शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

विश्वव्यापी ‘लकडाउन’ कहिलेसम्म ? यस्तो छ विज्ञहरुको जवाफ

शुक्रबार, २८ चैत २०७६, २१ : २४
शुक्रबार, २८ चैत २०७६

बुधबार मध्यरात चीनको ऊहानमा एकाएक आकाश चम्कियो, १ करोड १० लाख जनसंख्याको शहरलाई कोरोना नियन्त्रणमा सघाउने स्वास्थकर्मीको सम्मानमा याङत्से नदीको दुबैतर्फका टावरमा झिलीमिली बत्ती बालिएको थियो । 

औद्योगिक हब तथा कारोना भाइरस इपिसेन्टर छाड्नेका लागि ७६ दिनपछि पहिलोपटक हाइवे र पुलहरु खुला गरियो, ‘मेरो ऊहान फर्कियो’,‘उहान अगाडि बढ’ लगायत नाराहरु नदी किनारमा गुन्जिरहेका थिए । 
बेइजिङजले २३ जनवरीमा ऊहान लकडाउन गरेको थियो, कोरोना नियन्त्रणका लागि दशौं लाख मानिसलाई घरमै बस्न बाध्य पारियो, सार्स–कोभ–२ भनेर चिनिएकोे यस भाइरस पहिलोपटक यही शहरको समुन्द्री बजारका कामदारमा देखिएको थियो । 

तत्कालीन समय धेरैले क्वारेन्टाइनलाई अत्यन्तै कडा नियम र अंकुशका रुपमा बुझे । 

तर जब यो विश्वभर फैलियो, १६ लाखभन्दा बढी मानिसलार्ई संक्रमित ग¥यो, ९५ हजारभन्दा धेरैको ज्यान लियो, विश्वका अति विकसित केही देशको स्वास्थ्य प्रणालीमै चुनौती सिर्जना ग¥यो । अनि, अन्य सरकारले पनि यही शैली पछ्याए, घुमघाममा असाधारण अंकुश र सामाजिक सम्पर्कमा कडाइ गरे । 

लकडाउन खुलेर जीवन कहिले सामान्य होला भन्ने सोचिरहेका विश्वका दशौं करोड मानिस ऊहान खुल्दा आशावादी छन्, यद्यपी विज्ञहरु अझै होशियार रहन आग्रह गर्छन् । 

‘चीनले अवस्था नियन्त्रणमा ल्याएको छ । तर, यो केवल अहिलेका लागि मात्रै हुनसक्छ,’ अमेरिकास्थित काउन्सिपल अन फरेन रिलेसन्सअन्तर्गत ग्लोबल हेल्थका वरिष्ठ खोजकर्ता यान्जोङ हुवाङले भने, ‘फेरि यस्ता घटना दोहोरिने वास्तविक खतरा छ । मुख्यतः दुई कारणले – लक्षण नदेखिएका व्यक्तिले आफू बिरामी छु भन्ने थाहा नपाई संक्रमण फैलाउनसक्ने अवस्था र बाहिरबाट संक्रमण भित्र्नसक्ने खतरा ।’
‘भ्याक्सिन निर्माण कम्तिमा एक वर्ष टाढा छ र यस्तोमा विश्वले कठिन लडाइँ लड्नुपर्छ,’ हुवाङले भने,‘कुनै एक देश वा क्षेत्रले रोगमा हासिल गरेको सफलता त्यतिबेलासम्म अस्थायी नै हुन्छ, जबसम्म यो भाइरसले अन्य ठाउँमा मानिसहरुलाई रोगी बनाइरहेको हुन्छ ।’ 

केवल तीन महिनाको अवधिमा कोरोना भाइरस १ सय ८४ देशमा फैलिसकेको छ र यसको उत्पत्ति भएको देश चीन संक्रमित संख्याका आधारमा पाँचौ नम्बरमा आउँछ । यहाँका ८२ हजार संक्रमितमध्ये झन्डै १ हजारमा लक्षण नै देखिएको थिएन । अहिलेसम्म ३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । 

प्रभावित देशमध्ये मृतक संख्याका आधारमा इटली पहिलो नम्बरमा छ, यहाँ १८ हजारको मृत्यु भइसक्यो । त्यस्तै अमेरिकामा सर्वाधिक धेरै संक्रमित (४ लाख ६० हजार) छन् र १६ हजारको मृत्यु भइसकेको छ । 
‘जबसम्म सबै देशले भाइरसमुक्त छौं भन्दैनन् त्यतिबेलासम्म तपाईले महामारी अन्त्य भएको दाबी गर्न सक्नुहुन्न,’ हुवाङले भने । 

यसले विश्वमा अझै लामो समयसम्म अनियमित लकडाउन हुने देखाउँछ, संक्रमण बढ्दा सरकारले कडाई गर्ने र घट्दा सहज बनाउने हुनसक्छ, त्यस्तै भ्याक्सिन पत्ता नलाग्दा वा विश्वको पर्याप्त जनसंख्यामा यस संक्रमणसँग जुध्नसक्ने रोग प्रतिरोधी क्षमता (हर्ड इम्युनिटी) विकास नभएसम्म अन्तर्राष्ट्रिय भ्रमण प्रतिबन्ध पनि कायम रहनेछ । त्यसैले कुनै ठूलो परिवर्तन नभए सार्स–कोभ–२ स्थिर रहिरहने र थप फैलनसक्ने खतरा देखिन्छ । वैज्ञानिकहरुका अनुसार स्वासप्रश्वाससम्बन्धी भाइरसमध्ये१९१८ को इन्फ्लुयन्जा महामारीपछि जनस्वास्थ्यमा गम्भीर खतरा यसैले देखाएको हो, त्यतिबेला संसारभर झन्डै १० करोड मानिसको मृत्यु भएको थियो । 

स्पेनिस फ्लु भनेर चिनिएको १९१८ को यो महामारीबारे अध्ययन गरेका इतिहासकार जोम एम ब्यारीका अनुसार उक्त महामारीको लहर तीनपटक देखिएको थियो ।

‘पहिलो सामान्य लहर वसन्त ऋतुमा देखिएको थियो, महामारीको दोस्रो र अलि लामो लहर  सेप्टेम्बरदेखि डिसेम्बरसम्म देखियो । तेस्रो लहर पनि लामै थियो, तर दोस्रो बराबर खराब थिएन,’ उनले भने । ब्यारीका अनुसार उक्त भाइरस पहिलो चरणमा छोटो समय देखिएर हराएपछि दोस्रो चरणमा महामारी बनेर आएको थियो । 

‘भाग्यवस्, सार्स–कोभ–२ अहिलेभन्दा थप खतरनाक हुन्छ भनेर संकेत गर्ने कुनै प्रमाण छैन,’ उनले भने,‘मेरो अनुमानमा अवस्था सुध्रदै गएर नियन्त्रण सहज हुनेगरी एक वर्ष वा त्योभन्दा लामो समय यसका धेरै लहर आउन सक्छन् ।’

लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकका अनुसार पहिलो महामारी कति व्यक्तिमा फैलन्छ भन्ने आधारमा महामारीको दोस्रो लहरको क्रुरता निर्भर हुनसक्छ । 
‘देश र शहरहरु भाइरसको नियन्त्रणमा जति धेरै सफल हुन्छन्, हर्ड इम्युनिटी (रोगप्रतिरोधी क्षमता) को कम विकासका कारण भ्याक्सिन अभावमा दोस्रो लहरमा यो महामारी उति नै ठूलो हुने खतरा देखिन्छ,’ गत महिना प्रकाशित भएको उनीहरुको अध्ययनले यस्तै भन्छ । 
‘रोग निगरानी गर्न अनियमित सामाजिक दूरी राख्दा छोटो समयका लागि हस्तक्षेप कम हुनसक्छ । तर, संक्रमितको संख्या पुनरावृत्ति भएमा यस्ता नियम पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता निम्तनेछ,’ उनीहरुको निष्कर्ष छ । 
कम्तिमा एशियाका केही देश र भू–भागमा यसको पुष्टि भइसकेको छ। यहाँ सुरुमै महामारी नियन्त्रणमा आएजस्तो देखिन्थ्यों, तर, अन्य देश विशेषगरी युरोपका यात्रुमार्फत संक्रमण फैलन थालेपछि मात्रै सरकारले कडाई गर्नुप-यो । 

चीनबाहिर कोरोना भाइरसको संक्रमण पुष्टि हुने पहिलो देशमध्येको एक सिंगापुरले सुरुमा लकडाउन बिना नै यसको व्यवस्थापन गर्न खोजेको थियो । यस शहरले सुरुमा कडा चेकजाँच गर्दै संक्रमण परीक्षणका लागि क्वारेन्टाइन व्यवस्था गरेको थियो । तर गत हप्ता संक्रमितको संख्या १ हजार नाघेपछि उसले सबै स्कुल तथा कार्यालय बन्द ग¥यो । 

हङकङका अधिकारीहरुले मेनल्यान्ड चीनसँगको सीमामा कडाई गरे, उनीहरुले जनवरीको अन्त्य अर्थात् पहिलो संक्रमण पहिचान भएको केही समयमै सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनेका थिए ।
महामारी कम भएपछि मार्चको पहिलो साता कर्मचारीहरु कार्यालय फर्किए । तर, केही सातापछि विदेशबाट आएका यात्रुमा देखिएको संक्रमणलाई आधार बनाएर उनीहरुलाई घर फर्कन भनियो । पछिल्ला दिन यहाँ चारजनाभन्दा बढीलाई भेला हुन प्रतिबन्ध लगाइएको छ, विदेशीका लागि विमानस्थल बन्द छ, केही बार र रेस्टुरेन्ट बन्द छन् । 

यता, जापानमा झन्डै ५ हजार जनामा संक्रमण देखिएपछि मंगलबारबाट सरकारले संकटकाल घोषणा गरेको छ, मानिसलाई व्यापार बन्द गर्न र घरमै बस्न जोड दिनका लागि सरकारले धेरे शक्ति हातमा लिन चाहेको छ । 

संक्रमणको नयाँ लहर आउनसक्ने भयले मार्चको अन्त्यमा चीनले पनि धेरैजसो अन्तर्राष्ट्रिय यात्रुलाई प्रतिबन्ध लगाएको छ । ‘मेरो अनुमानमा कम्तिमा पनि तीन महिनासम्म अन्तर्राष्ट्रिय भ्रमणमा पर्याप्त अवरोध हुनेछ । समुदायमा हुने संक्रमणलाई रोक्न देशहरु सफल भएनन् भने यो अझै लामो हुनसक्छ,’नेशनल युनिभर्सिटी अफ सिंगापुरअन्तर्गत सा स्विई हक स्कुल अफ पब्लिक हेल्थका डिन टियो यीक यिङले भने,‘युरोपका अति प्रभावित देशबाट केही राम्रो संकेत आएपनि दक्षिण तथा दक्षिणपूर्वी एशिया, अफ्रिका र ल्याटिन अमेरिकासमेतमा समुदायमा संक्रमण फैलन सुरु भएको छ ।

 यसको अर्थ सीमामा कडाई कम गर्नुको नतिजा संक्रमण आयात हुनसक्छ र यसले समुदायमा संक्रमण फैलने दोस्रो लहरको बिजारोपण गर्नसक्छ । त्यसैले देशहरुले स्वभाविक रुपमा अन्तरदेशीय भ्रमणको अनुमति दिनुअघि गम्भीर रुपमा सोच्नेछन् ।’ 

युनिभर्सिटी अफ हङकङस्थित प्याथोलोजीका क्लिनिकल प्रोफेसर डाक्टर जोन निकोलास यिङको तर्कमा सहमत छन् । सार्स–कोभ–२ मा तापक्रमको असरबारे अध्ययन गरिरहेका निकोलास भन्छन्, ‘यो भाइरस तापक्रममा संवेदनशिल थियो, चिसोमा धेरै बाँच्ने र फैलने खालको ।’

यसले उत्तरी ध्रुवका देशलाई आउँदै गरेको गर्मी महिनामा भाइरसबाट ब्रेक दिनसक्छ । ‘यद्यपी दक्षिणी ध्रुवका देशमा अझै खराब अवस्था आउनै बाँकी छ,’ उनले भने,‘त्यसैले अब केही महिना वा अझै लामो समय अन्तर्राष्ट्रिय यात्राको अपेक्षा नगर्नुस् ।’
जाहिना रसिद/ अलजजिराबाट 
अनुवाद– अन्वेषण अधिकारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप