गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कामदार दिनरात फिल्डमा, सामान चीनमै रोकियो
बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ (कोरोनाभाइरस) का कारण मुुलुुक चैत ११ गतेदेखि लकडाउनमा छ । सरकारले संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउन घोषणा गरेको हो ।
लकडाउन नहुँदै ठुला परियोजनाहरुमा खासगरी चीनबाट आउने उपकरण, प्राविधिक र कामदारहरु कोरोना महामारीका कारण आउन नसक्दा कतिपय आयोजनाका निर्माण कार्य प्रभावित भएका छन् ।
लकडाउनका कारण मुलुक ठप्प भए पनि रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणको काम भने धमाधम चलिरहेको छ ।
विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि यता भैरहवामा रहेका कामदारले भने कामलाई निरन्तरता दिइरहेका छन् ।
कोरोनाका कारण शुरुमा चीनले सामाग्री रोकेको थियो भने पछिल्लो समय रसुवा नाका बन्द भएपछि विमानस्थलमा समान नेपाल भित्रिन पाएका छैनन् । चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश गएका २० जना जति प्राविधिक कामदार पनि कोरोनाका कारण चीनमै रोकिएका छन् । अहिले प्राविधिक र कामदार गरी २८ जनाको चिनियाँ टोली विमानस्थल निर्माणमा खटिएको छ । उनीहरु लकडाउनको बेला दिनरात नभनी काम गरिरहेका छन् ।
विमानस्थाल निर्माण आयोजना प्रमुुख प्रवेश अधिकारीले परियोजना क्याम्पभित्रै बस्ने मजुदरहरुले धमाधम काम गरिरहेको रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो कामलाई कोरोना भाइरसले छोएको छैन, २८ जना चिनियाँ कामदारसहित ८० जना कामदारले काम गरिरहेका छन् ।’
सन् २०१५ देखि निर्माण शुरु भएको विमानस्थलमा दैनिक करिब २ सय कामदार खटिएका थिए । अहिले भने क्याम्पभित्र रहेकाले मात्र काम गरिरहेको अधिकारीले जनाए ।
विमानस्थलको पुुरानो धावनमार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तारबारको काम चलिरहेको छ ।
प्रशासनको अनुमति
लकडाउन बेला अन्य गतिविधिमा स्थानीय प्रशासनले कडाई गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने भनेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनको बेलामा पनि काम गर्न अनुमति दिएको हो ।
परियोजना प्रमुख अधिकारीले भने, ‘हामीले प्रमुुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुुखसँग नै समन्वय गरेर काम गरिरहेका हौं । बाहिरबाट सामान ल्याउन गाह्रो छ । आइसकेका सामानहरुको जडान रोकिएको छैन ।’
समस्या पनि छन्
विमानस्थलले लकडाउनभन्दा पहिला पनि विभिन्न समस्या भोग्दै आएको थियो । नाकाबन्दी, भूकम्पजस्ता समस्याले गर्दा तेस्रो पटक आयोजनाको म्याद थप गरिएको थियो । अहिले नदीजन्य पदार्थ (ढुुंगा गिट्टी र बालुुवा), हार्डवेयरका सामान ल्याउन समस्या छ । लकडाउनका कारण ती सामग्रीहरु ल्याउन समस्या भएको हो ।
अहिलेसम्म विमानस्थल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । विमानस्थल निर्माणको काम यसै वर्षको मार्च ३१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । अझै १० प्रतिशत काम बाँकी छ । कोरोना भाइरसको सन्त्रास हटेर वातावरण सामान्य भएपछि पनि काम सक्न कम्तीमा ३ महिना लाग्ने देखिन्छ ।
यस्तो छ लागत
जति आयोजनाहरु लम्बिदै जान्छन्, त्यति नै लागत बढ्नु स्वाभाविक नै हो । गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ । यो रकम जग्गा अधिग्रहण बाहेक हो ।
यसमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । आयोजना अन्तर्गत १० मेघावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्ने अनुमान छ । विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत उत्पादन गर्ने गर्ने गरी काम अगाडि बढाइएको छ ।
अधिकारीका अनुुसार एडिबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको अधिकारीले बताए । उनले भौतिक पुर्वधारको काम अझै १० प्रतिशत रहेको बताए । जसमा ६ प्रतिशत जति उपकरणका काम र बाँकी ४ प्रतिशत भौतिक पूर्वाधारका काम बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या
-
पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन पुनः किन आउने राजनीतिमा ?
-
बोक्सीको आरोपमा एक महिलालाई सामूहिक कुटपिट
-
न्याय परिषदको सदस्य सिफारिसमा ढिलाइले ‘न्याय’ प्रभावित
-
हमास नेता इस्माइल हानियाको हत्या गरेको इजरायलको स्वीकारोक्ति
-
म्युल खाता एक माध्यम : वित्तीय कारोबारमा कसरी ठगिन्छन् नागरिक ?