केन्द्रीय संस्करण

सेल्फ क्वारेन्टाइनमा जापानको बसाइ

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0

-रोजिना ढुंगाना

संसारका धेरै देशले सङ्कटको यो घडीमा लकडाउन गर्दा जापान सरकारले त्यति चासो देखाएको छैन । सायद जापानमा धेरैको मृत्यु नभएर हुनसक्छ । अर्को कारण टोकियो ओलम्पिक २०२० को दबाबले पनि हुनसक्छ । खैर त्यो म जान्दिनँ । केही दिन अगाडि प्रधानमन्त्री आबे गर्वका साथ प्रतिपरिवार दुईवटा मास्क वितरण गर्ने घोषणा गर्नुभयो । त्यसले मुलुकमा तरङ्ग उत्पन्न भयो । उक्त समय जापानमा  चीन र कोरियापछि कोरोना सक्रमित भेटिन थालेकाले सरकारले विद्यालय तथा विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम बन्द गरायो । उक्त समयसम्म मलाई क्वारेन्टाइनको प्रभावै थिएन । 

जब कोरोनाको हल्ला सुरु हुन थाल्यो, मैले  ट्वाइलेट पेपर, टिस्यु पेपर, किचेन पेपर, मास्क, केही समयलाई पुग्नेगरी किनेर राखेँ । नेपालबाट आउँदा ल्याएका तीनवटा कपडाका मास्क पनि बाँकी थिए । जापानमा प्रभावित क्षेत्र हेरेर कतिपय स्कुल बन्द गरेको भए पनि मेरो सेमेस्टर ब्रेक चलिरहेको हुनाले पढाइमा असर हुन गएन । म हर्षित  थिएँ । 

कोभिड–१९ प्रभावित देश हेरेर जापानले अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्न थाल्यो ।  मैले काम गर्ने क्षेत्र भनेको सर्भिस इन्डस्ट्रिज थियो । त्यो कोरोना सङ्क्रमणका लागि उच्च जोखिममा पर्दछ । 
जापान आएको लगभग साढे तीन वर्ष भयो ।  यहाँ आएदेखि सुरु गरेको ठाउँमा नै अहिलेसम्म काम गर्दैछु । जहाँ उच्च चापमा अन्तर्राष्ट्रिय पर्यटक आउँछन् । त्यसमा पनि कोरियालीहरु बढी हुने गर्छन् । बिस्तारै आगन्तुकको अग्रिम बुकिङ घट्दै गएको थियो । एक हप्ता जति त धेरैको काम काटिदियो । सायद पुरानो स्टाफ भएकाले हुनसक्छ मैले काम पाइरहेँ । 

संसारभरि कोरोनाको त्रास बढ्दै गएपछि मेरो मनमा अब जापान सरकारले लक डाउन गर्छ भन्ने लाग्यो । तर हाम्रो  रिसोर्टमा  घरेलु गेस्टको सङ्ख्या ह्वात्तै बढ्यो र काम पहिलाकै स्थितिमा फर्कियो, उस्तै व्यस्त ।

जापानमा ग्राजुएसन ट्रिप भन्ने हुदोरहेछ । युनिभर्सिटी र हाइस्कुलका ग्राजुएट विद्यार्थी घुम्न निस्किने मौसम थियो । त्यसैले मेरो कामको चाप बढेको थियो । 

यही समयमा नेपालमा एकजनामा सङ्क्रमण भेटियो । त्यसलगत्तै नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । भाइ आफै पत्रकारिता क्षेत्रमा भएको हुँदा लकडाउन घोषणा हुनेवित्तिकै 
काठमाडौँबाट रातारात गाउँ गयो । बाइकमा ३ घण्टा यात्रा गर्दा भाइ घर पुग्यो । यसपछि मबाहेक घरका सबै  सदस्य एकै ठाउँ हुनुभयो । यता म भने एघार घण्टा काम गरेर कोठामा फर्किंदै थिए । 

भोलिपल्टदेखि सुरु हुन थाले लकडाउन । अघिल्लो रात घरमा चाहिने सबै सरसामानहरु ममिले किनेर जम्मा गर्नु भएको रहेछ । आखिर बाँच्नु त पर्यो नै । भोलिपल्ट भयो, हजुरबुबा, हजुरआमा, फूपूहरु सबै जम्मा भएर फोनमा सबैजना बेग्रेल्ती रुन थाल्नुभयो, यो सङ्कटको बेला परिवारसँगै हुन पाइएन भन्दै । भएकी एउटी नातिनी पनि कति डाँडा पारि भई नत लिन जान सकिन्छ नत बोलाउन सकिन्छ भन्दै परिवारबाट बिरह पोखियो । टिभी हेर्यो, रेडियो सुन्यो यो देशमा यति मरे भन्ने मात्र सुनिन्छ । आखिर नपढेका परिवारलाई जपान, कोरिया, अमेरिका चाइना जे भने नि उस्तै लाग्दो हो । अझ नेपाल छिर्यो रे भन्ने खबर पछि  झन चिन्ताको सीमा नै रहेन । 

देशमा राजनीतिकद्वन्द्वले गर्दा सानै हुँदादेखि  बाबाममीबाट टाढा बस्नुपर्यो । हजुरबुबा हजुरआमासँग हुर्किएँ । यसकारण पनि होला परिवारका अन्य सदस्यभन्दा धेरै माया गर्नुहुन्छ हजुरबुबाआमाले मलाई । पोहोर साल बिदामा नेपाल गएर फर्किने बेला अर्को साल स्नातक सकेर आइहाल्छु नि आमा भनेकी थिएँ । हो, आमा आज म घर आउने दिन गन्र्दै हुनुहुन्थ्यो होला । 
कोरोना लागिसकेपछि उपचार नै छैन भन्ने आमाले सुन्नु भएको रहेछ । संसारमा औषधि नै बनेको छैन भन्ने थाहा पाएपछि पलपलमा भक्कानिनु हुन्छ । मेरा मनमा आँधी चल्छ तर  सात समुद्रपारिबाट कसरी सम्झाऊँ । 

फेसबुक, इन्स्टाग्राममा साथीहरु लकडाउनका दोस्रो दिन र पाचौँ दिन भन्दै लेख्छन् । समाचारहरुले हात धोऔँ, मान्छेको भीडभाडमा नजाऔँ भनिरहेका छन् । तर म भने बिहान छ बजे उठेर पन्ध्र सय मान्छे भएका  हलमा गएर सर्भिस दिँदै हुन्छु । त्यहाँ एउटा मात्र सङ्क्रमित भेटिएको थिएन । अहिले काम पाएको बेला काम गरिएन भने भोलि सिफ्ट नपाइएला, जीवन गुजाराको चिन्ता बग्रेल्ती छन् । जसोतसो मार्च अन्तिमसम्म काम गरियो भने एक महिना लकडाउन भए पनि आफूलाई व्यवस्थापन गरिन्छ भन्ने तुफान  मनमा मडारिरहेका थिए । घरमा चिन्ता थपिन्त भनेर फोनमा सुतिरहेको छु भन्नेगर्थें । मेरो पीडा र कष्ट लुकाएर परिवार हसाउने सपनाहरुको भूत सवार थियो । भित्रि मनमा भने जापान हो केही हुन्न भन्नेमा केही ढुक्क थिएँ । 

अप्रिल महिना जब सुरु भयो रिसोर्टमा पाहुनाहरु स्वात्तै घटे । अनि म जस्ता सयौँ पार्ट टाइम स्टाफका लागी अनिश्चितकालको लागि काम नभएको सूचना दिइयो । रिसोर्ट बन्द भएको त छैन तर पनि आफ्ना पूर्णकालीन कर्मचारीलाई काम भए नि नभए पनि तलब दिइराख्नुपर्ने भएकाले राखियो । कामबाट छुट्नुपर्दा हामी सबैको व्यथा उस्तै थियो । तर मेरो सबै साथीभन्दा भिन्न बन्न पुग्यो अब आजका व्यथा । साथीहरु अन्य ठाउँमा पनि काम गर्न जाने हुनाले उनीहरू खाली बस्नुपरेन । म चाहिँ त्यहीँ मात्र काम गर्थें । यो तीन वर्षमा मलाई जापानले थाहै नपाई रोबोटझैँ बनाइसकेको रहेछ, एक दिनभन्दा बढी खाली बस्नई नसक्ने भएँछु । काम खोज्न जाउँ भने पनि के काम खोज्ने, कैले सिक्ने ? बाहिर कोरोनाको उस्तै त्रास छ । घरबाट ननिस्कन त मलाई मात्र के को कोरोनाको चासो ? 

घरमा बस्यो, न्युज हेर्यो, फेसबुक, इस्टाग्राम  ट्विटर, युटुब हेर्यो । नेपालमा पुलिसले बाहिर निस्किनेलाई हानेको हेर्यो । 

लन्डनमा हुनुुभएको अङ्कलसँग कुरा गरेँ । चौबिसै घन्टा व्यस्त हुने मान्छे घरको एउटा कुनामा गुम्सिनुभएको रहेछ । न्युयोर्कमा साथीहरुलाई कल गरेको रुमबाटै अनलाइन क्लास अटेन्ड गर्दै रहिछ । यही जापानका साथीहरुका इन्स्टाग्रामका स्टोरी हेर्छु साकुरामा रमाउँदै गरेको भिडियो, हनामी, नोमिकाई गएका तस्बिरहरु छन् । मिल्ने साथिलाइ कल गर्यो काममै पहिला जस्तै व्यस्त छ । 

रेस्टुरेन्ट जौँ, बाहिर निस्किँदा त्यही कोरोनाको डर, पैसाको सत्य नास, एक दिन होइन दुई दिन होइन । महिनौँ यस्तो हुने होकि अत्तोपत्तो छैन । घरमै बसौँ एक दिन टिक्न सकिन्न । त्यो एकहप्ता कसरी टिक्नु ? ग्रोसरी सपिङ जाउँ सबै सामान छ । मार्केटमा केहीको अभाव छैन । बाहिर गाडी बाइक सबै गुडेकै छन् । क्वारेन्टाइनमा केही छैनन्, कसैलाई देखिँदैन सुनिँदैन । म भने चाहेर नचाहेर क्वारेन्टाइनमा बस्न बाध्य छु । 

युनिभर्सिटीले दुई महिना अनलाइनबाट कक्षा सञ्चालन गर्ने भनेको छ । त्यो पनि अबको दुई हप्तापछिदेखि मात्र सुरु हुन्छ । मेरो युनिभर्सिटी ८५ भन्दा बढी देशका विद्यार्थीले अध्ययन गरिरहेका छन् । अहिले दुई महिना लामो सेमेस्टर ब्रेक  छ । लगभग धेरै आआफ्नो देश  गएका छन् । कतिपय अरू देशको भ्रमणमा जाँदा अड्किएका छन् । जापानले अहिले स्थगित गरेको अन्तर्राष्ट्रिय उडान सुचारु गर्ना साथ तिनीहरु फर्किने छन् । कोरोनाको स्थिति र त्यसले उत्पन्न गराएको त्रास कहाँसम्म पुग्छ, त्यसलाई अहिल्यै केही भन्न सक्ने अवस्था रहेको छैन । 

म जस्ता विद्यार्थीको लक्ष्य दुई महिना बिदाको बेला गर्न पाउने ४० घण्टा प्रति हप्ताको काम अनि चार महिना पढाइ हो । बिदामा काम गरेर बचेको पैसाले ट्युसन फी तिर्ने, अपार्टमेन्ट भाडा तिर्ने बिजुली र यातायत खर्च जुटाउने हो तर त्यो पनि अहिले काम गर्न नपाएपछि गाह्रो हुँदैछ । 

क्लास सुरु हुने बित्तिकै कोर्स लोड बढ्छ । केस स्टडी, ग्रुप मिटिङ, प्रेजेक्टेसन, असाइन्मेन्टको भारले काम गर्ने कुरा त सोच्न नि सकिन्न । 

 APU, Japan 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.