शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रानीपोखरीका मजदुर बिचल्लीमा : राहतमा चामलभन्दा नुन धेरै दिए, खाने कुरा छैन (भिडियोसहित)

'अहिले दिनमा दुई छाक मात्र खाएका छौँ'
शुक्रबार, २८ चैत २०७६, ११ : २१
शुक्रबार, २८ चैत २०७६

रानीपोखरीभित्र दाउरामा भात पाक्ने गरेको सुन्दा तपाईंलाई अनौठो लाग्ला । खाना पकाउने ग्यास सकिएपछि रानीपोखरी पुनर्निर्माणमा खटिने मजदुरहरु दाउरामा खाना पकाउन थालेका छन् ।

एक त शहरमा दाउरा पाउन मुस्किल छ अर्को तिर उनीहरु भएको चामल पनि सकिन थालेको छ । केही दिन पहिले उनीहरुलाई ३ किलो चामल, १ किलो दाल, नून र तेल दिइएको थियो ।

जुम्ला घर भएका कृष्ण थापा मन्दिर र पोखरी डेकोरेशनको काम गर्छन् । उनका साथीहरु लकडाउन सुरु हुने बेलैमा घर गए । उनी पनि जान चाहेका थिए तर लकडाउन पछि ठेकेदारले काम हुन्छ भनेपछि गएनन् । रानीपोखरीमै रहेका अरु मजदुरहरु पनि घर जान नपाएर छटपटिरहेको उनले बताए ।

उनले भने– ‘जुम्ला जान गाडी पाइँदैन, कसैले पास दिने पनि हैन । अहिले रानीपोखरीमै बन्दी जीवन विताएको जस्तो भइरहेको छ । लकडाउन खुल्यो र गाडि चल्यो भने एक महिनाका लागि घर जाने योजनामा छन् ।

ग्यास छैन, राहतमा चामलभन्दा नुन धेरै दिए

खाना पकाउने ग्यास र चामल सकिएपछि रानीपोखरी पुनर्निर्माणमा खटिएका मजदुर समस्यामा परेका छन् ।

ग्यास सकिएपछि उनीहरुले दाउरा खोजेर खाना बनाउन थालेका छन् । अब दुई चार दिनलाई मात्र चामल पुग्ने भएकोले त्यसपछि के खाने भन्ने चिन्ता रहेको कृष्ण थापाले बताए ।

उनले भने–‘एक जनाको भागमा ३ किलो चामल दिएका थिए त्यो पनि सकिन लाग्यो । तरकारी किन्न बाहिर जान पाएका छैनौँ । अब एक दुई दिनको लागि मात्र पुग्ने चामल छ । ठेकेदार पनि अहिले सम्पर्कमा छैनन् । केही दिन अघि ठेकेदारले रानीपोखरी बनाउने समितिलाई भनिदिन्छु भनेका छन् ।’

मास्कसमेत नभएकोले पोखरीबाट बाहिर जान नपाएको उनले बताए । बाहिर गएपनि पुलिसले समात्ने र वरीपरी किराना पसल नभएकोले समस्या भएको उनले बताए ।

उनले भने–ग्यास पनि छैन, दाउरामा पकाएर खाने गरेका छौँ । दाउरा पनि कहाँ खोज्न जाने ? पकाएर खान चामल पनि सकिन थाल्यो । रानीपोखरीबाट बाहिर निस्किए जान मास्क पनि छैन । प्रहरीले समात्यो भने पनि रानीपोखरीमा काम गर्ने मजदुर भन्दा पत्याउँदैन । किनौँभन्दा यहाँ वरीवरी किराना पसल पनि छैन । घरमा फोन गर्न रिचार्ज कार्ड किन्न पाएको पनि छैन ।’

पहिले १ सय बढी कामदार थिए । उनीहरु ९ गते घर गए । लकडाउन खुल्ला र घर जाउँला भनेर बसेकाहरु लगकडाउन लम्बिएपछि उनी अलपत्र परेको उनीहरुले बताए ।

खानेकुराका साथै पानीको पनि समस्या परेको थापाले सुनाए । पानी किन्न नपाएर प्रहरी कार्यालयमा गएर मागेर ल्याउने गरेको र प्रहरीले पनि २ दिनमा एक दिनमात्र पानी लिन आउन भनेकोले समस्या परेको बताए ।

यहाँ इलाम, खोटाङ, हेटौँडालगायतका मजदुरहरु छन् ।

उनले जस्ताको टहरोभित्र देखाए । पोलिथिन झोलमा ४ प्याकेट नुन थियो तर चामल भने सकिन लागेको थियो । एउटा रित्तो ग्यास सिलिन्डर थियो ।

अब फेरी लकडाउन भयो भने रोगले भन्दा पनि भोकले मरिने उनले सुनाए ।

उनले भने– ‘रोगले भन्दा पनि भोकले मरिनै भैयो । अहिलेसम्म मलाई कुनै रोग ब्यादीले छोएको छैन । दिनको चार समय खाना खाने मान्छे अहिले दिनमा दुई छाक मात्र खाएको छु ।’

उदयपुरका गाईघाटका गोपाल खत्री इँटा छापेको पोखरीमा पानी हालिरहेका थिए ।

ठेकेदारले काम हुन्छ नजाउन भनेपछि काममा बसेको उनले बताए । चामल सकिन लागेकोले चिन्तामा रहेको सुनाए । उनले भने–‘दिनभरी रानीपोखरी घुम्यो बस्यो, यसरी बितिरहेको छ । खाने चामल सकिन लाग्यो । राहत कहाँबाट पाइन्छ हामीले मान्छे चिनेका छौनौँ, हामीले भन्ने त ठेकेदारले हो । ठेकेदारले मिलाइदिए पनि पाइएला । लकडाउन खुलेपछि ठेकेदारले घर जानु भनेका छन् ।’

घरमा उनका ४ छोराछोरी, श्रीमती, बाबुआमा छन् । घर जान मन लागे पनि जान नपाएको उनको दुखेसो छ ।

सरकारले स्थानीय तह मार्फत कोष बनाएर श्रमजिवी मजदुरलाई अकडाउन अवधीभर राहत वितरण गर्ने बताएपनि राजधानीको केन्द्र रानीपोखरीमा काम गर्ने मजदुरले पेटभरी खाने चामल पाउन सकेका छैनन् ।

देशैभरी राहत वितरण पनि भइरहेको छ । राहतको लाइनमा खान नपाएका मजदुर श्रमजिवी भन्दा पनि खान पुग्ने र घर भएकाहरु नै देखिएका छन् । राहतको नाममा जम्मा ३ किलो चामल पाएका रानीपोखरीका मजदुरहरु प्रश्न गरिरहेका छन् । सरकार हामीलाई चामलभन्दा नुन धेरै भयो । के अब हामी नुन मात्र खाएर बस्ने ?

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप