शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गाउँमा जे छ त्यही खाएर बाँचौला, काठमाडौंमा बस्न सकिएन’

शुक्रबार, २८ चैत २०७६, १७ : ५१
शुक्रबार, २८ चैत २०७६

काठमाडौं उनीहरुका लागि प्रिय रहेन । यसकारण कि दैनिक ज्याला मजदूरी गर्ने उनीहरुको भएको पैसा सकियो । दैनिक हातमुख जोर्न नै धौधौ पर्ने कसरी प्रिय हुन सक्थ्यो र काठमाडौं ? त्यसैले त हिँडेरै भएपनि गाउँजान भन्दै पाइला नाप्न सुरु गरे । 

शुक्रबार दर्जनौं मानिसहरु हिँडेरै गाउँ जाने भन्दै काभ्रेको धूलीखेल हुँदै अघि बढ्दै थिए । यो शुक्रबारको दृश्य मात्रै होइन दिनहुँ हिँडेर गाउँ जानेहरुको लर्को बढिरहेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि यसरी राजधानीबाट बाहिरिनेहरुको लर्को लाग्न थालेको हो । काठमाडौंैबाट घर जान पैदल हिँड्दै धूलिखेल पुगेका एक युवाले लकडाउनका कारण निकै समस्या भएको र यो क्रम कति समय लम्बिने हो भन्ने अनिश्चित रहेकाले हिँडेरै भएपनि घर जान लागेको बताए । 

सिरहाका उनले भने, ‘काठमाडौंमा भोकभोकै मर्नुभन्दा गाउँमा जे छ त्यही खाएर बाँचौला । साथीहरुसहित हिँडेरै घर जाँदैछौं ।’

यसरी घर जानेमा स–सना बालबालिकासहित वृद्धवृद्धा समेत रहेका छन् । उनीहरुको यात्रा सकसपूर्ण देखिन्छ । हिँड्दै गर्दा बाटोमा कुनै मालबाहक गाडी पाए केही मानिस प्रहरीले अवरोध नगर्दासम्म त्यसमा जान्छन् नत्र अरु पैदलै पदल । 

घामले तातिएको सडक अनि रापिलो घाम ।  निकै अत्यासलाग्दो छ यात्रा । तैपनि भोकको डरले उनीहरुलाई हिँड्नै पर्नेछ । भोकप्यास सहँदै गन्तव्यतर्फ लम्किरहेका छन् । 

अभाव र समस्याले गाउँतिर डोहोर्याको उनीहरुलाई थोरै भएपनि सहयोग गर्नका लागि धूलीखेलमा केही मनकारी व्यक्तिहरु लागिपरेका छन् । 

स्थानीय क्लब तथा संघसंस्थाले उनीहरुका खाजा तथा पानीको व्यवस्था गर्दै आएको छ । धूलीखेल वडा नम्बर ७ का स्थानीय शशी श्रेष्ठले आफूहरुले समस्यामा परेर गाउँ जान लागेकाहरुलाई खाने कुराका साथै पानीको व्यवस्था गरेको जानकारी दिए ।

 उनले भने, ‘यत्रो मान्छे बाहिर जान लागिराख्नु भएको छ । यस्तो दुःखमा परेकालाई केही गर्न सकिन्छ कि भनेर धूलीखेलबासीको नै सक्रियतामा खानेकुराको व्यवस्था गरेका छौं ।’

उनले अगाडि भने, ‘अहिले हामीले सामान्यतः चिउरा, दालमोठ, बिस्कुट जस्ता हल्का खाजाका साथै यहाँको मजदूर संगठनले खानाको पनि बन्दोबस्त गर्नुभएको छ ।’ 

गाउँजान काठमाडौंबाट यहाँ आईपुग्ने दैनिक २–३ सय मानिसहरुलाई आफूहरुले खानेकुराको व्यवस्था गर्ने गरेको उनले बताए । 

अर्को स्थानीयले उनीहरु वास्तवमै समस्या भएर गाउँ जान हिँडेको आफूहरुले बुझेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्नेमा पनि जोड दिए । काठमाडौंबाट धूलीखेल हुँदै सिन्धुली, रामेछाप, दोलखाका साथै तराईका विभिन्न जिल्लाका मानिसहरु पैदर हिँडेरै जाने गरेका छन् । 

 सरकारले यस्तै समस्यामा परेकालाई गाउँजान दिने भन्दै बिहीबार निर्णय गरेको भएपनि त्यसको केहीघण्टामै निर्णय फिर्ता लिएको थियो । गत ११ चैतदेखि भएको लकडाउन वैशाख ३ गतेसम्म कायम रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप