प्रदेश ५ मा र्यापिड टेस्ट हुने
बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनमा बसेका सबै जनाको र्यापिड टेस्ट गर्ने भएको छ । हालसम्म यो प्रदेशका १२ जिल्लामा २ हजार ५ सय ६ जना क्वारेन्टिनमा बसेको तथ्यांक प्रदेश सरकारले राखेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले संक्रमणको जोखिम घटाउनका लागि र्यापिड टेस्ट किटबाट क्वारेन्टिनमा बसेका सबैको परीक्षण हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयमा सबै विवरण दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
क्वारेन्टिनमा बसेका व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि आजदेखि २ जिल्ला हेर्नेगरी ६ वटा स्वास्थ्यकर्मीको टोली बनेको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् ।
उनले रातोपाटीसँग भने, 'भोलिदेखी प्रदेश ५ का सवै जिल्ला टेस्टको काम हुन्छ , सम्भव भए आज पनि केही जिल्लामा गरिन्छ ।'
उनले शंका लागेर २ हप्तादेखि क्वारेन्टिनमा बसेका सबै जनाको र्यापिड टेस्ट गर्न लागिएको बताए ।
यसरी टेस्ट गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएमा घर पठाइने र पोजेटिभ आएमा स्वाब परीक्षण गरिने जनाइएको छ । यो टेस्ट गर्नका लागि संघीय सरकारले ५ हजार थान किट पठाएको छ ।