शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा ‘लकडाउन’बारे अन्योल, शैक्षिक संस्था तथा धार्मिक स्थल अझै एक महिना बन्द रहने

बुधबार, २६ चैत २०७६, १२ : ४४
बुधबार, २६ चैत २०७६

नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ नियन्त्रण तथा रोकथामका लागि गठित मन्त्रीसमूहले विद्यालय, कलेज, शपिङ्ग मल र धार्मिक स्थल १५ मईसम्म बन्द राख्न सिफारिस गरेको छ ।
भारतीय सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार लकडाउन १४ अप्रिलभन्दा थप नहुने अवस्था आएमा पनि विद्यालय, कलेज, शपिङ्ग मल र धार्मिक स्थलका गतिविधि बन्द नै राख्न सिफारिस गरेको हो ।
मन्त्रीसमूहको बैठक मंगलबार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको थियो । बैठकमा गृहमन्त्री अमित शाह पनि सहभागी थिए ।

बैठकले विद्यालय, कलेज, शपिङ्ग मल र धार्मिक स्थलमा लकडाउन खुले पनि आगामी चार सातासम्म सामान्य तरिकाबाट कामकाज सुरु गर्न नहुने निष्कर्ष निकालेको स्रोतको भनाइ छ ।
मन्त्रीसमूहको बैठकले गरेका सिफारिस प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पठाइएको छ ।

अर्कोतिर मध्यप्रदेशसमेत ८ राज्यका सरकारले केन्द्र सरकारलाई १४ अप्रिलपछि पनि लकडाउन जारी राख्न आग्रह गरेका छन् । १४ अप्रिलपछि लकडाउन हटाउने वा लम्ब्याउने भन्नेबारे सरकारले निर्णय लिनुअघि मुख्यन्त्रीहरु, विभिन्न दलका नेताहरुसँग प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत छलफल गर्ने जनाइएको छ ।

स्रोतका अनुसार केन्द्र सरकारले पनि लकडाउन लम्ब्याउनेतर्फ विचार गरिरहेको छ । मोदीले नै कोरोनाविरुद्धको संघर्ष लम्बिनसक्ने बताउँदै आएका छन् ।   

हवाइ टिकटको बुकिङ खुला, भाडा चार गुनासम्म महँगो
भारतमा १४ अप्रिलमा लकडाउन २१ दिन पूरा हुँदैछ । सरकारले लकडाउनको अवधि १४ अप्रिलसम्म तोकेको छ । तर त्यसपछि लकडाउन हट्छ वा कायम रहन्छ भन्नेबारे प्रष्ट भइसकेको छैन ।

यद्यपि भारतका निजी एयरलाइन्स कम्पनीले १५ अप्रिलदेखिका लागि फ्लाइट बुकिङ खुला गरिसकेका छन् । लामो समयको अन्तरालमा विमानसेवा सूचारु हुन लागेका कारण पनि यात्रुको चाप बढेको छ । त्यसैले अहिले बुकिङ खुला गरेका एयरलाइन्सका टिकट कयौँ गुना महँगो रहेको बताइन्छ । खासगरी २१ अप्रिलसम्मका फ्लाइटको टिकट दर महँगो पाइएको हो ।

दिल्ली, मुम्बई र पटनाको फ्लाइटमा सबैभन्दा बढी मूल्यवृद्धि देखिन्छ । यी गन्तव्यमा सामान्यतया चार गुनासम्म महँगोमा टिकट विक्री भएको छ । अन्य रुटमा पनि करिब तीन गुनासम्म महँगो भएको यात्रुहरुको गुनासो छ । २१ अप्रिलपछिका लागि भने सामान्य दरभन्दा पनि सस्तोमा हवाई टिकट उपलब्ध छ ।–दैनिक भास्करबाट रातोपाटीले गरेको अनुवाद
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप