शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ

शुक्रबार, २८ चैत २०७६, १२ : २०
शुक्रबार, २८ चैत २०७६

कैलाली । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ । 

यहाँ आयोजित ‘कोभिड—१९ मिडिया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिए ।  प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरी लगेको छ । 

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा बिहीबारसम्म ५६ बालबालिका, १७० महिला र दुई हजार २४० पुरुष गरी दुई हजार ४६६ बसेको, १७ विभिन्न अस्पतालको आइसोलेसनमा रहेको र ५७ जना सामान्य उपचारपछि फर्किएको जनाइएको छ । 

कोरोना सङ्क्रमण परीक्षणका लागि चाहिने कीटहरु प्रदेशका नौ वटै जिल्लामा पठाइसकिएकामा कैलाली र कञ्चनपुरमा उक्त कार्य शुरुसमेत भइसकेको कार्कीले जानकारी दिए । 

 उपकरण सञ्चालनमा आउँदै
 
एकसाथ बढी सङ्ख्याका कोरोना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न प्रयोग गरिने ‘आरटिपिसिआर‘ नामको उपकरण जडानको कार्य पनि अघि बढाइएको छ । धनगढीमा रहेको पशु रोग निदान तथा अन्वेषण प्रयोगशालाको भवनमा उक्त उपकरण जडान गर्न लागिएको बताइएको छ । 

यो उपकरण सञ्चालनमा आएपछि दिनमा ९० देखि ९५ वटा शङ्कास्पद नमूनाको परीक्षण गर्न सकिने स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा केही दिनदेखि ‘पिसिआर‘ नामको उपकरणबाट कोरोनाका शङ्कास्पद नमूनाको स्वाब परीक्षण भइरहेको छ । यो प्रविधिबाट दैनिक थोरै सङ्ख्याका नमूनाको स्वाब मात्र परीक्षण गर्न सकिने बताइएको छ ।

 विश्व स्वास्थ्य सङ्गठनको टोली आउँदै
 
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को व्यवस्थापनका लागि सहजीकरण र क्षमता अभिवृद्धि गर्न डा भीमसिंह टिङ्करीको नेतृत्वमा रहेको टोली केही दिनमा धनगढी आइपुग्न लागेको जनाइएको छ । 
यसैगरी यस कार्यमा सहयोग गर्न र खासगरी कोभिड–१९ का ‘केस’ अनुसन्धानलगायतको कामका लागि दुई सदस्यीय विश्व स्वास्थ्य सङ्गठनको टोली पनि धनगढी आइपुग्न लागेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप