शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना सङ्कलन गरिने

बुधबार, २६ चैत २०७६, १६ : १८
बुधबार, २६ चैत २०७६

– शेरबहादुर सिंह र नरेन्द्रसिंह कार्की

कञ्चनपुर । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४०८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि ३०१ स्थानमा क्वारेन्टाइनमा पाँच हजार ४२ जनालाई राख्न मिल्छ ।

छपन्न बालबालिका, १६६ महिला र दुई हजार १८६ जना पुरुष क्वारेन्टाइनमा बसेको भए पनि मङ्गलबारसम्म २५९ जनाको मात्रै स्वाब परीक्षणका लागि नमूना सङ्कलन भएको निर्देशनालयले जनाएको छ । परीक्षण रिपोर्ट आएकामध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको छ भने १७० जनामा नेगेटिभ र ८५ जनाको रिपार्ट आउन बाँकी छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले आगामी एक साताभित्र सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि व्यस्थापकीय पक्ष मजबुत हुने बताए । ‘एक सय ९४ जनाको स्वाब सङ्कलन भएर आज काठमाडौँ परीक्षणका लागि जाँदैछ’, निर्देशक डा अवस्थीले भने, ‘धनगढीको सेती प्रादेशिक अस्पतालमा दैनिक दश वटा नमूना मात्रै परीक्षण हुँदै आएको छ ।’ उनले केन्द्रबाट दैनिक ९६ देखि १०० जनाको स्बाव परीक्षण गर्नसक्ने आरटीपीसीआर मेशिन सेनाको स्काइ ट्रकले धनगढी ल्याइपु¥याएको बताए।

‘यो मेशिन सञ्चालनमा ल्याउनासाथ परीक्षणले गति पाउँछ’, उनले भने, ‘क्वारेन्टाइनमा बस्नासाथ परीक्षण हुँदैन, मेडिकल साइन्सले क्वारेन्टाइनमा बसेका १०, ११ र १२ औँ दिनमा परीक्षण गर्न मिल्छ ।’ उनले जिल्ला अस्पतालमा पनि स्वाब र रगत नमूना सङ्कलनको काम भइरहेको जानकारी दिए ।

‘परीक्षणमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री पनि जुटाइँदैछ । सामग्रीको समस्या नै होइन, लकडाउन विविध कारणले ल्याउन समस्या भइरहेको छ’, उनले भने । कोरोना परीक्षणका लागि थप चार÷पाँच वटा मेशिन खरिदका लागि गहृकार्य भइरहेको अवस्थीको भनाइ छ ।

मङ्गलबारसम्म सुदूरपश्चिममा कैलालीमा पाँच जना, डडेल्धुरामा तीन, बाजुरा र डोटी जिल्ला अस्पतालमा एक÷एक गरी दश जना आइसोलेशन वार्डमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्थानीय सङ्क्रमणबाट एक जना सङ्क्रमति देखिनु, भारतमा पनि यसको सङ्क्रमण देखिनु र भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किए पनि थोरै सङ्ख्यामा क्वारेन्टाइन बस्नुलगायत कारणले सुदूरपश्चिम प्रदेशलाई सङ्क्रमणको उच्च जोखिममा राखिएको हो ।

त्यसका साथै स्तरीय परीक्षणशाला नहुनु, स्वास्थ्य सामग्रीको अभाव, विशेषज्ञ चिकित्सकको कमी र प्रदेशभरिमा एक मात्रै भेन्टिलेटर सेवा रहेको सुदूरपश्चिममा सङ्क्रमण फैलिए स्थिति नियन्त्रणबाहिर जानसक्ने समेत आँकलन गरिएको छ । सुदूरपश्चिममा रहेको प्रादेशिक तथा जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसार चिकित्सक छैनन् । प्रदेश निर्देशनालयले यहाँका नौवटै जिल्लामा ¥यापिड टेष्टका लागि नमूना सङ्कलनको तयारी भइरहेको जनाएको छ ।

‘हामीसित ¥यापिड टेष्टका लागि पाँच हजार किट मौज्दात छन्’, निर्देशनालय स्रोतले भन्यो, ‘सात पहाडी जिल्लामा दुई हजार ६०० किट र तराईका कैलाली र कञ्चनपुरमा दुई हजार ७०० किट राखेर टेष्ट अगाडि बढाउने गृहकार्य हुँदैछ ।’ निर्देशनालय स्रोतले जिल्ला÷जिल्लाबाट ¥यापिड टेष्ट गर्ने तयारी गरिरहेको भए पनि स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री भने पर्याप्त नरहेको जनाएको छ । जिल्लाबाट गरिने टेष्टका लागि जनस्वास्थ्य कार्यालयले अगुवाइ गर्ने छन् ।

सुदूरपश्चिममा फागुन महिनादेखि नै भारतबाट घर फर्किने क्रम बढे पनि चैतको दोस्रो साता सङ्क्रमणको सन्त्रासले आउनेहरुको घुइँचो नै लागेको थियो । यही चैत ११ गते यता भारतबाट आउनेको सङ्ख्यामा कमी आएको छ । भने दार्चुलादेखि कञ्चनपुरको सीमावर्ती बजार बनबासासम्म करिब एक हजार ५०० नागरिक रहेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

भारतमा रहेकाको बसोबास र खानपिनको व्यवस्था भारतीय पक्षबाटै भइरहेको छ भने कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका ७५ जना भारतीय नागरिकको व्यवस्थापनमा नेपाली पक्ष सक्रिय छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले सुदूरपश्चिमका नाकाबाट भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक स्वदेश फर्किएको बताए । ‘सुरक्षा र स्वास्थ्यकर्मीको समन्वयमा सबै जिल्लामा क्रमिक रुपमा स्वाब सङ्कलन हुँदैछ’, प्रवक्ता विष्टले भने, ‘सङ्क्रमण नियन्त्रणका लागि धेरै प्रयास जारी छन् ।’

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सङ्घीय सरकारसँगै प्रदेश र यहाँका ८८ वटै स्थानीय तहसमेत सक्रिय भएर लागेका छन् । बाजुरामा ११७ जना क्वारेन्टाइनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । स्थानीयतहको समन्वयमा जिल्लामा बाहिरी जिल्ला र भारतबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन भइरहेको उनले जानकारी दिए । स्थानीय तहले क्वारेन्टाइनमा बसेकाको खानपिनलगायत व्यवस्था मिलाएको उहाँले जानकारी दिए ।

त्यसैगरी डोटीमा पनि नेपाली सेनाको अगुवाइमा चिकित्सकसहितको प्राविधिक टोली स्वाब÷रगत सङ्कलनका लागि पुगिसकेको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले बताए । ‘तीनदेखि साढे ३०० जनासम्मको नमूना सङ्कलन गर्ने योजना छ’, उनले भने, ‘यहाँका ६ वटा क्वारेन्टाइनमा एकसाथ सङ्कलनको काम शुरु हुँदैछ ।’

उनले ६ जनाको चिकित्सक र ल्याब टेक्निसिनयको टोली स्वास्थ्य सामग्रीसहित हेलिकप्टरमा डोटी पुगेको जानकारी दिए । मङ्गलबार सेनाको टोलीले अछाम र काठमाडौंबाट आएका दुईवटा स्वास्थ्यकर्मीको टोलीले महेन्द्रनगर र कैलालीको लम्कीमा स्वाब सङ्कलन गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारले महामारी नियन्त्रणका लागि उपमहानगरपालिकालाई रु पाँच लाख, नगरपालिकालाई रु चार लाख र गाउँपालिकालाई रु तीन लाख उपलब्ध गराएको छ । पछिल्लो समय सुदूरपश्चिमका नाकाबाट भारतबाट आउनेको सङ्ख्यामा कमी आएको छ । 

खुला सीमानाका कारण लुकीछिपी आउनेमाथि निगरानी बढाउन यहाँका सीमानाकामा सशस्त्र प्रहरी बलले अस्थायी पोष्ट स्थापना गरेर थप जनशक्ति परिचालन गरेको कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलको श्री नं. ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिए । उनले सीमा क्षेत्रमा थप ११ अस्थायी पोष्ट खडा गरी सर्तकता अपनाइएको जानकारी दिए ।

‘रोकिएन तुइन यात्रा’

सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो पोखेका छन् ।

आफूलाई उद्धार गर्ने विषयमा ढुक्क नहुँदा नेपाली महाकाली नदीमा ट्युबबाट तरेर स्वदेश फर्किने क्रम रोकिएको छैन । बुधबार जौलजीवि क्वारेन्टाइनमा रहेका २० जना तथा भारतका विभिन्न ठाउँमा काम गरेर फर्किने १९ जना गरी ३९ जना नेपाली महाकाली तरेर आएका हुन् । जौलजीवि नजिकै रहेको मालिकार्जुन गाउँपालिका–६ उकुमा ट्युबबाट तरेर उनीहरु मालिकार्जुन पुगेका छन् । 

जौलजीविमा रहेका क्वारेन्टाइनबाट राति २ बजे भागेर उनीहरुले आज बिहान महाकाली तरेको खुलेको छ । महाकाली तरेर आउनेमा बैतडी डिलौशनी गाउँपालिकाका चार जना, पूर्चौडी नगरपालिकाका तीन जना, बझाङ बुङगल नगरपालिकाका एक जना, दार्चुला मार्मा गाउँपालिकाका एक जना र अपिहिमाल गाउँपालिकाका छ जना छन् । 

यस्तै बिहान जौलजीविको क्वारेन्टाइनबाट भागेर आउनेमा बझाङ्ग बुङ्गल नगरपालिकाका छ जना रहेका छन् भने विभिन्न ठाउँमा काम गरेर फर्किएका बैतडी डिलाशैनी गाउँपालिकाका एघार जना, पुच्र्यौैडी नगरपालिकाका तीन जना र बझाङ्ग बुङगल नगरपालिकाका पाँच जना रहेका छन् । 

भारतबाट आएका सबैलाई मालिकार्जुन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।बैतडी डिलाशैनी गाउँपालिकाले भने आफ्ना नागरिक लिन नै गाडी पठाएको बुझिएको छ । भारतमा कोचिएर बस्न नसकेर राति क्वारेन्टाइनबाट भागेर आएको अपिहिमाल–५ का गणेशसिंह धामीले बताए । 

‘सयौँ जना एउटै कोठामा बसालेको थियो, कोच्चिएर बस्नुप¥यो । रोग नलागेको मान्छे पनि रोग लाग्ने खतरा भयो’, धामीले भने, ‘कुनै सीप नलागेपछि राति भाग्यौँ ।’ भारतीय क्वारेन्टाइनमा समयमै खान नपाइने, पानी नहुने त्योभन्दा ज्यानको पर्वाह नगरी नदी तरेर आएको बैतडी डिलाशैनीका रतनसिंह धामीले बताए ।     ‘नदी पुगेपछि ट्युब चलाउने मान्छे भेटियो’, उनले भने, ‘प्रतिव्यक्ति एक हजार भारु दिएर वारी नेपाल पुग्यौँ ।’

बझाङ्ग बुङ्गल नगरपालिकाका दलजीत बोहरालगायत ६ जनाको समूह भने नदीमा डोरी लगाएर नेपाल प्रवेश गरेका हुन् । लकडाउनको समयावधि थपिँदै जाँदा पनि दार्चुलाको महाकाली नदी तरेर भित्रिने क्रम रोकिएको छैन । ‘सर्वोच्चको आदेश भयो भन्ने खबर सुनेका हौँ’, रमेश बोहराले भने, ‘अझै उद्धार होला जस्तो नलागेपछि नदी तरेर आयौँ ।’

सोमबार मात्र भारतको उक्ला क्षेत्रमा काम गर्दै आएका नौगाड गाउँपालिकाका छ जना मध्यराति महाकाली तरेर नेपाल भित्रिएका थिए । लकडाउनपछि नेपाल–भारत झोलुङ्गे पुल नखुल्दा यसअघि ८१ जना महाकालीमा ट्युब, तरेर, हाम फालेर भित्रिसकेका थिए । सर्वोच्चको आदेशपछि नेपालीलाई नेपाल भित्र्याउने या भारतमै राम्रो व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बैठक बसेको छ । 

त्यसैगरी दार्चुला सदरमुकाम खलङ्गामा रहेको क्वारेन्टाइनमा बसेका स्थानीय रुपसित सितोलीले क्वारेन्टाइनमा समस्या रहेको बताए । ‘एक एक मिटरको दूरीमा एउटा कोठामा दश जना राखेको छ’, उनले भने, ‘अहिलेसम्म कसैलाई समस्या देखिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप