बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के रियल फर्केलान् रोनाल्डो ?

शुक्रबार, २८ चैत २०७६, ११ : १३
शुक्रबार, २८ चैत २०७६

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्वभर खेलकुदको गतिविधि स्थगित छ । युरोपका ठूला फुटबल प्रतियोगिता ठप्प बनेको छ । क्लब फुटबल आर्थिक हिसावले संकट ग्रस्त बनेका छन् ।

अधिकांश क्लबले धमाधम खेलाडीको तलब कटौती गरिरहेका छन् । क्लबको आर्थिक संकटका कारण खेलाडीको समर ट्रान्सफर बजार विगतको जस्तो तातेको छैन । क्लब फुटबलमा खेलाडी अनुबन्धको हल्ला चलेपनि उल्लेख्य प्रगति हुन सकेको छैन । यही मौकामा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने र पुरानै क्लब रियल म्याड्रिड फर्कने हल्लाले विश्व फुटबल तताएको छ ।

रोनाल्डोका साथी एवं पोर्चुगलका खेलाडी जोस फोन्टले पनि रोनाल्डो रियल फर्कने बताएका छन् । ‘रोनाल्डो रियलमै फर्किए कुनै आश्चर्य हुने छैन । ब्यक्तिगत रुपमा रोनाल्डो युभेन्ट्समा त्यति खुशी पनि छैनन् । उनले रियलमा खेल जीवनको महत्वपूर्ण समय विताएको र अधिकांश उपलब्धि हात पारेका छन् । रोनाल्डोको मनपर्ने साथीभाई पनि रियलमै छन्,’ फोन्टले भने ।

पछिल्लो समय इटालीमा फैलिएको केरोनाको महामारी र युभेन्ट्सलाई आइपर्न सक्ने आर्थिक संकटले पनि यस हल्लालाई केही हदसम्म ढाडस दिएको छ । हालैमात्र युभेन्ट्सले खेलाडीको चार महिनाको तलब कटौती गर्ने निर्णय गरिसकेको छ । त्यसैले पनि युभेन्ट्सले आर्थिक संकटमा महंगा रोनाल्डोलाई धान्न नसक्ने खबर बाहिरिएका छन् । दुई बर्षअघि युभेन्ट्सले रोनाल्डोलाई एक सय पाँच मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । रोनाल्डो हप्ताको झण्डै पाँच लाख पाउन्ड पारिश्रमिक लिन्छन् ।

रियलमा अहिले रोनाल्डोलाई मनपराउने प्रशिक्षक जिनेदिन जिदान भएकोले पनि रोनाल्डोलाई रियलको ढोका खुला रहेको धेरैको बुझाइ छ । रोनाल्डो स्वयं रियललाई औधी मन पराउँछन् । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो सन् २०१८ मा रियल छाडेर युभेन्ट्स पुगेका थिए । नौ बर्ष रियलमा छँदा रोनाल्डोले फुटबलमा सबै खाले उपाधि हात पारेका थिए ।

उमेरले नेटो काट्न लागेका रोनाल्डोको प्रदर्शन क्षमता अहिलेपनि टिनएजकै ढाँचामा छ । ३५ बर्षीय रोनाल्डोसँग युभेन्ट्सले सन् २०२२ सम्म सम्झौता गरेको छ । यद्यपी आर्थिक संकटलाई टार्न युभेन्ट्सले जस्तोसुकै कदम चाल्न सक्ने अड्कल बाजी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप