बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इमर्जेन्सीकी नर्सको मनोदशा

बिहीबार, २७ चैत २०७६, १२ : ३८
बिहीबार, २७ चैत २०७६

राति ३ बजेको अलार्म सेट गरेर सुतेकी थिएँ । तर पौने ३ बजे नै निन्द्राले छोड्यो । मनमा अनेक कुरा आएर सपना पनि त्रासदी पूर्ण हुन्छ । कहिले ठूलो अजिङ्गरले निल्न लागेको देख्छु त कहिले बाढीले सबै सहर नै डुबाउन लागेको हुन्छ । म आत्तिँदै उठ्छु । म अरू बेला पनि अलि बढी नै संवेदनशील छु । सानातिना घटनाले पनि मलाई सारै विचलित गराउँछ । निन्द्रा नै बिथोलिन्छ । २०१६ मा क्यानडाको फोर्ट म्याक्मेरीमा भएको डढेलोले हप्तौँसम्म सुत्न सकिनँ । त्यस्तै २०१९ को अस्ट्रेलियामा  विनाशकारी डढेलो लाग्यो । लाखौँ जङ्गली जनवार मरे । ती जङ्गली जनवारहरुको कारुणिक मृत्यु देख्दा कैयौँ रात अनिन्द्रामै बिते ।

त्यही भएर पनि मेरो श्रीमानले मलाई धेरै समाचार नहेर्नलाई भन्नु हुन्छ । तर आफ्नो मन माने पो ! संसारमा के हुँदै जान्न नशा नै सकेको छ । कति गर्दा पनि यो मन मान्दैन । मनलाई नियन्त्रण गर्नै सक्दिनँ ।
 अहिले फेरि कोरोना भाइरस कोभिड–१९ ले सन्सारलाई सताएको छ । योभन्दा पहिले संसारै एकै पटक पीडित भएको सुनेको  पनि थिएन । ऐले त आफैँ यस्तो भयावह स्थितिको सामना गर्नुपरेको छ । आँखा चिम्लिनासाथ आफ्नै अगाडि ती मृतकका लासहरु सेतो प्लास्टिक जस्ता वस्तुले बेरिएर आउँन थाल्छन् । यस्तो अवस्थामा म कसरी निदाउन सक्छु र !  निदाउँन हरेक प्रयासहरु गर्दछु । तातो दूध पिएर सुत्छु ।

एकदेखि सय र सयबाट घटाउँदै पटकौ  एकसम्म ल्याउँछु । जाइदानाको धुलो तातो दूधमा घोलेर पिउँछु । सहकर्मी डाक्टरको सल्लाह र सहयोगमा निन्द्रा लगाउने औषधि पनि सेवन गरेँ ।
मलाई थाहा छ । मैले धेरै औषधि पनि खानु हुँदैन । पेटमा भएको बच्चालाई असर गर्छ । अनिन्द्राले आँखाका वरिपरि कालो दाग बसिसकेको छ । आँखा राता भएका छन् । प्रायः टाउको दुखिरहन्छ । मलाई थाहा छ, यो सबै अनिन्दाकै कारणबाट भएको हो । 

म सुत्ने छुट्टै कोठा छ । मेरो अढाइ वर्षको छोरा मेरो काखमा आएर बस्न नपाएको दसौँ दिन भइसक्यो । ढोकामा आएर बालसुलभ बोलीमा के के भन्छ र कोठाभित्र आउन खोज्छ । रुन्छ कराउँछ । मामा मामा भन्छ । मेरो मातृहृदय पुत्र  वात्सल्यमा द्रविभूत हुन्छ । मेरा आँखाबाट पीडाहरु गालामा ओर्लन्छन् । म छोराले नदेख्ने गरी आँशु पुस्छु  ।

 मेरा खाना खाने थाल र बटुकाहरु पनि अलग्गै छन् । अस्पताल जाँदा आउँदाका जुत्ता र लुगालाई घर बाहिरै राखेर अलग्गै धुन्छु । श्रीमानले खाना र खाजा बनाएर अलग्गैबाट मेरा थालमा झारिदिनु हुन्छ । म किचेनमा प्रवेश नगरेको पनि दसौँ दिन नै भइसक्यो । लन्चबक्स श्रीमानले नै तयार गरेर ढोका नजिक राखिदिनु हुन्छ । 

म गह्रौँगो मन लिएर उठ्छु । नुहाइधुहाई गर्छु । अनुहारमा देखिने अनिद्राका सूचक छोप्न हल्का मेकप गर्छु । ओठमा हल्का लिपस्टिक दल्छु र हाँसे जसरी ओठ तन्काउँछु र ऐनामा हेर्छु । मलाई सिँगारमा कति पनि शोख छैन । पहिला पहिला त झन केही पनि लगाउँदिन थिएँ । साथीहरुले भन्दाभन्दा बल्ल यतिसम्म गर्न थालेकी छु । मेरा आँखा भित्ताको घडीमा  पुग्छन् । समय कति चाँडै बग्छ । झण्डै छ नै बज्न लागेको रहेछ । म हतार हतार कोठाको कुनामा भएको सानो फ्रिजबाट दूध निकाल्छु । फ्रिजमाथि राखेको सिरेललाई बटुकामा हाल्छु । त्यसमा दूध राखेर बिहानको खाजा खान्छु । कहिलेकाहीँ यही बिहानको खाजाका भरमा बाह्र घण्टाको काम सकिन्छ । काममा धेरै व्यस्त भयो भने भोकतीर्खा भन्ने पनि बिर्सिन्छ । पिसाब गर्न जान्छु भन्दाभन्दै घण्टौँ बित्छ । त्यही भएर त धेरै नर्सलाई युरिनरी इन्कन्टिनेन्स चाँडै हुन सुरु हुन्छ रे । नर्सहरुलाई पर्याप्त पानी नपिएर डिहाइड्रेसन हुन्छ । कहिले काम गर्दा गर्दै ब्रेक लिने समय नै पाँइदैन । पोहोर आफैँलाई सेलिन चढाउनु परेको सम्झन्छु । आङ नै जिरिङ्ग हुन्छ । 

श्रीमानले ढोकाको छेउमा राखिदिएको लन्च बक्स र पानीको बोतल बोकेर काममा निस्कन्छु । आज फेरि बारघण्टाको डेसिफ्ट छ । सिफ्ट सुरु हुने समय ७ बजे भए पनि सधैँ आधा घण्टा छिटो पुग्नुपर्छ । नत्र त्यहाँको रिपोर्ट लिनलाई नै ढिला हुन्छ । आफू ढिला पुग्दा राति बाह्र घण्टा काम गर्नेहरुलाई पनि अन्याय हुन्छ । फेरि मेरो अलि चाँडै पुग्ने बानी छ । ढिला पुगेर हतार हतार गर्दा कति रिपोर्टहरुमा राम्रो ध्यान पुग्न सक्दैन । केही रिपोर्ट मिस भयो भने बिरामीको जीवन तलमाथि हुने सम्भावना पनि बढ्न सक्छ ।  त्यस्तो भयो भने म आफैँलाई माफी दिन सक्दिनँ । 

फेरि यो अवस्था भनेको अरूबेला जस्तो सामान्य अवस्था छैन । संसारभर कोरोनाको महामारी फैलिएको छ । यस्तो बेलामा हामीलाई पनि अस्पताल प्रवेश गर्दा सबै चेक गरेर मात्र  प्रवेश गर्नु पर्दछ । रुघा खोकी लागेको छ कि छैन । जिउ दुख्नेको, सास फेर्न गाह्रो भएको, छ कि छैन । बाहिर कुनै देशमा तत्काल गएर आएको छ छैन । बाहिरबाट आउनेसँग सम्पर्क भएको छ छैन । यी सबैमा नेगेटिभ उत्तर भएपछि मात्र तापक्रम नापेर ज्वरो नआएको  देखिएमा अस्पतालमा प्रवेश गर्न पाइन्छ । 

 इमर्जेन्सी वार्डमा हामी सधैँ व्यस्त  हुन्छौँ । तपाईं क्यानडाको कुनै अस्पतालको ईआर पुग्नुभएको छ भने देख्नुभएको हुनुपर्छ । कम्तीमा पनि चारदेखि छ घण्टासम्म बिरामीले पर्खने समय भनेर ठूला अक्षरमा लेखिएको हुन्छ ।  पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, ढाड दुख्नेहरू त चार पाँच घण्टा कुर्दाकुर्दै निको भएर घर फर्कने गर्दछन् । तर हृदयघात हुने गहिरो चोटपटक लागेर रक्तस्राव भएका, सास फेर्न गाह्रो भएका बिरामीलाई भने प्राथमिकतामा राखेर इमर्जेन्सीमा आउना साथ तुरुन्तै उपचार गरिन्छ । प्रायः त्यस्ता बिरामी एम्बुलेन्सबाट आएका हुन्छन् । कहिलेकाँही इमर्जेन्सीको प्रतीक्षा कोठामा सयौँको सङ्ख्यामा बिरामी पर्खिरहेका हुन्छन् । चाहेर पनि सबैलाई समयमै उपचार गर्न सकिँदैन । स्रोत साधन र जनशक्तिको अभावकै कारण यस्तो भएको हो । कतिपय बिरामीहरुलाई त प्रतीक्षाकोठामा बस्दाबस्दै अन्य नयाँ रोगहरुले सङ्क्रमण गरी सक्छ । त्यसैले सामान्य बिरामी हुँदा अस्पताल नजानु भन्छन् । खास गरेर बच्चालाई यस्तो धेरै हुने गर्दछ ।

यो कोरोना कोभिड–१९ ले गर्दा हामी स्वास्थकर्मीहरु पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टल (पीपीई) बाट सुसज्जित भएर प्रवेश गर्नुपर्दछ । हिजोआज पर्याप्त मात्रमा पीपीई नभएर एउटै मास्कले दिनभरी पुयाउनु पर्दछ । अस्पताल आएका बिरामी कसलाई के रोगलागेर आएको छ भन्ने थाहा नै हुँदैन । पीपीई भएन भने त थाहा पाउँदासम्ममा ढिला भइसकेको हुनेछ । दिनभरि लगातार मास्क लगाउँदा मास्कका वरिपरिको कडा वस्तुले नाकमुख वरिपरि गहिरो डाम बनाइदिन्छ । कहिले आफैँले फेर्ने तातो सासको ओहरदोहरले रिँगटा समेत लाग्छ । चस्मा लगाउनेहरुलाई मास्कबाट लिक भएको तातो बाफले आँखै नदेख्ने  बनाउँछ । 

बाहिरबाट आउने बिरामी सँगको पहिलो भेट हामीसँगै हुन्छ । बिरामीहरुको सामान्य लक्षण, स्वास्थ्यको वर्तमान र विगतको अवस्था जानकारी लिन्छौँ ।  बिरामीको ब्लडप्रेसर मुटुको धड्कन श्वास प्रश्वास अक्सिजनको मात्रा तापक्रम तौल र उचाइको परीक्षण गर्दछौँ । कति बिरामीलाई आउँदा आउँदै अक्सिजन दिनुपर्दछ । अलिकति ढिला भयो मने बिरामीको अवस्था झन् नाजुक बन्दछ । कहिले बिरामी ठूलो चोट लागेर रक्तश्राब भइरहेको हुन्छ । कम्प्रेसन दिएर रगत बग्न रोकेन भने बिरामी मर्ने डर हुन्छ । यी सबै सकेपछि मात्र हो, कुन बिरामीलाई कुन डक्टरसँग पठाउने भन्ने कुरा । यसरी बिरामीसँग एउटा बन्द कोठामा नजिकबाट  जानकारी लिँदा एउटै कोठाको हावामा बिरामी र नर्सले सास फेर्नु पर्दछ । यसरी थाहा नै नपाई रोग सर्ने सम्भावना हुन्छ । सयभन्दा बढी डक्टर र नर्सहरुले कोरोना भाइरसबाट सङ्क्रमित भएर ज्यान गुमाइसकेका छन् । त्यसमा आधाभन्दा बढी त इटालीमा नै छन् । चाइना लगायत अमेरिका, यूके, फ्रान्स, स्पेन, इन्डोनेसिया र इरान जस्ता देशमा बिरामीको जीवन बचाउने क्रममा सङ्क्रमित भएर जीवन आहुति दिए ।  भर्खरै भर्जिनियामा एक जना नर्सको दुखद् निधन भयो । इटलीमा एक जना नर्सले आफू सङ्क्रमित भएको थाहा पाएपछि अरूलाई बिराम सर्छ भनेर आफूलाई नै अन्त्य गरिन् । त्यो समाचार सम्झँदा पनि मुटु थर्रर काम्छ । हात खुट्टा लुला हुन्छन् । सास फेर्न गाह्रो भएको महसुस हुन्छ । ती नर्सहरुका परिवारको बारेमा सोच्छु । झन् त्रास हुन्छ ।

आफ्नो पेटमा हुर्कंदै गरेको बच्चालाई सम्झिन्छु । मैले उसका लागि भए पनि रोगबाट बच्नु पर्दछ । तर यो भयावह स्थितिमा आफूलाई र पेटको बच्चालाई कसरी बचाउँने भन्ने त्रास छ । म कम्प्युटरमा बिरामीको चार्टिङ गर्दै हुन्छु । मलाई  चार्टिङ गर्दा गर्दै टाउको दुखे जस्तो हुन्छ । चारैतिर तिर्मिर हुँदै कालो देख्न थाल्छु । रिँगटा लागेर कोठा नै घुमेको देख्छु । म बसेकै ठाउँमा घप्टो परेँछु । निधारले कम्प्युटरको किबोर्डलाई थिचेछ । धन्न साथीले दखिछन् । फ्रिजबाट चिसो पानी ल्याएर मुखमा र निधारमा राखी दिइन रे । ब्लड प्रेसर चेक गर्दा निकै हाई भएछ । मुटुको धड्कन पनि बढेर १४५ पुगेछ । तापक्रम पनि ३९ डिग्री पुगेछ । मेरो निधारमा चिसी पानी पट्टी राखिदिएको रहेछ । करिब आधा घण्टापछि मात्र मैले थाहा पाएँ । मलाई त स्टाफ रुममा लगेर राखेको रहेछ । बिस्तारै उठेर हेरैँ । सँगै काम गर्ने लोरीले आर यू ओके भनेर सोधिन । मैले म कसरी यहाँ आएँ भनेर जिज्ञासा राखेँ । 

खै यो कोभिड–१९ कहिलेसम्म रहने हो । हामी फ्रन्टलाइनरहरुले आफू आफन्त र बिरामीलाई कसरी बचाउन सक्छौँ । यो त आजको एक दिने सिफ्ट मात्र सकिन लाग्यो । यो हप्तामा अझै लगातार तीन दिन बाँकी छ । अप्रिलको पहिलो हप्ता मात्र सुरु भएको छ । थाहा छैन यसरी कति दिन जीवन मर्दै र बौरँदै गर्दै जाने हो  ।

अटवा  क्यानडा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन उप्रेती
सुरेन उप्रेती
लेखकबाट थप