बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसः जर्मनीले कसरी रोक्यो ‘मृत्युको सुनामी’

बिहीबार, २७ चैत २०७६, ११ : ४७
बिहीबार, २७ चैत २०७६

मार्चको दोस्रो हप्ता । युरोप कोरोनाभाइरसको केन्द्र बन्दै गइरहेको थियो । चीनबाट हटेर संसारको ध्यान युरोपतिर केन्द्रीत भएको थियो ।

त्यसपछिका दिनमा प्रमाणित भयो । इटली, स्पेन, फ्रान्स र ब्रिटेनजस्ता देशमा संक्रमित र मृतकको संख्या अत्यधिक वृद्धि भयो । अहिलेको यो समयमा यी चारै देशमा निकै मुश्किल स्थिती सृजना भएको छ ।

त्यतिबेला जर्मनीकी चान्सलर एंगेला मर्केलको एउटा बयान आएको थियो जसले जर्मनीका जनता भयभीत बनेका थिए । एंगेला मर्केलले जर्मनीको ७० प्रतिशत जनसंख्या अर्थात् करिब ५ करोड ८० लाख जनता कोरोनाभाइरसबाट ग्रसित हुनसक्ने आँकलन गरेकी थिइन् ।  

जब एंगेलाले आफैंलाई क्वारेन्टाइन गरिन् तब मानिसहरुलाई लाग्यो कि जर्मनीको हालत पनि अब इटली र स्पेनको जस्तै हुनेछ । तर करिब एक महिनापछि जहाँ इटली, स्पेन, फ्रान्स र ब्रिटेनमा हरेक दिन सयौंको मृत्यु भइरहेको छ, जर्मनी यी देशभन्दा निकै टाढा छ ।

जर्मनीले आखिर यस्तो के गर्यो जहाँ मृतकको संख्या निकै कम छ ।

सरसर्ती हेर्ने हो भने जर्मनीमा संक्रमितको संख्या इटली र जर्मनी जत्तिकै छ । ताजा आँकडाका अनुसार जर्मनीमा संक्रमित व्यक्तिको संख्या १ लाख १३ हजार २ सय ९६ छन् । जबकी यो संख्या इटलीमा १ लाख ३९ हजार ४ सय २२ छन् भने फ्रान्समा १ लाख १२ हजार ९ सय ५० छन् र स्पेनमा १ लाख ४८ हजार २ सय २० छन् ।

तर मृत्युदरमा निकै ठूलो अन्तर छ । स्पेनमा जहाँ १४ हजार बढीको मृत्यु भएको छ भने इटलीमा १७ हजार बढीको मृत्यु भएको छ । तर जर्मनीमा यो आँकडा २ हजार आसपास छ ।

यो हिसाबले हेर्ने हो भने जर्मनीमा कोरोनाका कारण मृत्युदर ०.३ प्रतिशत मात्रै छ जबकी इटलीमा यो ९ प्रतिशत र ब्रिटेनमा ४.९ प्रतिशत छ ।

तर जर्मनीमा सबैकुरा ठिक छ र चिन्ता गर्नुपर्दैन भन्ने चाहिँ होइन । स्वास्थ्य अधिकारीका अनुसार अबको समय देशका लागि निकै चुनौतीपूर्ण छ ।

परीक्षणः

जानकारका अनुसार जर्मनीले जनवरीको सुरुवातमा नै परीक्षण गर्ने तयारी गरिसकेको थियो तसर्थ परीक्षण उपकरण विकास भइसकेका थिए । जर्मनीमा कोरोनाको पहिलो घटना फेब्रुअरीमा आएको थियो तर त्यसअघि नै जर्मनीले पूरा देशमा परीक्षण उपकरणको व्यवस्था गरेको थियो ।

फलस्वरुप, दक्षिण कोरिया झैं यहाँ धेरैको परीक्षण भयो र मानिसहरुलाई अस्पताल पनि भर्ना गरियो ।

जर्मनीको तुलनामा इटलीमा कोरोनाको संक्रमण दुई हप्ता अघि फैलियो । तर मृत्युदरमा इटली जर्मनीभन्दा यति अगाडि कसरी आयो ? खासगरी उत्तरी इटलीको कपडा उद्योगमा चीनको ठूलो आर्थिक संलग्नता छ । यसकारण यहाँ संक्रमण तीब्र रुपमा फैलियो । जर्मनीमा यस्तो स्थिती थिएन ।

जानकारका अनुसार जर्मनीमा सुरुवाती संक्रमण अस्ट्रिया र इटलीको स्की रिजोर्टबाट जर्मनीमा फैलिएको हो । त्यसकारण सुरुमा कम उमेरका मानिसहरु नै यसबाट प्रभावित भए ।

तर यति हुँदा हुँदै पनि जर्मनीले सुरुदेखि नै परीक्षणलाई निकै प्राथमिकता दियो ।

जर्मनीको थुप्रै शहरमा टेस्टिङ ट्याक्सी पनि चलाइयो जसले लकडाउनको क्रममा मानिसहरुको घर–घरमा गएर परीक्षण गर्यो । यो समयमा मानिसहरुको उपचार गर्न सहज भयो । युरोपका विभिन्न देश सुरुवाती अवस्थामा नै चुकेका थिए ।

जर्मनीका स्वास्थ्य अधिकारीले आफ्ना जनतालाई यदि लक्षण महसुस भइरहेको छ भने अस्पताल नआउन बताएको थियो । आफ्ना जनतालाई फोनमार्फत् यसबारे जानकारी दिन भनिएको थियो । जानकारी पाएपछि उनीहरुको परीक्षण गर्न स्वास्थ्य विज्ञ घरमा नै पुग्थे ।

जर्मनीले एक हप्तामा एक लाखभन्दा बढी व्यक्तिको परीक्षण गर्यो । समयमा परीक्षण गर्दा उपचार पनि समयमा नै हुनसक्यो । मानिसहरुलाई समयमा नै आइसोलेशनमा राखियो र यसले नतिजा पनि उत्कृष्ट देखायो ।

रोबर्ट कोच इन्स्टिच्युटका अध्यक्ष लोथर विलरले मिडियासँग भने, ‘जर्मनीले निकै अघिदेखि परीक्षण सुरु गरेको थियो । हामीले हल्का लक्षण भएकाहरुको पनि भविष्यमा स्वास्थ्य कमजोर हुने देखेर खोजी गर्यौ ।’

उनले जर्मनीमा ज्येष्ठ नागरिकहरु कोरोना संक्रमित भएको तर निकै कम भएको स्पष्ट पारे । इटलीमा कोरोना पीडितको औसत आयु ६३ वर्ष हो, यस्तै जर्मनीमा यो ४७ वर्ष हो ।’

बर्लिनमा च्यारिटी अस्पतालका प्राध्यापक क्राउजलिकले न्यूयोर्क टाइम्सलाई भने, ‘हामीले मानिसहरुको मात्रै होइन कोरोना नफैलियोस् भनेर डाक्टर र नर्सको पनि नियमित परीक्षण गर्यौं । साथै, यो परीक्षण निःशुल्क गरियो । यसको फाइदा यो भयो कि जनता अगाडि आए र समयमा उपचार हुन सक्यो ।’

ट्रेसिङ र ट्र्याकिङः

जर्मनीले परीक्षणका साथै ट्र्याकिङलाई पनि त्यति नै प्राथमिकता दियो । युरोपका विभिन्न देश र अमेरिका पनि यसमा चुक्यो ।

तर जर्मनीले दक्षिण कोरियाबाट ट्र्याकिङबारे पाठ सिक्यो । जानकारका अनुसार टेस्टिङका साथै ट्र्याकिङमा पनि सरकारले त्यति नै कडा नीति अपनाउनुपर्छ ।

सुरुमा जर्मनीले पनि यसबारे कम ध्यान दिएको थियो त्यसकारण संक्रमण तीब्र रुपमा बढ्यो । तर एकपटक जर्मनीले यसबारे ध्यान दिन सुरु गरेपछि उनीहरुले संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरुको पहिचान मात्रै गरेनन् उनीहरुको उपचारमा ढिलाई पनि गरेनन् ।

जर्मनीमा यसै ट्र्याकिङका कारण निकै अघिदेखि स्कूल बन्द गरियो र ठूलो संख्यामा मानिसहरुलाई आइसोलेशनमा राखियो ।

स्वास्थ्य सेवा प्रणालीः

जर्मनीको स्वास्थ्य सेवा प्रणालीको पनि तारिफ भएको छ । जर्मनीले समय हुँदा नै आइसीयूको संख्या बढायो र बेडको संख्या बढाउने कुरामा पनि ध्यान दियो ।

जर्मनीका एक डाक्टर सुजेन हेराल्डले दिएको जानकारी अनुसार जर्मनीले आफ्नो क्षमता यति बढाएको छ कि अब उसले इटली, स्पेन र फ्रान्सबाट आइरहेका बिरामीको पनि उपचार गरिरहेको छ ।

जनवरीमा जर्मनीसँग भेन्टिलेटरयुक्त आइसीयू बेडको संख्या २८ हजार थियो तर अब यो संख्या बढेर ४० हजार पुगेको छ ।

जर्मनीको स्वास्थ्य सेवा प्रणाली पूर्ण रुपमा निःशुल्क छ त्यसकारण मानिसहरुले निर्धक्कसँग उक्त संक्रमणबारे जानकारी दिए ।

सरकारले पायो भरपुर समर्थनः

योबाहेक जर्मनीले समय हुँदा नै निकै कडा कदम उठायो । उसले सीमा बन्द गर्यो, समाजिक दुरीको नियम निकै अघिदेखि कायम गर्यो ।

मार्चको अन्त्यमा चान्सलर एंगेला मर्केलले सार्वजनिक स्थानमा तीनजनाभन्दा बढी मानिस बस्न नपाउने नियम घोषणा गरिन् ।

सामाजिक दुरी र अन्य प्रतिबन्धका लागि जनताले चान्सलर एंगेला मर्केलको निकै समर्थन गरे । जर्मनीको जनतामा अत्यधिक जागरुकता पनि देखियो । त्यसैकारण देशमा पूर्ण लकडाउन नहुँदा पनि मानिसहरुले प्रतिबन्धको निकै राम्रोसँग पालना गरिरहेका छन् ।

र जर्मनीमा कम व्यक्तिको मृत्यु हुनुमा यो एउटा ठूलो कारण हो ।


भविष्यमा चुनौतीः

तर यति हुँदाहुँदै पनि जर्मनीका स्वास्थ्य अधिकारीमा केही चिन्ता पनि छ । थुप्रै जानकारका अनुसार जर्मनीमा अझै खराब स्थिती आउन बाँकी नै छ ।

जर्मनीमा भाइरस संक्रमित व्यक्तिको संख्या कम छैन । तर मृत्युदर निकै कम छ, त्यो पनि पक्कै हो ।

द बर्लिन स्पेकटेटरमा छापिएको रिपोर्टमा बताइए अनुसार जर्मनीले आफूलाई मुश्किल अवस्थाका लागि तयार पारिरहेको छ । जर्मनीका मन्त्री हेल्गे ब्राउनले संक्रमितको संख्याले चिन्ता बढाएको जानकारी दिएका छन् ।

सरकारले अब यतातिर आफ्नो ध्यान केन्द्रीत गरेको र यसमाथि काम सुरु भइसकेको पनि उनले जानकारी दिए । उनले सामाजिक दुरी र अन्य नियमको समय थप बढाउनेतर्फ इशारा पनि गरेका छन् ।

उनले देशमा ठूलो मात्रामा मास्कको आवश्यकता परेको र यसको मागमा थप वृद्धि हुने पनि बताएका छन् । सरकारले यसको लागि पनि तयारी गरिरहेको उनले बताए ।

बीबीसी हिन्दीबाट रातोपाटीले गरेको अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप