शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राहत सामग्री बाँड्न जाँदा किन प्रहरीको निशानामा परे पूर्वमन्त्री बस्नेत ?

‘बरु जेल जान तयार छु, जनतालाई राहत बढ्न छोड्दिन’
बुधबार, २६ चैत २०७६, १८ : २४
बुधबार, २६ चैत २०७६

काठमाडौं । पूर्वसञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत नेतृत्वको टोली लकडाउनको प्रवाह नगरि सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री र राहत वितरणमा व्यस्त छ । सरकारी निर्णयविपरित कार्य गरेको भन्दै प्रहरी प्रशासनले बस्नेतको टोलीमाथि निगरानी बढाउँदै आएको छ ।

सरकारले कुनै निकाय, संघसंस्था र व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र दिनुपर्ने भनेको छ । तर आफूखुसी सामग्री वितरणमा जुटेपछि बस्नेतको टोलीमाथि प्रहरी प्रशासनले निगरानी बढाएको देखिन्छ ।

बस्नेतको टोलीले भने प्रहरी प्रशासनलाई छल्दै राहत र स्वास्थ्य समाग्री वितरणलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा सोमबार प्रहरीले काँग्रेस नेता बस्नेतलाई नियन्त्रणमा लिने योजना बनायो । तर ठाउँ ठाउँमा सुराकीका लागि कार्यकर्ता खटाएका नेता बस्नेतले प्रहरीले नियन्त्रणमा लिने चाल पाएपछि फरक बाटोबाट भए पनि चोगटी पुग्यो । 

सोमबारको घटनाबारे नेता बस्नेतले रातोपाटीलाई भने, ‘ आइतबार मलाई फोन आयो । सिन्धुपाल्चोकको खाडिचौरमा बिरामी बोक्ने कोही तयार भएनन् । बाह्रबिसेको एम्बुलेन्स चालकले लान्छु भन्दा लान दिएनन् । खाँडीचौरमा रहेको एम्बुलेन्सको चालकले लिन मानेन । लिन नमानेको कारण पीपीई सेट नभएर रहेछ । त्यसपछि सोमबार मैले त्यो ठाउँमा मास्क, सेनिटाइजर, पीपीई सेट लिएर जाँदै थिएँ । बाह्रबिसे इलाका प्रहरी कार्यालयको प्रहरीले हामीलाई अवरोध गर्यो ।’

नेता बस्नेतकाअनुसार स्वास्थ्य सामाग्री लिएर काठमाडौंबाट आएको थाहा पाएपछि प्रहरी र सशस्त्र प्रहरी ठाउँ–ठाउँमा पछि लगेका थिए ।  ‘हामी सुनकोशी क्रस गरेर गइरहेका थियौँ । मेरो पछाडि सशस्त्र प्रहरी गइरहेका रहेछन् । उताबाट मलाई रोक्नका लागि सशस्त्र प्रहरीका इन्स्पेक्टरको टोली आयो,’ सोमबारको घटना सुनाउँदै उनले भने, ‘हामीले पनि प्रहरीले दुःख दिन थाल्यो भनेर सुराकीका लागि हाम्रा साथीहरु राखेका थियौँ । खाडीचौर जान नसक्ने अवस्था आएपछि हामी बीचकै बाटो उकालो लग्यौँ । र चोगटी पुग्यौँ । प्रहरी पनि हाम्रोपछि लाग्दै आएको थियो । त्यहाँ पुगेर पीपीई सेट हामीले दियौँ । त्यसपछि हामी हाम्रो बाटो लाग्यौँ ।’ 

आफू लकडाउनको दिन देखिनै राहत र स्वास्थ्य सामग्री वितरणमा लागेको बताउने नेता बस्नेतले यसअघि पनि प्रहरी प्रशासन र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कार्यकर्ताले दुःख दिने गरेको सुनाए ।
‘हामीले लकडाउन भएको भोलिपल्टदेखि मास्क, सेनिटाइजर, पीपीई लिएर सिन्धुपाल्चोक आयौँ । हामीले त्यो दिनदेखि सामान बाँढिरहेका छाँै । अरु सामान पनि साथीभाइले बाँडिराख्नुभएको छ । प्रहरी प्रशासन र नेकपाका नेता कार्यकर्ताले दुःख दिइराखेका छन् । यो सोमबार मात्र होइन ।’

लकडाउनको पहिलो हप्ताको अन्तिम दिन प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा पीपीई सेट बाँड्दाको सकस नेता बस्नेतले सुनाए । उनले भने, ‘हामीलाई जान नदिन दुई गाडी सशस्त्र र जनपथका प्रहरीले बाटो छेके । त्यहाँबाट हामी ब्याक भयौँ । त्यसपछि एउटा वडा अध्यक्षको सहयोगमा स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्षमार्फत सामान पुर्यायौं । हामी अरु क्षेत्रमा समान बाँड्न जाँदा  प्रहरीले हामीलाई रोक्ने प्रयास गर्यो ।’
प्रशासनको अवरोधका बीच आफूहरुले सिन्धुपाल्चोकको जिल्ला अस्पताल, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, सीमा प्रहरी र सीमा चेकपोस्टमा पीपीई मास्क, सेनिटाइजरलगायतका सामानहरु वितरण गर्दै आएको बस्नेतको भनाइ छ । 

पूर्वमन्त्रीबाट नै सरकारी निर्णयको उल्लङ्घन किन भन्ने प्रश्नमा उनले भने, ‘सिन्धुपाल्चोक जिल्लामा एकद्वार प्रणालीबाट सामान वितरण गर्ने भनिएको छ । त्यसका लागि सरकारले के सामान ल्यायो ? स्थानीय तहले के ल्यायो ? जिल्लामा केही सामान नै आएको छैन । सरकारले केही दिएको छैन । एकद्वार प्रणाली भन्ने सामान ल्याउन नसक्ने ?’  नेता बस्नेतका अनुसार आफूहरुको सहयोगमा काँग्रेसले जितेका सुनकोशी गाउँपालिका र  हेलम्बु गाउँपालिकामा केही व्यवस्था गरिएको छ ।

सबैसँग समन्वय गरेर स्वास्थ्य सामग्री र राहत वितरणका लागि आफू तयार हुँदा पनि सभामुख अग्नि सापकोटाको समूहले त्यो वातावरण बन्न नदिएको उनको आरोप छ । गएको आम निर्वाचनमा सिन्धुपाल्चोक १ मा सभामुख सापकोटासँग बस्नेत पराजित भएका थिए । 

उनले भने, ‘हामीले अझै पनि सहकार्य गरेर जौँ भन्दै आएका छौँ । बिरामी र सामग्री ओसार–पसारका लागि हामीले गाडी पनि तयारी अवस्थामा राखेका छौँ । तर माननीय सभामुख अग्नि सापकोटाको समूहले हाम्रो कार्यलाई अवरोध गर्न प्रहरी प्रशासन लगाएको छ ।’

जिल्ला विपत व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गर्दा सही ढंगले वितरण नहुने नेता बस्नेतको दाबी छ । ‘हामीले उनीहरुको हातमा सामान दिउँला तर उनीहरुलाई दिँदा सम्बन्धित ठाउँमा पुगेन भने के गर्ने ? हामीले विपत व्यवस्थापन समितिलाई दियो भने सम्बन्धित वर्गलाई नदिएर आफ्ना कार्यकर्तालाई दिनुहुन्छ,’ उनले भने, ‘पीपीई सेट स्वास्थ्यकर्मीले पाइरहेका छैनन् । मन्त्रीको श्रीमानले पीपीई सेट लगाएर फोटो खिचेर बसिरहेको अवस्था छ । त्यसैले प्रहरीसँगको हान थापकाबीच हामीले सामान दिइरहेका छौँ ।’

भूमिसुधार मन्त्री पदमा अर्यालका श्रीमानले पीपीई लगाको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भाइरल भएको थियो । आफूहरुले सामान वितरण गरेको भन्दै नेकपाको नेता कार्यकर्ताले हात खुट्टा भाचिदिने धम्की दिने गरेको उनको आरोप छ ।

‘हामीले सामान लिएर आएपछि हात खुट्टा भाच्छौँ भनेर नेकपाका कार्यकर्ताहरुले भनिरहेका थिए । तर पनि हाम्रो साथीहरुले सामान बाँडिरहेका छन् । केही दिनअघि न्युन आय भएकालाई पनि राहत वितरण गरेका थियौँ,’ उनले भने । पार्टीका नेता कार्यकर्ताको सहयोगमा थप सामग्री पनि काठमाडौँ पुगिसकेको भन्दै केही दिनमा उक्त सामग्री पनि वितरण गर्ने बस्नेतले बताए । 

उनले भने, ‘काँग्रेसका साथीभाइहरु आफै पैसा उठाएर काम गरिरहेका छौँ । बाहिरबाट झिकाउनुपर्ने सामान पनि झिकाइ राखेका छौँ । हामीले थर्मल गन मगाइसकेका छाँै । हामी त्यो पनि बाँड्ने तयारीमा छौँ ।’

यता मंगलबार नेकपाका नेताहरुले लकडाउन तोड्यो भन्दै आफूविरुद्द जिल्ला प्रशासन कार्यालयमा पुगेर मुद्दा चलाउन दबाब दिएको बस्नेतले जानकारी दिए ।  उनले भने, ‘हामीले सकेसम्म जनताका लागि काम गछौँ । चाहे प्रहरीले हामीलाई थुनोस्, चाहे नेकपाको नेताहरुले हामीलाई जेल हाल्न लगाउन । यो काम निरन्तर अगाडि बढ्छ ।’

पार्टीका शीर्ष नेताहरुले पनि यस कामलाई निरन्तरताका लागि हौसला दिएको उनले बताए । ‘सोमबार मात्र हाम्रो पार्टी सभापतिजीसँग कुरा भयो । मंगलबार संगठन विभाग प्रमुख गोपालमान दाइसँग पनि कुरा भयो । महामन्त्रीसँग पनि कुरा भएको छ । पार्टीका शीर्ष नेताहरुसँग कुरा भइरहेको छ । राम्रो काम गर्नुभएको छ । अझै गर्नुहोस् भनेर उहाँहरुले मलाई उत्साह दिनुभएको छ,’ उनले भने ।

जिल्ला पार्टीका नेता कार्यकर्ताले पनि जनताका काम गर्दा जेल जानुपरे जाउँला भन्दै लागिरहेको बस्नेतले बताए । आफूहरु जिल्लाभरीका लागि चाहिने स्वास्थ्य सामग्री र राहत वितरण गर्न तयार रहेको उनको दाबी छ । तर सरकारी निर्णय विपरित सामग्री वितरण गर्दा पनि बस्नेतले भीडभाड गर्ने गरेको आरोप छ । 

यसबारे उनले भने, ‘मलाई ठूलो समान वितरण गर्दा भिडभाड गर्यो भन्ने गरिएको छ । त्यसो होइन । सामान वितरण गर्दाको पहिलो दिन १०÷११ जना जति थियाँै । तिनीरुलाई पनि सामाजिक दुरी कायम गर्न मैले आग्रह गरिरहेको थिए ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप