शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५: लकडाउनको मौका छोपी काठको चोरी तस्करी बढ्यो

शुक्रबार, २८ चैत २०७६, १६ : ५१
शुक्रबार, २८ चैत २०७६

दाङ । सरकारले गरेको लकडाउनको मौका छोपेर दाङमा काठ तस्करी गर्ने क्रम बढ्दै गएको छ । जिल्लाको बजारदेखि टाढा रहेका वन क्षेत्रबाट तस्करहरुले काठ चोरी तस्करी गर्ने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका डरले कर्मचारी छुट्टीमा बसेको मौका छोपेर वनमा तस्कर समूह सक्रिय हुन थालेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । 

‘जिम्मेवार तहका व्यक्तिहरु नै रुख फडानीमा संलग्न रहेको पाइएको छ’, डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले भने, ‘लकडाउनको मौका छोपेर यसपटक अधिकांश नयाँ ठाउँमा तस्करहरुले काठ कटान गरेका छन् ।’ उनले लकडाउन शुरु भएदेखि हालसम्म विभिन्न ६ वटा वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौ क्युफिट काठ, तीन ट्याक्टर तथा रुख काटन प्रयोग गरिने औजार बरामद  भएको छ । बरामद गरिएको काठलाई मुचुल्का तयार गरी सुरक्षित साथ राखिएको प्रमुख ज्ञवालीले बताए ।

चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउनका अवधिमा बढेको काठ तस्करी तथा चोरी निकासी नियन्त्रण र वन्यजन्तु  सिकारका घटनाहरु बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरेको कार्यालयले जनाएको छ ।

अर्घाखाँचीमा काठ तस्करी 
अर्घाखाँची– अर्घाखाँचीको शीतगंगा नगरपालिका—११ खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिसहरु घरभित्रै बसेको मौका छोपेर तस्करहरु कपिलबस्तुसँग सिमाना जोडिएको क्षेत्रमा काठ चोरी तस्करी गरेका हुन् ।     

काठको चोरी तस्करी बढ्न थालेपछि वन कार्यालयले वन गस्ती शुरु गरेको छ । गस्तीका क्रममा सातवटा ठूला सालका रुख काटेर चोरी भएको भेटिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताए । झण्डै डेढ लाख मूल्य बराबरको काठ चोरी भएको उनको भनाइ छ । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसँग हेरविचार गर्न समेत आग्रह गरेको प्रमुख शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप