शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले क्वारेन्टाइनको अनुगमन गर्ने

शुक्रबार, २८ चैत २०७६, १८ : ३१
शुक्रबार, २८ चैत २०७६

सरकारले देशभर स्थानीय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ ।

 विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार  मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो । भोलि मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो । मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवजारी दिएको थियो । 


शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका छन् । छलफलमा मन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले भोलिदेखि अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिए । 

अनुगमनपछि प्रतिवेदन बनाएर कार्यान्वयन गराउने प्रतिवद्धता जनाउँदै मानन्धरले क्वारेन्टाइनको चाबी बोकेर तयारी अवस्थामा रहन उपत्यकाका मेयरहरलाई आग्रह समेत गरे । होटलहरुलाई क्वारेन्टाइन निर्माणका लागि केही समयलाई सरकारीकरण गर्न सकिने बताउँदै मन्त्री मानन्धरले त्यसका लागि आवश्यक समन्वय स्थानीय सरकार मार्फत् हुने बताए ।  
भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौंको पशुपतिमा ७० बेड क्षमताको क्वारिन्टाइन मापदण्ड अनुसार रहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुढानिलकण्ड स्कुलमा एक सय, जनमैत्री अस्पतालमा १२४ बेड, इचंगु ब्लकमा चार सय बेड तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय बेड बनाउन सकिने अवस्था रहेको जानकारी दिए। 

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले क्वारेन्टाइनमा राख्ने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप