आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना कहर- अष्ट्रेलियामा रोजिरोटी खोसिएपछि विद्यार्थीको बिचल्ली

बुधबार, २६ चैत २०७६, १७ : २१
बुधबार, २६ चैत २०७६

एजेन्सी । कोरोना भाइरसको महामारी आउनुअघि एमबिएकी विद्यार्थी अनिता करिम आफ्ना लागि आवश्यक खर्च आफैं जुटाउने गर्थिन् । कोरोनाको प्रकोपपछि उनको आम्दानी आधाभन्दा बढीले घटेको छ । 
पाकिस्तानी विद्यार्थी अनिता अहिले पार्ट टाइम असिस्टेन्ट सेल्स म्यानेजरका रुपमा काम गर्छिन् र होल्मेस इन्स्टिच्युट अफ ब्रिस्वेनमा पढ्छिन्, उनी केही महिनामै ग्राजुयट हुँदैछिन् । 

कोभिड–१९ को महामारीअघि उनले दुई साता ४० घण्टा काम गर्ने गर्थिंन्, अहिले दुई सातामा १८ घण्टामात्रै काम गर्न पाएकी छिन् । यदि देशमा पूर्ण लकडाउन भयो भयो उनी काम गर्न असमर्थ हुनेछिन् ।  युनिभर्सिटी अफ क्विन्सल्यान्डबाट आमसञ्चारमा मास्टर्स गरेकी अनिता भन्छिन्, ‘जतिबेला म अस्टे«लियाको जी–८ समूहको विश्वविद्यालय क्विन्सल्यान्डमा पढ्दै थिँए, त्यसबेला हरेक सेमेस्टरमा १४ हजार अस्ट्रेलियन डलर बुझाउन गाह्रो थियो । मेरो परिवारले नै मेरो पढाई खर्च तिरेको थियो ।’

उनले थपिन्, ‘तर डिग्री हासिल गरेपछि मैले आफैं कमाउन थालें । इमान्दार भएर भन्नुपर्दा दुई सातामा ४० घण्टा काम गरेर बाँच्न यहाँ मुस्किल छ ।’ अर्का पाकिस्तानी विद्यार्थी, अहमद जुवाइर अझै कठिन समयसँग लड्दैछन् । अहिले उनी सिड्नीस्थित विश्वविद्यालयमा ब्याचलर पढ्दैछन्, उनी आफ्नो पढाई खर्च जुटाउन रेस्टुरेन्टमा पार्ट टाइम काम गर्थे ।  तर सिड्नीको व्यापारिक हब अहिले मरुभूमिजस्तो बनेको छ । पब्स र रेस्टुरेन्ट अष्ट्रेलियन सरकारको निर्देशनमा बन्द भएका छन् । जसकारण अहमदको रोजगारी गुमेको छ । उनीसँग केही पैसा बचत छ, तर यसले एक हप्ताभन्दा बढी पुग्नेवाला छैन । 

‘अवस्था नसुध्रिएसम्म पैसा नलिने निर्णय गरेर मेरो विश्वविद्यालयले मलाई सहयोग गरेको छ, यो राम्रो छ । तर आफ्नो बचत रकम सकिएपछि कहाँ जाने भन्ने मलाई थाहा छैन । कहाँ जाने ? के खाने र कसरी बाँच्ने ?’ उनले भने । 

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिर्सनले संकटको अवस्थामा खान र बस्न समस्या हुनेहरुलाई अस्टे«लिया छाडेर घर फर्कन भनेका थिए । पहिलो १२ महिनासम्म पुग्ने खर्च जोहो गरेर मात्रै अस्टे«लिया आउनुपर्ने शर्त भिसा दिँदां नै राखिएको उनले औंल्याएका थिए । ‘अष्ट्रेलियाले आफ्ना नागरिक र यहीं स्थायी बसोवास गर्नेहरुका लागि सक्दो आर्थिक सहयोग उपलब्ध गराउने विश्वास दिलाउन ध्यान केन्द्रीत गर्नुपर्छ,’ उनले भनेका थिए ।

 ट्राभल ब्यान (भ्रमण प्रतिबन्ध) र उडान स्थगित भएको अवस्थामा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी घर फर्कनसक्ने अवस्थामा पनि छैनन्, यसैले उनीहरु विचल्लीमा परेका छन् ।  अनिता भन्छिन्, ‘सबै सीमा बन्द भइसकेका छन् । मेरा लागि महत्वपूर्ण भनेकै ग्राजुयट भिसा हासिल गर्नु हो । ३ महिनापछि ग्राजुयट भिसा हासिल गर्दा मैले फुल टाइम काम गर्ने अधिकार पाउनेछु र अष्ट्रेलियामा पढाउनका लागि मेरो परिवारले लगानी गरेको ६२ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम उठाउन सक्नेछु ।’

अनिता र अहमदजस्ता विद्यार्थीले अस्टे«लियन नागरिक सरह अधिकार मागेका छैनन्, तर उनीहरु सरकारले केही न केही सहयोग गरोस् भन्ने चाहना राख्छन् । अनिताले कर मिनाह हुने आशा राखेकी छिन्, उनले पछिल्लो ९ महिनामा झन्डै ४ हजार अस्टे«लियन डलर बराबर कर तिर्नुपरेको थियो ।

 ‘शिक्षाका लागि ६२ हजार अष्ट्रेलियन डलर लगानी गर्नुका अलावा मैले यहाँ बस्नका लागि ठूलो कर तिर्नुपरेको छ,’ उनले भनिन्, ‘हरेक पटक मैले कर विवरण भर्दा यो घोषणा गर्नुपर्छ कि म ‘करको उद्देश्यका लागि मात्रै स्थायी वासिन्दा हुँ । त्यसपछि अस्टेलियन कर कार्यालयले मेरो कर कहाँ खर्च हुन्छन् भनेर देखाउँछ– सामाजिक उत्तरदायित्व, स्वास्थ, शिक्षा, सुरक्षा आदि ।’ तर अहिलेसम्म अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा उनी आफैंले यी सुविधा कहिल्यै पाएकी छैनन् । ‘मेरो सपना नै यो देशमा एक दिन स्थायी नागरिकका रुपमा बस्ने हो । मेरा अभिभावकले पाकिस्तानमा काम गरेर जोगाएको रकमले मेरो शिक्षाका लागि गरेको लगानी उठाउने हो । पाकिस्तानी रुपैयाँको भाउ अष्ट्रेलियन डलरभन्दा १ सय गुणा कम छ ।’ 

अहमदले अष्ट्रेलियन नागरिकजस्तो सुविधा पाउने आशा नभएपनि केही न केही सहयोग पाउने आशा रहेको बताए । ‘यदि हामी अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ५ सय अस्टे«लियन डलर पायौं भनेपनि ठूलै राहत हुनेछ,’ उनले भने । 

-स्टडी इन्टरनेश्नल डट कमबाट अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप