शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एउटा फुटबलर जसले गृहयुद्ध रोके, विभाजित देशको एकीकरण गरे

बुधबार, २६ चैत २०७६, १५ : ५५
बुधबार, २६ चैत २०७६

८ अक्टुर २००५ ।

२००६ विश्वकप फुटबलको छनोट गणित सामान्य थियो ।  इजिप्टविरुद्ध क्यानरुमले जित हासिल गरेमा सोझै छैटौंपटक विश्वकप खेल्ने अवसर पाउने थियो । क्यामरुनले जित्न नसक्दा सुडानविरुद्ध खेलिरहेको आइभोरी कोस्ट, जो अंकतालिकामा क्यामरुनभन्दा १ अंकले पछि थियो, उसले उछिन्न सक्थ्यों ।

‘गोल्डेन जेनेरेशन’ ट्याग आफैमा दबाबको भारी हो, तर २००५ को आईभोरी कोस्टको टोली यस्तै थियो । यहाँ, डिडियर ड्रोग्बा, कोलो टुर्रे, इम्मानुयल इबोए र डिडियर जोकोराजस्ता इंलिस प्रिमियर लिगमा जमेका स्टार खेलाडी थिए । ग्रिक क्लब ओलम्पियाकसबाट खेल्ने याया टुर्रे त यतिबेलासम्म कच्चा नै मानिथ्यें ।

यो टोली अफ्रिकी महादेशमा सबैलाई जित्न सक्षम थियो । क्यामरुनसँग दुईपटक पराजित हुनका बाबजुद विश्वकप छनोटका अन्य खेलमा यो टोलीको खेल उत्कृष्ट थियो – त्यसैले त सुडानको अल मेरिख रंगशाला ओर्लदाँ टोलीले इतिहास रच्ने आशा कायम थियो ।

फुटबलरहरु नयाँ इतिहास रच्ने संघारमा रहँदा उनीहरुको घरमा भने अन्धकार थियो । २००२ देखि सुरु भएको गृहयुद्धले आइभोरी कोस्ट विभाजित थियो, दक्षिणी भूभागमा राष्ट्रपति लरेन्ट बाग्वो र उत्तरतर्फ विद्रोहीको शासन थियो । विद्राही समुह ‘द न्यु फोर्स’  जिल्याउमे सोरोको नेतृत्वमा थियो ।

१९ सेप्टेम्बर २००२ मा विद्रोहीले देशका विभिन्न शहरमा आक्रमण गरेपछि द्वन्द्व भड्कियो । ‘त्यो पीडादायि थियो । जब मैले मेरी दिदीलाई फोन गर्थें गोली पड्केको आवाज प्रष्ट सुनिथ्यों,’ पूर्व फुटबलर सेवास्टियन नाहोर भन्छन्, ‘उनीहरु चार दिनसम्म घरमा खाटमुनी लुकेका थिए र खाद्यान्न लिनमात्रै बाहिर निस्कन्थे । मलाई हरेक पल एउटै चिन्ता हुन्थ्यों– मेरो परिवार ठीक छ या छैन ।’

सुरुवाती हिंसा छोटो तर भयंकर रह्यो, सरकार र विद्रोही पक्ष दुबै आ–आफ्नो भू–भागमा सीमित भएपछि खासै भिडन्त भएन । २००४ सम्म धेरै हदसम्म द्वन्द्व समाप्त भइसकेको थियो, तर २००५ मा फेरि तनाव गहिरियो । पश्चिम अफ्रिकी देशको भविष्यमा ग्रहण लाग्ने देखियो ।

आधुनिक फुटबलरहरुले आम महिला र पुरुषभन्दा फरक तरिकाले विश्वलाई बुझ्छन् । सायद, पैसाले उनीहरुलाई फरक दुनियाँमा पु-याइदिन्छ । तर, युरोपमा करोडौँ आम्दानी गरेर बस्ने ओभरीयन खेलाडीहरुलाई थाहा थियो, त्यो साँझ दाऊमा धेरै कुरा थियो ।

ड्रिडियर ड्रोग्बा २००४ मा झन्डै २४ मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भएका थिए ।  नौ वर्ष प्रिमियर लिगमा बिताउने क्रममा उनी धेरै कुराका पर्याय बने – सेन्टर फरवार्डका रुपमा गरेको उत्कृष्ट प्रदर्शनमा प्रशंसादेखि अभद्र व्यवहार र छलछाम गरेको आरोपसम्म पनि झेले । उनलाई माया गर्नुस् वा घृणा, पश्चिम लण्डनमा उनले हासिल गरेको उपलब्धिमा प्रश्न उठाउने ठाउँ छैन ।

चार प्रिमियर लिग उपाधि, चार एफए कप, तीन लिग कप र च्याम्पियन्स लिग उपाधि जितेका ड्रोग्बाबारे प्रतिस्पर्धी आर्सनल क्लबकै प्रशिक्षक आर्सेन विंगर भन्थ्यें, ‘उनी विजेता हुन् र जीवनको अन्त्यसम्म पनि यस्तै रहनेछन् ।’

ड्रोग्वा खासमा शृंखलावद्ध विजेता थिए, तर सुडानमा अक्टुबरको त्यो रातमा दबाब बिल्कुल फरक थियो ।

इजिप्टविरुद्ध क्यामरुनको खेल र सुडानविरुद्ध आइभोरी कोस्टको खेल एकै समय सुरु भयो । पुछारबाट दोस्रो स्थानमा रहेको आयोजक सुडानविरुद्ध जितबाहेक अर्को उपाय छैन भन्ने बुझेको आईभोरी कोस्ट सुरुदेखि नै आक्रामक देखियो ।

७३ औँ मिनेटमा अरुना डिन्डानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ८९ औं मिनेटमा सुडानले पनि गोल फर्कायो, तर आइभोरी कोस्टको बाटो छेक्न यतिमात्रै पर्याप्त थिएन ।  सुडानमा घटनाक्रम सिधा अघि बढेपनि १५ सय माइल्स उत्तरतर्फ कायरोमा दृश्य फरक देखिएको थियो ।

२० मिनेटमै अग्रता लिएको क्यामरुनविरुद्ध ७९ मिनेटमा  इजिप्टका मोहम्मद साक्वीले बराबरी गोल फर्काएका थिए । बराबरीको यो अवस्थालाई क्यामरुनले चिर्न नसकेमा सुडानविरुद्धको जीतले आइभोरी कोस्टलाई विश्वकपमा छनोट गराउँथ्याें ।

कायरोमा खेल सकिन केही सेकेन्ड बाँकी छदाँसम्म अवस्था १–१ कै बराबरीमा थियो । आयोजक सुडानविरुद्ध पाहुना टोली आइभोरी कोस्ट ३–१ ले विजयी भएपनि डिडियर ड्रोग्बा र उनका साथीहरुले खुसीयाली मनाउन कायरोबाटै अनुकुल खबर आउनुपथ्र्यों । त्यसैले उनीहरु मैदानमै चाखपूर्वक रेडियो सुनेर बसिरहेका थिए । अचानक मुटु भारी हुने सन्देश आयो –इन्जुरी समयको चौथो मिनेटमा क्यामरुनलाई पेनाल्टीको अवसर दिइएको छ ।

हरेक हृदयविदारक कथामा एउटा खुसी हुन्छ । पिर्रे वोमीले प्रहार गरेको पेनाल्टी देब्रे बारमा ठोक्किएर बाहिरियो  । स्तब्ध बनेका क्यामरुनका खेलाडी पेनाल्टी एरियामा भेला भए, उनीहरु आफ्नो सर्ट फुकालेर आँशु पुछ्दै थिए ।

अर्कातर्फ आईभोरी कोस्टमा खुसीको सीमा तोडियो, उनीहरु पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताका लागि छानिए । ‘पूरा देश, हरेक घरका हर व्यक्ति खुसी थिए । त्यस दिन हामी सबैले देश विभाजित छ भन्ने बिर्सियौँ,’ तत्कालीन समय अब्दिजानस्थित कलेजमा अध्ययनरत हस्सान ओमरले सम्झिए ।

श्वास रोक्न नसकिने फुटबलको यो नाटक अल मेरिख मैदानमा मञ्चन भयो, अनि योभन्दा ठूलो हलचल ल्याउने घटना त्यही रंगशालाको ड्रेसिङ रुममा ।

खेलपछि  ड्रोग्बाको नेतृत्वमा प्रार्थना गर्ने परम्परा नै खेलाडीमाझ बसिसकेको थियो, तर यो प्रार्थना फरक हुनेवाला थियो । चेन्जिङ रुममा खुसीयाली मनाइरहेका खेलाडीहरु क्यामेरा अगाडि एकअर्काका काँधमा हात राखेर भेला भए ।

मध्यभागमा माइक्रोफोन हातमा बोकेर उभिएका थिए – ड्रोग्बा ।

‘आइभोरी कोस्टका महिला तथा सज्जनवृन्द,’ उनले बोल्न थाले,‘उत्तर, दक्षिण, मध्य र पश्चिम । हामीले आज प्रमाणित ग¥यौँ कि सबै ओभोरियन्स एकजुट भएर साझा लक्ष्यका लागि खेल्नसक्छन्, विश्वकपमा छनोट हुनका लागि । यो खुसीयालीले मानिसलाई एकजुट गराउनेछ भनेर हामी तपाईंहरु समक्ष वाचा गर्छौं । आज हामी घुडाँ टेकेर तपाईहरुसँग केही माग्छौं,’ यसो भन्दै गर्दा खेलाडीहरु घुँडा देखाउनेगरी थचक्क बसेका थिए ।

‘माफी दिनुस् ..। माफी दिनुस् .. यति धेरै धनीहरु रहेको अफ्रिकाको एक देश युद्धमा होमिनु हुन्न । कृपया, आफ्ना हतियार बिसाउनुस् र निर्वाचन गर्नुस्,’ ड्रोग्बाले भने । झन्डै १ मिनेट लामो यो भिडियो युट्युबमा उपलब्ध छ ।

‘हामी रमाइलो चाहन्छौं, त्यसैले तिम्रो फायरिङ बन्द गर,’ भिडियोमा खेलाडीहरुले हाँस्दै गाएका छन् । विश्वकप छनोट भएको टोली घर फर्कदाँ त्यहाँ पार्टी सुरु भइसकेको थियो । विद्रोहीको राजधानी बोआके पनि त्यस रात खुसीमा झुम्यो ।

यसपछि केही साता र महिनामै नाटकीय परिर्वतन देखियो । यो भिडियो क्लिप धेरैपटक टेलिभिजनमा देखाइयो । हुनसक्छ, परिवर्तनका लागि मिडिया एक्सपोजर पर्याप्त थियो, परिवर्तन आइछाड्यो ।

विद्रोही र सत्तापक्ष दुबै वार्ताको टेबुलमा बसे, युद्धविराम भयो ।

कथाको यस्तो अन्त्यले हलिउडकै लेखकलाई पनि गर्वित बनाउँछ होला, तर यो कथा टुंगिएको छैन ।

२००६ को विश्वकपमा सर्बिया एन्ड मोन्टेनेग्रोलाई हराउनुका बाबजुद अर्जेन्टिना र नेदरल्यान्डस्सँग पराजित भएपछि आईभोरी कोस्ट पहिलो चरणबाटै घर फर्कियो । नवप्रवेशी टोलीको यत्तिको प्रदर्शनलाई सम्मानजनक मानिन्छ ।

यसपछि अफ्रिकी वर्ष खेलाडीको अवार्ड जितेर विद्रोहीको कब्जामा रहेका शहर घुम्ने क्रममा ड्रोग्बाले अर्को असामान्य घोषणा गरे ।  ३ जुन २००७ मा ओइभोरी कोस्ट र मादागास्कारबीचको खेल अबिदजानको सट्टा विद्रोहको संकेतका रुपमा लिइने बोआकेमा गर्ने उनको घोषणा थियो । ड्रोग्बाले यस्तो घोषणा गर्नुअघि राष्ट्रपतिको अनुमति लिए वा लिएनन् भन्ने पनि स्पष्ट छैन । 

‘यस समय ड्रोग्बा भगवानजस्तै थिए । उनको प्रभाव ठूलो थियो,’ तत्कालीन समय आइभोरी कोस्टमा भानिटी फेयर म्यागेजिनका लागि रिर्पोटिङ गर्ने अस्टिन मेर्रिलले भने । त्यस दिन बोआके शहरमा समर्थकको पर्खाई भयंकर थियो । ‘शहर पागलजस्तो थियो,’ सैन्य स्कर्टिङबीच गुडिरहेको राष्ट्रिय टिमको बसलाई रंगशाला जाने बाटोमा पछ्याएका मेर्रिलले थपे ।

मानिसहरु कारको छतमा चढिरहेका थिए, अति आतुरजस्तो देखिने सैनिकको पञ्जाबाट हतियार खसेको देखिथ्यों । मैदानभित्र पनि पालैपालो सैनिक र विद्रोहीले फुटबलका गीत गाइरहेका थिए, हिंसापछि देखिएको यो स्मरणीय परिवर्तन थियो । ‘यो केवल फुटबलमात्र थिएन, केही ठूलोे थियो,’ अबिदजानमा टिभीमा यो खेल हेरिरहेका अ‍ोमरले संझिए, ‘सबैले १२ बजे काम बन्द गरेका थिए, उनीहरु बियर वा स्याम्पेन लिदैं थिए । हामी सबै निकै खुसी थियौँ ।’

मैदानमा सुरुदेखि नै आईभोरी कोस्ट हाबी देखियो । सालोमोन कालोउले १८ औं मिनेटमै सुरुवाती गोल गरे । निरन्तर गोल भइ नै रह्यो ।

खेल सकिन ५ मिनेट बाँकी छँदासम्म आइभोरी कोस्ट ४–० ले अघि थियो । यस्तैमा, मिडफिल्डबाट आएको बल दौडाएका ड्रोग्बालाई डिफेन्स र गोलकिपरले रोक्नै सकेनन् । ड्रोग्बाको गोलसँगै रंगशालाको क्षमतालाई नै चुनौती दिनेगरी जम्मा भएको दर्शकको भीड ठूलो स्वरले चिच्याइरह्यो ।

देशका ‘मसिहा’ सेलिब्रेसनका लागि ट्रयाकमा कुदिरहे । उनका पुराना प्रतिस्पर्धी र विपक्षी  दर्शकले पनि सम्मानमा ताली बजाए ।

अन्तिम सिट्ठी बजेपछि समर्थकहरु रंगशाला ओइरिए, जसकारण ड्रोग्बासहितका अन्य खेलाडीलाई सुरक्षाकर्मीले घेर्नुप-यो । बोआकेमा देखिएको खेलको यो सांकेतिक रुपले देशलाई फेरि एकपटक एक ढिक्का बनायो ।

‘पूरा देशमा उत्साह थियो, सबै एकजुट भएर आएका थिए,’ नाहोरेले भने,‘हामीलाई ड्रोग्बा र उनको टिममा ठूलो भरोसा थियो, उत्तरका टोर्रे र दक्षिणका ड्रोग्बा । यो साँचो अर्थमा आइभोरी विविधता थियो ।’

तर, यसपछि अवस्था दुखद् र कठिन रह्यो । विभाजन गहिरियो, यी दुई म्याचमा जस्तो उत्साह देखिएको थियो, त्यो बिलाउँदै गयो ।

५ वर्षपछि निर्वाचनमा देखिएको विवादले हिंसालाई फेरि बढावा दियो । राष्ट्रपति बाग्वो पक्राउ परेपछि मात्र अन्त्य भएको हिंसामा ३० हजारको ज्यान गयो ।  मानवताविरुद्धको अपराधमा हेगमा बाग्वोको सुनुवाई सुरु भयो ।

जनवरी २०१९ मा उनलाई सबै आरोपबाट मुक्त गरियो । यसपछि फेरि आरोपमुक्त गर्ने आदेशविरुद्ध अपिल प¥यो । अपिलको फैसला आउन बाँकी छ, अदालतमा हाजिर हुने शर्तमा बाग्वो अहिले बेल्जियममा छन् । आइभोरी कोस्ट अझै विभाजित र कमजोर राज्यका रुपमा छ ।

आइभोरी कोस्टको गोल्डेन जेनेरेशनले कहिल्यै आफ्नो संभावनालाई न्याय गर्नेगरी खेल्न सकेन, २००६ र २०१२ मा अफ्रिकी कप अफ नेसन्सको फाइनल खेलेर पनि यो टोली पेनाल्टीमा पराजित भयो । खेलाडीहरुको स्टार पावर घट्दै गयो । २००५ र २००७ को जस्तो हलचल ल्याउन त असंभव नै थियो ।

२०१८ मा ड्रोग्बाले फुटबलबाट सन्यास घोषणा गरे । उनले यस क्रममा विभिन्न ६ देशमा उपाधिहरु जितेर अफ्रिका महान् व्यक्तित्वको सुचीमा आफुलाई राखे । उनी र उनका साथीभाईले देशका लागि गरेको योगदान फुटबलभन्दा माथि छ ।

‘उनीहरुले देखाएका छन् कि हामी अझै एकसाथ बस्न सक्छौँ, हामी पहिलेजस्तै  आइभोरी कोस्ट हुनसक्छौ । यो केवल फुटबल थिएन, बरु देशको एकीकरण थियो,’ ओमरले भने ।

ड्रोग्बा र उनका साथीभाईले एक्लै गृहयुद्ध रोकेका होइनन् । तर, दुई फुटबल खेलमार्फत, उनीहरुले तनावमा रहेको देशलाई कम्तिमा आशावादी हुनुपर्ने कारण दिए ।

बीबीसीबाट

अनुवाद–अन्वेषण अधिकारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप