केन्द्रीय संस्करण

लोकगायक कृष्ण कँडेलको लकडाउन डायरी : म त पूरै सिपाही भएको छु

person explore access_timeचैत २८, २०७६ chat_bubble_outline0
फोटो : कृष्ण कँडेलको फेसबुकबाट
कुवेर गिरी

रातोपाटी

कृष्ण कँडेल वरिष्ठ लोकदोहोरी गायक हुन् । लोकप्रिय लोकदोहोरी कार्यक्रम ‘इन्द्रणी’का सञ्चालकसमेत रहेका कँडेल समाज सेवामा निकै अग्रसर रहँदै आएका छन् । मिर्गौला फेल भएका, दीर्घ रोगी लगायत विभिन्न समस्याबाट पीडित मानिसको घाउमा मलम लगाउँदै आएका कँडेल भूकम्प, बाढी पहिरो लगायतका समस्याबाट पार लाउन उनी आम मानिसका सहयोगी समेत बनेका थिए ।
अहिले कोरोनाको कारण देशभर लकडाउनको अवस्था छ । यो अवस्थामा थुप्रै मानिस विभिन्न समस्याबाट गुज्रिन बाध्य छन् । ती मानिसको समस्याका लागि कँडेल अहिले दिनरात खटिरहेका छन् । यो समय समाजको सिपाही भएको बताउने कृष्णकै शब्दमा यस्तो छ उनको लकडाउन डायरी :

यो लकडाउनले धेरै मानिसलाई फुर्सद दिएको होला । उनीहरु घरमा, आफन्तसँग दिनरात खुसी साटिरहेका होलान् । मलाई भने यो लकडाउनले पहिले भन्दा व्यस्त बनाएको छ ।
धर्म, कर्म, सेवा जे भने पनि मेरो समाज सेवा हो । यही सेवाले लकडाउनभरि मैले एक दिन पनि घरमा बिताउन पाएको छैन । लकडाउन सुरु भएदेखि नै म अप्ठ्यारो परेका मानिसको सेवामा क्रियाशील छु । सीधै भन्नुपर्दा यो समय म त पूरै सिपाही भएको छु ।

लकडाउन सुरु हुँदा म बिमारी थिएँ । यो विपत्तिको समयमा अप्ठ्यारो धेरैलाई पर्छ । उनीहरुको सेवा नगरीकन मेरो मन नै मानेन । अहिले सेवा गर्न पाइएन भने अन्य समयको सेवाको केही महत्त्व हँुदैन भन्ने मेरो बुझाइ पनि हो ।

यस अगाडिका बाढी, पहिरो होस् वा भूकम्पको समय जुनै विपतको अवस्थामा पनि मैले ज्यान दिएर समाज सेवा गरेको थिएँ । यो लकडाउनको समय पनि मैले घरमा बसेर बिताउन सकिनँ । 
हुन त डाक्टरले मेरो स्वस्थ्य चेकअप गर्दा यो चैत महिना पूरै धेरै परिश्रम नगर्नू, घरमै रेस्ट गर्नू भनेर सल्लाह दिएका थिए । 

तर यो कोरोनाको कारण सिर्जित समस्याबाट अप्ठ्यारोमा परेका धेरैले फोन गर्नुभयो । समस्या भन्नुभयो । धेरैको समस्या सुन्दा घरमा बस्न मनले मानेन । त्यसैले मेरो समाज सेवी इन्द्रेणी यात्रा यो लकडाउनको समयमा पनि निरन्तर जारी राखेको छु । 

मेरो पछिल्लो ४ भाग इन्द्रेणी कार्यक्रममा लकडाउन विशेष पनि बनाए । यो समय मैले गरेको काम त्यसबाट पनि लगाउन सकिन्छ ।

यो लकडाउनको समय म इन्द्रेणी कार्यक्रममार्फत समाजसेवाका लागि अनाथ आश्रम, बालगृह, अपाङ्ग, उपत्यकामा रहेका कलाकार, अप्ठ्यारोमा परेका सर्वसाधारण, बाटोमा अड्किएका, घर जाँदै गरेका लगायत सबैतिर काम गरिरहेको छु । 

अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने, राहत दिन चाहनेको समन्वय गर्ने, घरबेटीलाई केही महिनाको घरभाडा छुट गर्न उत्साहित गर्ने, सरकारले गरेको लकडाउनमा मिडियामार्फत सकारात्मक सन्देश प्रवाह गर्ने, सबैलाई घरमा सुरक्षित रहन आग्रह गर्ने, जनताको सुरक्षामा दिन रात खट्टीने सुरक्षाकर्मी, चिकित्सक लगायतको मनोबल बढाउने, विश्वव्यापी महामरीका रूपमा फैलिएको कोरोनाविरुद्ध सबै एकबद्ध भएर लड्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने, हुनेले नहुनेलाई सहयोग गरौँ भन्ने प्रचार गर्ने र सहयोगको भावना जगाउने काम अहिले मेरो प्रथामिकतामा परिरहेको छ ।

म र मेरो इन्द्रेणी टिमले बिरामीहरुको पहिलेदेखि नै निरन्तर सेवा गर्दै आइरहेको छ । अवस्थामा ती काम पनि निरन्तर जारी छन् । 

यो समय अस्पतालका सेवा चुस्त छैनन् । औषधि सहज पाउन सकिन्न । पाए पनि बाहिर हिँडडुलको समस्या छ । बिरामीको औषधि पुर्याउने, मिर्गौला फेल भएकाहरुलाई उपचारको वातावरण मिलाउनेदेखि हरेक समस्यासँग पनि म जुधिरहेको छु ।


मैले सकेजति गरेको छु । म सञ्चारकर्मी पनि भएकोले अरूलाई पनि आफूले गरेको जस्तै काम गर्न उत्प्रेरित गरिरहेको छु ।

विश्वमा कोरोनाको कमान्ड 
अहिले विश्वमा एउटा मात्र कमान्ड चलेको छ । त्यो हो कोरोनाको कमान्ड । मलाई थाहा भएसम्म अहिलेसम्म विश्वमा एउटा मात्र कमान्ड चलेको अहिले होला ।

अहिले विश्वका धेरै मुलुकमा त्रास फैलिएको छ । यसले विश्वका मानिसलाई माक्स लगाउन, सेनिटाइजर हातमा लगाउन, साबुन पानीले हात धुन र घरमै बस्न लगायतका एउटै कुरा गराएको छ ।

योबाट हामीले नेगेटिभ मात्र होइन पाोजेटिभ पनि धेरै कुरा लिन सक्छौँ । यो धर्तीमा जुनै बेला जे पनि हुनसक्छ । त्यस कारण हामीले मानवता भुल्न हँुदैन भनेरसमेत सिकाएको छ ।हामीले प्रकृतिलाई जित्न सक्दैनाैं। प्रकृति सर्वेसर्वा हो भन्ने सन्देशसमेत दिएको छ ।

अर्काेतिर हाम्रो, धर्मसंस्कृति, रीतिरिवाज, परम्परा, जडीबुटीको महत्त्वसमेत यसले दर्साएको छ ।

किनभने चन्द्रमामा पुग्न सफल वैज्ञानिक पनि यो कोरोनाको औषधि पता लगाउन असफल देखिएका छन् अहिलेम्म ।

योबाट हामीले कोहीभन्दा कोही ठूलो होइन । सबैभन्दा ठूलो प्रकृति हो । हामी मानव मानवीय अनुशासनमा रहनुपर्छ भन्ने पाठ सिकाएको छ ।

हामीले शस्त्र र अस्त्रको सङ्कलन गर्ने होइन । कोरोना जस्तो महामारीबाट जोगिने उपायाको खोजीमा लाग्नुपर्छ ।

स्वदेशी उत्पादनमा जोड दियौँ 
कोरोना सुरुमा चीनमा देखियो । अहिले विश्वमा फैलिएको छ । नेपालमा यसको त्रासका कारण लकडाउन भएको छ । यो अभ्यास पनि चीनबाट सुरु भएको हो । केही राष्ट्रले लकडाउन प्रजातान्त्रिक अभ्यासको खिलाप समेत भनेका थिए ।
यो रोग एक मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने प्रकृति हेर्दा सबैभन्दा राम्रो उपाय एक अर्काेसँग टाढा रहने लकडाउन नै हो । यसको विकल्प  अहिलेलाई छैन ।  

अर्काे महत्त्वपूर्ण कुरो केही दिनमा अब हाम्रोमा खानेकुरा व्यवस्थित नहुन सक्छ । जो गरिब, निमुखा, श्रमजीवी छन् । जोसँग स्टक खानेकुरा, आर्थिक हैसियत छैन । तिनीहरुका लागि समस्या हुनसक्छ । 

अर्काे कुरो सहरमा यति धेरै लकडाउन हुँदा ठूलाठूला होटलका खाद्यान्न लगायत धेरै सामग्री बिग्रिने अवस्थामा छन् । त्यसले पनि रोगको महामारी भित्र्याउन के बेर । यतातिर पनि सम्बन्धित निकाय, व्यक्तिको ध्यान जानुपर्छ । 

अहिले हामीले आत्मनिर्भरको अभ्यास गर्ने समय पनि हो । अहिले विदेशबाट भित्र्याएको तरकारी खानुपर्छ भन्ने छैन ।

पुगे स्वदेशकै तरकारी नत्र माछामासु खाँदा पनि हुन्छ ।

हाम्रो देशमा उत्पादन भएको करोडौँका कुखुरा, खसी त्यसै बसेका छन् । हामी विदेशबाट तरकारी किन आयात गर्ने । त्यो आयात गर्दा पनि रोग भित्रिन सक्छ । त्यतातिर किन नसोच्ने ।

हामीसँग जे छ त्यो प्रयोग गरेर बेच्दा हामी  आत्मनिर्भर पनि हुन्छौँ । यसले किसानको हौसला पनि बढाउँछ ।

कोरोनाको त्रास त छँदैछ । यो समय भ्रष्टाचार र कलोबजारीले पनि आतङ्क मच्चाएको छ । यो समय कोरोनाले मानव जाति नै नष्ट गर्न लागेको छ । यहाँ भने व्यक्तिगत स्वार्थका लागि भ्रष्टाचार र कालोबजारी गरिरहेका छन् । अहिले समाजिक सञ्जालमा जताततै भ्रष्टाचार र कालोबजारीको विषय देख्न सकिन्छ । 

यो समय हामी सच्चिने, जोगिने र आत्मनिर्भर हुने अवसर पनि हो । योबाट हामी चुक्नु हुँदैन ।   


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.