बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ परिसर र ललितपुर परिसर एसपीको कमाण्डमा !

नौ एसएसपीको पनि दरबन्दी कटौतीको तयारी
शनिबार, २९ चैत २०७६, १२ : ३२
शनिबार, २९ चैत २०७६

काठमाडौँ । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक १२ जना (डीआईजी) को दरबन्दी कटौती गरेसँगै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को समेत दरबन्दी कटौतीको तयारी थालेको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र सातवटा प्रदेश प्रहरी तालिम केन्द्रको कमाण्डमा प्रहरी उपरीक्षक (एसपी)लाई खटाउने गरि सरकारले एसएसपीको दरबन्दी कटौती गर्न लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ परिसर, ललितपुर परिसर र सातवटा प्रदेश प्रहरी तालिम केन्द्रको कमाण्डमा एसपीलाई खटाउने गरि मन्त्रीपरिषद्मा ९ एसएसपीको दरबन्दी कटौतीको प्रस्ताव ल्याउन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिइसकेको स्रोतले जानकारी दियो । 

प्रधानमन्त्री ओलीको निर्देशनसँगै गृह मन्त्रालय र प्रहरी हेर्डक्वार्टरबीच छलफल सुरु भएको स्रोतको दावी छ । गृह मन्त्रालय दरबन्दी कटौती गर्ने पक्षमा देखिएको छ भने प्रहरी हेर्डक्वार्टर विपक्षमा छ । 

शुक्रबार गृह मन्त्रालयलले १० जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेसँगै नेपाल प्रहरीमा हाल एसएसपीको रिक्त पद १९ पुगेको छ । रिक्त १९ सिटको लागि प्रहरी उपरीक्षक (एसपी)हरुबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल प्रहरीका ९ जना एसएसपीको दरबन्दी कटौती हुनसक्ने सम्भावना छ । एसएसपीको दरबन्दी कटौतीसँगै काठमाडौँ परिसर र ललितपुर परिसर एसपीको कमाण्डमा रहनेछ । 

‘सरकारले ९ एसएसपीको दरबन्दी कटौती गर्ने तयारी गरेको छ,’ उनले भने, ‘तत्कालै एसएसपीको रिक्त पदमा बढुवा सिफारिस भयो भने त भन्न नसकिएला, तर ढिलो भयो भने दरबन्दी कटौती हुन्छ ।’ 

हाल एसएसपीले कमाण्ड गरिरहेको काठमाडौँ परिसर, ललितपुर परिसर, प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगर, जनकपुर, सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायलमा एसपी रहनेछन् । 

को–को छन् प्रतिस्पर्धामा ?
बढुवा प्रतिस्पर्धामा २०५१ सालकै टोलीका प्रहरी उपरीक्षकहरू छन् । केदार ढकाल, कुबेर कडायत, सुदीप गिरी, विष्णु केसी, भरत बोहरा, दुर्गा सिंह, लालमणि आचार्य, किरण राना, रवीन्द्र केसी, जनक भट्टराई, अर्जुनजंग ठकुरीलगायत लाइनमा छन् । 

त्यस्तै २०७२ सालमा एसपी बढुवा भएका अशोक सिंह, हृदय थापा, विकासराज खनाललगायत समेत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

१० जना एसएसपी डीआईजी बढुवा सिफारिस भएपछि नेपाल प्रहरीमा १९ दरबन्दी खाली छ । 

प्रहरी मुख्यालयमा खैलाबैला
एसएसपीको पनि दरबन्दी कटौती हुने भएपछि प्रहरीवृत्तमा खैलाबैला मच्चिएको छ । बढुवाको लाइनमा बसेका प्रहरी उपरीक्षक (एसपी)हरूमा चिन्ता थपिएको छ ।

सरकारको निर्णयसँगै बढुवाको लाइनमा रहेका अधिकांश एसपीहरू त्यतिकैमा सीमित हुने भएका छन् । बढुवा हुनेमा निर्धक्क भएर बसेका एसएसपीहरू पनि दरबन्दी कटौती भएपछि दौडधुपमा लागेका छन् । 

‘सरकारको निर्णय मान्नै पर्यो, ढुक्क भएर बसेको थिएँ, तर अब बढुवामा पनि पर्दिन होला,’ एक प्रहरी अधिकारीले भने । 

१२ डीआईजीको दरबन्दी कटौती

 


 


गत सोमबारको बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फ रहेको २६ डीआईजीको दरबन्दीलाई कटौती गरेर १४ मा झारेको थियो ।

गृहमन्त्रालयले डीआईजीको दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेपनि मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ठूलो संख्यामा डीआईजीको दरबन्दी कटौती गर्नुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री ओलीको अडानका कारण प्रहरीमा डीआईजीको दरबन्दी १४ कायम भएको हो । 

दरबन्दी कटौतीलगत्तै १० एसएसपी बढुवा सिफारिस

 


 


डीआईजीको दरबन्दी कटौती लगत्तै गृह मन्त्रालयले १० जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।  बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, प्रकाश कार्की, सहकुल बहादुर थापा, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक,  बसन्तकुमार लामा, उत्तमराज सुवेदी,र अरुणकुमार बिसी छन् । 

अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विशेष ब्यूरो नक्साल, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा) टङ्गाल, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक–एक गरि जम्मा १४ डीआईजी कार्यरत रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप