शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एयर अरेबियाको उडानबाट आएका ३ जनामा कोरोना देखिएन

बुधबार, २६ चैत २०७६, १४ : ५१
बुधबार, २६ चैत २०७६

कास्की । नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ आएको हो ।

तीनै जनाको सोमबार पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरुमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । उनीहरुसँगै आएको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए । त्यसैगरी चैत ४ गते बाग्लुङकी सङ्क्रमित एक युवतीलाई पोखराबाट स्कारपियो गाडीमा राखेर बाग्लुङ घरसम्म पु¥याउने चालकको समेत स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ । 

विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा

गाउँपालिकामा चैत महिनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ । ‘अन्तिम पटक चैत ८ गते आएका दुई जनासहित सबैको होमक्वारेन्टाइनको अवधि पूरा भएको छ । शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ’, अध्यक्ष गुरुङले भने ।

गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ । नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए । गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप