नीर शाहको जीवन : अब ऐतिहासिक साहसी पात्रका विषयमा फिल्म बनाउने मन छ
नेपाली कलाक्षेत्रमा कलाकार, निर्माता, निर्देशक नीर शाहको जति ठूलो योगदान छ त्यति नै नेपालमा टेलिभिजन स्थापित गर्नमा छ ।
नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धकसमेत रहेका शाह चलचित्र, टेलिचलचित्रका लोकप्रिय कलाकार पनि हुन् ।
‘प्रेमपिण्ड’, ‘वसन्ती’ लगायत ऐतिहासिक विषयमा ८ फिल्म निर्देशन गरेका शाहले तीन सयभन्दा बढी फिल्म र त्यतिकै सङ्ख्यामा टेलिफिल्ममा अभिनय गरेका छन् ।
कलाकारिताका विभिन्न विधामा विगत ५३ वर्षदेखि क्रियाशील शाहको अझै ऐतिहासिक सहासी व्यक्तिको विषयमा चलचित्र बनाउने उनको सोच छ । यिनै कलाकार, निर्माता, निर्देशक शाहको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा प्रस्तुत गर्न खोजिएको छ ।
मेरो खाना
साधारण नेपाली खाना दालभात तरकारी मेरो मनपर्ने खाना हो । पहिले धेरै मम खान्थेँ । अहिले पुरीतरकारी मनपर्छ । अचेल कुखुराको मासु फिटिक्कै मनपर्दैन ।
कहिलेकाहीँ परिवारसहित थकाली भान्सा घर, थकाली रेस्टुरेन्ट जाने गरेको छु । पकाउन पटक्कै रुचि छैन, आउँदैन पनि ।
विद्यार्थी हुँदा अमेरिका, बेलायतमा आफैले पकाएर खाएको थिएँ । त्यसपछि पकाएको छैन । अहिले भात पकाउन आउँछ । दाल पकाउन आउँछ । त्योबाहेक केही पकाउन सक्दिनँ ।
मेरो फिट्नेस
फिट्नेसको मामलामा म सजग छु । बिहान नियमित मर्निङवाक गर्छु । ध्यान गर्छु । आफूले जानेको योग समेत गर्छु ।
मेरो पोसाक
मेरो मनपर्ने पहिरन सिम्पल नै हो । प्रयोग धेरै क्याजुअल ड्रेस गर्छु । फर्मल कार्यक्रम, भेटघाट लगायतमा जानुपर्दा सुट पनि लगाउँछु ।
कहिले कहिले दौरासुरुवाल समेत लगाउँछु । सुटमा टाई मनपर्दैन । कमिजपाइन्ट पनि प्रयोग गर्छु । यो लगाउँदा हलुङ्गो फिल हुन्छ ।
पहिरनमा मनपर्ने रङ फिक्का निलो हो । मेरो नियमित पहिरन सिलाउने एउटा टेलर छ । अधिकांश पहिरन त्यहीँ सिलाएर लगाउँछु । ज्याकेट, स्विटर आदि चाहिँ रेडिमेड किन्छु । पहिरनमा धेरै खर्च छैन । वर्षमा करिब ३० हजार रुपियाँ जतिले पुग्छ ।
मेरो अध्ययन
अध्ययन मेरो रुचिको विषय पनि हो । प्रशस्तै गर्छु । इतिहास सम्बन्धित पुस्तक पढ्न रुचि लाग्छ । आख्यान समेत पढ्छु । अहिले ‘रणहार’ पढ्दैछु ।
ध्रुवचन्द्र गौतमका सबै पुस्तक मनपरेका छन् । कुमार नगरकोटी, नैनराज पाण्डे लगायतका पुस्तक मनपर्छ ।
अध्ययनको समय निश्चित छैन । केही न केही अध्ययन गरिरहेको हुन्छु । अहिले एब्स्बाट पनि पढ्न मिल्छ । अध्ययनका धेरै माध्यम भए पनि मलाई पुस्तकै पढ्न मनपर्छ ।
मेरो फुर्सद
फुर्सद धेरै हुँदैन किनभने मैले गर्ने काम धेरै छन् । कन्सल्टेन्सीको काम गर्छु । चलचित्र, टेलिचलचित्रको अभिनय पनि जारी छन् । सानोतिनो चलचित्रसँग सम्बन्धित व्यवसायमा पनि छु ।
मैले कुनै न कुनै रूपले आफूलाई बिजी राखेकै हुन्छु । कहिले काही फुर्सद भयो भने एकान्तमा बसेर अध्ययन गर्न मन लाग्छ । बचेको समय मन लागेको फिल्म हेर्छु ।
मेरो खेलकुद
खेलकुदमा पहिला धेरै रुचि थियो । फुटबल र क्रिकेट धेरै खेल्थेँ । स्कुल, कलेज पढ्दा यी दुई खेलको राम्रो खेलाडी थिएँ ।
पछिल्लो समय खेल टोटल्ली छुट्यो । अहिले स्नुकर खेल्छु । टिभीमा क्रिकेट धेरै हेर्छु ।
मेरो मोबाइल
अहिले मसँग एउटा सामसुङ ब्रान्डको मोबाइल छ । मोबाइल धेरैजसो इमेलका लागि प्रयोग हुन्छ । सामाजिक सञ्जाल धेरै चलाउँदिनँ ।
ट्विटरमा फलो गर्ने केही व्यक्ति छन् । उहाँहरुको फलो गर्छु । म घडी लगाउँदिनँ । समय हेर्नका लागि पनि मोबाइल प्रयोग हुन्छ ।
संसारभरका साथीहरुसँग इमेलमार्फत कुरा मोबाइलबाटै गर्छु । नहराए, नबिग्रिएसम्म मोबाइल फेर्दिनँ ।
मेरो टिभी
केही निश्चित समय टिभी हेर्छु । टिभीमा बढी समाचार हेर्छु । इतिहासमा आधारित, राजनीतिमा आधारित बायोपिक शृङ्खला, सत्यघटनामा आधारित शृङ्खला हेर्छु ।
मेरो चलचित्र
चलचित्र धेरै हेर्छु । मनपरेका चलचित्र हलमै गएर पनि हेर्छु । हेर्नेमा पहिलो प्रथामिकतामा नेपाली चलचित्र पर्ने गरेको छ । हिन्दी पनि हेर्छु । टिभीमा पनि चलचित्रहरु हेर्न मनपर्छ ।
पछिल्लो समय हलमा टिकट किनेर हेरेको चलचित्र ‘छक्का पन्जा ३’ होला । म जहिले पनि कमलपोखरीको बिगमुभिजमा गएर चलचित्र हेर्छु ।
मेरो पेसा
पेसा मेरो कलाकारिता नै हो । आफूलाई थाहा भएदेखि नै म कलाकारितामा छु । मेरो कलाकारिताका फाँटहरु समय समयमा फरक फरक भएका छन् ।
सार्वजनिक रूपले चलचित्र अभिनय गरेको अहिले ५४ वर्ष पुग्यो । ७, ८ वर्षको उमेरदेखि म अहिलेसम्म पनि निरन्तर कलाकारितामा छु । अहिलेसम्म ८ वटा चलचित्र निर्देशन गरे । अभिनय गरेका करिब ३ सय नाघे होलान् ।
अहिले फुर्सद भयो भने चलचित्रको स्क्रिप्ट लेख्ने गर्दछु । केही लेखेको पनि छु । कुनै दिन समय र रिसोर्ससेज जुर्यो भने बनाउँछु भन्ने मनमा छ ।
मैले बनाउने चलचित्र ऐतिहासिक नै हो । कुनै पनि यथार्थ घटनामा आधारित खोजपूर्ण चलचित्र निर्माणमा मेरो सधैँ रुचि रहँदै आएको छ । नेपालको इतिहासमा प्रख्याती कमाएको पात्रको विषयमा चलचित्र बनाउन अहिले मन लागेको छ ।
मेरो दुःख
कलाकारितमा लामो समयदेखि छु । कलाकारिताको यो यात्रामा मिहिनेत अनुसारको आर्थिक प्रतिफल मिलेको छैन । त्यो नै दुःख हो जस्तो लाग्छ ।
यी दुःख मैले सन्तुष्टिले छोपेर राखेको छु । सन्तुष्टि जीवनको सबैभन्दा ठूलो सुख हो । मलाई लाग्छ यो सुख कलाकारहरुले मात्र प्राप्त गर्दछन् ।
मेरो गीतसङ्गीत
गीतसङ्गीत सुन्न मनपर्छ । क्लासिकल गीतसङ्गीत बढी सुन्छु । यसमा हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका पर्ने गरेका छन् । सङ्गीत सुन्ने निश्चित समय छैन । जुनैबेला पनि सुन्छु ।
मलाई गायक मुसरफ फत्तेअलि खान मनपर्छ । उनका कलेक्सन सुन्छु । नेपालीमा पनि विभिन्न प्रकारका गीतसङ्गीत सुन्छु ।
आफूलाई मनपरेको गीत पटक पटक पनि सुन्छु । गीतसङ्गीतका विधामा पनि मलाई शब्दले बढी मन छुन्छ ।
मेरो प्रेम
सन् १९७८ मा मैले अरेन्ज म्यारिज गरेको हो । विवाहको ३, ४ महिनाअगाडि उनी मेरा लागि बुबाआमाले खोजिदिनुभएको थियो ।
बुबाआमाका कारणले चिनजान भएको उनीसँग विवाह अगाडि नै प्रेम बसिसकेको थियो । त्यो प्रेम अहिले पनि निरन्तर चलिरहेको छ ।
मेरो मापसे
पहिले पहिले मापसे धेरै गर्थें । अहिले कहिलेकाहीँ ह्विस्की खान्छु । पहिले पनि ह्विस्की नै खान्थेँ । अचेल वर्षको २, ३ चोटि मात्र मापसे गर्छु ।
हुन त अचेल घरमा पनि रक्सी सजाएर राख्ने चलन छ क्यार । तर मैले रक्सी महत्त्वका साथ कहिल्यै राखिनँ । मसँग प्रशस्तै ब्रान्डका रक्सी हुन्थे । आफू पनि खान्थे । अरूलाई पनि खुवाउँथे । तर रक्सी कहिल्यै सजाएर राख्न मन लागेन ।
मेरो भूल
जीवनमा भूल गरियो होला । भूल नगर्ने त मानिस हुँदैन । जानीजानी गर्ने भूल मूर्खता हो । नजानी हुने भूल मानवीय स्वभाव हो ।
जो मानिस केही न केही नगरी बस्न सक्दैन । त्यसबाट धेरै भूल हुन्छ । केही नगर्नु भनेको सबैभन्दा ठूलो भूल हो । महाभूल हो । कलाकारिताको क्षेत्रदेखि बाहिर अन्य कुरामा काम गर्दा मलाई सफलता पनि प्राप्त भएन । यस्ता कुरामा हात हाल्नु मेरो जीवनको ठूलो भूल भयो ।
मेरो रोग
प्रेसर नै मेरो ठूलो रोग भएको छ । १२, १३ वर्षदेखि यसको नियमित औषधि खाँदैछु । अर्काे रोग भनेको म मुटुको बिरामी पनि हुँ । मुटुलाई कमजोर हुन नदिने खालका जति पनि औषधि छन् ती खाने सबै प्रयोग गर्ने गरेको छु ।
मेरो राशि
मेरो राशि वृश्चिक हो । ग्रहदशा खासै हेराउँदिनँ । धेरै विश्वास पनि लाग्दैन । कहिलेकाहीँ मोबाइल एब्स्, पत्रपत्रिकामा राशिफल हेर्छु । मेरो प्राथमिकतामा राशि, ग्रहदशा हेराउनेमा कहिल्यै परेन ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । यसलाई सहज लिएको छु । मुटुको समस्याले अलि अगाडि म केही समय अस्पताल बसेर फर्किएको हुँ । त्यो समयदेखि मृत्युलाई सामान्य रूपले हेरेको छु ।
किनभने मृत्यु सत्य हो । यो जति सरल र सहज रूपमा प्राप्त हुनसक्यो त्यति नै त्यो मानिसले आफूलाई भाग्यमानी सम्झनु पर्छ । मृत्यु वरण गर्ने क्रममा आफ्ना वरिपरिका कसैले कष्ट भोग्नु नपरोस् भन्ने चाहना छ । जीवनमा घट्ने सामान्य घटना जस्तै मृत्य होस् भन्ने मेरो बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै