मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य उपकरण बोक्न ग्वानझाओ उड्न लागेको फ्लाइट अन्तिम समयमा स्थगित

निगमले के गर्ला क्यन्सिलेसन चार्ज ?
शुक्रबार, २८ चैत २०७६, २० : ५४
शुक्रबार, २८ चैत २०७६

कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री लिन चीन उड्न लागेको विमान अन्तिम समयमा रद्द गरिएको छ । वायुसेवा निगमको एअरबस ३३० विमान स्वास्थ्य उपकरण लिन आज साँझ ७ः४५ बजे चीनको ग्वानझाओ उड्ने तयारीमा थियो ।

चीनबाट स्वास्थ्य उपकरण ल्याउनका लागि ठमेलमा कार्यालय रहेको सांग्रिला फ्रेटले आजका लागि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको थियो । तर उडान भर्नुभन्दा करिब ३ घण्टा अगाडिमात्रै उक्त फ्लाइट क्यान्सिल गरिएको हो ।

सांग्रिला फ्रेटका निर्देशक अशोक कपालीका अनुसार नेपालमा स्वास्थ्य उपकरणको बिक्री वितरण गर्ने संस्था केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) को आग्रहमा उनीहरुले आजका लागि विमान चार्टर गरेका थिए । तर उनीहरुले खरिद गरेको सामानको भन्सार पास नभएपछि आज गर्ने भनिएको उडान स्थगित भएको हो ।

केमसानले विभिन्न २५ वटा व्यापारिक फर्महरुको सामान ल्याउनका लागि विमान चार्टर गरेको थियो । र, त्यसको लागि सांग्रिला फ्रेटलाई जिम्मा दिएको थियो । तर अन्तिम समयमा आएर केमसानकै आग्रहमा सांग्रिला फ्रेटले चार्टर क्यान्सिल गरेको हो ।

यद्यपि नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने चार्टर फ्लाइट क्यान्सिल गरेको नभई स्थगित गरिएको जानकारी दिएकी छिन् । चार्टर फ्लाइट किन रद्द भयो त भन्ने रातोपाटीको प्रश्नमा आफ्नो कारणले नभइ उनीहरुकै आन्तरिक कारणले अन्तिम समयमा चार्टर फ्लाइट स्थगित भएको उनले बताइन् ।

क्यान्सिलेसन चार्ज के गर्ला निगमले

नेपाल वायुसेवा निगमले चार्टर फ्लाइटका लागि ओभर फ्लाईट पर्मिसन, ग्राउण्ड ह्याण्डलिङ र फ्युलिङ मात्रै होइन, अन्य सबै तयारी पूरा गरिसकेको थियो । आज साँझ पौने ८ बजे उडान गर्ने भएपछि कर्मचारीलाई पनि एअरपोर्टमा बोलाइ सकिएको थियो भने चीनमा पनि ग्राउण्ड ह्याण्डलिङ गर्ने कम्पनीलाई सो बारे जानकारी दिइ सकिएको थियो ।

तर विमानले उडान भर्नुभन्दा ३ घण्टा पहिले मात्रै उडान स्थगित भएको जानकारी दिइएको छ । जसको कारण आज गर्ने भनिएको उडान अब १५ अप्रिल अर्थात् वैशाख ३ गते गर्ने तयारी गरिएको छ ।

तर उडानको मिति परिवर्तन गर्दा वा उडान नै क्यान्सिल गर्दा लाग्ने खर्च वा क्यान्सिलेसन चार्ज चार्टर पार्टीले तिर्ला कि नतिर्ला भन्ने सम्बन्धमा भने केही बोल्न नमिल्ने नेपाल वायुसेवा निगमले बताएको छ । कुन शर्तमा सम्झौता गरिएको छ र क्यान्सिलेसन चार्ज वा स्थगन चार्ज लिने कि नलिने भन्ने सम्बन्धी कुरा गोप्य कुरा भएकाले बाहिर ल्याउन नमिल्ने प्रवक्ता खड्काले बताइन् । यद्यपि संस्थालाई हानी हुनेगरी कुनै सम्झौता नहुने र हानी हुने अवस्था आएमा चार्टर पार्टीसँग नै असुलउपर गरिने प्रवक्ता खड्काले रातोपाटीलाई बताइन् ।

नेपाल वायुसेवा निगमको नियमअनुसार यस्तो फ्लाइट क्यान्सिल गरेमा २५ प्रतिशत क्यान्सिलेसन चार्ज लिने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप