शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रा. सुवेदीलाई बेलायतको हल विश्वविद्यालयद्वारा महाविद्यावारिधिको उपाधि

शुक्रबार, २८ चैत २०७६, १५ : ५७
शुक्रबार, २८ चैत २०७६

लन्डन । अन्तर्राष्ट्रिय कानून र मानव अधिकार कानूनको विकासमा पुर्याएको योगदानको कदर गर्दै बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको छ । 

उक्त विश्वविद्यालयका उपकुलपतिबाट सो सम्बन्धी पत्र पाउँदा आफू अत्यन्त हर्षित भएको सुवेदीले बताएका छन् । 

तीन दशक अघि सोही विश्वविद्यालयबाट प्रा. सुवेदीले विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका थिए । अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयले उनका प्रकाशित कृतिको मूल्यांकन गर्दै  महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
भर्खरैमात्र प्राध्यापक डा. सूर्य सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयले दुई छुट्टा छुट्टै  क्षेत्रका लागि पुरस्कारको स्थापना गरेको छ । उक्त विश्वविद्यालयको स्नातक तहको मानवअधिकार कानूनमा सर्वोत्तम अंक प्राप्त गर्ने व्यक्तिलाई डा. सूर्य सुवेदी प्राइज इन ह्युमन राइट्स नामको पहिलो पुरस्कार प्रदान गरिनेछ भने कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई दोस्रो पुरस्कार प्रदान गरिने सुवेदीले बताएका छन्  ।
लमजुङबाट ल क्याम्पस हुँदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका  सुवेदीले संसारका ५ वटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् ।
उनले  नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देशलाई समेत कानूनी सल्लाह दिएका छन् ।

 उनका आठवटा अन्तर्राष्ट्रिय स्तरका ग्रन्थ र थुप्रै प्राज्ञिक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् । उनका कृतिहरु चिनियाँ र फारसी भाषा लगायतका विदेशी भाषामा अनुवाद भई प्रकाशित भएका छन् । अन्तर्राष्ट्रिय कानुनको विकासमा उल्लेखनीय योगदान गरे वापत बेलायती महारानीबाट उनले सन् २००४ मा 'ओबिइ' को उपाधि पाएका थिए । 

आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा न्यायपूर्ण संसारको विकासका लागि योगदान गरिएको  उनको कामलाई कदर गर्दै बेलायतकी महारानीले सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि 'क्यूसी' प्रदान गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप