शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

गंगा श्रेष्ठको यात्राले उजागर गरेको मध्यपहाड

शनिबार, २९ चैत २०७६, १६ : ४९
शनिबार, २९ चैत २०७६

समाजवादी पार्टीका केन्द्रीय महासचिव एवम् साहित्यकार गंगा श्रेष्ठद्वारा लिखित एवम् सांग्रिला पुस्तकप्रकाशित चिवाभन्ज्याङ–झुलाघाटः मध्यपहाड यात्रा नामक यात्रा डायरीको अधोपान्त विचरण गरेँ । 

एउटा सचेत पाठक एवम् अभियन्ताकोरुपमा गंगा श्रेष्ठजीको मध्यपहाडको यात्रा डायरीको अध्येता भैसकेपछि मैले लेखक र पुस्तकका कमीकमजोरी भन्दापनि लेखकले प्रस्तुत गरेका उद्देश्यमूलक यात्राका भोगाइका दसीहरुलाई संक्षेपमा केलाउने प्रयास गरेको छु ।

  समृद्धिको यात्रामा निस्किएका नवीन यात्रीहरुप्रति समर्पण गरिएको यो पुस्तक राजनीतिक मिसनको एउटा सुन्दर उपहार मान्न सकिन्छ, उद्देश्यमूलक यात्रामा निस्किएका यात्रीहरुका लागि । सुदूरपूर्वी नेपालको चिवाभन्ज्याङदेखि सुदूरपश्चिमको मध्यपहाड झुलाघाटसम्मको एक महिने (३० दिन) राजनीतिक अभियानात्मक यात्राले समेटेका २८ जिल्ला र १९७९ कि.मी. लामो यात्राका हरेक खण्डका भेटघाट, कार्यक्रम, भलाकुसारी र लेखकको मनभित्र अनुभूत भएका भावनाहरु समेटिएका शाब्दिक वर्णनहरु साँच्चै नै पाठकको मनलाई तरंंिगत गर्ने खालका छन् । 

पुस्तकसँग अघि बढ्दै जांदा कहिले पनि ध्यान विकर्षण हुँदैन । राजनैनिक यात्राका दैनिक टिपोटहरुलाई आफ्नो साहित्यिक कलाको लेपन दिन पुस्तकभरी गंगा श्रेष्ठ सफल भएका छन् । 
यात्राको योजना निर्माण एवम् पूर्वाभ्यास स्वरुप गरिएको रेकी भ्रमणको वर्णनले उक्त यात्रा सीमित साधन र स्रोत एवम् मौसमका कारण कति चुनौतिपूर्ण हुनेछ भन्ने पूर्वानुमान सजिलै गर्न सकिन्छ ।

मध्यपहाडको १९७९ किमीको ३० दिने यात्रामा देखिएको जातीय एवम् सास्कृतिक विविधता र विकासमा हिसावले एउटै नियति भोगिरहेको मध्यपहाड संघीयताको कार्यान्वयन सँगै आफूलाई हराभरा बनाउन, बसाइँसराई रोक्न, ठाउँ छोडी गैसकेकालाई फिर्ता बोलाउन लालायित छ र मध्यपहाडी लोकमार्गको निमार्ण छिटो सकिने लालसामा रहेको रैवार यो यात्रा डायरीले दिन्छ ।

अभियान शुरु हुनु भन्दाअघि नै लेखक लगाएतको सानो टीमले गरेको रेकी यात्रा देखिकै अनुभूतिहरु लेखकले यात्रा डायरीमा समेटेका छन् । सडकको रेकीका लागि टिम हिँडिसकेपछि सुभद्रा फाउण्डेशनद्वारा संचालित जनजागृति आधारभूत बिद्यालय, दिक्तेल, खोटाङको बारेमा पस्किएको जानकारी वास्तवमै नौलौ छ । नेपालको शिक्षा निति व्यवहारिक बनाउने भनेर दिनहुँ भाषण गर्नेहरुका लागि साँच्चै एउटा शिक्षा बन्ने छ । चिवाभन्ज्याङसम्मको रेकीका लागि धनकुटा हुदै सिधुवा बजार बीचमा रहेका अनौंठो फुलकोपीको स्तम्भलाई साक्षी राख्दै अघि बढ्दा लेखकले त्यस क्षेत्रसँग सम्बन्धित जनयुद्धताकाको स्मृतिलाई पनि ताजा गर्न भ्याएका छन् । त्यसभेगमा स्थान विशेषको उत्पादन विशिष्टता झल्काउने गरी ठाउँठाउँमा निर्माण गरिएका लालीगुराँस, एभोकाडो, लसुन र कागतीको स्तम्भ जस्ता कुराहरुको जानकारी पनि नौलौ नै लाग्छ ।

म्याङलुङ हुँदै संक्रान्ति बजार जाने क्रममा अगाडि आएका रसिक चरित्र तेह्रथुम जिल्लाको कम्युनिष्ट आन्दोलनमा जिउँदा साक्षी ७५ बर्षका नयाँ शक्ति बा उर्फ अमर कन्दङ्वाले उनका बाल साथी वर्तमान प्रधानमन्त्री केपी वलीलाई मुतेकान्छाको उपनाम दिएको प्रसंग उत्तिकै रोचक छ । मध्यपहाडी लोकमार्गको पूर्वको अन्तिम बिन्दु चिवाभन्ज्याङ जाँदाको कठिन चिप्लो बाटोले पनि लेखक टिमलाई बिचलित गरेन बरु पुगिसकेपछिको आनन्द, खुसी र विजयी भाव अचाक्ली देखिन्छ । ३१०० मिटर उचाइमा रहेको निर्जन चिवाभन्ज्याङमा भारत तर्फको एसएसबीको न्यानो स्वागत थाप्दा मानौ उनीहरु त्यहाँ नेपालका प्रतिनिधि थिए कि जस्तो भान हुन्छ । तर रेकीकै क्रममा लेखकको मनमा एउटा खिन्नता एवम् पिरलो भने झल्किन्छ कि यस्तो अनकण्टार र निर्जन ठाउँमा यत्रो खर्च गरेर बनाएको बाटोको के अर्थ भन्ने जिज्ञासा उत्पन्न हुन्छ, जसले विकासको औचित्यमाथि प्रश्न गरेको मान्न सकिन्छ ।

अभियान सुरु भइसकेपछिका घटनाक्रमहरुलाई पनि लेखकले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।  २०७५ माघ १३ गते काठमाडौंबाट डा. बाबुराम भट्टराईलगयएत लेखक सहितको टोली झापा दमक मुकामको आथित्यता ग्रहण गर्दै कन्यामको सुन्दरतामा चुलुर्म डुब्दै लठ्ठिएर आत्मसमर्पण गरेका लेखक समय सीमाका कारण कन्यामसंँग पिरती गाँस्न नपाउँदा भने अलि चुचुकाएको पनि पाइन्छ । टोलीले याङ्वकरमा पाएको अनपेक्षित स्वागत र मायाले पुलंकित हुँदै त्यहाँको कावेलीको तिते माछा र चिउराको स्वादलाई ब्राण्डिङ गरी स्थानीयको आम्दानी स्रोत बढाउने चिन्ता व्यक्त गर्न पनि लेखकले भ्याएका छन् ।

च्याङथापु मुकाम बनाउँदा राति जन्ते भोजशैलीमा स्वतस्फूर्तरुपमा स्थानीय जनसमुदायले दिएको आथित्यता र व्यक्त गरेको आकर्षणलाई भोटमा कसरी बदल्न सकिएला भन्ने चिन्ता व्यक्त गरेको पाइन्छ । 
 चिवाभन्ज्याङ सम्मको कठिन यात्रापछि हिँउमाथि गरिएको उद्घाटन कार्यक्रममा पालिका प्रमुखले गरेको सहयोग र पार्टीको संकीर्ण घेराभन्दा माथि उठेर राखेको धारणाको मुक्त कण्ठले प्रशंसा गर्दै लेखकले नयाँ राजनैतिक संस्कृतितर्फ इंगित गर्न खाजेको पाइन्छ । च्याङथापुको खोला किनारमा चिहानै पिच्छे काँग्रेस र कम्यूनिष्ट पार्टीका झण्डा फहराई रहेको अनौठो दृश्य देख्दा लाशमाथिको राजनीति र जडता प्रति लेखकले व्यङ्ग पनि गरेका छन् ।

फिदिमको संगीतमय सडक कन्सर्ट साँझसँगै भएको जनसमुदायको सहभागिता र डा. भट्टराईलगायतका नेताहरुका कुरा रातिसम्म पनि धैर्यतापूबर्क सुनाउन पाएकोमा   जनसंवादको पहिलो दिनमै टोली उत्साहित भएर जनताले विकल्पको गहिरो अनुभूत गरेको निष्कर्षमा पनि पुगेको पाइन्छ । 

ओलीको जन्मजिल्ला तेह्रथुमको चुवानडाँडा क्याम्पसमा भएको कार्यक्रम सहभागिता र प्रश्नोत्तरका हिसाबले निकै बौद्धिकतापूर्ण रहेको र डा. भट्टराईको प्रस्तुति पनि प्रभावकारी भएको अनुभूतिसंगै १२ महिनामा ७ महिना पानी परिरहने संक्रान्ति बजारमा सदियौं देखिको खानेपानीको समस्या अहिलेपनि ज्यूंकात्यूँ रहेको कुरा त्यहाँका जनप्रतिनिधिले टीमलाई साक्षी राखेर याचना गरेको प्रसंग र शहिद परिवारको पीडा एवम् वेदनाको भारी र सहभागीहरुको अपेक्षाको भारी समेत बोकेको अनुभूति लेखक सहित अभियान टीमले गरेको छ ।

पोक्लावाङ् स्कूलको प्राङ्गणमा भएको कार्यक्रममा सयौंको संख्यामा रहेका स्थानीयवासीसँग खुला चौरमा गोलाकारमा बसी भावनात्मकरुपमा उनीहरुका मनका कुरा सुन्न पाएको अनुभूतिलाई लेखकले विशेष महत्त्व दिएका छन् र यस किसिमको कार्यक्रमलाई लेखकले पोक्लावाङ् मोडेलको संज्ञा दिएका छन् । 

म्याङ्लुङमा मध्य माघको जाडोलाई साक्षी राख्दै चोकमा बिहान गरेको संवाद कार्यक्रम छोटो मिठो भएको र बृद्ध नेता तथा वयोबृद्ध स्थानीयहरु सहभागी हुन आएको देखेर उर्जा प्राप्त भएको प्रसंग र उद्योग वाणिज्य संघको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि र स्थानीयबीच भएको संवादमा संघीयतामा नामांकन र सीमांकन बारेको असन्तुष्टि सबैबाट एकमतले उठेको प्रसंगमा जोड दिइएको छ । लेखकको युद्धकालीन सम्झनासहितको नाका बजार तह्रथुमको जिरीखिम्ती बजारमा भएको १५ मिनेटको कार्यक्रममा ३–४ सय स्थानीयहरुले सांसै रोकेर कुरा सुनेको तर भट्टराईले माओवादी छोडेर गल्ती गर्नु भयो कि? भन्ने प्रश्नको चाहिँ समयको अभावले डा. भट्टराईले जवाफ नै दिन नपाएको प्रसंग रोचक छ । 

लसुनको पहिचान बोकेको लसुने बजारको बीचमा रहेको लसुन आकृत्तिको स्तम्भमुनि भएको संक्षिप्त कार्यक्रमसंगै लसुन किनेर हतारिएर हिँडेसँगै दुलर्भ प्रजातिका लालीगुराँसको विशेषततायुक्त क्षेत्र बसन्तपुर बजारमा रहेको लालीगुराँस स्तम्भसँगै गरिएको कार्यक्रममा  मुन्धुम विश्वविद्यालयको अवधारणा र मध्यपहाडी लोकमार्गको दायाँबायाँ ३१–३१ मिटर खाली गर्नुपर्ने सरकारो निर्णय पहाडी क्षेत्रमा उपयुक्त नभएको स्थानीयको गुनासोबारे पहल गरिदिन भएको अनुरोध र सिधुवाका सहकारी किसानहरुका यावत् समस्याहरुलाई डायरीमा समेटिएको छ ।

धनकुटा मालबाँसेको चर्चामा नरहेको चमेरे गुफाको पर्यटकिय महत्व र सल्लेरी वनमा रहेको फोहरमाथि निर्मित आकर्षक बगैंचासँग फोहर व्यवस्थापनको प्रयोग नयाँ नै लाग्छ । वडाध्यक्ष विकास घिमिरेको ग्रीन कागतेमा आफ्नो वडा नमूना बनाउने योजना सुन्दै धनकुटा र भोजपुरको लेगुवामा स्थानीय जनतासंगको छोटो भेटघाट पछि अरुण तरेर भोजपुरको जरायोटारमा स्थानीयसंग आत्मीय मायासहितको भेटघाटले थकान चट् भएको प्रसंग छ । 

तर यस क्षेत्र ज्यादै सुख्खा रहेको, खानेपानीलागि सधै काकाकूल हुने गरेको गुनासो र मध्यपहाडी लोकमार्गले उठीबास लगाउन स्थानीयकोे पिरलो पनि उजागर गरिएको छ । नेपाली कांग्रेसका गाउँपालिका प्रमुख गजेन्द्र कार्की गजब कै रहेछन् आफ्नो थातथलोलाई माया गर्ने र गलत कुरा आफ्नै पार्टीको भएपनि आलोचना गर्नसक्ने । आफ्नो बोल्ने पालोमा गजबसँग प्रभावित पारेका रहेछन् लेखकलाई । तर त्यहाँको सबैभन्दा ठूलो समस्या बाँदर आतंक भन्दा अचम्मित पनि बनाएको छ ।

भोजपुरकै पौवादुङ्मा टन्टलापुर घाममा भएको कार्यक्रम स्थानीय सहभागीहरुले ध्यानपूर्बक सुनेको र स्थानीय जनप्रतिनिधिहरुले सरकारले  स्थानीय तहलाई खास अधिकार नदिएको गुनासो आएको उल्लेख गरिएको छ । यसैबीच लेखकले पौवादुङमै जन्मिएकी पूर्वमाआवादी लडाकु एवम् अन्तर्राष्ट्रिय  धाविका मीरा राईलाई पनि खुबै सम्झेका छन् । भोजपुरको डबली बजारमा लागेको मेलामा आएका हजारौ स्थानीयहरुको बीचै भएको संवाद र सांस्कृतिक कार्यक्रमले निकै रौनकता ल्याएको र पहिलो पटक यति धेरै सहभागीहरु बीच भएको संवादलाई केहि प्रश्न बाँकी हुँदाहँुदै पनि छाउँदै गरेको अध्यारोले गर्दा टुंग्याउन बाध्य भएको कुरा लेखकले राखेका छन् ।

बीच बीचमा लेखक विगतको सम्झनामा हराउछन् । भोजपुको दावा बजार पुग्दा २०६० सालतिर फर्र्किएका छन् । त्यतिबेला त्यहाँ जनमुक्ति सेनाले टावर र हतियार कब्जा गर्न एउटा सफल कारबाही गरेको रहेछ । भोजपुरकै ट्याम्केमैयुङ गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा सबै अतिथिलाई अगाडि राखेको स–साना टेबुलमाथि राखिएका मुखै रसाउने ठूल–ठूला सुन्तलाले प्रतिकात्मकरुपमा स्वागत गरिएकको र गाउँपालिका प्रमुखले यस क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र बनाउने चाहना भएको कुरा लेखकले उजागर गरेका छन् ।

भोजपुर र खोटाङको सीमामा रहेको ट्याम्के डाँडामा फोटो खिच्दै रमाइलो गर्दै चिसो स्याँठले धेरैबेर टिक्न अप्ठेरो हुँदाहुँदै सहभागी मध्य एकजना पविजीले मुन्धुम ट्रेलको बारेमा आफ्नो अवधारणा सुनाउँदाको क्षणलाई लेखकले अलि पट्यारिलो मानेका छन् तैपनि चुरो कुरो बुझेर शुभकामना भने दिन भ्याएका छन् । खोटाङको वानाचुङको थुम्कोमा अस्ताउँदो घामको लालिमा संगै साकेलासिलीको भव्य साँस्कृतिक प्रस्तुतिसँगै जनसभा हुँदा साकेला नाच्दै गरेका राई युवतीहरु घामको पहेलो पोतिदा झन् सुन्दर देखेका लेखकमा धीत मर्ने गरी साकेला नाच्न नपाएको चुकचुकी अस्पष्ट देखिन्छ । 

खोटाङको हलेसी पुग्दा लेखकले हलेसी मन्दिर र हलेसी गुफाको महिमा बर्णन गर्दै आफू नास्तिक भएको तर अरुको आस्थाको सम्मान गर्ने स्वीकारोक्ति गरेका छन् । लेखकको जिल्ला सिन्धुलीमा हुँदा लौ अब गंगा दाइको जिल्ला आयो विशेष नै होला भन्ने आशयका घोचपेच सुरु भए पनि सिन्धुली पुगेपछि रातिको मेसको खानामा खसीको मासु थपीथपी खान पाइएकोमा लेखकमा अलि गर्वभाव देखिन्छ । आफ्नो जिल्ला पुग्दा लेखकमा भावुकता पनि पैदा भएको देखिन्छ । आफ्नै पहलमा सुरु भएको सडक बनाउने योजना, पछि २०६३ मा माओवादी पार्टीको तर्फबाट अन्तरिम व्यवस्थापिकाको विधायक हुँदा अझ सहज भएको र त्यही सडक मध्यपहाडी लोकमार्गमा पर्दा लेखक जिल्लाको विकास निमार्णमा आफ्नो सक्दो भूमिकाबारे गौरवको अनुभूति गर्छन् । 

सिन्धुलीलाई सहिद भूमि बताउने लेखक कम्युनिष्ट आन्दोलनकै शिखर व्यक्तित्व ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी र दलबहादुर रजन मगरले पंचायतकालमा सदाहत प्राप्त गरेको र बिपी, गिरीजाहरुको पुख्र्यौली थलो यही जिल्ला भएको र कम्युनिष्ट आन्दोलनका केही नेताले यहाँ कम्युनिष्ट विचारको विउ रोपेको हुँदा लेखक यस जिल्लालाई राजनैतिक इतिहास बोकको जिल्ला मान्छन् । जनयुद्धकालमा धेरै होनहारहरु सहिद भए तर पुराना साथीहरुले अहिले सहिदको भागबण्डा गर्दा भनें अचम्मित हुन्छन् । अनि ग्वाल्टार र बोहरेटारको कार्यक्रममा पार्टीगत संर्कीणता देखिएकोमा पनि उनि खिन्न देखिन्छन् ।
मन्थलीको कार्यक्रममा डा. भट्टराई दुखाउनु भएको रहेछ । साथै डा. भट्टाराईलाई मुलधारबाट चिप्लिएर घरको न घाटको बनेको भनि सहभागीहरुले लगाएको आरोपमा आफू पहिलो पटक पंचायत विरुद्ध लड्दा, दोस्रो जनयुद्ध गर्दा र अहिले तेश्रोपटक विकास र समृद्धिका लागि “बहुलाएको” कुरा दृढतापूर्बक राखेको प्रसंग रोचक लाग्छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत १० आधुनिक सहर बनाउने घोषणा भएको ठाउँ खुर्कोटको भूगोल वर्णन गर्दै सुनकोसी र तामाकोसीको संङ्गममा पानीको अभाव पहिले जस्तै रहेकोतर्फ इंगित गरिएको छ । असारे काका उर्फ ईश्वरी दाहालको कुनैबेलाको  चर्चित गाँउ नाङ्गे केही थान निराश मनहरु सहित साच्चै नाङ्गो भएकोमा लेखकले खिन्नता व्यक्त गरेका छन् । तर, सिन्धुली क्षेत्रमा विपी र मध्यपहाडी मार्ग सुचारु हुँदा होटेल खोल्ने लगायतका आर्थिक गतिविधि बढ्दा विदेशिएका युवाहरु र बसाइँ सरेर गएकाहरु फर्केका, बसाइँ सराइँ  र युवा पलायन रोकिएकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।

काभ्रे भकुण्डेबेशीमा भव्यरुपमा सम्पन्न अन्तरकृया कार्यक्रममा नमोबुद्ध न. पा. मेयर टि. पी. शर्मा र नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामाले पार्टी भन्दा माथि उठेर राखेको विचार र डा. भट्टराईले प्रदेशको नामाकरण, संघीयताको कार्यान्वय र प्रदेश राजधानी सम्बन्धमा अन्तरकृयाको निष्कर्ष प्रस्तुत गरेको कुरामा लेखकले जोड दिएका छन् ।

पाँचखालस्थित सर्बमङ्गला क्याप्पस बिद्याथीहरुसँग भएको आकर्षक अन्तरकृया, पाँचखाल न. पा. मेयर महेश खरेलको आतिथ्यता र डा. भट्टराईलाई गरेको सम्मान र मेयर खरेलको कुरा सुन्दा सबै निर्वाचित जनप्रतिनिधि पार्टीका हनुमान मात्र रहेनछन् भनेर  लेखकलाई अचम्म लागेको प्रसंग पनि रोचक छ । साथै पाँचखाल तरकारी पकेट क्षेत्र भएको र चर्चा हुने गरेको बिषादी प्रयोगबारे चिन्ता व्यक्त गर्दै किसानहरुलाई अर्गानिक खेतीतर्फ उत्प्रेरित गर्नुपर्ने प्रस्ताव लेखकले गरेका छन् ।

बाटोको दुर्दशासंगै मेलम्चीतिर अघि बढ्दै गर्दा इन्द्रावती नदीमा सत्ताधारीका आसेपासेबाट जथाभावी क्रसर संचालनगरी गरिएको नदी दोहन प्रति चिन्ता व्यक्त गरिएको छ । पानी परेर चिसो चिसो भएको मेलम्चीमा न्यानो–न्यानो माया बाँड्दै सहभागीहरुले जिल्लाको समृद्धि, पर्यटन विकास र चीनसंगको व्यापार नाकाबारे केन्द्रीत गरेको बहसबारे उल्लेख गरिएको छ । केही सहभागीहरुले जिल्लाबाट चुनाव जितेर गायब हुने नेता र २–४ चोक्टा मासुमा भोट बेच्ने हामी जनता पनि बेकुफ नै हौ भन्दै फुस्फुसाएको प्रसंग पनि राखिएको छ ।

पानी परेर रोकिएपछिको छ्याङ्ग खुलेको वातावरणमा बिहान १० बने नुवाकोटको बट्टार बजार पुग्दाको त्यहाँको प्राकृतिक सुन्दरताको बयान गर्न लेखकले धेरै शब्दहरु खर्चिएका छन् । त्यहाँको कार्यक्रममा सहभागीहरुको खचाखच उपस्थिति बीच जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङले जिल्लाका समस्यहरु राख्दा लामो समय अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर मिलेको जिल्ला भएकोमा लेखकले बत्ति मुनिको अँध्यारो महसूस गरेका छन् । 

सामरीभन्ज्याङ्गको सौन्दर्य बयान र इतिहास कोट्टयाउँदै त्यहाँको स्कूलको प्राङ्गण र सबै राजनैतिक दलहरुले सार्वजनिक कार्यक्रमहरु गर्ने स्थल एउटै रहेको हुँदा अभियान टोलीले राजनैतिक प्रकृत्तिको कार्यक्रम नगर्ने, ब्यानर नटाग्ने र बक्ताहरुले शैक्षिक र नैतिक कुराहरु मात्र गर्ने आचारसंहिता बनाउन समझदारी भएको अनौठो प्रसंङ्ग पनि लेखकले प्रस्तुत गरेका छन् । 

बसन्त पञ्चमीको त्यसदिन स्कूलमा सरस्वती पूजाका कार्यक्रम सकिए पछि ३०० विद्यार्थीहरु अन्य सहभागीहरुको उपस्थितिमा समझदारी भएको आचारसंहिता बमोजिम पुरस्कार वितरणसहित भएको कार्यक्रममा सम्पन्न भएको र उक्त कार्यक्रममा डा. भट्टराईले पनि राजनैतिक भाषण नगरी अभिपे्ररणात्मक प्रवचन दिएको र आफू एसएलसी बोर्डका पहिलो भएपछि आइएस्सी बढ्न काठमाडौं जाँदा २०२६ सालमा यहीँ बास बसेको प्रसंग भावुकताका साथ सुनाएको प्रसंङ्गलाई लेखकले उल्लेख गरेका छन् ।

भ-याङ्भुरुङ भनेर चर्चितरुपमा चिनिने ठाउँमा पुग्दा यस्तो नाम कसरी रहन गयो होला भन्ने लेखकको मनमा लागेको जिज्ञासा चित्तबुझ्नेगरी पुरा हुन सकेन । तामाङहरु बसोबास रहेको धादिङको सेमजोङको चिसोमा तामाङ युवतीहरुको साँस्कृतिक शैलीको स्वागतले न्यानोपन ल्याएको र डा. भट्टराईले इन्द्रेणी राष्ट्रबादको बारेमा बोल्दा सेमजोङका स्थानीयहरुले ताली गुञ्जायमान गरेको प्रसंङ्गलाई लेखकले जोड दिएका छन् ।

कटुञ्जेमा देखिएको जनताको उत्साह र सहभागीता, युवायुवतीहरु, वृद्धवृद्धाहरु रमाएर नाचेको र रामरिझन यादवको भाषणले निक्कै ताली बटुलेकोमा यो कार्यक्रमलाई लेखकले  यादगार मानेका छन् ।  खहरेतर्फ जाँदा अप्ठेरो बाटोमा आफ्नो मुटुले ठाउँ छोड्दा पनि लेखकले प्रशान्तजीको ड्राइभिङको तारिफ पनि गरेका छन् । त्यसदिन पूर्व माओवादीहरुको बर्चस्व भएको खहरेमा भोलिको कार्यक्रम कस्तो होला भन्ने चिन्ता अभियान टोलीमा रहेको प्रसंगपनि उल्लेख गरेका छन् । 

आँसुखहरेको स–साना झुप्राहरुमा झुरुप्प भएको कामी बस्तीमा आरनमा काम गरिेरहेका श्रमिकसंगको भलाकुसारी पछि बजारमा भएको कार्यक्रममा बुढीगण्डकी ड्यामको डुबानबाट प्रभावित स्थानीयहरु गुनासो उल्लेख गरिएको छ । सल्यानटार पुग्दा बाल्यकालमा रेडियो नेपालमा ‘पालुङ्टारको साँढेले सल्यानटारको बीउ खायो’ बोलको गीतको भेउ विशालटार पुग्दासम्म नि लेखकले नपाएको प्रसंग राखेका छन् । 
डा. भट्टराईको गृह जिल्ला गोरखा, प्रतिनिधी सभा र प्रदेश सभामा एक–एक सिट प्रत्यक्ष निर्वाचनमा जितेको जिल्ला पुग्दा अभियान टोलीमा नयाँ उर्जा थपिएको कुरा लेखकले व्यक्त गरेका छन् । राजनैतिक हिसाबले आ–आफ्नो विचारमा कट्टर जिल्लाको रुपमा लेखकले गोरखालाई आफ्नै जिल्ला सिन्धुलीसंग दाजेका छन् । आरुघाटमा भएको खुल्ला जनसंवादमा बूढीगण्डकी ड्यामका कारण डुबानमा पर्ने यस बजारको भविष्यको बारेमा सरोकार व्यक्त भएको र त्यसको उचित व्यवस्थापनमा डा. भट्टराईले आफ्नो पहल रहने प्रतिवद्धता व्यक्त गरेको प्रसंग उल्लेख छ । 

फाल्गुन १ जनयुद्ध दिवसको दिन पालुङ्टार पुग्दा त्यहाँको कार्यक्रममा डा. भट्टराईको हिजो र आजको भूमिकाबारे उठ्न सक्ने प्रश्न र डा. भट्टराईबाट आउने जवाफका सम्बन्धमा लेखकको मनमा कौतूहलता उत्पन्न भएको छ । डम्बरजीको सानदान ताली खाने भाषणसंगै डा. भट्टराईले विगतदेखि अहिलेसम्मको राजनैतिक उतार चढावको सन्दर्भमा परिस्थितिको माग अनुसार आफूले सचेततापूर्वक निर्णय गर्दै इमान्दारीपूर्वक अघि बढेको र जनतालाई धोका दिने कुरा कल्पना समेत नगरेको भन्दै जनतासामु व्यक्त गरेको प्रविद्धततलाई जोड दिएर पुस्तकमा उल्लेख गरेका छन् । 

नेपालको राजनीतिमा इतिहासदेखि वर्तमानसम्म गोरखाको अतुलनीय योगदान रहेको लेखकले गोरखालाई सलाम व्यक्त गरेका छन् । पालुङटारकै सन्दर्भ जोडदै लेखकले तत्कालीन माओवादी पार्टीको केन्द्रीय समितिको पालुङटार बैठकमा उब्जेको वैचारिक अन्तरविरोधबीच प्रचण्ड, बाबुराम र किरणले फरक फरक दस्तावेजहरुमाथि छलफल हुँदा प्रचण्डजीको दोहोरो मापदण्डका कारण बाबुरामजीको लाइनमा पार्टी अघि बढ्न नसक्दा वर्तमान परिस्थिति सिर्जना भएकोेबारे चिन्ता व्यक्त गरेका छन् ।

लेखकले लमजुङ सुन्दर बजारका उर्बर र सुन्दर फाँटहरुको खुबै बर्णन गरेका छन् । मध्यपहाडी लोकमार्गको तीब्ररुपमा भैरहेको काम र त्यहाँका मानिसहरुमा आएको जागरण प्रति खुशी पनि व्यक्त गरेका छन् । लमजुङ कृषि क्याम्पसको भौतिक पूर्वाधार र व्यवस्थापनको दुर्दशा प्रति चिन्ता गरेका छन् । काँग्रेसको गढ मानेचौका भएको कार्यक्रम खचाखच उपस्थितिका साथ भव्यरुपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन् । १७ दिनपछि बल्ल लमजुङ मध्यबिन्दु (स्थानीयका अनुसार नेपालको मध्यभाग) पुग्दा समयमा झुलाघाट बैतडी पुगिन्न कि भन्ने चिन्ता पनि लेखकले व्यक्त गरेका छन् । 

नेपालका राजनैतिक आन्दोलनमा सधै अग्रणी भूमिका खेल्दै आइरहेको पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुको स्वागत कार्यक्रम भव्य भएको र पोखराका प्रतिष्ठित उद्योगी व्यापारीहरुको उपस्थितिमा उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राखेको तथ्यपरक विचार सुन्दा लेखकलाई मुल्मी आफ्नै पार्टीको आर्थिक प्रवक्ता जस्तो लागेको अनुभव पुस्तकमा राखेका छन् । चिप्लेढुङ्गाको कार्यक्रममा सहभागीहरुले रामेछापको मन्थलीलाई सम्झाउनेगरी निक्कै तिखा प्रश्नहरु गरेको र डा. भट्टराईले सबै प्रश्नकर्ताहरुलाई सन्तुष्ट बनाएको प्रसंग पनि उल्लेख छ । 

साराङ्कोटबाट पोखराको सौन्दर्यता वर्णन गर्दै पुष्पकमल दाहाल प्रचण्डको जन्मथलो ढिकुरपोखरी पुग्दै गर्दा कार्यक्रम कस्तो होला भन्ने कौतुहलता लेखकको मनमा उब्जेको तर पन्चैबाजाको स्वागतसँगै कार्यक्रम राम्रै भएकोमा लेखम फुरुङ्ग भएका छन् । पानी परेर ह्वात्तै जाडो बढ्दा लुम्लेको हावाले सबैको मुटु छुँदा, लुम्लेको कार्यक्रम निकै छोटो भएको र राति सिमसिमे पानीमै भएपनि पर्वतको पातिचौरमा डा. भट्टराईले सम्बोधन गरिसकेपछि रातिको बास व्यवस्थापन गर्न पार्टीलाई धौ–धौ परेको कुरा पनि उल्लेख गरिएको छ ।

पुलैपुलको बजार कुश्मा पुग्दा लेखकले त्यहाँ रहेका तीनवटा लामा र अग्ला झोलुङ्गे पुलहरु र एउटा विद्युतीय यान्त्रिक पुलको बारेमा चर्चा गर्न निकै शब्दहरु खर्चेका छन् । बागलुङ बजारमा अलि अलग्गै पन्चै बाजा र स्थानीय संस्कृति झल्कने नृत्यसहित गरेको स्वागतसँगै सुरु भएको कार्यक्रमा डा. भट्टराईले बोल्दै गर्दा पानी परेपछि पनि सहभागीहरु कार्यक्रम छाडेर कोही नगएको सन्दर्भ जोड्दै कट्टर कम्युनिष्ट स्कुलिङमा हुर्किएको त्यहाँको जनता पनि विकल्पको खोजीमा रहेको निष्कर्ष निकालेका छन् । 

बागलुङ र पूर्वी कुमको सीमाना पातिभन्ज्याङको हिउँ जमिरहेको बाटो पार गर्नकोलागि गर्नु परेको जोखिमयुक्त एवम् सकसपूर्ण यात्राको वर्णन लेखकले डायरीमा सुन्दर ढंगले गरेका छन् । ऐतिहासिक गाउँ लुकुम पुग्दा पाएको विशिष्ट लुकुमी शैलीको स्वागत र ११ जना सहिद जन्माएको लुकुमप्रति लेखकले निकै लगाव देखाएका छन् । जनयुद्धको संस्मरण गरेका छन् । 

युवायुवतीविहीन गुमनाम लुकुमको दुरह जनजीवन र गरिबी प्रति चिन्ता व्यक्त गरेका छन् । लुगलुगि काम्ने जाडोमा त्यहाँको कार्यक्रम सुन्न बसिरहेका सहिदका बा, आमाका चिरा परेका नांङ्गा खुट्टा देखाउँदै त्यहाँका लोकप्रिय नेता जीतमान पुन मार्शलले गरेको भाषणले सबैलाई द्रबिभूत बनाएको, गणतन्त्र ल्याउन आफ्नो उत्सर्ग दिएका त्यहाँका जनतालाई गणतन्त्रले नै गिज्याइरहेको प्रसंग र  डा. भट्टराईले बोल्दै गर्दा उनमा देखिएको भावुकपन यसभन्दा अगाडि कहिल्यै नदेखेको लेखकले उल्लेख गरेको प्रसंग मार्मिक लाग्छ ।

रुकुमकोटसंगै लेखकको विद्यार्थी संगठन ताकाको पुरानो स्मृति ताजा हुन्छ । त्यहाँको राज्य र विद्रोही पक्षबाट मारिएको व्यक्तिहरुको सम्झनामा नाम कुँदिएको सहिद स्तम्भलाई मेलमिलापको साक्षी मानेर देशमा शान्ति प्रक्रिया अझै निष्कर्षमा पुग्न नसकेको प्रसंगलाई लेखकले विडम्बना मानेका छन् ।

 सुन्दर मुसीकोटमा चन्दननाथ होमस्टे बासको अर्कै प्रकारको अनुभवसँगै भोलिपल्टका दुईवटै कार्यक्रमहरुमा राम्रो उपस्थिति रहेको र माओवादीको पकड मानिएको त्यस ठाउँमा पनि नयाँ शक्तिप्रति स्थानीयहरुको सद्भाव र उत्सुकता प्रचुर देखिएकोमा लेखक खुशी छन् । भेरी किनारको सिम्लीमा हजारौं संख्यामा रहेका जनसमुदायले टोलीलाई गरेको  भव्य स्वागतसँगै नेकपातिरै रहेका पुराना सहकर्मी साथीहरुसंगको आत्मीय भेटघाट र विगतको सम्बन्धलाई लेखकले भावुक हुँदै वर्णन गरेका छन् ।

ठुलीभेरी र सानीभेरीको सङ्गमस्थल रिम्ना दोभान पुग्दा २४ वर्षअघिको स्मृतिलाई ताजा गर्दै चौरजहारी पुगेर महोत्सव चलिरेहको ठाउँमा जनताको उपस्थिति बिनै एक्कासी डा. भट्टराईलाई भाषण गर्न मञ्चमा बोलाउँदा परेको धर्मसंकट र अन्य निर्धारित कार्यक्रममा चौरजहारीमा पानीको व्यवस्था र भेरीमा पुल कहिले बन्छ भन्ने प्रश्न सामना गर्नुपरेको प्रसंग राखेका छन् । साथै त्यसदिन रामरिझन यादवको भाषण त्यति नजमेको र डा. भट्टराईको भाषणले जनतालाई खासै उत्साहित नगरेको तितो कुरापनि लेखकले उल्लेख गरेका छन् ।

चौरजहारीबाट जाजरकोट हिँडेर जाँदा ३० मिनेट र गाडीमा जाँदा झन्डै २०० किमी घुम्दै ७ घण्टा लाग्ने प्रसंग अनौठो रुपमा वर्णन गरेका छन् । जाजरकोट खलङ्गा जाँदा डा. भट्टराईले खस सभ्यता र संस्कृतिको सम्मानार्थ दौरासुरुवाल लगाएकामा भएको चर्चालाई पहिचानको मुद्दासंग जोडेर लेखकले न्याय गर्न खोजेका छन् । जाजरकोट खलंगाबाट दशेरा जानेक्रममा त्यस क्षेत्रमा ठूला–ठूला नेताहरु रहेतापनि अझैपनि जाजरकोटको अवस्था साच्चै जर्जर रहेछ भन्ने कुराको यर्थाथ चित्रण गरिएको छ । मध्यपहाडी लोकमार्गको ट्रयाक निमार्णमा त्यहाँ भएको भ्रष्टाचारबारे स्थानीयहरुले पुष्टि गरेको प्रसंग पुस्तकमा रहेको छ । 

दशेरा पुग्न निर्धारित समय भन्दा निकै ढिलो भएको र आजसम्म पालना गर्दै आएको समय उलंघन भएको कुरालाई सहयात्री प्रशान्तजीले सम्झाउँदापनि लेखकको शान्त हुन नसकेको मनोदशा जस्तो सुक्ष्म कुरालाई पनि उल्लेख गरिएको छ । दशेरामा लोकप्रिय माविको वार्षिक उत्सव कार्यक्रममा टाढा टाढाबाट पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई हेर्ने मनासयले भएपनि विद्यार्थी, महिला तथा वृद्धवृद्धाहरुको अच्चम लाग्दो उपस्थिति रहेता पनि आयोजकहरुले कार्यक्रम छोट्याउन नसक्दा अन्धकारले पुरै छोपिसकेपछि बल्ल प्रमुख अतिथिका रुपमा डा. भट्टराईको पालो आउँदासम्म सहभागीहरु पातलिसकेको हुँदा खासै कुराहरु सम्प्रेषण हुन नसकेको प्रसंग उल्लेख गरिएको छ ।

दैलेख जानेक्रममा फाल्गुन १० गते सुयडा पुग्दा लेखकले टोलीबाट जन्मदिनको शुभकामनामा साथै स्थानीयले टोलीको स्वागतको लागि गाँसेका लालीगुराँसका मालाको भारी आफूलाई बोकाएर हौस्याएका साथीहरुले राति सरप्राइज केक काटेर आफ्नो जन्मदिन मनाउने अवसर पाएको क्षणले लेखकलाई भावानात्मक रुपमै खुशी तुल्याएको छ । 

दैलेखको अन्तरक्रियामा उठेका पेचिला प्रश्नहरु सुनेर लेखकले त्यहाँको राजनैतिक चेतनास्तरको तारिफ गरेकाछन् । दैलेखको ज्वालादेवी  मन्दिरमा दलितका लागि अलग्गै बलिदिने स्थान छुट्याएर विभेद गरिएकोमा लेखकको मन कटक्क दुखेको पनि छ ।  

ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जिउँदो संङ्ग्राहलयको रुपमा रहेको दुल्लूको विकासका हिसाबले देखिएको दुर्दशा र त्यहाँको गुठीको समस्या लेखकले उजागर गरेका छन् । दुल्लूमा रहेको सदरमूकाम राति चोरेर दैलेख पु¥याइएको सन्दर्भमा बनाइएको ‘दुल्लूका उल्लु दैलेखी चोर’ भन्ने पुरानो लोक उखान उल्लेख गर्न लेखक बिर्सिएका छैनन् । चामुण्डा नपामा जनप्रतिनिधि एवम् जनसमुदायले गरेको स्वागत र अँध्यारोमा घच्चपच्च रात बिताउनु परेको भएतापनि बास दिने मनकारी घरबेटीको प्रसंशा गरेका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तरर्गत अछाम जिल्ला प्रवेश गर्ने क्रममा स्वतस्फूर्तरुपमा राकम कर्णालीमा भएका दुईटा अलग–अलग कार्यक्रममा अभियानका कुरा स्थानीयलाई सुनाउन पाइएकोमा लेखकले खुशी व्यक्त गरेका छन् । अछामको विनायक विनायक वजारमा जनप्रतिनिधिहरु एबं झाँकी सहित स्थानीयहरुले गरेको न्यानो स्वागत र त्यसपछि भएको कार्यक्रममा रहेको जनसमुदायको उपस्थितिलाई लेखकले अनपेक्षित भव्यताको संज्ञा दिएका छन् । 

लेखक मङ्गलसेनमा जनताबाट उर्लिएको माया र वक्ताहरुले नयाँ शक्तिलाई विकासको नेतृत्वगर्न दिएको शुभकामना  पाएर  धेरै उत्साहित भएका छन् । बिहानपख मङ्गलसेन बजारको विचरण गर्दा जनयुद्धको दशीको रुपमा देखिएको गोलीका पर्राबाट क्षतविक्षत भएको बिजुलीको पोल देख्दा विगतको स्मरणले लेखकको मुटुको चाल बढ्न गएको छ । साथै युद्धमा ध्वस्त त्यहाँको दरबारको पुर्ननिमार्णमा भएको ढिलाई बारे लेखकको ध्यानाकर्षण पनि भएको छ । बयलपाटा हस्पिटलको अवलोकलपछि त्यहाँ उपलब्ध सेवा सुविधा र भौतिक पूर्वााधारको अवस्था हेर्दा लेखकले देशकै नमुना अस्पतालको संज्ञा दिएका छन् । साँफेमा भएको सानो कार्यक्रमले टोली भने टोली अलि खिस्रिक्क भएको छ । 

डोटी सिलगडीमा भएको कार्यक्रम चल्दै गर्दा पानी परेर सहभागीहरु तितरवितर हुँदै गएपछि ‘आयो डोटी खायो रोटी, जाने बेला धोती न टोपी’ भन्ने पुरानो स्थानीय लोकोक्तिको रमाइलो प्रसंगलाई लेखकले टिपेका छन् । 

त्यहाँका मेयरले भने अनुसार सदरमुकाम वरिपरिमात्र करिब ३०० छाउगोठहरु रहेको प्रसंगमा लेखक ज्यादै संवेदनशील भएका छन् । सङ्घीयताको कोपभाजनमा परेर यहाँको प्रशासनिक केन्द्र खोसिन पुगेको भन्ने दिपायलवासीको गुनासोलाई लेखकले पुष्टि गर्दै दिपायललाई साँच्चै निभ्दै गरेको दिपसँग तुलना गरेका छन् । दिपायलको कार्यक्रममा सङ्घीयताका सम्बन्धमा खस सभ्यताको केन्द्र डोटी दिपायललाई अन्याय भएकै हो र सङ्घीयताको बारेमा तपाईहरुलाई नेताहरुले आफ्नो स्वार्थका कारण गलत कुरा बुझाइएको भन्ने डा. भट्टराईको भनाइमा स्थानीयहरुको स्वीकारोक्ती रहेको प्रसंगलाई लेखकले जोड दिएर उल्लेख गरेका छन् ।

डडेल्धुराको मुटु छेड्ने जाडोमा भएको कार्यक्रममा शेरबहादुर देउवाप्रति डा. भट्टराईको कटाक्ष  र स्थानीय काङ्ग्रेसीहरुको पनि राम्रो विकल्प पाए काङ्ग्रसमै टाँसिएर नबस्ने भन्ने मन आफूले छामेको प्रसंग पनि लेखकले उल्लेख गरेका छन् ।

पछाडि छोड्दै आएका मध्यपहाडका बिभिन्न ठाउँहरु झै बैतडी पाटनले पनि भोग्नु परेको पानीको ठूलो संकटबारे उल्लेख गरिएको छ । गोठालापानीतर्फ जाँदै गर्दा स्थानीय नरेन्द्र भट्टसँग बैतडी जिल्लाका विविध पक्षहरुबारे भएको जानकारीमूलक वार्तालाप बारे लेखकले प्रशस्त शब्दहरु खर्चिएका छन् । 

एकमहिने अभियानको अन्तिम दिन झुलाघाटमा आयोजना हुने १४३ औं कार्यक्रम प्रतिको उत्सुकता मनमा लिँदै स्थानीय सेराफेरो अवलोकलन र झुलाघाटको पीडा र व्यथासँग साक्षात्कार हुँदै, समयमै झुलाघाटको कार्यक्रम सकेर गोठालापानीको समापन कार्यक्रम हावाहुरी, पानी र हिउँफूलबीच भव्यरुपमा सम्पन्न भएको प्रसंगलाई सुन्दरढंगले व्याख्या गरिएको छ । 

चिवाभन्ज्याङदेखि झुलाघाटसम्मको १९७९ किमीको एक महिना लामो यात्रा आफैमा एउटा साहसिक एवम् ऐतिहासिक यात्रा हो । तर अभियानको समापनपछि गोठालापानीबाट फर्किने क्रममा प्रतिकूल मौसम र बाटोमा परेको बाक्लो हिँउका कारण टोलीले गर्नुपरेको जोखिमपूर्ण यात्रालाई हेर्दा यस मध्यपहाड यात्रालाई साँच्चै नै एउटा बेग्लै साहसिक यात्राको रुपमा चित्रण गर्न सकिन्छ । 

समग्रमा भन्नुपर्दा गंगा श्रेष्ठको यो यात्रा वृतान्त नेपालको मध्यपहाडको फरक फरक विशिष्ट पहिचान, सामाजिक–आर्थिक स्थिति र पछौटेपन, स्थान विशेषमा लुकेको सामथ्र्य, आदि जस्ता महत्वपूर्ण पक्षहरुलाई सटिकरुपमा चित्रण सफल भएको छ । यो यात्रा अभियानमा भौतिकरुपमा सहभागी हुन नपाएको पछुतो हुँदाहुँदैपनि गंगाजीको यो यात्रा डायरीभित्र पस्दा सँगैसँगै हिँडेर नेपालको मध्यपहाडसँग साक्षात्कार गरेको अनुभूति हुन्छ, यसको लागि लेखकलाई मुरी मुरी साधुवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनक शाह
जनक शाह
लेखकबाट थप