बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शक्तिको आडमा बिरामीको ज्यान लिँदै नेशनल मेडिकल कलेजका मालिक बसरुद्दीन

बुधबार, २६ चैत २०७६, १९ : ०८
बुधबार, २६ चैत २०७६

काठमाडौं । बसरुद्दीन अन्सारी सञ्चालक रहेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मनपरी बढ्दै गएको छ । अन्सारीको सो मेडिकल कलेजले उपचार नगरेपछि एक किशोरको मृत्यु हुन पुगेको छ । 

निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका–४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो मृत्यु भएको हो ।

कोरोना भाइरसको आशंका लागेका व्यक्तिलाई उपचार गर्न सरकारले निजी अस्पताललाई पटक पटक निर्देशन दिँदै आएको छ । तर, सो निर्देशनको अटेरी गर्नेमा बसरुद्दीन अन्सारीको  नेशनल मेडिकल कलेज अग्रपंक्तिमा रहेको छ । लकडाउन भएयता सो अस्पतालले उपचार गर्न नमानेपछि अर्का एक जनाको पनि मृत्यु भएको थियो । 

ज्वरो, रुखाखोकी, निमोनिया जस्ता रोगको नाम सुन्ने वित्तिकै उनले ती विरामीहरुलाई आफ्नो कम्पाण्डभित्र पनि छिर्न दिइरहेका छैनन् । 

नेशनल मेडिकल कलेजमा बुधवार उपचारको लागि आएका सहनीको मृत्यु हुनुअघि अघि यस्तै उपचार गर्न नमानेको कारण बाराकै विजय कुशावाहाको मृत्यु भएको थियो । 

सहनीको खुटामा चोट लागेर घाउमा इन्फेक्सन भएको थियो । सोही इन्फेक्सनसहित निमोनियाले पनि ग्रस्त उनी उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पुगेका थिए । तर सो अस्पतालले भर्ना लिन नमानेपछि वीरगञ्जकै अर्को अस्पतालमा लैजादै गर्दा सहनीको बाटोमै मृत्यु भएको थियो ।


निमोनिया भएको कारण कोरोना भाइरस संक्रमण नै भएको अशंकामा सो अस्पतालले भर्ना लिन नमानेको सहनीका परिवारिक सदस्यले बताए । ज्वरो आएको भन्नै वित्तिकै भित्र नै छिर्न नदिइएको परिवारको गुनासो छ । 

तर कलेज सञ्चालक बसरुद्दीन भन्छन्, ‘अस्पतालमा आईसीयु खाली नभएको कारण भर्ना नलिएको हो । कोरोनाको कारणले होइन । कुनै पनि बिरामीलाई नफर्काउन मैले अस्पताललाई निर्देशन दिएको हुँ तर सहनीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भएकाले फर्काएको मात्र हो ।’ 

यसअघि कोरोना संक्रमण अशंकामा विजय कुशवाहालाई अस्पतालबाट नै निकालिएको थियो । घरमा काम गरिरहेका बेला थ्रेसर मेसिनले खुट्टा काटिएपछि कुशवाहा चैत १५ गते नेसनल मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारका क्रममा उनलाई ज्वरो र सुख्खा खोकी लागेको थियो । त्यो थाह पाएर उनलाई अस्पतालबाट निस्किन भनिएको थियो । 

त्यहाँबाट नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । तर त्यहाँ पनि आइसियूमा भेन्टिलेटर खाली नभएको भन्दै भर्ना लिन नलिइएपछि कुशावाहालाई लिएर वीरगञ्जका अधिकाँश अस्पताल चहालियो ।  तर कोरोनाको आशंकामा अन्य अस्पतालले भर्ना लिन मानेका थिएनन् ।

त्यसपछि काठमाडौ लग्नेबेला चैत १७ गते बाटैमा कुशवाहको मृत्यु भएको थियो । 

बसरुद्दीन अन्सारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन् । उनले सो पार्टीका सम्पूर्ण शीर्ष नेतालाई आफ्नो प्रभावमा राखेका छन् । त्यसैको आडमा राज्य संयन्त्रणलाई टेरिरहेका छैनन् । यहाँसम्म कि आफ्नो अस्पतालका कर समेत बुझाएका छैनन् ।  सरकारी निकायबाट उनको अस्पताल निरीक्षण गर्न गइऐ गेटभन्दा भित्र छिर्न दिइँदैन ।

अनौठो त के छ भने उनैलाई सकारले अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्न गठन गरेको समितिमा राखेको छ । कोरोना संक्रमण विरामीलाई निजी अस्पतालले उपचार गर्छ कि गर्दैन भनि निगरानी गर्ने, अनुगमन गर्ने बसरुद्दी आफ्नै अस्पतालमा कोरोना आशंका लागेका विारमीलाई उपचार गर्दैनन् । 

कोरोना भाइरसको संक्रमण देखिन थालेपछि उनको अस्पतालले ज्वरो लागेका, निमोनिया तथा रुघा खोकी लागेका विरामीलाई भर्ना लिन छाडेको हो । उनले यतिका मनोमानी गर्दा पनि सरकारले हालसम्म कुनै कारवाही गरेको छैन ।  बरु पुरस्कृत नै गरिरहेको छ । 

आजै मात्र कोरोना संक्रमणको जोखिमको समयमा कामकाजमा नआउने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले सेवाबाट हटाएको छ । तर बसरुद्दीनको अस्पतालले उपचार गर्न नमान्दा दुईजनाको ज्यान जाँदा पनि सरकारले कुनै कारवाही नगरेको गुनासो भइरहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप