बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रजातन्त्र पुनः स्थापना भएको आजको दिन ऐतिहासिक’

बुधबार, २६ चैत २०७६, २१ : ००
बुधबार, २६ चैत २०७६

विसं २०४६ चैत २६ गते अर्थात आजको दिन मुलुकमा शान्तिपूर्ण जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःबहाली भएको ऐतिहासिक दिन हो ।

तीस वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था ढालेको जनआन्दोलनलाई नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायतका दलहरुले आजको दिनलाई विशेष स्मरण गर्दै आएका छन् ।

तर कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यसवर्ष जनआन्दोलन दिवसमा कुनै कार्यक्रम आयोजना गरिएन ।

विसं २०४६ मा राजनीतिक दलहरुको संयुक्त आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्था घोषणा गरेका थिए ।

आन्दोलनको नेतृत्व काँग्रेस संस्थापक नेता गणेशमान सिंहको अगुवाइमा भएको थियो । 

जहानियाँ राणा शासन र पञ्चायती व्यवस्था ढाल्न नेतृत्वदायी भूमिका खेलेपछि राजनीतिक दलहरुले गणेशमानलाई सर्वोच्च कमाण्डर भन्न थाले ।

गणेशमानका छोरा एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्ना बुबा र प्रजातन्त्र पुनःस्थापना भएको दिनको स्मरण गर्दै आजको दिनलाई ऐतिहासिक भनेका छन् । उनले आज एक सन्देशमार्फत २०४६ सालमा आजकै दिन जनआन्दोलनबाट तानाशाही पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था पुनःस्थापना भएको उल्लेख गरे । 

“आज नेपाली जनताको जित भएको ऐतिहासिक दिन हो, यस विशेष दिनको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, साथै प्रजातन्त्र प्राप्तिको जनआन्दोलनमा आफ्नो ज्यान बलिदान गर्नु हुने ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, नेता सिंहले सन्देशमा उल्लेख गरे ।

उनले यसअघि विभिन्न कालखण्डमा सडकमा मानवसागर ओरालेर राजनीतिक लडाइँ जिते पनि अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणलाई परास्त गर्न घरमै बस्नुपर्ने अवस्था आएको बताए । 

नेता सिंहले भने, “कोरोना भाइरसको सङ्क्रमणलाई हामी सबै मिलेर परास्त गर्नुपर्ने चुनौती छ, सुरक्षित रुपमा घरमै बसेर कोरोना भाइरसविरुद्ध लडौँं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं, समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटौं ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप