शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना महामारीले हामी आत्मनिर्भर हुनुपर्छ भन्ने शिक्षा दिएको छ’

शुक्रबार, २८ चैत २०७६, १४ : ३२
शुक्रबार, २८ चैत २०७६

काठमाडौँ । मुलुक कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले आक्रान्त छ । चैत ११ गतेबाट जारी लकडाउनले जनजीवन ठप्प छ । कोरोना रोकथाम र नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यामा राजनीतिक दल र तिनका नेता उदासीन देखिएको गुनासो छ ।

यतिबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा (प्रभाकर)को लकडाउन डायरी कस्तो छ ? प्रस्तुत छ शर्माकै शब्दमा :

लकडाउन भएको दिनदेखि विभिन्न स्थानमा अलपत्र परेका मजदुर, पर्यटक, विद्यार्थी, बिरामीहरू सम्बन्धित ठाउँमा पुग्न नसकेको अवस्था थियो । उहाँहरुसँग सम्पर्क स्थापित गरेर सम्बन्धित ठाउँमा पुर्‍याउने काममा म र मेरा सहयोगी साथीहरुले १० दिनका समय बितायौँ । राति १० बजेसम्म पनि हामीले काम गर्‍यौं

योबीचमा बिहानको दुई घण्टा व्यायम, योग लगायतका कार्य गरिन्थ्यो । दुई घण्टा व्यायाम गर्ने अवसर लकडाउनले मात्र जुराएको हो । नभए ६ बजे नै साथीभाइ केही समस्या लिएर आइसक्नुहुन्थ्यो । तर यतिबेला मसँग भएका साथीहरु, सुरक्षाकर्मी, परिवारलाई पनि व्यायाम र योग गर्ने कुरामा जोड दिन्छु । तर लकडाउनमा सोचे जस्तो फुर्सद भएन । तर पनि मैले विभिन्न लेखकका कोरोनासम्बन्धी लेख, विश्व व्यवस्थासम्बन्धी लेख पढिरहेको छु । कोरोनाको विश्वव्यापी प्रभाव र आजको विश्व व्यवस्थाको सन्तुलन र कोरोना सङ्क्रमण रोकथाममा उत्तरदायी सरकारले गर्नुपर्ने कार्यबारे दुईवटा लेख लेखेँ ।

विश्वव्यापी रूप फैलिएको कोरोनाको नियन्त्रण गर्दै गएका देश र फैलिँदै गएका देशको अवस्थाबारे आएका समाचार गहिरिएर अध्ययन गर्दैछु । हाम्रोमा कोरोना महामारी आउँदा कसरी रोकथाम गर्न सकिन्छ भनेर पनि अध्ययन गर्दैछु । चिनियाँ राष्ट्रपति सी जिनफिङको चिनियाँ विशेषतासहितको समाजवाद भन्ने किताबको अध्ययन गरेँ । बीपी कोइरालाका स्मरण पनि पढेँ । नेपाली विकासको इतिहासमा कहाँ त्रुटि छ भनेर अध्ययन गरेँ । रुकुमको कम्युनिस्ट आन्दोलन इतिहास पनि लेखिरहेको छु । त्यसलाई अहिले रफमा तयार गरेको छु । लकडाउनले परिवारसँग पनि जीवनमै पहिलो पटक अलि बढी घुलमिल हुने अवसर पनि मिल्यो । परिवारले ‘उहाँ जनताको मान्छे हो । उहाँहरु हामीलाई समय दिनुहुन्न भन्नुहुन्थ्यो ।’

अहिले फोनबाटै कुरा गर्नुपर्ने भएकाले घरपरिवारले धेरै फरक महसुस गरेका छन् । बिहानको व्यायाम सँगै गर्ने, खाना सँगै खाने लगायतका कुराले पारिवारिक वातावरणमा पनि  केही फरक महसुस गरेको छु ।

मलाई पार्टीकोतर्फबाट कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ । त्यो क्षेत्रमा कोरोना रोकथामका लागि आवश्यक पर्ने सामग्रीको खोजतलासमा लागेँ । विदेशतिरको सम्भावनाको पनि अध्ययन गरेँ । त्यो तत्काल सम्भव भएन । केही साथीहरुले सामान उपलब्ध गराउन खोजेका थिए तर ल्याउने कुनै उपाय भएन ।

त्यसपछि देशभित्रै मास्क लगायतका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सङ्कलन गर्ने काममा लागेको छु । योबीचमा केही सामान सङ्कलन पनि गरेँ । जिल्ला तथा स्थानीय तहले माग गरेअनुसार सङ्कलित सामग्री पठाउने काम भयो । 

कर्णाली र सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको बाउँदै केही व्यवसायीलाई मद्दत गर्न आग्रह गरेको छु । चौधरी ग्रुप लगायतले सहयोग पनि गर्नुभएको छ । त्यो सामग्री सम्बन्धित ठाउँमा पुर्याउने काम पनि गरेँ । यस्तै विदेशमा रहेका नेपाली नागरिकहरुसँग पनि मैले सम्पर्क बढाऊँ भनेको छु ।

उहाँहरुले हामी सङ्कटमा छौँ, अब कसरी बाँच्ने भन्ने निराशा व्यक्त गरेपछि मैले सान्त्वना दिँदै तपाईंहरु नआत्तिनुहोस्  । जहाँ हुनुहुन्छ, सुरक्षित भएर त्यहाँको नियम पालन गर्नुहोस् भनेँ ।

उहाँहरुले हामीलाई छिटो नेपाल ल्याउनुपर्यो भन्नु भएको थियो । त्यो अहिले सम्भव छैन भनेँ । यसैगरी भारतबाट नेपाल प्रवेश गर्ने नाकामा आएर समस्यामा परेका नेपाली नागरिक पनि मेरो सम्पर्कमा आउनुभयो । पूर्व मोरङको सीमादेखि पश्चिम धार्चुलासम्म समस्यामा परेका उनीहरुले नेपाल प्रवेशका लागि अनुनय विनय गर्नुभयो ।

उहाँहरुलाई नेपाली प्रवेश गराउने कुरामा सरकारका साबै निकाय, स्थानीय तह, जिल्ला प्रशासन, पार्टीका नेताहरु, गृहमन्त्रालय, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री र प्रधानमन्त्रीज्यूलाई सुझाव दिएँ । सीमामा अलपत्र परेका उहाँहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्दा नै राम्रो हुन्छ, नभए समस्या आउँछ ।

त्यहाँबाट भागेर नेपाल प्रवेश गर्ने सम्भावना छ, त्यस्तो कार्यले महामारी फैलने खतरा हुन्छ भनेर सुझाव पनि राखेँ । तर त्यसमा म त्यहाँ सफल भइनँ । त्यसपछि हाम्रो पार्टीका सबै जिल्लाका जिल्ला अध्यक्षलाई फोन गरेँ । संवादमा पछिल्लो परिस्थितिको जानकारी लिनेदिने काम भयो । अहिले पनि समस्या देखिएका जिल्लाका साथीहरुसँग निरन्तर संवाद भइरहेको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका सम्बन्धमा पार्टी सचिवालयका कमरेडसँग पनि संवाद गरेँ ।

पार्टीले कसरी पहल गर्ने, एकताबद्ध भएर कसरी अगाडि बढ्ने भन्ने समस्या आएका छन् । पार्टी र सरकारप्रति विभिन्न विषय उठेका छन्, साँचो कुरा के हो ? छलफल हुनुपर्छ । समाधान पनि गर्नुपर्छ भन्नेबारे सचिवालयका सदस्यसँग मेरो निरन्तर छलफल हुँदैछ ।

कर्णाली प्रदेशको पार्टी कार्यालयको बैठक बोलाएँ । सहइन्चार्ज, प्रदेश अध्यक्ष लगायतका कमरेड सहभागी हुनुभयो । केही कमरेडसँग भिडियो कन्फरेन्समार्फत पनि छलफलको आयोजना गरेर अलग अलग जनपरिचालनको योजना तय गरियो ।

कर्णालीका जनताको आवश्यकताअनुसार लकडाउनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले त्यही तरिकाले जानुपर्छ भनेर अलग अलग जनपरिचालनको निर्माण गरियो । जसमा स्थानीय तहका ५ देखि ७ घरको एउटा सहकार्य युनिट बनाउने र त्यो युनिटले आपसमा मिलेर जनताका समस्याको सहजीकरणमा लाग्नुपर्ने छ ।

पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्न बाली पाकिरहेको छ, त्यसलाई काट्नुपर्ने भएकाले त्यो युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछाँै । त्यहाँ खाद्यान्नको समस्या भए माथि रिपोर्ट गर्ने भनियो । वडामा एउटा व्यवस्थापन समिति र अर्को क्विक रेस्पोन्स टाक्सफोर्स बनाउन लगाएका छाँै । जहाँ स्वास्थ्यकर्मी र वडा सरकार पनि हुन्छ ।

कुनै समस्या आयो भने त्यसले काम गर्नेगरी साधन स्रोत पनि उपलब्ध गर्ने भन्ने  नीति बनायौँ । त्यसैगरी पालिकामा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गर्ने । त्यहाँ पालिकाले समाधान गर्न नसकेको जिल्लामा पठाउने, जिल्लाले नसकेको हामी कहाँ पठाउने र प्रदेशमार्फत समाधान गर्छौँ भनेका छाैं ।

 योबीचमा कर्णालीमा खाद्य आपूर्ति कसरी गर्ने भनेर छलफल गरिरहेका छाैं । खाद्य केकति चाहिन्छ, त्यसको रेकर्ड पठाउन पार्टीलाई भनेका छौँ । यो राहत वितरण गर्दा अनावश्यक वितरण नहोस् भनेर हामीले यसलाई राहत नभनेर खाना दिने भन्ने पार्टीको नीति बनाएका छौँ । प्रदेशमा मसहित सबैको कार्यविभाजन गरेका छौँ ।

म र सहइन्चार्जको भागमा अन्तरप्रदेश समायोजन गर्ने, अन्तर्राष्ट्रिय अनुभव तल सम्प्रेषण गर्दै जाने, यस प्रदेशका मान्छे जहाँ छन्, तिनको खानेबस्ने व्यवस्थापन गर्ने, तलबाट आएको रिपोर्टको विश्लेषण गर्ने, आपूर्तिबारे सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाउने, स्वास्थ्य उपचार सामग्रीको अभाव देखिए उपलब्धताका लागि पहल गर्ने कार्यहरु परेका छन् । हामीले कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चाैरजहारी गरी तीनवटा केन्द्र भनेका छाैं ।

चाैरजहारीमा कालीबहादुर मल्ल, सुर्खेतमा मायाप्रसाद शर्मा, जुम्लामा जिल्ला अध्यक्ष गोरख बोगटीजीले संयोजन गर्नेगरी कार्य विभाजन गरिएको छ । पार्टीका सबै केन्द्रीय सदस्य पनि आफ्नो जिल्लामा जोडिएर एकसाथ जाने गरी अलग अलग जनपरिचालन गर्ने योजना योबीचमा बनायौँ । त्यसपछि म आफ्नो जिल्ला (रुकुम पश्चिम) का जनता, सुरक्षाकर्मी स्वास्थ्यकर्मी र स्थानीय सरकारको अवस्था बुझ्न आएको छु ।

म यहाँ आइसकेपछि मुसीकोट अस्पताल, चाैरजहारी अस्पताल र आठबिसकोटाको अस्पताल पुगेँ । त्यहाँका स्वास्थ्यकर्मीको कामको उच्च प्रशंसा गर्दै मनोबल बढाउन छलफल र संवाद गरेँ । त्यहाँका तीनवटै अस्पतालमा आइसोलेसन निर्माण लागि आफै पुगेर सहजीकरण गरेँ । यसैमा व्यस्त छु ।

विश्व नजर

कोरोना महामारी कहाँबाट सुरु भयो, त्यो अनुसन्धानको कुरा हो । मैले केही दिनअघिको लेखमा उल्लेख गरेका थिएँ, सभ्यताका नाममा हामीले प्रकृतिमाथि गरेको दोहनबाट उत्पन्न समस्याको मारमा छाैं । दाेस्रो कुरा उदार पुँजीवादी अर्थव्यवस्थाको नालायकीपनले पनि यो यो सङ्कट बढ्दै छ भन्ने मेरो भनाइ छ ।

नाफामा होइन जनताप्रति उत्तरदायी भएर जनताको जीवनलाई महत्त्व देख्ने नीति भएको सरकारले मात्र यसलाई सामना गर्न सक्छ ।  सकिरहेका पनि छ भन्ने मेरो बुझाइ छ ।

यतिबेला हामी सबैले यो महामारीलाई त्रासभन्दा पनि चुनौतीका रूपमा लिएर सामना गर्नुपर्ने छ । सरकारले पनि प्रयास गरेको छ तर जुन तागतका साथ एकीकृत रूपमा गर्नुपर्ने हो त्यो भइरहेको पाउँदिनँ । कतिपय कुरा प्रधानमन्त्रीले नै थाहा नपाएको भन्ने कुरा आयो ।

सङ्कटका बेला सबै कुरा त्यागको भावनाले हुनुपर्ने हो । सरकारमा रहेकाहरुमा त्यागको भावनाको कमी भएको, समयमा आवश्यक निर्णय हुन नसकेको देखिन्छ । खतरासँगै यसले नयाँ सम्भावना पनि ल्याएर आएको छ ।

कोरोना महामारी अवसर पनि

हामीले आत्मनिर्भर हुनुपर्छ भन्ने शिक्षा दिएको छ । हामी वातावरणमैत्री हुनुपर्छ भन्ने एउटा सन्देश दिएको छ । हाम्रो स्रोत साधनलाई सही ढङ्गले प्रयोग गर्न सक्नुपर्छ भन्ने शिक्षा दिएको छ । यस्तो अवस्थामा हाम्रा गाउँका घर नै महत्त्वपूर्ण रहेछन् भन्ने लागेको छ । बस्ती विकास, आर्थिक उन्नतिबारे अब नयाँ ढङ्गले सोच्नुपर्छ । यो महामारीले हामीलाई एउटा दिशा प्रदान गर्ने छ । एउटा सहकार्य र समूहिकताले समाजवादी बाटोमा जानका लागि महत्त्वपूर्ण शिक्षा पनि दिएको छ भन्ने मेरो निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप