शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको अबको रणनीति : टेस्ट, टेस्ट, टेस्ट !

परीक्षणको दायरा फराकिलो बनाइँदै, देशभर कोरोनाको पहिचान र उपचारको तयारी यस्तो छ
शुक्रबार, २८ चैत २०७६, २१ : ४९
शुक्रबार, २८ चैत २०७६

सरकार कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणको दायरालाई फराकिलो बनाउने रणनीतिसहित अगाडि बढेको छ । कोभिड–१९ को पहिचान, नियन्त्रण रोकथामका लागि देशका सात वटै प्रदेशमा प्रयोगशाला र उपकरणसहित जनशक्ति परिचालन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल कोडिभ–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस अवस्थामा सरकारले देशका १० स्थानमा कोरोनाभाइरस  कोभिड–१९ को नमुना परीक्षणका लागि ल्याबहरु सञ्चालनमा ल्याएको छ । शुक्रबारसम्ममा देशभरका प्रयोगशालाबाट ३ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

शुक्रबारदेखि कोसी अस्पतालमा समेत कोभिड–१९ को परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाको नमुना परीक्षण देशका ११ स्थानमा हुने भएको छ । यस्तै ¥यापिड डायनोस्टिक टेष्ट (आरडीटी) मार्फत् हालसम्म कोरोनासंक्रमित भेटिएको कैलालीमा ३ सय ३९ जनाको नमुना परीक्षण गरिएको छ भने कञ्चनपुरमा १ सय ३७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै बाग्लुङमा १९ जना र कपिलवस्तुमा २१ जनाको परीक्षण गरिएकोमा सबै नमुनाको रिपोर्ट नेगेटिभ आएकोे मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशाला

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, भरतपुर कोभिड–१९ प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, सुर्खेत प्रादेशिक अस्पताल, राष्ट्रिय गहुँबाली अन्सन्धान केन्द्र भैरहवा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सेती प्रादेशिक अस्पताल र कोसी आस्पतालको प्रयोगशालामा गरेर ८ सयभन्दा नमुना टेष्ट भइरहेको प्रवक्ता देवकोटाले बताए ।

शुक्रबारसम्म २४ घण्टाको अवधिमा राष्ट्रिय प्रयोगशालासहित ६ सय ३० जनाको नमुना परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै ४ सय १ वटा नमुना परीक्षण गरिएको थियो भने उपत्यकाबाहिर २ सय २९ वटा आशंका गरिएका नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ । परीक्षण गरिएका ती सबै नमुनाको रिर्पोट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण  देखिएको छ । संक्रमितमध्ये एक निको भइसकेका छन् । कोरोना संक्रमतिमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना उपचाररत छन् भने सेती अस्पतालमा ४ जना र बाग्लुङमा २ जनाको उपचार भइरहेको छ ।

क्वारेन्टाइन र आइसोलेनस बेडको संख्या

प्रदेश नम्बर १ मा  ३ हजार ९ सय ४२ वटा क्वारेन्टाइन बेडहरु रहेका छन्  भने आइसोलेशन बेडको संख्या ४ सय ३२ वटा छ । प्रदेश नम्बर २ मा क्वारेन्टाइन बेड ३ हजार २ सय ८५ रहेका छन् भने २ सय ८ आइसोलेसन बेड रहेको मन्त्रालयले जनाएको छ ।  बाग्मती प्रदेशमा ४ हजार ४ सय क्वारेन्टाइन बेडहरु रहेका छन् भने  आइसोलेसन बेड संख्या ९ सय ५० छ ।

उता, गण्डकी प्रदेशमा ४ हजार ७ सय ३१ क्यारेन्टाइन बेडहरु छन् भने आइसोलेसन बेड संख्या ३ सय ७२ रहेको छ । प्रदेश नम्बर ५ मा क्वारेन्टाइन बेड संख्या ५ हजार ९ सय ८७ छ भने आइसोलेसन बेड संख्या ५ सय १२ छ । यस्तै कर्णाली प्रदेशमा २ हजार ५ सय २१ क्यारेन्टाइन बेड राखिएको छ भने आइसोलेसन बेड संख्या ४ सय ६६ छ । र सुदूरपश्चिम प्रदेशमा  ४ हजार ५ सय १८ क्वारेन्टाइन बेड राखिएको छ भने आइसोलेसन बेडको संख्या भने २ सय ७४ छ ।

यसरी नेपालभरी  २९ हजार ३ सय ८४ क्वारेन्टाइन बेड रहेका छन् भने आइसोलेसन बेडको संख्या ३ हजार २ सय १४ रहेको छ । यस तथ्याकमा काठमाडौँ उपत्यकाका अस्पतालहरुको रिपोर्ट समावेश नगरिएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रबारसम्म क्वारेन्टाइनमा ८ हजार ६ सय ६० जना रहेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा हालसम्म १ सय २५ जना छन । आइसोलेसन वार्डमा उपत्यकामा हाल १५ जना छन् भने उपत्यकाबाहिर १ सय १० जना रहेको  मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

आइसीयु बेड र भेन्टिलेटरको संख्या

देशभर कोरोनाभाइरस संक्रमितको उपचारका लागि ९ सय ४ वटा आइसीयु बेड र ५ सय २ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकाका विभिन्न अस्पतालमा २ सय ९८ वटा आइसीयु बेड छन् ।

त्यसमध्ये २ सय ३३ वटा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको मन्त्रालयले जनाएको छ । उपत्यकामा २ सय ५७ भेन्टिलेटर उपचारको लागि तयारी अवस्थामा राखिएको छ । यस्तै प्रदेश तहका अस्पतालमा २ सय ४५ वटा भेन्टिलेटर र ६ सय ७१ वटा आइसीयु बेड तयारी अवस्थामा राखिएको छ ।

रेडजोनमा ५ सय ५६

घरमै बसेर एप मार्फत कोभिड–१९ को आशंकामा मानिसले विवरण बुझाउनेको संख्या शुक्रबारसम्ममा १३ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५ सय ५६ जना रेड जोन परेका छन् । रेडजोनमा परेकाहरुसँग सरकार निरन्तर सम्र्पकमा रहेको प्रवक्ता देवकोटाले बताए ।

कोरोनाको आशंका लागेमा यी स्थानमा जानुपर्छ

लकडाउनको समयमा घरभित्र बस्दा कोरोनाभाइरसको लक्षण ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वाससम्बन्धि समस्या देखा परे आफ्नो नजिकै रहेको फिभर क्लिनिकमा गएर जाँच गर्न सकिन्छ । फिभर क्लिनिकमा जाँच गरेपछि कोरोनाको लक्षण मिल्न गएमा नमूना परीक्षणका लागि ल्याब पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फिभर क्लिनिक सञ्चालनको लागि तोकिएका २५ हब अस्पताल

१. जनकपुर अञ्चल अस्पताल

जनकपुर उपमहानगपालिका, धनुषा

२. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल

राजविराज नगरपालिका, सप्तरी

३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल

अमरगढी नगरपालिका, डढेलधुरा

४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा–लेखनाथ महानगरपालिका, कास्की

५. मेची अञ्चल अस्पताल

भद्रपुर नगरपालिका, झापा

६. राप्ती अञ्चल अस्पताल

तुलसीपुर उपमहानगरपालिका, दाङ

७. राप्ती उपक्षेत्रीय अस्पताल

घोराही उपमहानगरपालिका, दाङ

८. धौलागिरी अञ्चल अस्पताल

बागलुङ नगरपालिका, बागलुङ

९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी

ललितपुर महानगरपालिका, लगनखेल

१०. नारायणी उपक्षेत्रीय अस्पताल

वीरगञ्ज महानगरपालिका, पर्सा

११. भेरी अञ्चल अस्पताल

नेपालगञ्ज उपमहानगरपालिका, बाँके

१२. धुलिखेल अस्पताल

धुलिखेल, नगरपालिका, काभ्रे

१३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान

धरान उपमहानगरपालिका, सुनसरी

१४. मध्यपश्चिमी क्षेत्रीय अस्पताल

वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

१५. कोशी अञ्चल अस्पताल

विराटनगर महानगरपालिका, मोरङ

१६. भक्तपुर अस्पताल

भक्तपुर नगरपालिका, भक्तपुर

१७. भरतपुर अस्पताल

भरतपुर महानगरपालिका, चितवन

१८. वीर अस्पताल

काठमाडौँ महानगरपालिका

१९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

काठमाडौँ महानगरपालिका

२०.श्री वीरेन्द्र अस्पताल

काठमाडौँ महानगरपालिका

२१. सिभिल सेवा अस्पताल

काठमाडौँ महानगरपालिका

२२ लुम्बिनी अञ्चल अस्पताल

बुटवल उपमहानगरपालिका, रुपन्देही

२३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी

चन्दननाथ नगरपालिका, जुम्ला

२४. सेती अञ्चल अस्पताल

धनगढी उपमहानगरपालिका, कैलाली

२५. महाकाली अञ्चल अस्पताल

भीमदत्त नगरपालिका, कञ्चनपुर

कोभिड–१९ को उपचार कहाँ हुन्छ ?

सरकारले कोभिड–१९ उपचारको लागि तोकेका अस्पतालबाहेका निजी अस्पतालहरुले लक्षण देखिएका बिरामीलाई उपचारको लागि स्वीकार गरेको पाइँदैन । कोरोनाभाइरसको संक्रमणको लक्षण छुट्याउन नसकेर अस्पताल पुग्दा बिरामीले समस्या भोग्दै आएका छन् । सरकारले कोरोनाभाइरसको उपचारको लागि भनेर विशेष गरेर तीन वटा अस्पताललाई तोकेको छ ।

१. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु

२. पाटन अस्पताल ललितपुरमा

३. सशस्त्र प्रहरी बल अस्पतालमा 

यस्तै शुक्रबार साझँसम्म शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ८ जनालाई आइसोलेसनामा राखिएको छ । ललितपुरस्थित पाटन अस्पतालमा ५ जनालाई आसोलेसनमा राखिएको छ ।

निःशुल्क फोन गर्न सकिन्छ

कोरोनाभाइरको लक्षण देखापरेमा यस बारेमा परार्मश सल्लाह सुझाव लिन परेमा र कहाँ–कहाँ उपचार हुन्छ, पहिचान, नियन्त्रण र परार्मशसम्बन्धि जानकारी लिन परे निःशुल्क १११५ र ११३३   नम्बरमा फोन जानकारी लिन सकिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म २४ घण्टाको अवधिमा ३ हजार २ सय ५४ कललाई मन्त्रालयले रिसिभ गरेको जनाएको छ ।

५० हजार स्वास्थ्य स्वयम्सेविका खटिदै

यस्तै सरकारले कोभिड–१९ को संक्रमणलाई महामारीको रुपमा फैलन नदिनका लागि देशभर ५० हजार स्वास्थ्य स्वयम्सेविका खटाउने भएको छ । देशका ग्रामीण क्षेत्रमा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य स्वयम्सेविका खटाउने भएको हो । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयम्सेविका परिचालनगर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप