शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाले बनाएन अहिलेसम्म क्वारेन्टाइन

बुधबार, २६ चैत २०७६, १३ : ०८
बुधबार, २६ चैत २०७६

धनुषा । धनुषामा एक गाउँपालिका र एक उपमहानगरपालिका बाहेक हरेक स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । धनुषामा अहिलेसम्म १६ वटा स्थानीय तहमा ३ सय ५३ बेड क्षमता भएका क्वारेन्टाइनमा ९३ जना रहेका छन् भने ३२ बेड संख्या भएको आइसोलेशनमा १० जना विरामी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

गाउँपालिका र नगरपालिकाले आ–आफ्नो तर्फबाट कोरोनाका शंकास्पद विरामीका लागि क्वारेन्टाइनको व्यवस्था गरेतापनि जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अहिलेसम्म यसको व्यवस्था गरेको छैन । धनुषामा नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा प्रदेश सरकारले नै ७५ बेड क्षमता रहेको क्वारेन्टाइन सञ्चालनमा गरेको छ भने ३२ बेड क्षमताको आइसोलेशन तयारी गरिएको छ ।

त्यस्तै, धनुषाधाम नगरपालिकामा ३८, गणेशमान चारनाथ नगरपालिकामा २४, सबैला नगरपालिकामा २५, मिथिला नगरपालिकामा १०, क्षीरेश्वरनाथ नगरपालिकामा ११, विदेह नगरपालिकामा २५, शहिदनगर नगरपालिकामा ३०, कमला नगरपालिकामा १५, मिथिला बिहारी नगरपालिकामा ७, हंसपुर नगरपालिकामा ११, जनकनन्दनी गाउँपालिकामा २०, बटेश्वर गाउँपालिकामा २५, लक्ष्मीनीया गाउँपालिकामा ७, औरही गाउँपालिकामा १६ र धनौजी गाउँपालिकामा १४ बेड क्षमता रहेको क्वारेन्टाइनको निर्माण गरिएको छ ।

यता, जनकपुरधाममा नगरप्रमुख लालकिशोर साहले क्वारेन्टाइनको व्यवस्था नगरेपछि वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडामा ८ बेड क्षमता भएको क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन् । जनकपुरधाम वडा नम्बर ७ बस्ने ५० वर्षीय जगदीश साहले भने– ‘जनकपुरधाम उपमहानगरमा अहिलेसम्म कुनै किसिमको क्वारेन्टाइन भवन नरहेको अवस्थामा बाहिरबाट आउने मानिसलाई देख्ने वित्तिकै डराईरहनुपरेको बेलामा आफ्नै वडामा क्वारेन्टाइन भवन सञ्चालनमा आएपछि हामी ढुक्क छौँ ।’ 

जिल्लाका १८ वटा स्थानीय तहमध्ये १७ स्थानीय तहले क्वारेन्टाइन बनाएपनि जनकपुरधाम उपमहानगरले भने क्वारेन्टाइन स्थल निर्माण गर्न सकेको छैन । उपमहानगरले ठाउँको अभाव देखाउदैँ अहिलेसम्म क्वारेन्टाइन बनाउने चाजोपाजो नगरेको हो । नगरप्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासहितको टोलीले जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलीयामा बन्द रहेको मणिपाल शिक्षण अस्पताललाई क्वारेन्टाइन बनाउन अनुगमनसहित निरीक्षण गरेको थियो । तर त्यहाँ क्वारेन्टाइन बनाउनका लागि आन्तरिक कुरा नमिलेको भन्दै काम अघि बढ्न सकेन । 

उमहानगरपालिकाका उपप्रमुख रिता झाले जनकपुरधाममै पर्ने मुजेलीया, बसहिया लगायतका विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माणको विरोध भएको भन्दै निर्माण कार्य नहुन सकेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप