केन्द्रीय संस्करण
फोटोफिचर

लकडाउनबीच रातो मच्छिन्द्रनाथको महास्नान, तस्बिरमा हेर्नुहोस्

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज गरिएको छ।  प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ ।

करुणामयलाई यस दिन काठमाडौँ उपत्यकाका पाँच तीर्थबाट जल ल्याई महास्नान गराउने परम्परा रहेको पाटनका सूर्यमान डंगोलले जानकारी दिए । उनले भने, “मनोहरा तीर्थ, शिलु तीर्थ, गंगा तीर्थ, विष्णुमती तीर्थ र सपन तीर्थको जल मिसाएर महास्नान गराउने परम्परा रहँदै आएको छ ।” यी पाँच स्थानको जल मच्छिन्द्रनाथ गुठीमा रहेका व्यक्तिले रीत पु-याएर ल्याउने गरेको डंगोलले जानकारी दिए ।

महास्नान गर्नुपूर्व यस दिन मच्छिन्द्रनाथलाई तःबहालबाट लगनखेल ल्याई शृङ्गारपटार गरेर राखिन्छ । केही समय पाठ गरिन्छ । पाठ समाप्त भएपछि चारै दिशाामा पुजारी बस्छन् । मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काइन्छ । चाँदीको गाग्रीमा पाँचै तीर्थको पानी, गाईको दूध र  विभिन्न प्रकारका फूल मिसाएर महास्नान गर्ने चलन छ । करुणामयलाई महास्नान गराउँदा गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गर्ने चलन पनि रहेको डंगोलले बताए ।

नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्ल काठमाडौंँ आई राज्य गरेपछि मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन बसाएको इतिहास  छ । यी मल्ल राजाको पालादेखि आजसम्म रातो मच्छिन्द्रनाथलाई महास्नान गराउँदा पाँचै ठाउँको जल मिसाउने परम्परा रहेको बताइएको छ ।

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुलेले भने, “ विगतको वर्ष साँझ परेपछि मात्र मच्छिन्द्रनाथको महास्नान हुन्थ्यो । बन्दाबन्दीमा यस वर्ष छिट्टै गर्नुपरेको हो । आज महास्नान गरिने र  रथ बनाउने काम भने बन्दाबन्दी खुलेपछि मात्र गर्ने कि भन्नेमा छलफल भइरहेको छ । मच्छिन्द्रनाथको रथ बनाउन आवश्यक काठ, डोरी र बेत सबै आफूसँग पर्याप्त रहेको भुजुले बताए ।

कोभिड–१९ सङ्क्रमणको खतरा बढ्दै गए तापनि लामो समयदेखि मानिँदैआएको परम्परा पाटनवासीलाई ठ्याक्कै रोक्न भने गाह्रो भइरहेको छ । ठूलो मात्रामा भीड नगरी पूजा गर्ने र रीति धान्ने कुरामा संस्थान अघि बढेको छ । रातो मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामय तथा बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन् । काठमाडौंँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ,  पाटनमा  रातो मच्छिन्द्रनाथ रथजात्राको त्यति नै  महत्त्व छ । 

काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रा मनाइन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ । यसै वर्षको मङ्सिर–पुसमा रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट तःबहालमा ल्याई राखिसकिएको छ । रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न ललितपुरका साथै काठमाडौंँ र भक्तपुर तीनै शहरका भक्तजनलगायत विदेशी पर्यटक आउने गर्थे । यस वर्ष कोभिड–१९ को त्रासका कारण मुलुकमा बन्दाबन्दी भइरहेका बेला रथजात्रा हुन्छ या हुँदैन भन्ने कुराको आकलन आजसम्म कसैले गर्न सकेको छैन ।  

मच्छिन्द्रनाथको रथ ३२ गुणले युक्त ३२ हात अग्लो निर्माण गरिन्छ । पाटनको ठूलो उत्सव रातो मच्छिन्द्रनाथको जात्रा हिन्दूलगायत बुद्धधमावलम्बीले मनाउने गर्छन् । मच्छिन्द्रनाथ पूजाका लागि ३१ पनेजु गठन भइरहेका छन् । यी पानेजुले पालैपालो सहकालका देवताको पूजाआजा र रेखदेख गर्दै आएका छन् । लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकालका देवता, करुणामय तथा लोकेश्वर अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भएको किंवदन्ती  छ । मुलुकमा १२ वर्ष अनिकालपछि मच्छिन्द्रनाथले  लोककल्याण गरेका स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा छ ।

नेपालमा वषौँ अघिदेखि चल्दै आएको जनश्रुतिअनुसार गुरु गोरखनाथले भिक्षा नपाएको रीसमा नवनागलाई आसन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन, खडेरी भयो । धानका पगेटा मात्र हुन्थे । भोकमरी र सुक्खा परी मानिसको जीवन सङ्कटमा पर्दै गएपछि तत्कालीन राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त वज्राचार्य र ललितपुरका ललित ज्यापूले कठिन परिस्थिति सहेर मच्छिन्द्रनाथलाई बुङ्मती ल्याए । मच्छिन्द्रनाथ बुङ्मती आएपछि गोरखनाथ आफ्ना गुरुको दर्शन गर्न उठेको र नवनाग फुक्का भएर हिँडेपछि अतिवृष्टि भएको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.