शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल एपबाट कक्षा ११ र १२ को पढाइ निःशुल्क !

‘अनलाइन कक्षा’ नलेज सेयरिङ प्ल्याटफर्म होः नरेन्द्र विष्ट, नेपाल इन्स्टिच्युट
मङ्गलबार, २५ चैत २०७६, १६ : ४८
मङ्गलबार, २५ चैत २०७६

कोरोनाभाइरसको महामारीका कारणले अहिले देशभरीका शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपाल इन्स्टिच्युटले अनलाइन कक्षा (Online Kachhya) मोबाइल एपबाट कक्षा ११ र १२ को कोर्सहरु निःशुल्क पढाइरहेको छ ।

अब विद्यार्थीहरुले लकडाउनको अवधिभर मोबाइलमा एप डाउनलोड गरी निःशुल्क रुपमा अनलाइनबाट पढ्न सक्नेछन् । यही विषयमा रातोपाटीले नेपाल इन्स्टिच्युटका सञ्चालक तथा अनलाइन कक्षा प्रा.लि.का अध्यक्ष नरेन्द्रप्रसाद विष्टसँग कुराकानी गरेको छ ।

अनलाइन कक्षा कस्तो प्रकारको एप्लिकेसन हो ?
अनलाइन कक्षा ई–लर्निङ प्ल्याटफर्म हो । अनलाइन कक्षा मोबाइल एप र www.onlinekachhya.com वेबसाइटको प्रयोग गरी कक्षा ११ र १२ को सम्पूर्ण कोर्सहरु, मेडिकल, इन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु साथै कम्प्युटर प्रोग्रामिङ कोर्सहरु निःशुल्क घरमा बसेर अध्ययन गर्न सकिन्छ ।

अनलाइन कक्षा कस्ता प्रयोगकर्ताहरुका लागि तयार पारिएको हो ?
अनलाइन कक्षा सबै विद्यार्थी वर्गहरुलाई उपयोगी एप्लिकेसन हो । कोचिङ, ट्युसनको लागि भौँतारिएका विद्यार्थीहरुलाई अनलाइन कक्षा वरदान नै बनेको छ । प्रोफेसनल कोर्सहरु पनि प्रयोगात्मक रुपमा अनलाइनमा सिक्न मिल्छ । अनलाइन कक्षामा विद्यार्थी मात्र होइन, शिक्षक पनि बन्न सक्नुहुन्छ । तपाईंसँग भएको ज्ञान, सीपलाई रेकर्ड गरेर अनलाइनबाट बेच्न पनि सक्नुहुन्छ । यो एउटा नलेज सेयरिङ प्ल्याटफर्म पनि हो । 

यो अनलाइन कक्षाबाट कस्तो कस्तो कोर्सहरु पढ्न पाइन्छ ?
अहिले अनलाइन कक्षामा कक्षा ११ र १२ को साइन्सको भिडियोहरु, +२ पछि मेडिकल, इन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु र केही कम्प्यूटर प्रोग्रामिङ कोर्सहरु राखिएको छ । तर हामी स्कुलदेखि विश्व विद्यालयसम्मका सम्पूर्ण कोर्सहरु रेकर्ड गरिरहेका छौँ । आईटी र इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको लागि प्रोफेसनल कोर्सहरु रेकर्ड भइरहेका छन् । चाडै हामी धेरै कोर्सहरु अपलोड गर्दैछौँ । 

नेपालमा अनलाइन शिक्षाको अवस्था कस्तो छ ?
अनलाइन एजुकेसन बाहिरतिर त पहिलादेखि नै अभ्यासमा आइसकेको छ । तर नेपालमा पनि बल्ल अनलाइन पढ्नुपर्छ भन्ने ट्रेन्ड बढ्दै गएको छ । म आफै पनि प्रविधिको विद्यार्थी हो । विगत एक दशकदेखि मैले धेरै विद्यार्थी भाइ बहिनीहरुलाई पढाउँदै आइरहेको छु । परम्परागत तरिकाभन्दा अलि फरक हुनुपर्छ भनेर मैले ४/५ वर्ष पहिला एउटा वेबसाइट बनाएर पढाउन थाले । पछि हामीले अनलाइन कक्षा कम्पनीबाट “Online Kachhya” मोबाइन एप सुरु गर्‍यो । 

गुणस्तरीय शिक्षाको खोजीमा विद्यार्थीहरु गाउँबाट सहर आउँछन् । सहर पस्दैमा विद्यार्थीहरुको शैक्षिक स्तरमा सुधार आउने होइन बरु व्यपारीहरुका कलेज, कोचिङ र ट्युसन इन्स्टिच्युट फस्टाएका छन् । हामी ज्ञानको खोजीमा भौँतारिएका हजारौँ विद्यार्थीहरुलाई घरमै अनलाइनबाट पढ्न सल्लाह दिन्छौं । नेपाल सरकारले नयाँ शिक्षा नीति पास गरेको छ ।

हामी यो देशको शिक्षा प्रविधि मैत्री बनाउन चाहन्छौँ । प्रविधि मैत्री समाग्रीको निर्माणमा रातदिन जुटिरहेका छौँ । हामी जस्तै प्रविधिको ज्ञान र सीप भएका र नेपालमै केही गर्छाैं भन्ने जोस र जागर भएकाहरुलाई नेपाल सरकारले प्रयोग गरी डिजिटल नेपाल बनाओस् भन्ने हामी चाहन्छौँ।

यो लकडाउनको समयमा विद्यार्थीहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
म मेरा विद्यार्थी भाइबहिनीहरुलाई के भन्न चाहन्छु भने तपाईंहरु घरमा अनलाइनबाट पढ्नुहोस् । “Online Kachhya” एप डाउनलोड गर्नुहोस् । कलेजमा कोर्स सकिएको छैन भने पनि नआत्तिनुहोस्, अनलाइन कक्षामा सबै कोर्स पढाइएको छ ।

घर बाहिर जानु भनेको रोग ल्याउनु हो, फेसबुक चलाएर, भिडियो गेम खेलेर समय खर्च नगरौँ । मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स दिने विद्यार्थीहरुलाई यो समय तयारी गर्ने मौका पनि हो । यो अवसरको सदुपयोग गर्नुहोस् र सुरक्षित भएर घरमै बस्नुहोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप