बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा -यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ

बुधबार, २६ चैत २०७६, ०९ : ४४
बुधबार, २६ चैत २०७६

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ । 

स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा मङ्गलबार बेलुकासम्म मन्त्रालयको कुनै टोली नआएको सरोकारवाला निकायले जनाएका छन् ।  पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय  बागलुङ तथा धौलागिरि अञ्चल अस्पतालमा र्यापिड टेष्ट किट तथा प्राविधिक टोली हालसम्म नआएको बताइएको छ ।

हालसम्म धौलागिरि अस्पतालले कोरोना शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ अथवा पोखरा पठाउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।  “हालसम्म र्यापिड टेष्ट किट र प्राविधक टोली आइपुगेको छैन”, उनले भने “स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको छ, चाँडै आइपुग्छ भन्ने छ ।” पोखरेलका अनुसार मन्त्रालयमा जानकारी लिँदा बायोमेडिकल इन्जिनियरसहित दुईजना प्राविधिक आउने जानकारी पाइएको हो ।

मन्त्रालयमा यस विषयमा जानकारी लिँदा बुधबारमात्र किटसहितको प्राविधिक काठमाडौँबाट हिँड्ने जानकारी प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार भनेको समयमा प्राविधिकसहित किट नआउँदा निर्णय कार्यान्वयनमा झण्डै पाँच दिन लाग्ने भएको छ । अहिलेको अवस्थामा निर्णयहरु तत्काल कार्यान्वयन नहुँदा सङ्क्रमण बढ्न सक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । आइतबार र्यापिड टेष्ट गर्ने निर्णयसँगै जिल्लामा प्राविधिक तथा किट पठाइएको मन्त्रालयले जानाए पनि बागलुङमा आजसम्म प्राविधिक टोली आएको खण्डमा निर्णय भएको पाँच दिनपछि मात्रै र्यापिड टेष्ट हुने भएको हो ।

मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै नौ सय र सङ्क्रमण देखिएका दुईजनाका छिमेकीसहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ । स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुत परीक्षण गर्ने सरकारले निर्णय गरे पनि तीन दिनसम्म टोली जिल्लामा नआएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टासम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रुत परीक्षणमा १० देखि १५ मिनेटमै कोरोनाको सङ्क्रमण भए नभएको परीक्षण गर्न सकिन्छ । 

बागलुङमा अहिले दुईजना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । दुवै सङ्क्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप