यो प्रक्रिया बुधबार देखिनै शुरु भइसकेको छ । 

लकडाउनको विषम परिस्थितिमा उपभोक्ताहरुलाई सेवा दिने उद्देश्यले होम डेलिभरीको अवधारणामा विभागले नेपाल फुड एप्स ल्याएको विभागका कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।
यसको अतिरिक्त विभागले आफ्ना बिक्री केन्द्रहरुबाट समेत खाद्य सामग्रीको बिक्री वितरण जारी राखेको निर्देशक सुवेदीको भनाई छ । 

उपत्यका बाहिरका स्थानहरुमा भने सरकारको निर्णय मुताविक आवश्यक अनुसार स्थानीय तहले खाद्यान्न माग गर्ने र विभागले पठाउने गर्दै आएको छ । अहिलेसम्म झण्डै ३ हजार क्वीन्टल चामल स्थानीय तहलाई पठाइसकेको खाद्यका नायव महानिर्देक खनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप