शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिस्केट जात्राको सम्बन्धमा भक्तपुर नगरपालिकाको यस्तो निर्णय

बुधबार, २६ चैत २०७६, १८ : ५८
बुधबार, २६ चैत २०७६

भक्तपुर । भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का (बिस्केट) जात्रालाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बुधबार बिस्का जात्रासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको बैठकले यस वर्षको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पनि लक डाउनकै अवधिमा पर्न आएको हुँदा यसलाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको हो ।

जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै सीमित गर्ने गरेको निर्णयलाई बैठकले उपयुक्त ठहर गरेको छ ।  भैरवनाथ जात्रा, लिड्डो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरु देवतालाई बाहिर ननिकाली देवता घर (द्योछें) मै सामान्य पुजाआजामा मात्रै सीमित राख्ने निर्णय गरेको छ । 

बैठकमा उपस्थित विभिन्न गुठी नाइके तथा प्रतिनिधिहरुले बिस्का जात्रालाई हुलहुज्जत नहुने गरी औपचारिक पुजाआजामा मात्र सीमित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीलाई जात्राको समयमा सम्भावित जोखिमबाट बच्न सबैजना घरभित्रै सुरक्षित रहन आग्रह गरेका छन् ।

बैठकमा भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म कुनै पनि नागरिक अति आवश्यक काममा बाहेक घरबार ननिस्कन लक डाउन घोषणा गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप